‘आफ्नो हैसियत र ठाउँमा बस्ने गर्नू,’ कुनै स्त्रीलाई उसको पुरूषले कहिलेकाहीँ गालीको भाषामा यस्ता शब्द प्रयोग गरेको सुन्नु भएको हुनसक्छ वा कहिलेकाहीँ तपाईंलाई विरक्ति लागेका बेला यसै भनेको पनि हुनसक्छ । त्यो भनेको स्त्रीहरूले आफ्नो ठाउँभन्दा दायाँबायाँ नगरे भनी चेताएको हो । उसो भए स्त्रीको वास्तविक ठाउँ कहाँ हो त ? घरमा ? घरको भान्सामा ? आखिर कहाँ ?
केही वर्ष पहिले पेरूको एन्डिज पहाडमा करिब नौ हजार वर्ष पहिले गाडिएकी एक किशोरीको शरीरको अवशेष प्राप्त भएको थियो । यस शवको अवशेष अध्येताहरूले महिला छेउमा राखिएका कयौँ किसिमका हतियार देखे । ती हतियार ठूला जनावरहरूको शिकारमा प्रयोग हुने आँकलन गरिएको छ। यस्तै यही ठाउँमा वैज्ञानिकहरूले सामूहिक चिहान पनि फेला पारेका थिए । त्यहाँ अन्य २७ जनाको अवशेष फेला परेको थियो । उनीहरूको त्यहाँ सामूहिक चिहान थियो । तिनहरूसँगै त्यहाँ पनि विभिन्न औजार गाडिएको पाइयो । वैज्ञानिक क्यानडल हासको नेतृत्वमा क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरूको टोलीले यसलाई जाँचेका थिए । यतिबेला उनीहरू एउटा परिणाममा पुगेका छन् र त्यो के भने त्यस कालमा महिलाहरू ठूलो संख्यामा शिकारमा सहभागिता जनाउँथे । त्यो समुदायका करिब ३० देखि ५० प्रतिशतसम्म महिला शिकारी थिए ।
‘साइन्स एडभान्सेज’ नामक जर्नलमा हालै यसबारे शोधपत्र प्रकाशित भएको छ । यो शोधपत्रले हल्लीखल्ली मच्चाउनुको कारण के हो भने पहिला-पहिलाको समाजमा अर्थात् हन्टर ग्यादरर सोसाइटीमा त्यसको मुखिया पुरूष नै हुन्थे । उनीहरू नै शिकार गर्न जान्थे । घरधन्दा समाल्ने र बालबच्चाहरू हेर्ने मामिला महिलाहरूको थियो भन्ने सोच हावि थियो । तर यो प्रमाणपछि भने रिसर्चर हास भन्छन्, ‘संसारका सबै ठाउँमा वैज्ञानिकहरूले भनेजस्तो पुरूषहरू मात्र शिकारी थिए र शिकार खेल्ने जिम्मेवारी उनीहरूको मात्र थियो भन्नेमा यस्ता प्रमाणले बाधा पुर्याउँछन् । खासमा केही समाजमा पुरूषहरू बढी सक्रिय हुन सक्छन् तर केही समाजमा भने महिलाहरू पनि कम सक्रिय भने थिएनन् । पाइएका अवशेषले पनि त्यही कुराको इंगित गरिरहेको छ।’
शोधकर्ता हासको भनाइ छ, ‘यो शोधको परिणामले आजको समाजमा प्रचलित महिला-पुरूषका बीच भइरहेको श्रम विभाजनका असमानताहरूलाई उजागर गरेको छ । महिलाले गर्ने काम र पुरूषले गर्ने काममा विभेदका कारण पछिल्लो समयमा समेत उही काममा पुरूषलाई बेग्लै रकम दिइन्छ भने स्त्रीलाई बेग्लै । जेन्ड पे ग्याप, ओहदाको बाँडफाँडजस्ता विभेदका पछाडि जुन ऐतिहासिक कारणहरू दिने गरिन्थ्यो, त्यसमा सत्यता नदेखिने हुनाले त्यसलाई सच्याइनुपर्ने केहीको धारणा छ । प्राकृतिक आधारमा कयौँ पटक महिलाहरूमाथि अन्याय भएको सन्दर्भमा अहिले फेला पारिएका यस्ता प्रमाणले बराबरको हैसियत र पैसा दिइनुपर्ने कुरा पनि उत्तिकै महत्त्व दिन थालिएको छ ।
यी निकै पुराना मानव अवशेष सन् २०१८ मा फेला पारिएका थिए । पेरूको एउटा महत्त्वपूर्ण पुरातात्त्विक क्षेत्रको पठारी क्षेत्रमा पाइएका अवशेषहरूमा दुई शिकारीहरूको अस्थि संरचना र दाँतको इनामेल पत्रमा अवस्थित पेप्टाइड्सको जाँचबाट ती १७ देखि १९ वर्षकी की एक महिला भएको पत्ता लागेको छ । छेउमै रहेको अर्को कंकाल पुरूषको हुनसक्ने आँकलन गरिएको छ । पुरूषको उमेर भने २५ देखि ३० वर्ष आँकिएको छ । यी महिलाको अवशेषनजिकै खास किसिमका औजार फेला पारिएका थिए । यसबाट उनी निकै ठूला जनावरको शिकार गर्ने सिद्ध शिकारी भएको हुनसक्ने वैज्ञानिकहरूको राय छ । ती महिला नजिकै भएको एटलाटल नामक एउटा यस्तो भालाजस्तो हतियार थियो, त्यसलाई प्रहार गर्दा निकै टाढासम्म पुर्याउन सकिन्थ्यो ।
यस कुरालाई पुष्टि गर्न र कतै यो स्त्री उसको समयको अपवाद थिई कि भन्ने शंका निवारण गर्नका लागि शोधकर्ताहरूले अमेरिकाका १०७ ठाउँमा पुरिएका शव र त्यसमा फेला परेका ४२९ मानिसहरूको अवशेष जाँच गरिएको थियो । यी सारा मानव अवेशष ४ हजारदेखि १७ हजार वर्ष पुरानो रहेको प्रमाणित भएको थियो । ती शवहरूमध्ये २७ मानवहरूको लिंग पुष्टि गर्न सकिन्थ्यो । जसको शव नजिकै उनीहरूसँग केही औजार फेला पारिएको थियो । तीमध्ये १६ पुरूष र ११ जना महिला थिए । यिनै नमूना जाँचका आधारमा त्यस समयमा ठूला शिकार अभियानमा महिला सहभागिता निकै सशक्त र ठूलो थियो भन्ने प्रमाणित गर्ने आधारहरू फेला पर्छन् । यस हिसाबले त्यो समाजका कुल शिकारीहरूमध्ये ३० देखि ५० प्रतिशतका शिकारीहरू महिला नै रहेका हुनुपर्छ ।
यो अध्ययनले आजका कयौँ प्रचलित मान्यताहरू सधैँ यस्तै थिएनन् भन्ने कुरालाई पुनः स्मरण गराएका छन् । २०१७ मा पनि महिला भाइकिङ योद्धाहरूको एउटा ठूलो जेनेटिक अध्ययन गर्दा उस्तै खाले परिणाम आएको थियो । खासमा भाइकिङ महिलाहरू घरैमा बस्ने किसिमका थिए भनी मानिन्थ्यो तर सो जेनेटिक अध्ययनपछि केही प्रतिशत महिला भाइकिङहरू योद्धा थिए, लड्न भिड्न उनीहरूलाई रूचिकर लाग्थ्यो । पुरूष योद्धाहरूसँग मिलेर उनीहरू लडाइँमा निस्कन्थे । रोचक त के छ भने र सोही रोचक कुरा अहिले एउटा ठूलो प्रश्नचिह्न बनेर उभिएको छ कि आधुनिक युगमा जसरी महिलाको काम भनेको भातभान्सा नै हो भन्ने सोचको जन्म कसरी भयो होला ? जबकि शुरूवाती हन्टर ग्यादरर समूहमा त लगभग आधा प्रतिशत महिलाहरू त शिकार नै खेल्न इच्छुक रहेछन् र तिनलाई त्यसका लागि प्रोत्साहित पनि गरिएको रहेछ !
केही सिद्धान्तअनुसार, बालापन र किशोरावस्थामा महिलाहरू शिकारमा उच्चस्तरीय निपुणता हासिल गर्थे । तर समयक्रममा यौनका मामिलामा उनीहरू परिपक्व हुन थालेपछि सन्तान जन्माउन र पुर्खाको निरन्तरता दिलाउनका लागि उनीहरू बढी व्यस्त रहँदै जान थाले । सन्तान जन्माउने र तिनलाई लालनपालनको जिम्मेवारीका कारणा उनीहरूको अधिकांश समय सोही कार्यमा लाग्न थाल्यो । यो नयाँ शोधका मुख्य लेखक हास भन्छन्, ‘खासमा कुन बिन्दुबाट महिलाहरू घरैमा अडिन पुगे भन्ने पत्ता लगाउने जिम्मा भने नयाँ पुस्ताका अध्येताहरूको पनि हो । जसरी दक्षिणी अमेरिका र उत्तरी अमेरिकाका केही ठाउँमा महिला शिकारीहरूको सहभागिता देखिएजस्तै अन्य महादेशमा पनि उसैगरी महिलाहरू शिकारी थिए कि थिएनन् ? थिए भने कस्तो अवस्था थियो होला ? यस्ता कुराको अध्ययन गर्न भने बाँकी नै छ ।
के महिलाहरू अप्ठेरो काम गर्न सक्दैनन् ?
संसारभरि नै काम गर्ने मामिलामा महिला सहभागिता बढाउनुपर्ने आवाज उठिरहेका कारण अप्ठेरा वा डर्टी काममा समेत उनीहरूको सहभागिता बढ्न थालेको छ ।
पछिल्लो समयमा अप्ठेरो काम मानिएको फायर फाइटर (अग्निशमन)का काममा पनि महिला सहभागिता बढिरहेको छ ।
जोर्डनजस्तो देशमा महिलाले बाहिर गएर प्लम्बिङको काम गरेका थिएनन् । पछिल्लो समय प्लम्बिङमा महिला सहभागिता बढेको मात्र छैन, उनीहरूले आफूजस्तै महिला कर्मीहरूलाई तालिमसमेत दिन थालेका छन् ।
फिलिपिन्सकी तीन सन्तानकी आमा ओकाल डोजर चालक हुन् । उनी ट्रकसमेत चलाउँछिन् । टर्कीको इस्तान्बुलकी सेर्पिल सिग्डेम रेल चलाउँछिन् । उनी त्यहाँ रेल चलाउने प्रथम चालक हुन् । २३ वर्षअघि रेल चलाउँदा उनलाई हेर्ने मानिसको लर्को लाग्थ्यो ।
यसैगरी जर्जियामा सेनाकी क्याप्टेन एकाटेरीने क्विलिभिडे हेलिकप्टर चालक हुन् । उनी शुरूवाती समयमा सेनामा प्रवेश लिने व्यक्तिमध्येकी हुन् ।
माथिका यी सबै उदाहरण हेर्दा देश फरक भए पनि उनीहरूले गर्ने कार्य पुरूषहरूभन्दा भिन्न नदेखिए पनि यहाँसम्म आइपुग्न निकै समय लागेको छ । प्राचीन समयदेखि नै महिलाहरू लड्ने भिड्ने कुरामा कुनै कमी नरहेको तर समयक्रममा उनीहरू पछि पारिएको देखिन्छ ।
तर कुन बिन्दुबाट त्यो समय शुरू भयो, यसमाथि अध्ययन गर्न भने बाँकी नै रहेको देखिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।