मिसेल ओबामाको ‘बिकमिङ’ १ करोड ७० लाख प्रति बिक्री भयो । संसारभरका ५० भाषामा यस संस्मरणको अनुवाद पनि भयो ।

उनको नयाँ किताब ‘द लाइट वि क्यारी’ यतिबेला बजारमा आएको छ । उनको नयाँ पुस्तक आउनेबित्तिकै मूलधारे अखबारहरूमा सो पुस्तकमाथि चर्चा परिचर्चा व्यापक रूपमा बढेको छ ।

त्यसो त अमेरिकाको सिकागोको दक्षिणी भेगमा १९६० को दशकमा जन्मिएर संघर्ष गर्दै जब मिसेल सन् २००९ मा ह्वाइट हाउस छिरिन्, उनले एक साथ कयौं कीर्तिमान बनाइन् ।

उनी सर्वकालीक लोकप्रिय प्रथम महिला ज्याकलिन केनेडी वा डली मेडिसनको हाराहारीमा उभिन पुगिन् ।

उनले प्रथम महिलाका रूपमा जसरी भूमिका निभाइन्, ८ वर्ष ह्वाइट हाउसको गरिमालाई कायम राख्न सकिन्, त्यो देखेर केहीले उनलाई राजनीतिमा हाम्फाल्न नसुझाएका होइनन् । उनले राजनीति आफ्नो भागको खाना नभएको जवाफ दिने गरेकी थिइन् ।

उनका लागि जीवनको पहिलो संघर्ष घरबाट निस्कनु र एउटा राम्रो जीवनसाथी चुन्नु थियो । दोस्रो संघर्ष ह्वाइट हाउसको गरिमालाई कायम राख्नु थियो । तेस्रो संघर्ष यतिबेला नयाँ परिस्थितिमा आफूलाई ढाल्नु रहेको छ । किनभने दुई छोरीहरू उनीहरूको घर छाडेर आफ्नो सपना पूरा गर्न निस्केका छन् । जीवन वृद्धावस्थातर्फ लम्केको अवस्थामा यसलाई कसरी सहज तरिकाले बाँच्ने त्यसमा ध्यान केन्द्रित हुन थालेको छ ।

त्यसै पनि ८ वर्षको तामझामपूर्ण जीवनले उनीहरूको जीवनशैलीलाई डामाडोल बनाएको थियो । भने जसरी जीवन बिताउन पाइँदैनथ्यो । त्यसमाथि जब ह्वाइट हाउसबाट निस्केपछिका केही समय यति व्यस्त जीवन भयो कि पुराना साथीभाइहरू पनि छाडिए । यतिबेला भने उनले आफ्ना साथीभाइलाई समय दिइरहेकी हुन्छिन् । कहिले उनीहरूलाई घरमा बोलाएर खाना खुवाइरहेकी हुन्छिन्, कहिले घुम्न निस्किरहेकी हुन्छिन् ।

कहिलेकाहीँ नजिकका आफन्त टाढिन्छन्, टाढाका आफन्त बन्न आइपुग्छन् । उनको जीवनमा पनि त्यस्ता कयौँ पात्रहरू थिए र छँदैछन् । यतिबेला आफ्नो नजिक भएकाहरूलाई किचन टेबुल भन्ने गर्छिन् । किचन टेबुल सदस्यहरू जुन बेला पनि घरभित्र आइपुग्न सक्छन् । उनीहरूलाई बोलाइरहन पर्दैन । उनीहरूसँग मस्त गफिन उनलाई मन पर्छ ।

ठूलो मान्छे हुनु सबैथोक जान्नु होइन । अझ ठूलो मान्छे हुनु कयौं साना कुरा जीवनबाट छुट्नु हो । मिसेललाई यो कुरा किचन टेबुल सदस्यहरूले सिकाएका हुन् । उनीहरूले मिसेलका अप्ठेरा, डरजस्ता कुरामा आड, भरोसा जो दिन्छन् र त्यस्तो अप्ठेरोबाट निकाल्ने गर्छन् ।

सन् २०१८ यता मिसेल सिभिक नेसन अभियानमा जोडिएकी छन् । उनले यो संस्थाबाट चुनावमा भाग लिन नरूचाउनेहरूलाई यसप्रति सजग र सक्रिय बनाउन लागिपरेकी छन् । राजनीति सबैभन्दा महत्त्वपूर्ण अस्त्र भएकाले यसलाई सदुपयोग गर्न सर्वसाधारणलाई घच्घच्याइरहेकी हुन्छिन् उनी । त्यसबाहेक उनले हाइयर ग्राउन्ड प्रोडक्सन कम्पनी उनले पति बाराकसँग मिलेर खोलेकी छन् । यसले फिल्म, पोडकास्ट, डकुमेन्ट्री आदि बनाउने गर्छ । नेटफ्लिक्स र स्पोटिफाई जस्ता कम्पनीसँग पोडकास्ट र फिल्म‑डकुमेन्ट्री बनाइने भएकाले यसको गुणस्तर पनि उच्चकोटीको हुनु स्वाभाविक छ । तिनले अस्कर र एम्मी अवार्डसमेत जितिसकेका छन् ।

उनीहरूको ओबामा फाउन्डेसनमार्फत सर्वसाधारणलाई प्रेरित गर्ने, जाँगरिलो बनाउने र संसार बदल्न प्रयास गरिरहेकाहरूसँग सम्बन्ध जोड्ने काम गरिरहेका हुन्छन् ।

मिसेलले आफूलाई समयले जहाँ ल्याइपुर्याएको छ, त्यहाँबाट अरूलाई पनि आफूले जस्तै प्रयास गरून् भन्ने चाहना छ । त्यसैले आफू जन्मेको ठाउँ, दक्षिणी सिकागोका विभिन्न ठाउँमा नेतृत्वकला, राजनीतिप्रति चासो र केही नयाँ गर्ने चाह हुनेहरूलाई सघाउन निकै धेरै काम गरेकी छन् । ताकि आफू यत्तिकै भाग्यको बलमा बनेको नभई अरूले पनि गम्भीर प्रयास गरेका खण्डमा कालाजातिका अमेरिकीहरूले गर्न सक्छन्, यो देश कालाहरूको पनि हो भन्ने प्रमाणित गर्न सक्छन् भन्ने उत्साह दिन लागिपरेकी छन् । उनले आफू जन्मेका ठाउँका सार्वजनिक सेवाका थलोहरूलाई पहिलेको तुलनामा धेरै सुधार्न सफल भएकामा खुसी देखिन्छिन् ।

उनका लागि यो ठाउँ प्यारो छ । उनी यहीँ जन्मिइन् । उनले बाराकलाई यहीँ फेला पारिन् । हार्वर्ड युनिभर्सिटीमा कलेज डिग्री पूरा गरिन् र जीवनकै पहिलो गतिलो आम्दानी पनि कानुनमा स्नातक भएपछि पाइन् । जब बाराक र मिसेलले एउटै ल फर्ममा काम गर्न थाले र उनीहरूबीच घनिष्ठता बढ्यो, यहीँ दुई सन्तान जन्माए ।

मिसेलको सबैभन्दा खुसीको क्षण चाहिँ, आफ्नी आमा मरियन रबिन्सनलाई ह्वाइट हाउसमा राख्न पाउनु थियो । मरियनले देशकै हजुरआमाका रूपमा सेवा गरेको देख्दा उनलाई गर्व लागेको थियो । यस्तो क्षण प्रायः ह्वाइट हाउसमा विरलै हुने गर्छ ।

साधारण मानिसले जब सामूहिक रूपमा दिल लगाएर काम गर्छन्, त्यसले चमत्कार ल्याउने गर्छ । त्यस्तै चमत्कारका लागि उनीहरूले किशोरीहरूका लागि समूह नामक संस्था पनि बनाइरहेका छन् । यस संस्थामा छोरीहरूलाई कसरी सपना पूरा गर्न सकिन्छ भनी प्रेरित गरिन्छ । आफ्ना छोरीहरूले गुँड छाडेर जीवनमा अघि बढेजस्तै तल्लो तप्काका छोरीहरू पनि त्यसरी नै हिम्मतका साथ अघि बढून् भन्ने मिसेल चाहन्छिन् । ताकि भोलिका दिनमा ती छोरीहरू आफ्ना छोरीहरूझैँ वृद्धावस्थामा सराहा बन्न सकून् ।

(मोर्डन वुमन म्यागेजिनबाट)