जेन अस्टिनको घर तथा बगैँचा

‘एम्मा’, ‘प्राइड एन्ड प्रेजुडिस’ लगायतका चर्चित उपन्यासकी लेखिका जेन अस्टिनले आफ्ना प्रख्यात उपन्यास लेखेको घर यतिबेला संकटमा परेको घरको रेखदेख गरिरहेका हाउस म्युजिम चटन ह्याप्सायरकी लिज्जी डनफोर्डले बताएकी छन्।

उनको घर हेर्नका लागि वार्षिक लाखौँ पर्यटक जाने गरेकामा कोविद १९ रोगका कारण आर्थिक संकटमा परेको र बन्द हुने अवस्थामा पुगेको उनले बताएकी हुन्।

यसलगत्तै इतिहासकार लुसी वर्सली र टेलिभिजन प्रस्तोता एलन टिकमार्सले यो संग्रहालय बचाउन अभियान नै शुरू गरेका छन्। उनीहरूले कम्तीमा यो वर्ष संग्रहालय चलाउन आवश्यक पर्ने रकम ७५ हजार पाउन्ड रहेको र यति रकम नउठे, संग्रहालय मर्मतदेखि कर्मचारीलाई आवश्यक खर्च कटौतीमा पर्ने बताइएको छ।

१७ औँ शताब्दीमा बनेको यो घर बेलायतभरिका पुराना घरहरूमध्ये क श्रेणीको घर भनी सूचीकृत गरिएको छ। यो घरमा जेन अस्टिन सन् १८०९ देखि उनको मृत्यु नहुञ्जेल १८१७ सम्म बसेकी थिइन्।

यस संग्रहालयमा उनका निजी डायरी, चिठ्ठीपत्र, गरगहनादेखि अन्य किसिमका सामग्रीहरू राखिएका छन्।

‘यो घरमा रहँदा उनले ६ वटा उपन्यास लेखेकी थिइन्,’ वर्सलीले भनिन्, ‘अस्टिनको यस घरलाई उनका प्रशंसकहरूले पवित्रस्थलका रूपमा लिने गरेका छन्। यति महत्त्वपूर्ण स्थलको अवस्था दिनदिनै बिग्रेको खबरपछि हामीहरू चुप रहेर बस्न सकेनौँ। त्यसैले अस्टिनको घर अभियान शुरू गरेका हौँ।’

अभियान शुरू भएयता ५९ हजार पाउन्ड जम्मा भएको र थप रकम जुटाउन पहल भइरहेको वर्सली बताउँछिन्। उनी भन्छिन्, ‘यो संग्रहालय जोगाउनु ती सबै सामान्य पाठकहरूको कर्तव्य हो, जसले उनका सिर्जना पढेर प्रेरित भएका थिए। उनको घरलाई दुरूस्त राखेर उनीप्रति हामीले सम्मान प्रकट गर्न जरूरी पनि छ।’