२८ कार्तिक २०७७
लक्ष्मी पूजा

आज पाँच बज्ने बेलामा उठेँ र स्टडीमा पुगेँ । अञ्जनालाई निकै राम्रो भयो । उनी सुतिरहेकी थिइन् । पानी पिउन मन छ कि, बोलेर हिँडेँ । चियाको सर्दाम तयार गरिसक्ता पाँच बज्यो ।

आज कति कामले मलाई आतेस खेलाएका छन् । आज ता दिसम्बर महीनाका १४ तारिक भयो । भोलि सिलिगुडीबाट प्रकाशित पब्लिक नाममा मेरो ग्रिसेली यात्रा संस्मरण प्रकाशित हुने दिन छ । आज बिहानभरिमा दुई हजार शब्द पूरा गरेर त्यता पठाउने अध्ययन गर्दछु । । आज बेलुकी लक्ष्मी पूजा सोही अवसरमा अनेसासले मलाई प्रमुख वक्ता राखेका छन् । मैले बोल्नु छ ।

एकै दिन दुईवटा काँधमा जिम्मेदारी आउँदा कस्तो मुश्किल पर्छ, हार्न नसकिने, टार्न नसकिने दुवै । त्यसैले ग्रिसेली यात्राबारेको संस्मरण नेपालीमा लेखेको छु धेरै पहिले । परन्तु त्यसको अंग्रेजीमा अनुवाद गर्न पनि त्यस्तै गहिरो कुरा हुन जान्छ । महाकविबारे पनि बोल्दै हिँडेको ता धेरै वर्ष व्यतीत भए परन्तु बौद्धिक स्रोताबीच स्पष्ट भएर केही नयाँ कुरा राख्नलाई कत्रो कसरत पर्छ । अरुले भन्दाभन्दा मिथक बनाएका कुरा दोहोराएर उम्किन गाह्रो छैन तर बौद्धिक जिम्मेदारी लिन ता मुस्किल छ । म सम्झिन्छु— महाकवि देवकेटाका ज्ञाता कति छन्, अध्येता कति, विद्यावारिधि कति, यस्तो स्थानमा आफूले अवसर पाउनु कत्रो कुरा छ ।

यस्तो सोच्तै ल्यापटप खोलेँ । ग्रिसेली यात्रका अठार सय शब्द पूरा गरेर सुतेको हुँ । अब एक दुई पल्ट सम्पादन गरेर रिक्तता भरी पठाउँछु । यस्तो ठान्दै मेरो डेल खोलेर हेर्छु— त्यहाँ पाश्चात्य शब्द मात्र छन् । यताउता खात्तिएर खोजिहेरे, तर कहाँ खोज्नु पाँचसय शब्द मात्र छन् । कसरी डिलिट भएर मेटियो । कहाँ खोल्दा चल्दा सेभ गर्दा कसरी उड्यो ! कुनै उत्तरदायित्व नलिने मुर्धा राक्षसबाट काम गराइरहन्थे परिणाम यस्तै भयो । मानिससँग भए अलिकति रिसाएर क्रोध शान्त गर्नुहुन्थ्यो । तर एक निर्जीव आत्मसित रिसाउनुको तात्पर्य केही थिएन । त्यसैले आफ्नै मनलाई फकाएर शान्त पार्दै ल्याएँ । दुई पेला कागती चियाले अलिकति स्थिर भयो । त्यसपछि फेरि काम थालेँ । जसो होला । गर्दागर्दा निहुरेर गरिरहेँ । कतै फोन नगरी, कतैको नउठाई गर्दागर्दै रमाइला घाम लागे, बाहिर ननिस्की दस बजेसम्म गर्दा निकै पारेँ । हिजो एकपल्ट हिँडेको बाटो हो, एकसारो चिल्याएको । आज फेरि हिँड्दा पनि केही सम्झना हुन्छ— त्यसरी ‘उघाउनु’ भन्ने शब्दलाई मैले बालकृष्ण पोख्रेलको कम्प्रिहेन्सिव नेपाली इङ्गलिश नेपाली डिक्शनरीमा हेरेर सुनिश्चित गरेको थिएँ, अरु पनि कति शब्द र पद गुगलमा हेरेर सिकेको भर्खरै थियो । त्यसकारण भर्खरै हिँडेको गोरेटो भएर फर्केको जस्तो भयो ।

गर्दैलाँदा दुई बजेसम्म दुई हजार शब्द पुगेछन् । चौथो भोगको चित्र बन्यो । यसमा हिजोको भन्दा अझ नयाँ नयाँ कुरा थप्न आएछ । मलाई एडमण्ड स्पेन्सरको एमोरेटी भन्ने कविताबाट समुद्री छालको दार्शनिक व्याख्या गरेको कुरा कत्ति हृदयश्पर्शी थियो । जीवनका नित्य कर्मझैँ प्रत्येक दिन व्यर्थताहरू दोहो-याइरहनुपर्ने । वास्तवमा जीवभरि कुधेका भाषा साहित्यका सम्मेलन अनि रातोदिन घोप्टिएर पढेका लेखेका राम्रा पढेँ भनेर हाँसेका क्षण । राम्रो लेखेँ भनेर रमाएका क्षणहरू समयको ज्वारभाटाले छप्याङ्गै पारेर छोपिसक्यो । तर फेरि आज कत्रो व्यग्रताले कत्रो चिन्ताले तिनै कुरा दोहो-याउँदै छु । एडमण्ड श्पेन्सरको त्यो श्लोक दोहो-याँए तेहे-याएँ । त्यसको ग्रामर र प्रयोग चेक गरेँ । एक्काइस शब्दको चौथो शृङ्खला ग्रीस पुगेका भोलिपल्ट बिहानको । समुद्र देखेको । त्यसो त अघि पनि देखेँ— भारतमा पाकिस्तानमा रुसमा, अमेरिकामा तर डिलडिलबाट देखेको समुद्रलाई आफ्नै हातले स्पर्श गरेको कहाँ छ र ? ग्रीसमै हो पहिलोपल्ट । पुगेको भोलिपल्ट बिहान । समुद्री तटमा देखिएको पाश्चतले विशाल त्यो जहाजको नाम हेलिनिका रहेको जुन शब्दले सम्पूर्ण प्राचीन ग्रीसलाई प्रतिनिधित्व गर्दछ । त्यस प्रतीकलाई देखेर पनि अनेक साहित्य विम्ब अघि आए । अघिको ग्रिसेली भन्नु नै हेलेनिक हो । हेलेन को थिइन्, ती देवी ती विश्व सुन्दरी, ती सर्वश्रेष्ठ युवती । जसको सौन्दर्यको वशमा परेर उनको एकै झल्को दर्शन पाएदेखि आफ्नो आत्मा नै कलालाई बुझाउने प्रतीक्षा गरेर प्रतीक्षारत त्यो पात्र डाक्टर फाउस्टस् अनि महान् शिल्पी मार्लोसको नाटक ।

उसबेला पढेको डाक्टर फाउस्टस् नाटक । शेक्सपीयरले नभेट्ने भन्नुजस्तो । उनका समकालीनको । सम्पूर्ण एलिजावेथ युगलाई झलमल पार्ने त्यो युगको आजभन्दा चारसय वर्षअघि अंग्रेजी साहित्य कहाँ पुगेको ! त्यसैले उनीहरू नित्य माथि पर झन् टाढा छन् । हामी भर्खर मिन छोडेर टुकुर टुकुर हिँड्न खोज्दै छौँ । यतिबेला शताब्दी अघि लेखिएको पं. धरणीधर शर्मा कोइरालाको जागृति गीत गाउन मन लाग्छ ।
जाग जाग अब जाग न जाग
लाग उन्नति विसे अब लाग
घोर नीद अब ता परित्याग
भो भयो अति सुत्यौ अब लाग
मैले ग्रीसेली हेलेन र पूर्वेली अध्यात्मिक भूमिकी सीताको सन्दर्भ उठाएँ र हेलेनिक शब्दको सन्दर्भ अर्थपूर्ण बनोस् भनी डाक्टर फौष्टनले सम्बोधन गरेका शब्दले रचित कवितांश उद्धृत गरेँ ।

अब मलाई कलिकति आँट आयो । दुई हजार शब्दलाई दुई दिन पूरा लगाएँ, धेरै समयको लगानी जसको तुलनामा उपलब्धि सानो भन्ने पश्चात्ताप मात्रै तर त्यसको उपाय छैन । त्यो समय बचाउन आज दिवा भ्रमणमा पनि गइनँ । सधैँ अञ्जना र म घरैमा यूटयूब खोलेर हिँड्थ्यौँ आज त्यो पनि गरिएन ।

तीन बजेतिर भाइ देवेन्द्र आए । बुङ्गमतिदेखि आफ्नै छिमेकी दिदीले पकाएका भनी एक भाग सेलरोटी ल्याइदिए । सम्पूर्ण हृदयले हाम्रो चिन्ता गर्ने भाइ आउँदा पनि मन धेरै उज्यालो हुन्छ । अघिल्लो हप्ता भाउजूको उपचारमा कत्रो दौडधूप गरेका थिए । तर म धेरै बोलिनँ । त्यसपछि राजा पुनियानी भाइलाई शृङ्खला पठाएँ, ढुक्क भएँ अनि महाकवि देवकोटातिर लागेँ ।

यसपालि चुनिएकी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी सदस्य बहिनी डा. रेणुका ‘सोलु’ ले मलाई दुई हप्ताअघि अनुरोध गरेकी थिइन्— सर यसरी अनेसासले यसपालिको देवकोटा जयन्ती पारेर एउटा अन्तर्राष्ट्रिय जूम कार्यक्रमको आयोजना गर्दैछ । जसमा सरलाई प्रमुख वक्ताको रुपमा उपस्थितिको लागि अनुरोध गर्दछौँ ।

‘हओस् बैनी’ मैले स्वीकृति जनाएको थिएँ । गर्दागर्दै गर्ने दिन पनि आयो, त्यो आजै हो । महाकविमाथि भन्ने बोल्ने धेरे कुरा भएकाले र आफू आंशिक रुपले अवगत भइसकेकाले मलाई ठूलो चिन्ता थिएन । तर अस्ति पोहोरका अध्ययन वा प्रस्तुतिलाई गर्दागर्दा समयको धलोले नचिनिने बनाइसकेको हुन्छ । एकपल्ट फेरि टक्कटक्याउनु पुछ्नु पर्छ । एकदिन भरि समय पाउँला भन्थेँ । त्यही समय चिप्लेकाले अब के होला भन्ने भएको मात्र हो ।

तर महाकविबारे देवकोटा विशेषाङ्कहरुमा अन्य सङ्कलनमा, स्वतन्त्र लेखमा आसामको पुस्तकमा गरी २०० पृष्ठ नाघ्ने गरी लेखेँ हुँला, असङ्कलित भएर मात्रै । लेखरचना सङ्कलन नगरिएका कुनै काम रहेन छ भन्दा पनि हुन्छ ।

तीन दिनअघि बहिनीले पठाउनुभएको प्रचारक फ्लायर आयो अनेसास अनलाइन सम्वाद भन्ने शीर्षकमा । त्यसका शिरमा महाकविको तस्बीर एक छेउमा शृङ्खला २७ छापिएको थिए । त्यसदेखि तल्तिर पहिलो लहरमा हामी तीन जना थियौँ, क्रमशः गोविन्दराज भट्टराई, पद्म देवकोटा र हारु हितो नोजू । मलाई प्रमुख वक्त भन्नुभएको थियो । तर प्रा. डा. पद्म देवकोटा स्वकाम हुनु भएपछि उहाँभन्दा ठूलो विद्वान् को छ ? उहाँले महाकविका विषयमा गर्नुभएको अध्ययन र अनुसन्धानका कार्य हेर्दा हाम्रो हृदय प्रशंसाले भरिन्छ । एउटा कुरा देवकोटा अध्ययन केन्द्रका प्रकाशनहरू हेरौँ अनि उहाँले गत वर्ष प्रकाशनमा ल्याएको धेरै थपिएको मुनामदन र त्यसको अनुवाद हेरौँ । महाकविको विद्वान् सुपत्र देख्न पाउनु पनि सबैको निमित्त कत्रो सौभाग्य थियो ।

आज कति साहित्यकारका सन्तान को थिए वा थिएनन् भनी नसक्नुको स्थिति दुःखलाग्दो छ । बालकृष्ण समका, कृष्णचन्द्रसिंह प्रधानका, मोहन कोइरालाका, गोविन्दबहादुर मल्लका— नेपाली साहित्य अगणित निर्माताहरू सन्तानविहीन छन् । भए पनि स्रष्टा कलाकार बाबुआमाको नाममा केही गर्न नसक्नु कत्रो विडम्बना छ । कि सम्पूर्ण मेटिँदै गएकाको त्यो हाल छ— लैनसिंह वाङ्देलको, अमर गुरुङको… । यो दुखद् पक्ष छ । यद्यपि केही प्रंशसनीय सन्तान छन्, उहाँ पद्म देवकोटा लगायत डा व्यञ्जू शर्मा, विजय चालिसे, मदन थापा, सिमा यस्तै ।

तेस्रो वक्ता छन्, हारुहितो नोजू नामक जापानी नागरिक । मैले सुनेता पनि देखेको रहेनछु । तल तेस्रो हारमा ससाना फोटामा एक हार स्रष्टा छन्— दीप्ति भट्ट, दुर्गा रिजाल, सविना रेग्मी, दुर्गा पोख्रेल, सुदीभद्र खनाल र यसका सञ्चालक थिए सर्वज्ञ वाग्ले ।

हिजो मात्रै रेनुका बैनीले जूम लिङ्क पठाउनु भयो— अनेसासद्वारा आयोजित ११२ औँ महाकवि देवकोटा जयन्तीका लागि सर्वज्ञ वाग्लेद्वारा निम्नानुसार निमन्त्रणा गरिएको छः
शीर्षकः लक्ष्मी जयन्ती
समयः १४ नोबेम्बर २०२०( नेपालको समय ८ बजे)
मिटिङ आइडीः ….
पासपोर्टः ….
त्यसको फेदमा एउटा वाक्य छः आधुनिक इम्टप्र्राइजेजको भिडियो सञ्चारकर्महरुमा जूम नै लिडर

आठ महीना अघिसम्म नसुनेको शब्द जुम यतिखेर दिनमा एक दुई पल्ट सुन्नु र प्रयोग गर्नु परेको छ । यो कोभिड संकटलाई अर्कातिरबाट वशीभूत बनाई प्रविधिले कत्रो बल गरेको समयमा परियो। यस्ता शब्दका आत्मा र कर्मका चलाहरुले हृदयभित्र छोएका छैनन् । जति पानी दर्के पनि ओभानै बस्ने पिडालुका पात जस्तै । तर यन्त्र बनाउनेले चमत्कार गरेपछि त्यसको आत्मा नचिने पनि चलाउन जान्नु परेको छ ।

त्यस जूम मिटिङ भनिएको तल अन्त्यमा क्लाउड एचडी लेखेको सार्वजनिक जीवनमा छिनछिनमा आइरहनु क्लाउड के रहेछ, हामीले सिकेको क्लाउड माने बादल कहाँ पुग्या कि त्यही बादलको अरु मानसिक रुप हो कि त ! होस् क्लाउडको नवीन अर्थ पछि नै खोजौँला ।

लक्ष्मीपूजाको सन्ध्या छ । मैले रु. ५० का चार थुँगा सयपत्री किनी ल्याएको थिएँ । तिनै चढाइन सेवाले । निस्केर हेर्छु बिजुली बलेकै छन् तर तिहारको रमझम एकै अंश विना, मिरमिरे, टल्किने, बल्ने, निभ्ने, बिजुलीकाँ जादू केही दिन, सेलरोटिविना, सयपत्री, मखमली माला विना, कुनै पटाका तमाशा विना— कत्रो सुनसान छ निरन्तरता भैँ । यस्तै हो कि मुलिवीर राईले लेखेको मृत शहरमा । कुनै हो हल्ला छैन, देउसी छैन, भैलो छैन । घरमा कोही आउने छैन, घरबाट कोही जाने छैन । यस्तो समयमा यो टाइमपास जस्तो समयमा आज तै तैपनि एक जूम छ अनेसासको । दुःखसुख कष्टमा पनि बोल्ने भाषा साहित्य मात्रै हो । त्यसैले यही कर्ममा लीन हुन पाउँदा ता अरु बाह्य जगत्को निजीवता पनि भुलिने हरेछ ।

गीता खत्री बहिनीले सबको स्वागत गर्नुभयो । त्यसपछि पालो आयो— प्रथम वक्ता हारुहितो नोजूको नेपाली भाषा बोली कति शुद्ध र सहजलाग्दो । एक राई लिम्बूको जस्तो स्वाभाविक थियो । उनले जापान–नेपालका तुलनात्मक बात गरे विशेषगरी साहित्य र अनुवादका अनुभवमा देशको पहिचानलाई यसको सम्मानले प्रभाव पार्दछ । नेपालीहरु जापान पुगेको धेरै भयो, ९० हजार जति नेपाली अहिले छन् तर तिनीहरुले जापानी भाषा ÷संस्कृति राम्ररी सिक्ने वा बोल्ने लेखनतिर ध्यान दिएका छैनन् ।

अध्ययनको लागि आउने कम छन्, यत्ति धेरै भए पछि जापानी भाषाका अध्येता एकजना पनि छैन । व्यवसायिक होलान् । भाषातिर लाग्नु पर्ने । मुनामदनको पहिलो अनुवाद जापानी मा आयो तर झ्याउरेको अनुवाद उता हुँदैन । एकैचोटि नेपाली साहित्य फैलाउन ता सकिन्न बिस्तारै हुनसक्छ । जापानी साहित्यको पनि भनेजति अनुवाद हुन सकेको छैन भन्ने नाजुहितोको स्पष्टोक्ति थियो । तर तथ्य के छ भने जापान विश्वकै एक सुपर पावर भइसकेको समुन्नत देश त्यहाँको साहित्यले प्रशिद्धि आर्जन गरेको छ । जापानी साहित्यबाट केही आदानप्रदान गर्नुपर्ने, त्यो हुन सकेन ।

मलाई थाहा छ— गतवर्षको इशिगुरो समेत गरी जापानी साहित्यबाट नोबेल पुरस्कार विजेताको संख्या तीन पुगेको छ । ती हुन् यासुनारी कावावाता, केञ्जावुरो ओए र इशिगुरो । इशिगुरोले बेलायती नागरिकता लिएका छन् । अरु पनि छन्, प्रत्यासी स्रष्टाहरू मुराकामी जस्ता । तर नेपालमा त्यस्तो सपना अझ पचास वर्षसम्म देख्न मुश्किल पर्ला । भारतका महान् लेखक स्रष्टा छन् के तिनले प्रयत्न गरेको छैनन् होला चार अरब जनसंख्या हुने देशका स्रष्टाहरु । एक शताब्दी नित्य भारतभूमि निराशासँग पर्खिरहेको ।

त्यसपछि प्रा. पद्मदेव बरालले आफ्नो धारणा राख्नुभयो । एकदमक संक्षेपमा । कलकत्ताबाट आएर राम्रो हावापानी भएको ठाउँ । आदेशवरमा राम्रो हावापानीमा स्वस्थ्यलाभमा गर्न पुग्नुभयो । एक महीना जति । नजिकमा इचंगुनारायणमा मन्दिरसम्म पुग्नुहुन्थ्यो । त्यहाँ पुगेर उहाँले हातै जोडेर प्रार्थना गर्नुभो । मन्दिर पछाडिको डाँडालाई भावपूर्ण मुद्रामा हेर्नुहुन्थ्यो । नास्तिक भन्छन् तर एकातिर मन्दिर देवता, पारि प्रकृति र आफू मान्छे । उहाँ तीनवटाको संगम हुनुहुन्थ्यो । यी तीन कुरा ईश्वर प्रकृति मानिस सम्पूर्ण । ईश्वर आध्यात्मिक तहको अमूर्तता त्यसलाई सबैलाई छोइरहेकै हुन्छ र नकार्न आवश्यक छैन । व्यावहारिक इन्द्रिय गोचर अर्कातिर विवेशदार अर्को मन भित्रका विभिन्न भावको चिन्तनद्वारा सत्य प्राप्त हुन्छ । देवकोटाले आफ्ना निबन्धमा । तीन प्रकारका सत्य व्यवहारिक, दार्शनिक र काल्पनिक हुन्छ । तीनैवटा स्वीकार्य छन् । प्रमुख काल्पनिक । उहाँको निबन्धमा पनि कल्पनाले नै हृदयको शक्ति निकाल्छ भन्नु भएको छ त्यो उच्च छ ।
महाकविको सम्पूूर्ण साहित्यमा तीनवटा कुरा बुझ्नु आवश्यक छ— कल्पनाको प्रचूरता, भाषिक क्षमता भविष्य दर्शन छ । त्यो सोच नै भविष्यवाणी थियो । व्यक्तित्वलाई हेर्दा वादको विभाजन गतल हो । उहाँको व्यक्तित्व अनेक विरोधाभाषले निर्मित थियो । भिन्न क्षणमा भिन्न प्रकारको भावनाले उहाँलाई पक्रिन्छ ।

त्यसपछि मेरो पालो आयो— प्रमुख वक्ताको । तर जम्मा १५ मिनेट । त्यसपछि केही कविता छन् । त्यसैले मेरो तयारी अनुसारको समय उपयुक्त लाग्यो ।

मैले सर्वप्रथम एउटा पृष्ठभूमि निर्माण गरेँ— डा. जयराज आचार्यलाई उद्धृत गरेँ । अघि पनि मैले भन्ने गरेका यी चार कुरा छन् । आधुनिक नेपालको निर्माणमा चार महान् व्यक्तिलाई सम्झिनुपर्छ ।
क) सर्वप्रथम एउटा सिंगो नेपालको भौगोलिक स्वरुप निर्माता पृथ्वीनारायण शाह,
ख) त्यस नेपालीलाई एउटै सुललित भाषाले बाँध्न सक्ने व्यक्ति भानभक्त आचार्य ।
ग) साम्राज्यवादले निल्न लागेको हाम्रो देशलाई अनेक जुक्ति र बलका भरता सगौरव टिकाइराख्न सक्ने व्यक्ति जंगबहादुर राणा,
घ) नेपाली साहित्यमा अध्यात्म प्रकृति र मानवता मिसाएर पहिलोपल्ट विश्वसाहित्यतर्फ दृष्टि पु-याउने अद्वितीय स्रष्टा— लक्ष्मीप्रसाद देवकोटा र
ङ) अनादिकालदेखि दासतामा दविएको पहिलोपल्ट स्वतन्त्रताको बत्ती देखाइदिने विश्व नागरिक विश्वेश्वरप्रसाद कोइराला ।

यस्तै सन्दर्भमा मैले महाकविलाई नेपालबाट बाहिर पु-याएर भारतसम्म पु-याई एक बौद्धिक समाजमा सूक्ष्मरुपमा भए पनि चिनाउने कर्म गरेँ । यसमा म भन्दा पनि आसामको गुवाहाटी नजिकै मालीगाउँ भन्ने ठाउँमा देवकोटाको प्रथम सालिक स्थापना गरेर, त्यस बजारको पोष्ट अफिसको नाम देवकोटा नगर व्यक्ति अरु कोही नभएर साहित्यकार नव सापकोटा हुनुहुन्छ । त्यहाँ पुग्ने हेर्ने अवसर मलाई पनि मिलेको थियो ।
नव सापकोटाका अनुसार महाकवि देवकोटालाई सङ्क्षेपमा चिनारी गराउने एउटा कार्यपत्र तयार पारेँ । बलराम अधिकारीले मोतीराम भट्टको बारेमा । अनि ठूलो तयारी गरेर त्यहाँको डाउन टाउन विश्वविद्यालय पानीखेतमा जनवरी २०१४ का दिन एक भव्य सम्मेलन राख्यौँ । सयपत्री सांकृत्यायन मञ्चले त्यो ग-यो । त्यसभन्दा पहिले नै महाकविका मुनामदन, गान्धी, ड्रिम्स एण्ड भिजन, हिमालयन भोइसेज जस्ता अंग्रेजीमा पुस्तक कृतिहरु मैले पु-याएको थिएँ । आफ्नो कार्यपत्र पनि पु-याएँ । त्यहाँ तीनवटा विश्वविद्यालयका प्राज्ञिक साहित्यिक बन्धुहरु, नेपाली भाषी, आसामीय, बंगाली, उर्दू सबै एकै ठाउँमा भेला ग¥यौँ । मैले कार्यपत्र प्रस्तुत गरेँ । त्यसमाथि यस्ता शीर्षकमा लिखित टिप्पणी प्राप्त ।

मेरो कार्यपत्रको मूल सार भनेको महाकवि देवकोटालाई जगत् समक्ष बुझाउने प्रयत्न थियो । मैले यसरी बुझाएँ—

आधुनिक नेपाली साहित्यका महान् अग्रणी देवकोटा पूर्व र पश्चिमका योजक, अतीत र वर्तमानका योजक अनि मानवता र स्वतन्त्रताको एक अविश्रान्त योद्धा थिए । प्रकाशित, अप्रकाशित गरी १७० जति कृतिका सर्जक महाकविको समग्र रचनालाई सूत्रात्मक रुपले निम्न सात बुँदामा बुझाएँ ।

देवकोटाले सिर्जना, अनुवाद र अनुकूलन तिनवटै कर्म गरे । उनले नेपाली, अंग्रेजी, संस्कृत तीनवटै साहित्यलाई आधार बनाए । उनको व्यापक अध्ययनले अंग्रेजीको प्रवेश सम्भव बनायो ।
१) उनले नेपाली मौलिक रचना गरे ।
२) उनले नेपालीलाई अंग्रेजीमा अनुवाद गरे ।
३) उनले अंग्रेजीमा मौलिक रचना गरे ।
४) उनले अंग्रेजीबाट नेपालीमा अनुवाद गरे ।
५) उनले अंग्रेजीबाट नेपालीमा अनुकूलन गरे ।
६) उनले संस्कृत हिन्दीबाट नेपालीमा अनुकूलन गरे ।
यी गर्ने तीन प्रक्रिया र तीन भाषा भए । त्यसैले उनका तीनवटा (त्रिस्तरित) मानस भूगोल थिए— नेपाली भूगोलको संस्कृतिको विषयवस्तु लेखे ।

भारतीय भूगोल र इतिहासको विषयवस्तु रचना सामग्री बनाए । ग्रीस र बेलायत ।
यिनै कुराको विस्तारमा छन् महाकवि । तर हामी नेपाली जातिले महाकविलाई चिनाएका छैनौँ । कति ग्रन्थ लेखिए, कति विशेषाङ्क , कति समालोचना कति विद्यावारिधि एमफिल । विश्वग्रामीकरणले । ढाकेको यो समयमा हाम्रा प्रतिभा अरु समक्ष चिनाउन सकेनौ भने हाम्रो जाति नै अपरिचित रहने छ । वर्षौं वर्ष लक्ष्मी जयन्ती मनाएर केवल आफू रमाउनुको पनि अर्थ छैन ।

अब नेपाली जातिले बनाएको एक विशाल संस्था अनेसासले महाकविलाई विश्वसमक्ष लैजानु पर्छ । जुनसुकै देशमा बस्ने भए पनि वर्तमान युगमा नेपाली नै प्रथम माध्यम हुन सक्छ । त्यस कारणले अनेसासले अंग्रेजीमा महाकवि चिनाउने एउटा यस्तो कृति तयार गराओस्, जुन मानक हुन्छ, प्रमाणिक हुन्छ स्तरीय पनि । हरेक देशका बौद्धिक पाठकका हातमा राखिदिने एक कोशेली तयार पारौँ त्यसपछि अन्य भाषामा त्यसैको अनुवाद गराऔँला । यतिभन्दै आजलाई म यही रोकिन चाहन्छु । धन्यवाद ।

आज तीन बजे उठेँ । अञ्जना सुतिरहेकी थिइमन् । मेरो निद्रा गहिरो थियो। उनलाई त्यस्तै भइदिए हुन्थ्यो भनी सोधेँ— आज निद्रा कस्तो भयो ? कतिको निधायौ ?
कानको उपचारको क्रममा अग्लो सिरानेमा सुत्छिन् । “निधाउन त निधाएँ । तर झ्यास्स झ्यास्स बेलोबेला ब्यूँझिँदै । सपना आज पनि राम्रो छैन ।“

“कस्तो देख्यौँ ?“

“काँ हो काँ एक शहरमा पुगेकी रहिछु । गल्ली साँघुरा थिए; सबै अपरिचित मात्रै । म अलमलिएर हराएकी थिएँ । चिनेको कोही थिएन, पुष्पा, कर्णक तै देख्थेँ ।“

उनका मनमा बिमारीले, कमजोरीले, एक्लोपनाले sense of list छ । म सम्झाउँछु तर यतिखेरको वातावरण मानवदेखि मान टाढा हुन्छ । रोगी कमजोरीको मनमा हताशा हुन्छ होला । फेरि समय तौलेर सुत्यौँ । पाँचमा उठेर माथि गएँ । अनि हरिप्रसाद तिवारीको पीएचडी थिसिसको रिपोर्ट लेख्न थालेँ । अलिक काँचो छ, अपरिपक्व तर हाम्रै विद्यार्थी कसरी हुन्छ बाटामा ल्याउनु पर्ला ।

दश बज्ने बेलामा अमेरिकादेखि भारती दिदीको फोन आयो । भिनाजुका पनि कान बिरामी परी निको भएका, ट्रम्पका पराजयले अझै सत्ता हस्तान्तरण नगरुन्जेल (तीस जनवरी) सम्म थाम्न गारो भो । दबाइ भ्याक्सीन निकाले भन्छन्, अब हेरौँ । हामी पनि डराएरै बसेका छौँ ।
खाना खाएपछि सेवाले मेरो केश काटिदिइन् । लट्टे भएको थियो आठ महिनामा । केश धेरै होइन पातलो सेता–कालो । त्यसैले होला बटारिएर बाट्टिए पनि चार लट्टा थिए । सेवाले भनिन्, “बुबाको केश ड्रेडलक भएछ ।“

नभन्दै हिजो वाकिङमा जाँदा एक राम्रो कैँची ल्याएँ, २३० मा । ट्याङ्लाको त्यो भाइ मसँग अंग्रेजी बोल्न खूब मन पराउँछ, त्यसैले अलेली घटायो । म घाममा बसेँ मुढामा, सेवा उभिएर मिलाइन् । त्यसपछि स्नान गरेँ ।

त्यति सक्ता ऋद्धिसिद्ध पोलिक्लिनिकका भाइ आइपुगे । हामी दुवैको पीपी रक्त तानेर लगे । ढुक्क भयो समय बच्यो यद्यपि पैसा बचेन । अनि आफ्नै बगैँचाका अम्बा सेकिएका थिए । अञ्जनाले काटिन् दुई दानाले पुग्छ हामीलाई ।

एकछिन ज्ञानजीको फोन आयो मेरामाल पुगेँ भन्नेमा । एकछिनमा महेश पौड्यालको फोन आयो ।उनले महकविको के नेपाल सानो छ को अंग्रेजी अनुवादलाई आजको द गोर्खा टाइम्समा राखेछन् । त्यसको उच्च प्रशंसा आएछ, म प्रशन्न भई वीचरञ्चीलाई लेखेँ। यस्तै हो अनुवाद मर्मज्ञ थोरै नै हुन्छन् ।

त्यसपछि महेश पौडेलको टुवार्डस् एन एज अव् माइक्रो–हिष्ट्री आयो आजको पब्लिकनाममा । त्यो पढेर म चकित भएँ । कति शक्तिशाली लेखन छ ! कसरी समसामयिक चिन्तन बुझेर शक्तिशाली भाषामा कत्रो दृष्ताले लेखेका छन् । म प्रशन्न भएँ । यस्ता पाँच युवा भए नेपालका अधिभाषकवादीलाई परास्त गर्ने थिएँ— तिनीहरू जो उत्तरआधुनिक चेतनाको विरोध गर्दै मकाइएका जडसूत्रको प्रशंसा गरेर ढाँटिरहेका छन् ।
चार बजे घुम्न निस्किएँ । एक घण्टा— चिसो बढ्दैछ ।