
एलेन गार्नरले ६२ वर्षअघि पहिलो किताब लेखेका थिए । बालबालिका र लोकगाथाहरुलाई कथानक स्वरुप दिएर लोकप्रिय भएका गार्नर बुकर पुरस्कारको लामो सूचीमा पर्ने सबैभन्दा वृद्ध लेखकमा गनिएका छन् । हाल उनी ८७ वर्षका छन् । उनको ट्रिकल वाकर उपन्यास यो सूचीमा परेको हो ।
लामो सूचीमा सबैभन्दा कम उमेरकी लेखिका लैला मोटली रहेकी छन् । अमेरिकी लैलाको ‘नाइट क्रलिङ’ उपन्यास यो सूचीमा परेको छ । उनी जम्माजम्मी २० वर्षकी छन् ।
यस वर्षको बुकर सूचीमा तीन बेलायती, पाँच अमेरिकी, दुई आइरिस, एक श्रीलंकाली र एक जिम्बाबेली लेखक सूचीकृत भएका छन् ।
यस वर्ष १६९ वटा उपन्यास प्रतियोगिताका लागि भाग लिएका थिए । लामो सूचीमा १३ वटा पुस्तक राखिएका छन् ।
पुरस्कारको छोटो सूची सेप्टेम्बर ६ मा जारी हुनेछ भने अक्टोबर १७ मा ५० हजार पाउन्ड राशिको पुरस्कार घोषणा गरिनेछ । बुकर पुरस्कार प्राप्त गर्ने पुस्तक रातारात बेस्ट सेलर हुने गरेको छ ।
लामो सूचीमा पाँच पुरुष र आठ महिला परेका छन् । यसअघि जिम्बाबेकी नोभिओलेट बुलावेयो, अमेरिकाकी करेन जे फोलर र स्कटल्यान्डकी ग्रेमी मेक्रे बर्नेट यो सूचीमा परिसकेका लेखक हुन् ।
पहिलो उपन्यासमा नै सूचीमा पर्न सफल लेखकहरुमा मोटली, बेलायती म्याडी मार्टिमर र अमेरिकाकी सेल्बी वेन स्वार्ज रहेका छन् ।
सबैभन्दा वृद्ध लेखक एलेन गार्नर यो सूचीमा पर्नु दुर्लभ अवसर मानिएको छ । सन् १९६० को दशकमा उपन्यास लेख्न थालेका उनको पछिल्लो उपन्यास बाल साहित्यको सबैभन्दा राम्रो पुस्तकको सूचीमा जताततै पर्ने गरेको थियो । उनको पुस्तक यो सूचीमा पर्नुलाई बुकर पुरस्कारका छनोटकर्ताहरुले उनको अद्भुत लेखनीको नमुना भएकाले यता नामांकनमा परेको प्रतिक्रिया दिएका छन् ।
१६० पृष्ठको सो पुस्तक लेख्न गार्नरलाई आठ वर्षभन्दा बढी समय लागेको एउटा अन्तरवार्तामा बताएका थिए । ८७ वर्षको उमेर छुनुअघि यो कथा पूरा नगरी मरुँला भन्ने आफूलाई ठूलो तनाव रहेको रेडियो टाइम्स अखबारलाई प्रतिक्रिया दिँदै भनेका थिए ।
बुकरको लामो सूची
नोभायोलेट बुलावायो (जिम्बावे)ः ग्लोरी
हर्नान डियाज (अमेरिका)ः ट्रस्ट
पर्सिभल एभरेट (अमेरिका)ः द ट्रिज
करेन जोय फोलर (अमेरिका)ः बुथ
एलेन गार्नर (बेलायत)ः ट्रिकल वाकर
सेहान करुनाटिका (श्रीलंका)ः द सेभेन मुन्स अफ माली एमेल्डा
क्लेयर किगन (आयरल्यान्ड)ः स्मल थिंग्स लाइक दिज
ग्रेमी माक्री बर्नेट (बेलायत)ः केस स्टडी
एड्री म्यागी (आयरल्यान्ड)ः द कोलोनी
म्याडी मार्टिमर (बेलायत)ः म्याप्स अफ आवर स्प्याक्टकुलर बडिज्
लैला मोटली (अमेरिका)ः नाइटक्रलिङ
सेल्बी वाइन स्वार्ज (अमेरिका)ः आफ्टर साफो
एलिजाबेथ स्ट्राउट (अमेरिका)ः ओह, विलियम !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

