इनो इसुम, लेखक, ५४ वर्ष, घानाका लेखक

एक दिन म मेरा बुवासँग कारमा यात्रा गरिरहेको थिएँ । म साह्रै सानो थिएँ । सम्भवतः तीन वर्षको थिएँ कि ! बुवाले मलाई एटलान्टिक समुद्रको छेउमा लैजानु भयो र समुद्र देखाउनु भयो । त्यसभन्दा पहिले जीवनमा यति विस्तृत समुद्र देखेको थिइनँ । साँझको बेला थियो । घाम अस्ताउन लागेको थियो । त्यस बेलाको दृश्य र आँखाभन्दा परपरसम्म पनि पानी र त्यसले सिर्जना गरेको छालबाहेक केही थिएन । त्यो अद्भुत दृश्य मेरो जीवनभर छाप बनेर बसिरह्यो । त्योभन्दा पहिला मलाई समुद्र हुन्छ भन्ने पनि थाहा थिएन । पानीको त्यति विस्तृत रूप हुन्छ भन्ने पनि बुझेको थिइनँ । मैले त खाली भूमि मात्र देखेको थिएँ । भूमिको समुद्र देखेको थिएँ, पानीको थिइनँ ।

सन् ६० को दशकमा मेरा बुवा र आमा घानाबाट बेलायत बसाइँ सरेपछि उहाँहरूले दोब्बर मिहिनेत गर्नुभयो । मलाई मिहिनेत दोब्बर गर्नुपर्छ भन्ने लागेको थिएन । उहाँहरूले आफैँ उदाहरण बनेर के र कसरी गर्नुपर्छ भनी देखाउनुभयो । म हुर्किसकेपछि मात्र बुवाले एमबिए पढ्नु भएको थियो । आमा त नर्स हुनुहुन्थ्यो । कठोर मिहिनेतपछि मात्र हामी एउटा सहज जीवनयापन गर्न सक्छौँ भन्ने दुवैको जीवन देख्दा मैले थाहा पाएँ ।

सन् ७० र ८० को दशकमा म हुर्कंदै गर्दा बेलायतको अनौठो व्यवहार थियो । काला मान्छे देखिसहँदैन थिए । त्यस्तो व्यवहार र अप्ठेरो भोग्नुको साटो मैले सधैँ पढाइमा मन लगाएँ । त्यो बेला कमिक्सका सुपरहिरोहरू मेरा साथीभाइ हुन्थे । उनीहरूले मलाई चिन्ता, डर र आशंकाबाट निकाल्थे । साइफाई फिल्म पनि मलाई खुब मन पर्थ्यो र तिनीहरूले मलाई सधैँ ढाढस दिइरहन्थे ।

मैले जीवनमा सबैभन्दा कल्पनातित काम गरेको सन् ९० को दशकमा बन्जी जम्प थियो । जब हाम्फालेँ, तल मान्छेको भिड थियो र माथिबाट हाम्फाल्दा उनीहरूकै टाउकोमा पर्छु कि भनेर आत्तिएँ । यो सम्झँदा अहिले पनि मलाई आङ सिरिङ्ग हुन्छ ।

मान्छेका जीवनमा अनेक उतारचढाव आउँछन् । किप अन मुभिङ भन्ने गीत सुन्दा त्यस गीतले मलाई ढाढस दिन्छ । यही गीतले मलाई प्रेरणा दिन्छ कि जीवनमा सिर्जना गरिरहनु पर्छ, अघि बढिरहनु पर्छ । अल्झनु हुन्न ।

जीवनमा कहिल्यै पैसाको पछि दौडिन, मात्र खुसीको लागि दौडिएँ । प्रेम र मानव जातिसँगको सम्बन्ध मेरा प्राथमिकतामा परिरहे ।

हुर्कंदै गर्दा म स्पाइडर म्यान बन्न चाहन्थेँ ताकि संकटमा परेकाहरूलाई मैले बचाउन सकूँ । त्यसपछि म चिकित्सक बन्न चाहेँ । पछि जब म अलि बुझ्न थालेँ, म लेखक बन्न चाहेँ । जुन दिन मैले म सुपरपावर भएको मानिस बन्न नसक्ने रहेछु भन्ने थाहा पाएँ, त्यस दिन लेख्ने ढोका खुलेको महसुस भयो । र, जुन दिन म साँच्चिकै लेखक भएँ भन्ने लाग्यो, मेरा लागि सबैभन्दा खुसीको क्षण थियो किनभने म लेखेरै हुन नसकेका सबै व्यक्ति हुनसक्थेँ ।

मेरा दुई सन्तान छन्, १२ र १५ वर्षका । उनीहरूले मलाई म कति बेबकुफ छु भन्ने सिकाउँछन्, हरेक दिन । वास्तवमा मलाई केही पनि थाहा छैन, केही पनि आउँदैन । एक किसिमले त म चल्ताफिर्ता इडियट (बेकुफ) नै हुँ कि झैँ लाग्छ ।

म किशोर अस्थाताका स्टुअर्ट हलले लेखेको एउटा निबन्ध पढ्न पाएँ । त्यो बेला ब्रेन्ट टाउन हलको पुस्तकालयमा मेरो अधिकांश समय बित्थ्यो । हलले ब्ल्याक ब्रिटिसनेस (कालो बेलायतीपन)माथि लेखेका थिए । त्यसले मलाई भित्रैसम्म हल्लाइदियो । मैले त्यो पुस्तक जीवनमा पहिलो पटक चोरेँ । त्यो चाहिँ आइसिए नामक संस्थाले प्रकाशन गरेको पुस्तक रहेछ । पछि म त्यही संस्थाको निर्देशकका रूपमा चयन गरिएँ । बडो सुखद् अनुभव रह्यो मेरा लागि ।

म भेजिटेरियन, शाकाहारी हुँ । म कफी चिया केही खान्नँ । म काममा भिडेँ भने त्यसैको अम्मली हुन पुग्छु । काम मेरो अम्मल हो ।

धेरैले मलाई फेसनको रूचिका बारेमा सोध्छन्, तर मेरा लागि स्टाइल फेसन हो, फेसन त केही होइन । एरिक बि. र रखिमको एउटा भनाइ नै छ निः तपाईं कहाँबाट हुनुहुन्छ, त्यो खासै महत्त्वको कुरा होइन बरू कहाँ हुनुहुन्छ, त्यो महत्त्वको कुरा हो । फेसन पनि त्यस्तै हो । के लगाउनु भएको छ होइन, कसरी लगाउनु भएको छ, त्यो महत्त्वको कुरा हो ।