साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

द काइट रनर, भागः २१

                                                  एक्काइस्‌

हामी नदी तर्यौँ र त्यो भीडभाड युक्त पास्थुनिस्तान स्क्वायर छिचोल्दै उत्तरतिर लाग्यौँ । बाबाले मलाई त्यहाँको खिबर रेस्टुरेन्टमा काबोब खानलाई लिएर जाने गर्नु हुन्थ्यो । त्यो भवन अझै खडा नै रहेछ, तर ढोकाहरूमा ताल्चा लगाएको थियो भने झ्यालका सिसाहरू फुटेका रहेछन्‌ र साइनबोर्डको ‘के र ‘आर’ अक्षर गायब थिए ।

bahulako diary small and inside post

मैले रेस्टुरेन्टको नजिकै एउटा लास देखेँ | पक्कै पनि त्यहाँ कसैलाई झुन्ड्याइएको रहेछ । एउटा युवक डोरीको पासोमा बीचमा झुन्डिरहेको थियो । उसको अनुहार फुलेर नीलो भएको थियो भने उसले आफ्नो जीवनको अन्तिम दिन लगाएका लुगाहरू धुजाधुजा परेर रक्ताम्य थियो । त्यो दुर्दशा कसैले पनि देखे जस्तो गरेको थिएनन्‌ ।

हामी चुपचाप बसेर स्क्वायर हुँदै वजिर अकबर खान जिल्लातिर सोझियौँ । जतापट्टि फर्केर हेरे पनि काँचो इँटाले बनेका घरहरू र धूलोको तुवाँलोले शहरलाई डम्म ढाकेको थियो | पास्तुनिस्तान स्क्वायरभन्दा केही ब्लक उत्तरपट्टि मलाई फरिदले एउटा व्यस्त गल्लीको कुनामा दुईजना मान्छे बडो खुसी मुद्रामा बोलिरहेको देखायो । एकजना एउटा खुट्टाले टेकेर धङधङाउँदै थियो, किनकि उसको अर्को खुट्टा चाहिँ घुँडा मुन्तिर काटेर फालिएको थियो । उसले एउटा नक्कली खुट्टा काखीमा च्यापेर खेलाइरहेको थियो । “तपाईंलाई थाहा छ तिनीहरू के गरी राखेका छन्‌ ? त्यही नक्कली खुट्टाको मोलिमोलाई गर्दै छन्‌ ।

“उसले आफ्नो खुट्टो पनि बेच्न लाइराख्या छ त ?”

फरिदले टाउको हल्लाएर “हो” भन्यो । “कालो बजारमा यसको राम्रो पैसा पर्छ । अनि दुई हप्तासम्मलाई आफ्ना छोराछोरीलाई पुग्ने खानेकुराको जोहो हुन्छ ?”

छक्कै पार्ने कुरा के थियो भने वजिर अकबर खान जिल्लाका धेरै जसो घरहरूको पर्खाल र छानो जस्ताको तस्तै थियो । वास्तवमै ती घरहरू राम्रै अवस्थामा थिए । पर्खालहरूमाथि अझैसम्म रूखहरू लचत्रिरहेका थिए भो सडक गल्लीहरूमा पनि कार्तेह-सेहमा जस्तो ढुङ्गा इँटाको टुक्राटुक्री छरिएका थिएनन्‌ । कुनै बाङ्गिएर कच्याककुचुक परेका, गोलीले छेडेका सडक संकेतहरू पनि अझैसम्म बाटो देखाउँदै थिए ।

“यो त त्यति नराम्रो भएको रहेनछ ,” मेरो मुखबाट निस्कियो ।

“कुनै आश्चर्य मान्न पर्दैन । धेरै जसो ठूल्ठूला व्यक्तिहरू अहिले पनि यही ठाउँमा बस्छन्‌ ।”

“तालिवानहरू ?”

“अँ तिनीहरू पनि,” फरिदले भन्यो ।

“अरू कोको बस्छ नि ?”

उसले दोहोरो पर्खालले घेरेका घरहरू भएका, अलि सफा सफा सडक पेटी भएको अलि चौडा सडकतिर गाडी हाँक्यो । “तालिबानका समर्थकहरू । तपाईं तिनलाई यो सरकारको ब्रेन ट्याङ” पनि भन्न सक्नुहुन्छ : अरबहरू, चेचेनहरू, पाकिस्तानीहरू”, फरिदले भन्यो । उसले उत्तर-पश्चिमतिर देखायो । “पन्ध्र नम्बरको सडक | त्यसलाई सरक-ए मेहमान भनिन्छ ।’ मतलब पाहुनाहरूको सडक । “पाहुनाहरूले यहाँ त्यसलाई त्यही भन्छन्‌ | मलाई लाग्छ कुनै दिन ती पाहुनाहरूले कार्पेटमै जताततै मुत्ने वाला छन्‌ ।”

“मलाई पनि त्यस्तै लाग्छ !” मैले भनेँ | “ऊ त्यहाँ पर !” मैले त्यो ठाउँतिर देखाएँ जहाँ म सानो छँदा गाइड पाइन्थ्यो । बाबा भन्ने गर्नुहुन्थ्यो कि यदि तिमी बाटोमा हरायौ भने सम्झिनु कि हाम्रो घर भएको बाटो त्यही अन्तिममा गुलाबी रङ भएको चाहिँ हो । त्यस समयमा हाम्रो छिमेकमा तेर्सो ढलान गरेको छानो र गुलाबी रङ लगाएको घर त्यही एउटा मात्र थियो । यो अझैसम्म रहेछ । फरिद त्यही गल्लीतिर मोडियो । मैले बाबाको घर ठ्याक्कै देखिहोलेँ ।

हामीले आँगन भित्र स्वीटबायरको क्रडीको पछिल्तिर एण्टा सानो कछुवा फेला पार्छौ । त्यो कसरी त्यहाँखस्म पुग्यो हामी जान्दैनौ । त्यसको देखभाल गर्न पाउँदा हामी धेरै पुलकित भएका छौँ । हामीले त्यसको खप्परलाई चहकिलो रातो रङले रङाइदिन्छौँ जुन हसनको सोच थियो र राम्रो पनिः यस्तो गर्यो भने यो झाडीमा कहिल्यै पनि हराउँदैन । हामी आफूलाई कालसँग पनि नडराउने एक जोडी खोजकर्ता हौँ भनिठान्छौँ जसले एण्टा ठूलो प्राचीन राक्षस सुदुर जङ्गलमा फेला पारेको छ र संसारलाई देखाउन त्यसलाई यहाँ ल्याएको छ । हामीले त्यसलाई गत बर्षको जाडोमा अहिले हसनको जन्मदिनमा बनाइदिएको काठको सानो गाडीमा राख्छौ र त्यो गाडा ठूलो फलामको खोर हो भनि ठान्छौं । हेर है सबैले यो आगो ओकल्ने राक्षसलाई । हामी त्यो काठे गाडीलाई तानेर गुडाउँदै स्याउ र बेरीका रुखहरु वरिपरि घुम्छौं जुन रुखहरू वादल भन्दा माथिसम्म छुने गगनचुम्बी घरहरु बन्छन्‌ जसका हजारौँ झ्यालहरुबाट टाउकोहरुले तल जनिनमा भइरहेको जादु हेर्न बाहिर निस्कन्छन्‌ ।

हामी त्यही झुरूप्प परेका फिग (Fig) का रूखहरूको नजिकै बाबाले बनाउनुभएको अर्ध चन्द्राकार पुलमा हिँड्छौँ । तल सानो तलाउ र एउटा फिँजै फिँज भएको समुद्र भएको उक्त पुल ठूला सहर जोड्ने एउटा झुलुङ्गे पुल बन्छ । ठुल्ठुला फलामे पिल्लरमाथि पटेका पडकन्छन भने दोहोरै उभिएका हतियार धारी सिपाहीहरूले त्यस ठाउँमा हामीलाई सलामी दिन्छन्‌ जहाँबाट ठूल्ठूला फलामे लठ्ठाहरुमाथि आकाशतिर तेर्सिन्छन् । गाडीमा त्यो सानो कछुवा उफ्रिन्छन्‌ भने हामी गाडीलाई तान्दै कालो फलामे गेटको बाहिरपट्टि रातो इँटाले बनेको बृताकार ड्राइभवे वरिपरि घुम्छौँ जतिबेला विश्वका नेताहरु ताली बजाएर हाम्रो स्वागत गर्न उभिन्छन्‌ । हामी प्रसिद्ध सहासिक यात्री र विश्वकै सबैभन्दा महान्‌ खोणजकर्ता हसन र अमीर हौँ जो अहिले हम्रो समाजिक कामका लागि पदक र सम्मान अह गर्न गैरहेका छौँ ।

भारी कदमले म ड्राइभवेतिर अघि बढेँ जहाँ घामले खुइलिएका इँटाहरुको जोर्नीमा झुप्पझुप्प झार उम्रेका रहेछन्‌ । आफैँलाई पाहुनाजस्तो ठान्दै म मेरो बाबाको घरको गेट बाहिर उभिएँ । म बच्चा छँदा कसरी यी गेटहरूबाट हजारौं पटक भित्र बाहिर गर्ने गर्थे भनेर सम्झिँदै ती खिया लागेका बारहरू समातेर उभिएँ । त्यो कुराले अहिले कुनै महत्त्व राख्दैनथ्यो, तर त्यतिबेला त्यो साह्रै महत्त्वपूर्ण लाग्थ्यो । मैले गेटबाट भित्र चियाएर हेरेँ ।

गेट खोलि आँगनसम्म चौडा पारिएको ड्राइभ वे जहाँ हामीले साइकल चलाउन सिकेको ग्रीष्ममा हामी पालैपालो धेरै पटक पछारिएका थियौँ, त्यो मेरो सम्झनामा रहे जस्तो त्यति चौडा र लामो देखिएन । चट्याङ्ग पर्दा देखिने किरिमिरी बाङ्गोटिङ्गो उज्यालो जस्तै परेर अलकत्र चिरिएको रहेछ र ती घाँजाहरूमा अझ बेस्करी झुप्पझुप्प घाँस उम्रेको रहेछ | हाम्रा छिमेकीको घरहरूमा ऐना घाममा टल्काएर उज्यालो छिराइदिनलाई हामी चढ्ने गरेका ती लहरे पीपलका रूखहरू धेरै जसो काटिइसकेका रहेछन्‌ । जुन खडै थिए ती पनि झन्डै नाङ्गै थिए । “द वाल अफ ऐईलिङग कर्न’ अझैसम्म थियो तर मैले मकै चाहिँ देखिन | रोगी होस्‌ कि निरोगी पर्खाल छेउमा कुनै पनि मकै थिएन । रङ उप्किन थालिसकेको रहेछ र कुनै कुनै भागमा त पुरै उप्किसकेको रहेछ । त्यही सहरमाथि लागेको धुलोको तुवाँलो जस्तै दुवो घाँस सुकेर फुस्रो भएको रहेछ । ठाउँ ठाउँमा दुवो मरेर केही पनि नउम्रिएको छिर्के मिर्के भएर फोहरी देखिएको थियो ।

ड्राइभ वेमा एउटा जिप पार्किङ्ग गरिएको थियो, तर त्यो हेर्दा एकदम अर्कै लाग्थ्यो किनभने बाबाको कालो रङको मस्ट्याङ्ग त्यहाँ हुने गर्थ्यो । बर्षौसम्म त्यो मस्ट्याङ्गका आठओटा पिस्टन प्रत्येक बिहान गरगराउँथे र मलाई निद्राबाट बिउँझाउँथे । ठूलो रोर्सह्याक (Rorscach) मसीको बोत्तल फुटेर बनेको टाटो जस्तै मैले जिप मुन्तिर मोबिल चुहेर बनेको टाटो देखेँ । जिपभन्दा पर एउटा रित्तो हातले समातेर ठेल्ने एक चक्के गाडा) एकातिर पल्टिएर बसेको थियो । ड्रइभवेको देब्रेपट्टि बाबा र अलि मिलेर रोपेको गुलाबको झाडीहरूको नामनिसानै थिएन । पिच बाटोभरि मात्र फोहर छरिएको थियो र झारपात ।

मेरोपछाडि फरिदले ढुई पटक ट्याँट्याँ हर्न बजायो । “अगा, हामी जानु पर्छ । कसैको ध्यान हामीमाथि पर्न सक्छ,” भन्दै उसले बोलायो ।

“मात्र मलाई अरू एक मिनेट समय दऊ न,“ मैले भनेँ ।

मेरो बचपनदेखि नै सम्झनामा रहे जस्तो त्यो घर विशाल सेते हवेली नभएर अहिले त कता हो कता फरक थियो । घर अलि सानो देखिन्थ्यो । छानो प्लास्टर चर्किएछ । बैठक कोठाका झ्यालहरू, बरन्डा र चोटाको अतिथिका लागि बनाइएको बाथ रूमका झ्यालहरू भाँचिएछन्‌ र लापर्वाही तरिकाले प्रेममा सेतो प्लास्टिक वा काठको फलेक ठोकिएका रहेछन्‌ । एक ताकाको चम्किलो सेतो रङ ठाउँमा उप्केर तल इँटा देखिने गरी खुइलिएर घिनलाग्दो फुम्नो भएको रहेछ । अगाडिको सिँढीहरु भत्किएछन्‌ । कालका अरू धेरै जसो चीजहरू जस्तै मेरो बाबाको घर पनि कुनै एउटा पतन भएको कुनै भव्य चीजको तस्बिर जस्तै भएको रहेछ ।

मैले दोस्रो तलामा रहेको मेरो सुत्ने कोठाको घरभित्र पस्ने सिढीँको दक्षिणतिरको हाम्रो झ्याल फेला पारेँ । म गोडाका औंलाको बलमा उभिएँ र भित्र हेरे, तर छायाँभन्दा बाहेक केही पनि देखिन । पच्चीस बर्ष अगाडि म त्यही झ्यालको पछाडि उभिएको थिएँ जतिबेला झ्यालका सिसाहरूमा बाछिटो पानी तर्र चुहिँदै थियो र मेरो सासले सिसामा कुहिरो लागेको थियो । म त्यहीँ उभिएर असन र अलिले आफ्ना सरसामान मेरो बाबाको कारको डिक्किमा लोड गरेको हेरेको थिएँ ।

“अमीर अगा, फरिदले फेरि बोलायो ।
“म आउँदै छु, मैले झर्किएर जवाफ दिएँ ।

बोलाएजस्तै मभित्र जान चाहन्थेँ । म अगाडिको सिँढी उक्लेर माथि जान चाहन्थेँ । तिनै सिँढीहरूमा अलिले हसनलाई र मलाई हिउमा लगाउने बुटहरू खोल्न लगाउँथे । म व्रान्डा (Foyer) भित्र पसेर अलिले काठको घुलोसँगै सुन्तलाका बोक्रा चुलोमा फ्याँक्दा आउने त्यो गन्ध सुँघ्न चाहन्थेँ । किचन टेबलमा बसेर चियासँग नान खाँदै अलीले गाएको त्यो पुरानो हजारा गीत सुन्न चाहन्थेँ ।

फेरि अर्को पटक हर्न बज्यो । म सडक पेटीमा रोकिराखेको ल्यान्ड कुजरतिर फर्केर गएँ । फरिद स्ट्रीङ्कको पछि बसेर चुरोट तानिरहेको थियो ।

“मलाई अझै एउटा चीज हेर्नु छ,“ मैले उसलाई भनें ।
“अलि छिटो गर्नुस्‌ न है ?”
‘मलाई दश मिनेट समय देऊ न ।”
“त्यसो भए जानुस्‌ ।’ अनि म जानलाई पछाडि के फर्केको थिएँ, फरिदको आवाज आयो, “यो सब बिर्सिनुस्‌ । यसले सजिलो हुन्छ ।
“के गर्न सजिलो ?”
अघि बढी रहन,” फरिदले भन्यो । उसले झ्यालबाट चुरोट फुत्त बाहिर फाल्यो । “तपाईंलाई कति धेरै कुराहरू हेर्न आश्यक छ । म तपाईंलाई यो झन्झटबाट मुक्त गराइदिन्छु । यता सुन्नुस्‌, “तपाईंको सम्झनामा भएका कुनै पनि चीज जोगिएका छैनन्‌ । सबैभन्दा उत्तम बिर्सिनुस् ।”

‘म अब बिर्सन चाहन्नँ,“ मैले भनें | ‘मलाइ दश मिनेट समय देऊ ।”

जब हसन र म बाबाको घरभन्दा उत्तरपट्टिको पहाड उक्लन्थ्यौं, हामीलाई बिरलै मात्र पसिना आउँथ्यो । हामी लखेट्दै त्यो पहाडको चुचुरो वरिपरि दौडन्थ्यौँ अथवा डाँडाको तेर्सो परेको नाकमै बस्थ्यौं जहाँबाट परको एउरपोर्ट राम्रोसँग देखिन्थ्यो । हामी जहाजहरू बसेको र उडेको हेर्ने गर्थ्यो । फेरि दौडिन्थ्यौं

अहिले म त्यो चट्टनी पहाडको चुचुरोमा पुग्दा दम बढेर मलाई सास फेर्न आगो निल्न जस्तो गाह्रो भैरहेको थियो । अनुहारबाट पसिनाका थोपा तर्र बगे । मेरो कोखा हानेर फुट्ला जस्तो भयो र म एकैछिन स्वाँस्वाँ गरेर उभिएँ । अनि म त्यो चिहान खोज्न थाल । त्यो पत्ता लगाउन मलाई धेरै बेर लागेन । त्यो बूढो अनारको रूख जस्तै चिहान पनि अझै त्यहीँ रहेछ ।

म त्यो चिहान भित्र छिर्ने ढुङ्गाको फुस्रो गेटमा अडेस लागेर उभिएँ जहाँ हसनले आफ्नो आमालाई गाडेको थियो । कब्जामा झुन्डिएका फलामे ढोका थिएन र त्यो सानो टुक्रा जमिनमा बाक्लो झाडी नै झाडी भरिएर हेडस्टोन पनि मुस्किलले देखिन्थ्यो । चिहानलाई घेरेको त्यो होचो पर्खालमाथि एक जोडी कौवा बसेको थियो ।

हसनले आफ्नो चिठीमा बर्षौदेखि त्यो अनारको रूखमा फल नलागेको कुरा लेखेको थियो । त्यो ओइलाएको नाङ्गो रूखमा हेर्दा फेरि कहिल्यै यसमा फल लाग्छ भन्ने कुरामा शंकै लाग्यो । म फेदमा उभिएँ र हामी यसमा चढेका दिनहरू सम्झिएँ । हामी दोहोरा गोडा झुन्ड्याएर हाँगामा घोडा चढ्थ्यौँ । पातहरूबाट छिरेर आएको सूर्यको प्रकाशले हाम्रो अनुहारमा घाम र छायाँ मिसिएको रडीचङ्गी बुट्टा टल्किन्थ्यो । अनारको अमिलो स्वाद सम्झेर मेरो मुख रसायो ।

म घुँडाले टेकेर उभिएँ र रूखको फेदमा हातले रगडेँ । मैले जे खोजेको थिएँ, फेला पारेँ । त्यो बोकारमा हामीले खोपेको कुरा झन्डै भेटिएजस्तै भएर भद्धा भएको रहेछ, तर पनि अझैसम्म बाँकी रहेछ : “अमीर र हसन काबुलका सन्तान ” मैले प्रत्येक अक्षरलाई औँलाले छामे ! त्यो खोपेर बनाएको सानो डोबबाट एउटा सानो टुका बोक्रा उप्काएँ ।

म रूखको फेदमा पन्था मारेर बसेँ र दक्षिणतिरको त्यो मैले आफ्नो बचपन बिताएको सहरलाई हेरेँ । ती दिनहरूमा प्रत्येक घरको कम्पाउन्डको रूखका टुप्पाहरू देखिन्थे । नीलो आकाश परैसम्म फैलिन्थ्यो र डोरीमा सुकाएका लुगाएहरू घामले चम्किँथे । कान थापेर सुन्यो भने वजिर अकबर खानमा लादेर फलफूल बच्न हिंड्ने मान्छे “चेरी !” ‘एप्रीकोट !’ ‘अङ्गुर’ भनेर चिच्च्याएको पनि सुनिन्थ्यो । साँझ सबेरै अजान सुन्न सकिन्थ्यो । मतलब शार-ए-नाउ को मस्जिदमा प्रार्थना गर्न अनुरोध गर्दै मुयसज्जिन (Mueszzim) चिच्च्याएको आवाज ।

मैले टिँ गरेर गाडीको हर्न बजेको सुने र फरिदले मलाई हातको इसाराते बोलाइरहेको देखेँ । अब जाने बेला भइसकेको थियो ।

हामी फेरि गाडीमा दक्षिणतिर सोझिएर पास्तुनिस्तानतिर फर्कियौं । हामीले बाटोमा अझ थुप्रै पिकअप ट्रकहरू भेट्यौं जसमा हतियारधारी दाह्री पालेका युवाहरू कोचाकोच यरेर बसेका थिए । प्रत्येक पिक अप भेट हुँदा फरिदले साउतिको स्वरमा गाली दिन्थ्यो ।

मैले पास्तुनिस्तान स्क्वायर नजिकैको एउटा सानो होटेलमा कोठा लिएँ । काउन्टर पछाडि बसेको त्यो चस्मा लगाएको अभद्र मान्छेलाई उस्तै कालो लुगा र सेतो बुर्का ओडेका तीनजना स साना केटीहरूले समातेर भुन्डिएका थिए | उसले मसँग ७५ डलर लियो जुन मूल्य त्यो ठाउँको घट्दो सजावटलाई हेर्दा सोच्नै नसकिने गरी महङ्गो थियो तर पनि मैले कुनै वास्ता गरिन । हवाईका बीच हाउसका घरहरूलाई आर्थिक सहयोग गर्न आर्थिक शोषण गर्नु एउटा कुरा हो भने त्यही काम बच्चाहरूलाई भरण पोषण गर्न भनेर गर्नु अर्को कुरा हो ।

तातो पानीको व्यवस्था थिएन भने फुटेको ट्वाइलेट फ्‌लस हुन्थेन । कुनामा एउटा काठको कुर्चि थियो भने स्टीलको फ्रेम भएको खाटमा एउटा थोत्रो डस्ना र थोत्रो ब्ल्यांकेट थियो । बाहिर हेर्दा स्क्वायर देखिने झ्याल भाँचिएको थियो भने त्यसलाई फेरिएको पनि थिएन । जब मैले सुटकेस तल राखेँ, खाटको पछिल्तिर भित्तामा रगतको टाटो देखेँ ।

मैले फरिदलाई केही पैसा दिएँ र ऊ खानेकुरा किन्न बाहिर गयो । उसले स्याइँ गरेर कराउँदै गरेको तात्तातो चार सिल काबोब, ताजा नान र एक कचौरा अरूवा चामलको भात लिएर आयो । हामी ओछ्यानमै बसेर झण्डै सबै खाइ सक्यौँ । जे भए पनि काबुलमा परिवर्तन नभएको एउटा कुरा चाहिँ रहेछ : काबोब मेरो स्मृतिमा रहेजस्तै रसिलो र स्वादिलो थियो ।

त्यस रात म खाटमै सुतेँ भने फरिद भुइँमै पल्टेर एउटा जगेडा ब्ल्याँकेटमा बेरियो जुन ब्ल्यांकेटका लागि होटेल म्यानेजरले मसँग अतिरिक्त पैसा लियो । झ्यालबाट छिरेर आउने जुनको प्रकाशभन्दा बाहेक कोठामा अरू कुनै उज्यालो आउँथेन । म्यानेजरले फरदिसँग काबुलमा बत्ति नआएको दुई महिना भैसकेको र उसको आफ्नो जेनेरेटर फिट-फाट गर्नै बाँकी रहेको कुरा सुनाएको रहेछ जुन पछि मलाई फरिदले सुनायो । हामी एकैछिन बोलेर बस्यौं । उसले मलाई आफू मजार-ए-सरिफ र जलालाबादमा हुर्केको कुरा सुनायो । मसँग उसले र आफ्नो बाबुले धर्म
युद्धमा हामफालेर शोरावीको विरूद्धमा पंजसेर झ्यालीमा लडेको समयको बारेमा पनि बतायो । उनीहरूले केही पनि खानेकुरा नपाएर ज्यान बचाउन सलह (फट्याँग्रो) पनि खाएका रहेछन्‌ | उसले मलाई हेलिकप्टरबाट गरिएको गोलीको बर्षामा परेर आफ्नो बाबु मरेको र ल्यान्ड माईनमा परेर आफ्ना दुईजना छोरीहरू गुमाएको घटना सुनायो । उसले मलाई अमेरिकाको बारेमा सोध्यो । मैले उसलाई अमेरिकामा एउटा किराना पसल (Grocery) भित्र पसेपछि पन्ध्र वा बीस थरिका गेडागुडीहरू किन्न सकिन्छ भनेर बताएँ । ल्याम्ब सधैं ताजा, दूध सधैं चिसो, प्रशस्त फलफूलहरू र सफा पानी पाइन्छ भनेर सुनाएँ । चाहिएमा स्याट्लाइट डिस पनि राख्न सकिने नत्र प्रत्येक घरमा रिमोटले चल्ने टि.भी हुन्छ भनेर बताएँ । स्याटेलाइट डिसमा पाँच सयभन्दा बढी च्यानलहरू आउँछ भनेर सुनाएँ ।

सम्बन्धित पोस्टहरु

“पाँच सय ?” आश्चर्य मान्दै फरिदले भन्यो ।

“हो त पाँच साय ।”

एकै छिन हामी चुपचाप बस्यौँ | मैले ऊ त निदाइसक्यो होला भनी ठानेको त खितिति पो हाँस्यो । “अगा, छोरी आएर आफ्नो श्रीमानले आफूलाई पिटेको गुनासो गरेपछि मुल्ला नसरूदिनले के गरेको थियो तपाईंले यसको बारेमा सुन्नुभएको थियो ?” अँध्यारोमा ऊ कसरी हाँस्दै थियो भन्ने कुरा म अनुभव गर्दै थिएँ र त्यो सम्झिँदा मेरो अनुहारमा पनि मुस्कान छरियो । त्यो गोज्याङग्रो मुल्लाको बारेमा एक दुईवटा जोक नजान्ने अफगानी यो दुनियाँमा एउटा पनि थिएन ।

“के गर्यो त त्यसले ?”

“उसले पनि छोरीलाई पिट्यो र ज्वाइँको मा फिर्ता पठाएर छोरीलाई ज्वाइँसँग भन्न लगायो कि मुल्ला त्यति कुरा पनि नबुझ्ने मूर्ख थिएन । यदि त्यो रन्डीको छोराले आफ्नो छोरी पिट्छ भने त्यसको बदला उसले पनि आफ्नो स्वास्नी पिट्ने छ । म हाँसेँ । अलिकति त त्यो जोक सुनेर, अर्को ठट्टा गर्ने अंफगानी शैली कहिल्यै पनि बदलिएन भन्ने सम्झेर | धेरै युद्धहरू लडिए, ईन्टर्नेटको आविष्कार गरियो , मंगल ग्रहको सतहमा रोबोट हिंडिसक्यो तर अफगानिस्तानमा मान्छेले मुल्ला नसरूद्दिनको जोक भन्न अझै छोडेका थिएनन्‌ | “मुल्ला नसरूद्दिन आफ्नो काँधमा ठूलो गह्रुङ्गो ‘फोला बोकेर आफ्नो गधा चढेको भन्ने जोक तिमीले सुनेका थियौ? “ मैले भनेँ ।

“थिइनँ ।”

“बाटो हिँड्ने कसैले उसलाई त्यो झोला गधालाई बोकाउने सल्लाह दियो ।” जवाफमा उसले भन्यो, “त्यसो गर्नु अपराध हुन्छ किनकि विचरा गधालाई पुग्ने भारी त म नै छु ।”

आफूले जाने जति मुल्ला नसरूद्दिनको बारेमा पालै पालो जोक सुनाएपछि हामी फेरि चुपचाप लाग्यौँ ।

“अमीर अगा, “ निदाउनै लागेको मान्छेलाई झस्काउँदै फरिदले भन्यो ।
“के ?”
| “तपाईं यहाँ किन आको ? मैले जान्न चाहेको के भने तपाईं यहाँ साँच्चिकै किन आएको हँ ?”

मैले तिमीलाई भनिसकेको छु ।’

“त्यही केटोको लागि ?”

“हो त्यही केटोको लागि ।”

तल ओछ्यानमा फरिद कोल्टे फर्क्यो । “यो कुरा त पत्याउनै गाह्रो छ ।”

“घरिघरि त म यहाँ छु भन्ने कुरा आफैलाई विश्वास लाग्दैन ।”

“होइन ….. मैले सोध्न चाहेको के भने किन त्यो केटोका लागि ? तपाईं त्थती टाढा अमेरिकाबाट त्यही एउटा सियाको लागि ____?”

उसका शब्दले म भित्रको हाँसो सबै मरेर गयो । र निद्रा पनि । “मलाई थकाई लाग्याछ,” मैले भनेँ । “अब हामी अलि बेर निदाउन पर्छ ।”

फरिदको घुराइले रित्तो कोठा नै थर्कियो । म आँखा खोलेर दुई हात छातीमा बाँधेर त्यही सिसा फुटेको झ्यालबाट तारा झलमल्ल भएको रातलाई हेरिरहेँ । मैले सायद मान्छेले अफगानीस्तानको बारेमा भनेका कुराहरू साँचो रहेछन्‌ भनेर सोचिबसेँ | सायद यो परिवर्तनको कुनै गुन्जायस नै नभएको ठाउँ रहेछ ।

हामी प्रवेशद्वारको सुरूङ्गबाट भित्र जाँदा गाजी स्टेडियम टन्न भरिएका दर्शक र तिनको हल्लाले गुन्जायमान थियो । कोचाकोच भरिएको दर्शक दिर्घामा मान्छे तल र माथि ओहर दोहर गरिहरको थिए | मान्छे तलमाथि गर्ने सानो प्यासेजमा बच्चाहरू एक अर्कालाई लखेटा लखेट गरेर सिँढीमा तलमाथि गरिरहेका थिए | हावामा मसालेदार सस हालेको गारबान्जो सिमी ९न्चदबलशय द्यभबलक को मीठो बास्ना गोबर र पसिनाको गन्धसँग मिसिएको थियो । फरिद र म चुरोट, पाइन नट र बिस्कुट बेचिरहेका नाङ्गलो पसेलेहरूलाई छोड्दै अघि बढ्यौँ । ट्वीड ज्याकेट लगाएको एकजना दुब्लो केटोले मेरो कुइनोमा च्याप्प समातेर कानमै मुख जोडेर केही भन्यो । उसले मलाई ‘सेक्सी तस्विरहरू” किन्ने विचार छ कि भनेर सोध्यो ।

धेरै सेक्सी अगा, उसले भन्यो । उसका सशंकित आँखाहर घरि यता घरि उता हेर्दै थिए । उसलाई देख्दा मलाई एउटा केटीको याद आयो जसले केही बर्ष अगाडि सनफ्रान्सिस्कोको टेन्डरलोइन जिल्लामा मलाई अश्लिल जोकको किताब बेच्ने प्रयास गरेकी थिई | त्यो बच्चोले एकापट्टिको पत्रो खोलेर ज्याकेट भित्र लुकाई राखेको सेक्सी फोटोहरू छवास्स देखायो जुन लठ्ठै पार्ने आँखा भएका लामो पहिरनमा हिन्दी सिनेमाका नायिकाहरू हिरोको पाखुरामा समातेर हिँडिरहेको पोस्ट कार्डहरू रहेछन्‌ ।

“चाहिँदैन, धन्यवाद” उसलाई पछिल्तिर घचेट्दै मैले भनेँ ।

“यो समातिन्छ र तिनीहरूले यस्तो कोर्रा हान्छन्‌ कि यसको बाउ पनि चिहानमा छट्पाटाउँछ,” फरिद भुत्भुतायो ।

त्यहाँ जो जता बसे पनि हुन्थ्यो । त्यहाँ नग्न भाषामा कतापट्टि, कुन लहरमा, र कुन प्यासेज भएर जाने भनेर देखाउनलाई कुनै मान्छे थिएन । राजतन्त्र छँदा खेरीका ती पुराना दिनहरूमा पनि कहिल्यै त्यस्तो व्यवस्था थिएन । फरिदलाई कुइनोले घचेट्ने, धकेल्ने काम गर्नु परे तापनि हामीले मिडफिल्डको ठीक देदब्रेपट्टि राम्रो बस्ने ठाउँ फेला पार्यौं । सत्तरीको दशक ताका बाबाले मलाई फुटबल खेल देखाउन लिएर आउँदा त्यो ग्राउन्ड कति हरियो थियो भन्ने मलाई सम्झना आयो । अहिले त पिच पनि लथालिङ्ग भैसकेको रहेछ । जताततै खाल्टा खुल्टी र प्वालै प्वाल भएको रहेछ । दक्षिण पट्टिको गौल पोस्टको पछाडि परैबाट देखिने दुईवटा गहीरो खाल्टो परेको रहेछ । चौरमा घाँस भन्ने त नाम जातै थिएन, मात्र फोहर थियो । चर्को गर्मीको अलावा पनि लामो पायन्ट लगाएका दुई हक खेलाडी खेल मैदानमा जब खेल सुरू गरे खेलाडी दौडिँदा उडेका धूलो कुइरीमन्डल भएर बल कता पुग्यो देख्नै गाह्रो भयो । जो चर्को स्वरमा चिच्च्याएँछ त्यसैलाई सोठ्याउँदै युवा व्रालिबहरू हातमा कोर्रा हल्लाउँदै प्यासेजमा ओहर दोहर गरिरहे ।

हाफ टाइमको सिटी बजेको एकैछिन पछि तालिबहरू गाडी लिएर आए । म त्यहाँ आइसकेपछि देख्दै आइरहेको जस्तै धुलैधुलो भएको एक जोडी रातो पिक अप ध्यान स्टेडियमको गेटबाट भित्र छिर्यो । मान्छेहरू जर्याक जुरूक उठे । एउटा पिकअप भ्यानको क्यावमा एकजना हरियो बुर्का लगाएकी महिला बसेकी थिई भने अर्को चाहिँमा आँखामा पट्टि बाँधिएको मान्छे थियो । ट्रकले ट्र्याकको चक्कर लगायो । यस्तो लाग्थ्यो कि उनीहरूले भीडलाई त्यो सब लामो समय देखाउन चाहन्थे । उक्त कामले सोचेजस्तै असर पर्यो । मान्छेहरू गोडाको चुच्चोको बलमा उभिए, घाँटी तन्काई तन्काई हेरे र त्यतै तिर देखाए | मैरे छेउमा बसेको फरिदले एकै सासमा प्रार्थना गर्दा उसको रूद्रघन्टी तलमाथि गर्दै थियो ।

ती राता ट्रकहरू खेल्ने मैदानमा पसे र लामो जुम्ल्याहा धूलोको मुस्लो उडाउँदै रङशालाको एकापट्टिको छेउतिर गए भने घाम परेर हबक्याप टिलिक्क टल्कियो । खेल मैदानको पल्लो छेउमा तिनीहरूलाई तेस्रो ट्रकले भेट्यो | तेस्रो ट्रक केही चीजले भरिएको थियो र मैले तुरून्तै बुझिहालेँ कि त्यो गोलपोस्ट पछाडिपट्टिको त्यो दुईवटा खाल्टो किन बनाएको रहेछ | तिनीहरूले तेस्रो ट्रकलाई अनलोड गरे | भीडले अब पक्कै केही हुनेवाला छ भनेर गल्याङमल्याङ गर्यो ।

तपाई यहीँ हेरेर बस्न चाहनुहुन्छ? “ भावुक बनेर फरिदले भन्यो ।

“होइन, चाहन्न,” मैले भनेँ । मलाई जीवनमा कहिल्यै पनि यति साह्रो कुनै ठाउँ अहिले भर्खरै छोडेर कतै गैहालौँ जस्तो कहिल्यै पनि लागेको थिएन | ‘तर हामी बस्नुपर्छ ।

घाँटीमा कालासनिकोभ (बन्दुक) भिरेका दुईजना तालिबले त्यो पहिलो ट्रकबाट आँखामा पट्टि बाँधिएको मान्छेलाई ओर्लन सहयोग गरे भने अरू दुईजनाले बुर्का लगाएकी आइमाईलाई । त्यो आइमाईको घुँडामुनि डोरीले बाँधेको थियो । त्यसैले घद्रक्क परेर भुईमा लडी । सिपाहीहरूले त्यसलाई उठाए तर फेरि लडी । जब उनीहरूले त्यसलाई उठाउन खोजे, उसले च्याँठिँदै हिर्काउन थाली । त्यसको त्यो रूवाई म बाँचुन्जेल कहिल्यैपनि बिर्षने छैन होला । उसको रूवाई भालुको पासोमा परेर घाइते खुट्टाले अझैं बल गरेर उम्किन खोजिरहेको जंगली जनावरको जस्तो थियो । अझै दुईजना तालिबहरू थपिए र त्यस आइमाईलाई छातीसम्म आउने गहीरो खाल्टोमा हाल्नलाई सहयोग गरे । अर्कातिर त्यो आँखामा पट्टि बाँधिएको मान्छेले भने चुपचाप लागेर तिनीहरूलाई उसकै लागि खनिएको खाल्टोमा हाल्न दियो । अब ती आरोपितहरूको डँडाल्नु मात्रै पुक्लुक्क जमिनभन्दामाथि देखिएको थियो ।

पुक्क गाला, सेतो दाह्री अनि खैरो रङको लुगा लयाएको पुरोहित योलपोष्टको नजिकै उभियो र हातमा माईक्रोफोन लिएर अहँ गरेर बोल्नलाई घाँटि सफा गर्यो । उसको पछिल्तिर त्यो खाल्टोमा भएकी आइमाई चाहिँ अझैँ च्याँठिएर रूदै थिई । उसले कुरान पल्टाएर लामो प्रार्थना पढ्यो । अचानक सास पनि दवाएर चुपचाप बसेको रङशालाको भीडमा मुल्लाको नाके श्वरमा तरङीत भयो । मलाई बाबाले धेरै बर्ष अगाडि भनेको एउटा कुरा याद आयो । उहाँले भन्नुभएको थियो, “यी सबै ढोँगी बाँदरहरूको दाह्रीमा पिसाब फेर्दिए पनि हुन्छ । माला गन्ने र आफैँले नबुझ्ने भाषामा किताब पढेर फलाक्नेभन्दा अरू तिनीहरुले केही पनि गर्दैनन्‌ । यदि अफगानिस्तान कहिल्यै यिनीहरुको हातमा पर्छ भने त भगवान्‌ले मात्र हामीलाई बचाउन सक्छन्‌ ।

जब प्रार्थना गरेर सकियो, पुरोहितले घाँटी सफा गर्यो । “दाजुभाइ र दिदीबहिनीहरू !” फारसी भाषामा उसले ध्यानाकर्षण गर्यो । उसको स्वर स्टेडियममा गुन्जियो ।’आज हामी यहाँ शरिया पालना गर्न आएका छौँ । आज हामी यहाँ न्यायको पालना गर्न आएका छौँ । आज हामी यहाँ भेला भएका छौँ किनभने अल्लाहको ईच्छा र प्रोफेट मोहम्मद (उहाँको आत्मलाई शान्ति मिलोस्‌) को शब्द यहाँ हाम्रो अफगानिस्तान, हाम्रो प्यारो मातृभूमिमा अझै जीवीत र सान्दर्भिक छन्‌ | हामी भगवान्‌ले जे भन्छन्‌ सुन्छौँ र आज्ञा शिरोपर गर्छौं किनभने ईश्वरको महानताको अगाडि हामी एउटा सामान्य, असहाय प्राणीभन्दा बाहेक केही होइनौं र भगवानले के भन्छन्‌ ? म तपाईंहरूलाई सोध्छु । भगवान्‌ले के भन्छन्‌ ?भगवानले भन्छन कि प्रत्येक पापीलाई आफ्नो पाप कर्म सुहाउँदो तरिकाले दण्ड दिनै पर्छ । यो भनाइ न मेरा हो न मेरा दाजुभाइको । ती शब्दहरू भगवान्‌का हुन्‌ !” उसले एउटा हातले आकाशतिर देखायो । मेरो ढुकढुकी बढ्दै थियो र घाम पनि पुर्परो सेक्ने तातो थियो ।

प्रत्येक पापीलाई उसको पाप कर्म सुहाउँदो दण्ड दिनै पर्छ । अलि स्वर सानो पारे, विस्तारै एक एक शब्द गरेर पढ्दै नाटकीय शैलीमा उसले माइकमा फेरि दोहोर्यो । “अनि दाजुभाइ दिदीबहिनीहरू व्यभिचारीलाई कस्तो खालको सजाय दिनु उचित होला त ? विवाहको पवित्रतालाई अपमान गर्ने मान्छेलाई हामीले कसरी सजाय दिनुपर्ला त ? भगवानको घरको झ्यालमा ढुङ्गाले हान्ने मान्छेलाई हामीले कसरी उत्तर दिने त ? हामी ढुङ्गाको जवाफ ढुङ्गोले नै दिने छौँ “उसले माइक्रोफोन बन्द गर्यो । भीडमा जताततै मधुरो स्वरमा गल्याङ्ग मल्याङ्ग सुनियो ।

मेरो छेवैमा फरिदले असहमतिको टाउको हल्लाउँदै थियो । “अनि तिनीहरूले आफूलाई मुसलमान भन्छन्‌ ।” ऊ सासले बोल्यो ।

अनि एउटा अग्लो, चौडा काँध भएको मान्छे पिकअपबाट ओर्लियो । उसलाई देख्नेवित्तिकै केही दर्शक खुसीले चिच्च्याए । यस पटक चर्को स्वरले चिच्च्याउँदा पनि कसैलाई कोर्रा हानिएको थिएन । त्यो अग्लो मान्छेको चम्किलो सेतो लुगा दिउँसोको घाममा टिलिक्क टल्कियो । उसको सर्टको फेरो मन्द हावामा हल्लियो भने उसका दुबै हातहरू कसमा टौँगिएका जिससको जस्तै फैलियो । एक फन्को पुरै घुमेर उसले त्यो भीडलाई अभिवादन गर्यो । जब ऊ हामी बसेको भागतिर फर्कियो अनि बल्ल मैले देखेँ कि उसले जोन लेनोनले लगाउने जस्तै चस्मा लगाएको थियो ।

“त्यो पक्कै पनि हामीले भेट्नुपर्ने मान्छे हो, फरिदले भन्यो |

कालो सनग्लास लगाएको अग्लो त्यो तालिब त्यो तेस्रो ट्रकबाट खन्याएर थुपारिएको ढुङ्गाको थुप्रो भएको ठाउँमा गयो । उसले एउटा ढुङ्गा टिप्यो र भीडलाई देखायो । हल्ला कम भयो र त्यसको ठाउँमा गुनगुन आवाज रंगशालाभरि तरङीत भयो । मैले मेरो चौरतिर हेर्दा सबैले ‘च्व’ ‘च्व’ गरिरहेको देखेँ । बेसबलको पिचरले जस्तै हाँसो उठ्ने पारामा ढुङ्गाको थुप्रोतिर हेरिरहेको त्यो तालिबले आँखामा पट्टि बाँधिएको त्यो खाल्टोमा भएको मान्छेलाई ढुङ्गाले हान्यो | ढुङ्गाले उसको कन्चटमा लाग्यो । त्यो आइमाई फेरि च्याँठिई । भीडले त्रसित हुँदै “ओहो !” भन्ने आवाज निकाल्यो । मैले आँखा बन्द गरेँ र दुई हातले मुख छोपैँ । प्रत्येक चोटि उसले ढुङ्गा फाल्दा दर्शकले एकै स्वरमा ‘ओहो ! ओहो !” भन्दै गए | यै कम एकछिनसम्म चलिरह्यो । जब मान्छे चुप लागे अनि मैले फरिदसँग “त्यो काम सकियो” कि भनेर सोधेँ । उसले सकिएको छैन भन्यो | मैले अनुमान गरेँ कि बोल्दा बोल्दा मान्छेको घाँटी थाकेछ । म अनुहार दुई हातले छोपेर कति बेरसम्म बसेँ म जान्दिनँ । मलाई के थाहा छ भने जब मैले फेरि आँखा खोलेँ त्यति बेला मैले सुनेँ कि मेरो वरिपरिका सबै मान्छेले ‘मोर्द ?” ‘मोर्द ?” भनेर सोधिरहेका थिए । मतलब “के ऊ मर्यो ?’ भनेर ।

खाल्टो भित्रको मान्छे अहिले क्षतविक्षत भएर धुजै धुजा कपडा र रगतको डल्लो बनेको थियो । च्यापु छातीमा पुग्ने गरी उसको टाउको अगाडि लचत्रिएको थियो । त्यो जोन लेनन सन ग्लास लगाएको मान्छेले खाल्टोकै छेउमा टुकुक्क बसेर एउटा ढुङ्गा तलमाथि गरेर खेलाइरहेको मान्छेलाई हेर्यो । त्यो टुक्रुक्क बसेको मान्छेले स्टेथोस्कोप कानमा लगाएर खाल्टोमा लडेको मान्छेको छातीको ढुकढुकी सुनिरहेको थियो | उसले कानबाट स्टेथोस्कोप झिक्यो र त्यो सन ग्लास लगाएको तालिबतिर हेरेर टाउको हल्लाएर छैन भन्ने इसारा गर्यो । भीड रून थाल्यो । जोन लेनन फर्केर ढुङ्गाको थुप्रोतिर आयो ।

जब यो सबै तमासा सकियो र जब रक्ताम्य लासहरू हतार हतार छुट्टै छुट्टै रातो पिक अप ट्रकको पछाडि मिल्काइयो, केही मान्छेले हातमा बेल्चा लिएर हतार हतार खाल्टाहरू पुरे । तिनीहरू मध्ये एक जनाले छिटोछिटो गरेर खुट्टाले धूलो फाल्दै त्यो ठूलो रगतको टाटोलाई छोप्ने कोसिस गर्यो । केही मिनेट फिल्ड (मैदान) मा आए । दोस्रो हाफ सुरू हुने वाला थियो ।

हाम्रो भेटघाट समय त्यही दिउँसोको तीन बजे मिलाइएको थियो । कति सजिलो र छिटो भेटघाटको समय मिलाइयो भन्ने कुराले म छक्क परेको थिएँ । कम्तीमा पनि खोन्याइखोच्याइ सोधपुछ, सायद हाम्रो कागजातको खानतलासीले गर्दा मैले ढिलो होला भन्ने अपेक्षा गरेको थिएँ, तर काम जसरी भयो त्यो पारा देख्दा

औपचारिक कुराहरू पनि अझैसम्म अफगानिस्तानमा कति अनौपचारिक तरिकाले हुँदा रहेछन्‌ भनेर ती पुराना दिनको सम्झना भयो | मात्रै फरिदले के गर्न पर्यो भने त्यो कोर्रा हातमा लिइरहेको तालिबलाई हाम्रो त्यो सेतो लुगा लगाएको मान्छेसँग केही व्यक्तिगत कुराकानी गर्नु छ भनेर भन्नु पर्यो । फरिद र त्यो मान्छे केही बोले | त्यो कोर्रा लिएको मान्छेले सहमतिको टाउको हल्लायो र फिल्डमा भएको एक, जना युवकलाई पास्तु भाषामा केही भन्यो | त्यो युवक दगुर्दै दक्षिणी गोलपोस्टतिर गयो जहाँ त्यो सन ग्लास लगाएको तालिब त्यही प्रवचन दिने मोटे पुरोहितसँग गफ गरिरहेको थियो । ती तीनजना बोले । मैले त्यो सन ग्लास लगाउने मान्छेले मास्तिर हेरेको देखेँ । उसले सहमतिको टाउको हल्लायो । त्यो समाचार पुर्याउने मान्छेको कानमा केही भन्यो । त्यो युवकले उसको सन्देश हामीलाई पुर्याइदियो । अनि समय तय भयो । तीन बजे |

लेखक परिचय

प्रेम सिग्देल अनुवादकका रूपमा परिचित हुनुहुन्छ । उहाँ अनुवादसँगै प्राध्यापनसमेत गर्नुहुन्छ ।

प्रतिक्रिया
Loading...