बेलायतका चर्चित लेखक चार्ल्स डिकेन्स ४० वर्ष उमेर पार गरिसकेपछि एक जना अभिनेत्रीसँग यसरी सल्किए कि उनको घर भाँडिन पुग्यो । श्रीमतीसँग पार पाउनका लागि उनले तथानाम मात्र गरेनन्, मानसिक सन्तुलन गुमाएकी आइमाईसमेत भन्न बाँकी राखेनन् ।
अभिनेत्रीसँग बिहे गर्न उनले पत्नीलाई बेलायतबाटै लखेट्न चाहन्थे ।
रोचक त के छ भने क्याथरिन होगार्थसँग सन् १८३६ मा उनले बिहे गरेलगत्तै लेखकका रूपमा उनको प्रख्याति चुलिन थाल्यो । सोही वर्ष बजारमा आएको ‘द पिकविक पेपर्स’ले साहित्य जगतमा हलचलसँगै राम्रै रोयल्टी पनि दिलाएको थियो ।
उनका १० सन्तान जन्मिएका थिए र यत्रा सन्तान जन्माउनुमा आफ्नोभन्दा पनि पत्नीको दोष बढी देखिरहेका थिए ।
४५ वर्षको उमेरमा उनी १८ वर्षीया अभिनेत्री एलेन टर्नानसँग सम्बन्ध गाँस्न पुगेका थिए । सन् १८५८ मा डिकेन्स र उनकी पत्नी होगार्थ बेग्लैबेग्लै बस्न थाले ।
खासमा डिकेन्सले आफ्नी प्रेमिका एलेनका लागि एउटा सुन्दर हिराको हार किनेका थिए । उनले त्यो पछि लिन आउँला भनेर पैसा तिरेका थिए तर पसलेले पक्कै यो पत्नीका लागि किनिदिएको होला भन्ने ठानी क्याथरिनकहाँ पुर्याइदियो ।
जब पत्नीसँग डिकेन्सले सो हार मागे, के कारणले किनेका थिए भन्ने खुलासा भइहाल्यो । त्यसअघि प्रेमिका एलेनसँग उनको लसपस छ भन्ने क्याथरिनले खासखुस नसुनेका होइनन् तर हिराको हार नै उनका लागि तयार पारिएको सुनेपछि उनी लोग्नेसँग आजित भएर लन्डन छाडेर केन्टस्थित गार्डस हिल प्लेस नामक ठाउँमा बेग्लै बस्न थालिन् ।
त्यसपछि उनले लोग्नेको अनुहार कहिल्यै हेरिनन् । सन्तान पनि क्याथरिनकी बहिनीको हेरचाहमा छाडिदिइन् ।
यता लेखक डिकेन्ससँग सम्बन्धमा रहेकी एलेनले डिकेन्सलाई सन् १८७० मा निधन नहुञ्जेलसम्म रेखदेख गरिरहिन् ।
डिकेन्सले आफ्नी पत्नीलाई मानसिक रूपमा अस्वस्थ प्रमाणित गर्न खोजेको एउटा पत्र पनि खुलासा भएको थियो । यतिबेला मानसिक स्वास्थ्यविज्ञहरूले डिकेन्स र उनकी पत्नी क्याथरिनबीच एकअर्कालाई दोषारोपण गरिएका पत्रहरूको अध्ययन गरिरहेका छन् । त्यसको प्रारम्भिक अध्ययनले क्याथरिनमा मानसिक विचलन वा समस्या नदेखिएको बरू अभिनेत्री एलेनसँग नजिकिएपछि पत्नीबाट छुटकारा पाउन त्यस्ता आरोप लगाउने गरेको देखिएको छ ।
युनिभर्सिटी अफ योर्कका प्राध्यापक जोन बोविन भन्छन्, ‘एउटा लेखकका रूपमा म डिकेन्सको ठूलो प्रशंसक हुँ । उनले अङ्ग्रेजी साहित्यमा बडो सुन्दर कृति दिएका छन् । तर उनका ती निजी चिठ्ठीहरू अध्ययन गर्दा भने मलाई साह्रै मानसिक आघात पुग्यो । एउटा साहित्यकारले कसरी आफ्ना सन्तानकी आमाप्रति घात गर्न सकेको होला भन्ने लाग्यो ।’
साहित्यकार चरित्रका अलि खुकुलो नै हुन्छन् । प्रख्यात कवि लर्ड बाइरन सौतेनी बहिनीसँग सल्केका थिए । प्रख्यात साइन्स फिक्सन लेखक एचजी वेल्स आफ्नै विद्यार्थीसँग गहिरो प्रेममा परेपछि उनको विवाह टुंगिएको थियो । पछि विद्यार्थीलाई बिहे गरेपछि पनि उनले अनेक स्त्रीसँग सम्पर्क राख्थे ।
फ्रान्केस्टाइन नामक प्रख्यात उपन्यासकी लेखिका मेरी सेली १६ वर्षको उमेरमा पिबी सेलीसँग पोइल गरेकी थिइन् । पिबी सेलीकी पत्नी हेरियटले दुई बीच प्रेम सम्बन्ध रहेको चाल पाएपछि आत्महत्या गरेकी थिइन् । उनको आत्महत्याले दुईबीच विवाहका लागि ढोका खोलिदियो ।
प्रख्यात कवि डाइलन थोमस एक नम्बरका जँड्याहा थिए । केटलिनसँग उनको विवाह भए पनि विवाहेत्तर सम्बन्ध अनेकसँग थियो । केटलिनले भने उनको सो व्यवहार नदेखेझैँ गरिदिन्थिन् ।
अर्का काण्डकारी साहित्यकारमा टिएस इलियट पनि पर्छन् । उनको स्त्री मोह यति थियो कि १८ वर्षे वैवाहिक सम्बन्धसमेत तिलाञ्जली दिए । उनकी पत्नी लोग्नेप्रति यति मोहित थिइन् कि उनलाई फिर्ता पाउन अनेक हर्कत गर्थिन् । एक पटक त लोग्ने फिर्ता चाहियो भनेर प्रख्यात पत्रिका द टाइम्समा विज्ञापनसमेत गरेकी थिइन् । उनलाई पछि मानसिक स्वास्थ्यलाभका लागि अस्पताल पठाइएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।