बेलायतको बहुचर्चित पुस्तक पुरस्कार कोस्टा अवार्ड यस वर्षदेखि बन्द भएको छ । हालै कोस्टा अवार्डका व्यवस्थापकले एक विज्ञप्ति जारी गरी २०२२ को पुरस्कार वितरण नगरिने र यो सधैँका लागि बन्द गरिएको घोषणा गरिएको हो ।
कोस्टा एउटा चेन रेस्टुराँको शृंखला हो । यसका बेलायत र युरोपका अधिकांश ठाउँमा शाखाहरू छन् । कोकाकोलाले लगानी गरेको यो रेस्टुराँ आनन्दसँग कफी र खाजा खाँदै पुस्तक पढ्ने ठाउँका रूपमा कोस्टा रेस्टुराँ प्रख्यात छ ।
गएको फेब्रुअरीमा अन्तिम पटक पुरस्कार बाँडिएको थियो ।
यो अवार्ड अब वितरण नगरिने घोषणा कोस्टाका प्रमुख कार्यकारी जिल म्याक्डोनाल्डले गरेका हुन् ।
‘पचास वर्ष लामो यो अवार्डलाई अचानक बन्द गर्नु पर्दा हामी दुःखी छौँ,’ जिलले भनेका छन्, ‘यो अवार्डले साँच्चिकै मनोरञ्जक पुस्तकलाई पुरस्कृत गर्ने अवसर पाएको थियो र यतिबेला दुःखका साथ यसलाई बन्द गर्नु परेको छ ।’
अहिलेसम्म कम्पनीले जति पुस्तकलाई पुरस्कृत गर्यो, ती सबै गर्व लायक रहेको जिलले बताए । उनले यत्तिका वर्षसम्म जसजसले सहयोग गरे, ती सबैप्रति आभारसमेत प्रकट गरेका छन् ।
सन् १९७१ मा यो पुरस्कार स्थापना गरिएको थियो र सन् २००५ सम्म पुरस्कृत कृतिलाई ह्वाइटब्रेड अवार्ड दिने गरिएको थियो । जब कोस्टा रेस्टुराँ चेनलाई कोकाकोलाले सन् २०१९ मा किनेपछि यसलाई कोस्टा अवार्ड भन्न थालिएको थियो । साहित्यका विभिन्न विधामा ६० हजार पाउन्डभन्दा बढीको पुरस्कार वितरण हरेक वर्ष वितरण गर्ने गरिन्थ्यो ।
सन् २०२१ को वर्ष पुस्तक हाना लोवीको ‘द किड्स’ बन्न सफल भएको थियो । लन्डनको एउटा विद्यालयमा शिक्षण पेशामा रमाइरहेकी लोवीको सो पुस्तक पुरस्कृत भएपछि अचानक उनी चर्चामा मात्र आइनन्, एकै झमटमा लखपति लेखिका बन्न पुगेकी थिइन् ।
यो पुरस्कार पाउनेहरूमा रोआल्ड डालको ‘द विचेज’ उपन्यास पनि थियो, सो उपन्यास सन् १९८३ मा बजारमा आएको थियो ।
यो पुरस्कारबाट सिमस हेनीको ‘बिउल्फ’ले जेके रोलिङको ह्यारी पोटर एन्ड द प्रिजनर अफ अज्काबनलाई जितेर सबैलाई उदेकमा पारेको थियो ।
यति प्रख्यात पुरस्कार अन्य कसैलाई जिम्मा लगाउने तयारी नभएको कोकाकोलाले प्रस्ट पारेको छ । अचानक किन पुरस्कार वितरण कार्यक्रम बन्द गरियो भन्नेबारे कम्पनीले कुनै प्रस्ट कारण बताएको छैन ।
प्रख्यात पुरस्कार अचानक बन्द हुनुले धेरै लेखकको लेखन करियरमा धक्का पुग्ने लिटररी एजेन्ट नील एन्ड्रयुले बताइन् । गएका ५० वर्षमा साधारण लेखकको जीवनशैली यही एउटा पुरस्कारले कायापलट गरिदिएको थियो ।
यो पुरस्कारको अन्त्यसँगै पुस्तक पसलेहरूले सम्भावित बेस्ट सेलर पुस्तक गुमाउने पक्का भएको नील बताउँछिन् ।
पुरस्कार बन्द भएको घोषणापछि उपन्यासकार डेमियन बारले ट्वीट गरेका छन्, ‘अहो, म गत वर्ष यसको निर्णायकमा छानिएको थिएँ, समूहले राम्रो काम गरेको थियो । अवार्ड अचानक बन्द हुनु शरमको कुरा हो ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।