कोभिड १९ रोगले जब सारा संसार बन्दाबन्दीमा बिताउँदै थियो, बेलायतस्थित एउटा पुस्तकालयका कर्मचारीको व्यस्तता भने अन्य बेलाभन्दा अझ बढेको थियो ।
लिड्स विश्वविद्यालयको केन्द्रीय पुस्तकालयका कर्मचारीहरूले छरपष्ट पुस्तकहरू, नमिलाइएका पुस्तकका क्याटलगहरू मिलाउनेदेखि थाँति रहेका अनेकन् कामहरू गरिरहेका थिए ।
तर यही बेला अरू बेला आँखा छलेर बसिरहेको एउटा मूल्यवान् चिज फेला परेको छ । र, त्यो पुस्तकालयका लागि खुसीको कुरा त छँदै थियो, अन्य पुस्तकप्रेमीका लागि पनि रोचक समाचार बन्न पुग्यो ।
बेलायतबाट प्रकाशित हुने बिबिसी हिस्ट्री म्यागेजिनका अनुसार बन्दाबन्दीका बेला धेरै पुस्तकालयहरूले आफूले सङ्कलन गरेका पुस्तकहरू खँगाल्ने अवसर पाएका थिए । पुस्तकालयको जानकारीमा नरहेका तीन हजारभन्दा बढी कलाकृति, विभिन्न उपहारहरू सोही अवसरमा फेला पारिएका छन् । तिनका बारेमा यसअघि कहिल्यै केही चर्चासमेत भएको थिएन । अर्थात् सामग्रीहरूको थुप्रोमा ती थिचिएका थिए र तिनका बारेमा वर्षौंसम्म कसैले नियालेर हेर्ने अवसर पाएका थिएनन् । अझ चर्चा त परैको कुरा भयो ।
ती सामग्रीमध्ये सन् १९११ ताका प्रकाशनमा आएको फुच्चे बाइबल पनि फेला परेको छ । ओल्ड टेस्टामेन्ट र न्यु टेस्टामेन्ट दुवै पुस्तक समाहित सो बाइबलको पुस्तक ५०x३० मिलिमिटरको रहेको पुस्तकालय प्रशासनले जनाएको छ ।
यस्तो दुर्लभ पुस्तक फेला परेपछि हाल सो पुस्तकलाई दुर्लभ विधामा राखी प्रदर्शनीमा चढाइएको छ । सो पुस्तक हेर्ने जिज्ञासुको संख्या हाल बढ्न थालेको बिबिसी हिस्ट्रीले जनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।