पत्रकारिता तथा साहित्यमा हरेक वर्ष प्रदान गरिने अमेरिकाको प्रख्यात पुरस्कार पुलित्जर घोषणा गरिएको छ ।
सोमबार घोषित सो पुरस्कार आख्यानतर्फ जोसुआ कोहेनको द नेतन्याहुज् ले प्राप्त गरेको छ । ऐतिहासिक विषयमा आधारित यस उपन्यासमा अमेरिकामा रहेका यहुदीहरूको अनुभवलाई मज्जाले अभिव्यक्त गरेको छ ।
जेनरल ननफिक्सनतर्फ एन्ड्रिया इलियटको इन्भिजिबल चाइल्डः पोभर्टी, सर्भाइभल एन्ड होप इन एन अमेरिकन सिटीले सो पुरस्कार प्राप्त गरेको छ । न्युयोर्क सहरमा रहेका बेघरबार एक सडक बालिकामार्फत लेखिकाले सरकारी नीतिको असफलताका कारकहरू केलाएकी छन् ।
यसैगरी इतिहासतर्फ यस पटक दुई पुस्तकले पुरस्कार हात पारेका छन् । निकोल युस्टान्सको कभर्ड विद नाइटले अमेरिका छिरेका युरोपको पहिलो पुस्ताले स्थानीय नेटिभ अमेरिकीहरूमाथि गरेको अन्यायमाथि प्रकाश पारेको छ भने अर्को पुरस्कृत पुस्तक क्युबाः एन अमेरिकन हिस्ट्री पुस्तकमा लेखिका एडा फेररले पाँच दशकदेखि अमेरिका चलाउने, हल्लाउने र बिगार्नेहरूको क्युबा रूचिमाथि कलम चलाएकी छन् ।
जीवनी विधामा भने विन्फ्रेड रेम्बर्टको आत्मकथाले पुरस्कार पाएको छ । चेजिङ मी टु माई ग्रेभः एन आर्टिस्ट मेमोइर अफ जिम क्रो साउथ पुस्तक लेख्न सघाउने एरिन आई. केलीलाई यो पुरस्कार प्रदान गरिएको हो । पुस्तकमा अमेरिकाको दक्षिणी भेगमा सन् १९५० र ६० को दशकताकाका घटनाहरू उल्लेख गरिएको छ ।
काव्य विधातर्फ डियान सिउसको फ्रान्कः सोनेट्स पुरस्कृत भएको छ भने नाटक विधामा जेम्स इजाम्सको फ्याट ह्यामलाई योग्य मानिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।