साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मान्छेको भाग्य, भाग दश

Chovar Blues Mobile Size

 

                                                       भागः दश

बोतल राखिएको थियो । त्यसको अगल-बगलमा चाहिँ पाउरोटी, बंगु्रको बाथ , अमिल्याइएको स्याउ र किसिम किसिमका खानेकुरा भरिएका टिनबन्द डब्बाहरू खोलेर राखिएका थिए। मैले तौ सबै चीजबीजहरूमा एउटा सर्सती नजर फिराएँ । तिमीलाई त विश्वास नलाग्ला, तर मलाई भने यो सब देखेर बाक्वाकी लाग्यो र पेट उल्टिएर बान्ता आउला आउला जस्ती भयो । कुरा के त भने म ब्वाँसो जस्तै भोकाएको थिएँ र मान्छेले खाने भोजन पनि कति दिनदेखि मेरो पेटमा परेको थिएन। तर त्यहाँ भने मेरो आँखा अगिल्तिर नै त्यत्तिका विधि तरह-तरहका खानाहरु सजाएर राखिएको टेबुल थियो ।

जसरी तसरी मैले बान्ता हुन दिइनँ, तर त्यस टेबुलबाट नजर अन्यन्त्र लगाउन भने मलाई भूभारत परेको थियो।

मेरो ठीक अगिल्तिर नै बसेको थियो म्यूलेर। रक्सी लागेर उ आधा चूर भैसक्या थ्यो। उ कहिले दाहिने हातमा त कहिले देब्रे हातमा पिस्तोल लिंदै खेलिरहेको थियो। उसले आफ्नो दृष्टि ममाथि लगायो र ठीक त्यसरी नै आँखा झिमिक्कै नगरीकन एक टक लगाएर हेर्न थाल्यो, जसरी एउटा सर्पले हेर्ने गर्छ। अँ त, मैले टुटेको ऐडी जोडले बजाएँ र एटेशन भएर खडा भएँ। अति ठूलो स्वर निकाल्दै कराएँ – “ यृद्धबन्दी आन्द्रेइ सोलोकोभ तपाईंको सेवामा हाजिर छ, श्रीमान क्याम्प कम्याण्डर ! ” उसले कड्केर प्रश्न गर्यो – भन्, ए रूसी इभान, चार घनमीटर ढुंगा निकाल्नु ज्यादै बढी भयो, हैन त? ” मैले उत्तर दिएँ ठीक भन्नु भो, श्रीमान क्याम्प-कम्याण्डर, ज्यादै नै वढी भयो।” त्यसपछि उसले फेरि सोध्यो _ तेरो चिहानको निम्ति एक घनमीटर नै काफी छ के ? मैले पनि ठाडै जवाफ दिएँ- ठीकै हो, श्रीमान क्याम्प-कम्याण्डर, काफी मात्रै होइन, अझ बाँकी समेत रहन जाने छ !

उ मेचबाट जुरूक्क उठ्यो र भन्न थाल्यो “म तँलाई ठूलो सम्मान बकस दिँदै छु, बुझिस्‌ ! यस्ता शब्दहरूको लागि म आफ्नै हातले गोली दागेर तेरो काण्ड पुर्याइदिनेछु ! तर यहाँ ठीक होवैन । हिँड्‌, चोकतिर ! त्यहाँ बाहिर सजिलैसंग तेरो प्राणपखेरू उडेर जाला ! ”

sagarmani mobile size

यसको जवाफमा मैले भनेँ- जो “इच्छा श्रीमानको ! ” उ केही बेर उभिएरै सोच्न लाग्यो, अनि उसले पिस्तोल टेबुलमा राख्यो, श्नाप्स रक्सीले एक गिलास टन्न भर्यो, हातमा एक टुक्रा रोटी लियो र त्यसमाथि बाथको एउटा सानो टुक्रा पनि राख्यो। अनि यो सबै मतिर सार्दै उसले भन्यो – “ला, रूसी इभान, मर्नु भन्दा पहिले जर्मनहरूको विजयको नाउँमा तँ पनि घुट्क्या अलिकति ! ”

मैले रक्सीको गिलास र रोटीको टुक्रा उसको हातबाट लिनै आँटेको थिएँ, तर जब मैले उसको अन्तिम वाक्य सुनें, मेरो भित्र आगो सल्किएको जस्तो मलाई अनुभव भयो । मैले मनमनै सोचेँ- के त म एउटा रूसी सैनिक जर्मतहरूको जीतको नाउँमा पिउँ ? के तँ मबाट अरू कुनै कुरा चाहँदैनस्‌ त, श्रीमान क्याम्प-कम्याण्डर ? मर्ने जो हो परेपछि खुट्टै जो हो तानेर ! तँ र तेरो श्नाप्स रक्सी पनि भर्सेलोमै परोस्‌ ! ‘

“मैले गिलास थपक्क टेबुलमा राखिदिएँ र रोटीको टुक्रा पनि राखिदिएँ । “अतिथिसत्कारको लागि धन्यवाद ! तर म रक्सि पिउँदिनँ । “मैले भनें । मेरो कुरा सुनेर उ मुस्कुरायो हाम्रो विजयको नाउँमा पिउन चाहँदैनस्‌, हैन ? लौ घुट्क्या न त आफ्नो मृत्युको नाउँमा ! ” अनि मैले गुमाउनु नै पोके थियो र ? “आफ्नो मृत्युको नाउँमा र यस नरकको यातनाबाट मुक्तिको नाउँमा पिउँछु ! ” _ मैले उसलाई जवाफ दिएँ र गिलास उचालेर एक्कै सासमा जम्मै रक्सी घुटक्याइदिएँ। तर रोटी भने मैले छुँदै छोइनँ। मैले चुपचापसित आफ्नो बाहुलाले ओठ पुछें र भनेँ – “ अतिथिसत्कारको लागि धन्यवाद ! म तयार छु, अब मलाई गोलीले उडाइदिन सक्नुहुन्छ, श्रीमान क्याम्प कम्याण्डर |”

परन्तु उसले मतर्फ कर्के नजरले हेर्दै जवाफ दियो – “मर्नुभन्दा पहिले खाइहाल्‌ न एक टुक्रा रोटी पनि। यसको जवाफमा मैले भनें – “पहिलो गिलास: रित्याइएपछि कुनै सितन मुखमा हाल्दिनँ ! ” उसले गिलासमा फेरि रक्सी भर्यो र मलाई दियो। मैले दोस्रो गिलास पनि त्यसरी नै स्वाट्टै घुट्क्याइदिएँ, तर अझै पनि मैंले रोटीको टुक्रातर्फ हात बढाइनँ। मैले हिम्मत बाँधेर विचार गरेँ- मनको लागि बाहिर चोकमा जानुभन्दा अगाडि अलि अलि मात चढिहालोस न ! ‘ क्याम्प-कम्याण्डरले आफ्नो खैरो आँखीभौं माथितिर उठायो र सोध्यो किन रोटी लिंदैनस्‌, हँ, रूसी इभान ? लाज नमान, खा ! ” मैले आफ्नो कुरामा अड्डी लिदै जवाफ दिएँ “माफ गर्नोस्‌, श्रीमान क्याम्प कम्याण्डर दोस्रो गिलास रित्याएपछि पनि केही खाने त मेरो बानी नै छैन !” उसले आफ्नो गाला फूलायो , नाक बाजायो र पेट मिचिमिची हाँस्न थाल्यो । यसको साथसाथै जर्मन भाषामा केही भन्दै गइरहेको थियो उ। शायद उसले त कुरा उल्था गरेर आफ्ना साथीहरूलाई सुनाएको थियो उनीहरू पनि हाँस्न थाले, आफ्ना मेचहरू पछिल्तिर मलाई हेर्नको लागि मतिर मुण्टो फर्काए । अब म उनीहरूको नजरमा केहि अर्कै कुरा अर्थात नरम भाव देख्न थाले ।

क्याम्प-कम्याण्डरले मेरो निम्ति तेस्रो गिलास पनि भर्यो । हाँसिरहेको हुँदा उसको हात चाहिँ काँपिरहेको थियो। यो गिलास चाहिं मैले बिस्तार-बिस्तार पिएँ, रोटीको सानो टुक्रा चपाएँ र बाँकी चाहिँ टेबुलमा नै राखिदिएँ। म ती शैतानहरूलाई के कुरा देखाउन चाहन्थें भने भोकले गर्दा मेरा आन्द्राभुँडी छुत्ती खेल्न लागेका भए पनि उनीहरूले मेरो अगाडि रोटीको जुन टुक्रा फ्याँकिदिएका छन्‌ त्यसले पेट भर्न म अवश्य नै पनि चाहन्न। म उनीहरूलाई के पनि बुझाउन चाहन्थें भने मेरो आफ्नै रूसी स्वाभिमान र रूसी मर्यादा छ र उनीहरूले लाख चाहेर पनि मलाई मान्छेबाट जनावरमा बदलिदिन सक्ने छैनन्‌ ।

त्यसपछि क्यास्प-कम्याण्डरको अनुहार गम्भीर भयो। उसले आफ्नो छातीमा लट्किरहेको दुईवटा लौहन-क्रस मिलायो, हातमा पिस्तोल पनि नलिएरै मेचबाट अगाडि सर्यो र भन्न लाग्यो हेर्‌, सोकोलोभ ! तँ सच्चा रूसी सिपाही होस्‌ ! तँ साहसी सिपाही होस्‌ ! म पनि सिपाही नै हुँ र लायक दुश्मनको कदर गर्छु ! म तँलाई गोली ठोकेर मार्दिनँ। फेरि आज हाम्रो बहादुर फौज भोल्गासम्म पुगेको छ र उसले पूरै स्टालिनग्रादमा कन्जा जमाएको छ। बुझिस्‌, यो हाम्रो लागि ज्यादै ठूलो खुशीको कुरा हो ! त्यसैले म आज तँलाई दयापूर्वक ज्यान बकस दिन्छु। त्यसैले जा, आफ्नो ब्लोकमा फर्केर जा ! तेरो साहसको कदर गर्दै यो पनि तँलाई इनाम दिन्छु, साथैमा लिएर जा ! “-यति भनेर उसले एउटा सिंगै पाउरोटी र बंगुरको बाथको एउटा ठूलै चोक्टा पनि मेरो हातमा थमाइदियो ।

मैले पाउरोटी अफ्नो जीउमा बेसरी च्यापें र बाथको चोक्टा देब्रे हातमा लिएँ । एकाएक घटनाक्रमले यस्तो अप्रत्या….

क्रमश……

 

लेखक परिचय
कश
कृष्णप्रकाश श्रेष्ठ
प्रतिक्रिया
Loading...