२२ वर्षअघि चार्ल्स डार्विनका दुई वटा नोटबुकहरू अचम्मै किसिमले हराए ।

कसले गायब पारेको हो, पत्तो पाउन नसकेर विश्वविद्यालय प्रशासनले त्यसको खोजी गर्नै छाडिसकेको थियो ।

बेलायती प्रहरीका लागि पनि यो चोरी शहरमा हुने अनेकन् चोरी जत्तिकै थियो । त्यसैले पनि ऊ यसको पछि लागिरहन सकेन ।

गएको ९ मार्च २०२२ मा भने अचम्मै भयो । हराएका दुई वटा डायरीहरू साबुतै फेला परे । तिनलाई एउटा गुलाबी गिफ्ट ब्यागमा विश्वविद्यालयकी लाइब्रेरियन डा. जेसिका गार्डनरको नाममा कसैले छाडेको पाइयो ।

जब डा. गार्डनरले यी नोटबुक फेला पारिन्, उनको खुसीको सीमा नै थिएन । तर कसले छाड्यो होला भन्ने कुराले उनको दिमाग हानिरह्यो ।

उनले तुरून्त प्रहरीलाई डाकिन् र सिसिटिभी फुटेजमा उपहारदाता खोज्ने प्रयास गरिन् । तर फुटेजबाट पनि खासै चाहिँदो कुरा पत्ता लागेन ।

यो डायरीमा उनले सन् १८३७ ताका उब्जेका अनेकन् भावहरू उतारेका छन् ।

उनको डायरीमध्ये यहाँ राखिएको चाहिँ पृष्ठ ३६ मा उनले कल्पेको इभोल्युसनरी ट्रीको खाका कोरेका छन् । यही खाका पछि उनको पुस्तक अन द ओरिजिन अफ स्पिसिज् लेख्न सघाउ पुर्याउने किसिमको रहेको केही विज्ञहरू बताउँछन् ।

डायरी गायब भएपछि अहिले यसलाई गोप्य ठाउँमा राखिएको र केही महिनापछि मात्र यसलाई सार्वजनिक प्रदर्शनीमा राखिने बताइएको छ ।