जीवनको गुहार

                                                                              नट ह्याम्सन

नट ह्याम्सनको जन्म नर्वेको लोममा ४ अगस्ट १८५९ मा भएको हो। सानै उमेरदेखि गरिबी भोगेका ह्याम्सनको १८९० मा द हङ्गर नामको उपन्यास प्रकाशित भयो । त्यो उपन्यासले खुबै चर्चा पायो र उनको आर्थिक अवस्था पनि सुध्रियो । किसान र माटोको अन्तरसम्बन्धवारे लेखिएको उनको अर्को चर्चित उपन्यास द ग्रोथ अफ द सइल १९१७ मा प्रकाशित भयो, जसले उनलाई १९२० को नोबेल पुरस्कार दिलायो उनको मृत्यु १९ फेब्रुअरी १९५२ मा नोरहोल्यमा भयो । नट ह्याम्सनको कथा, उपन्यास, संस्मरण र नाटक गरी तीनदर्जन भन्दा बढी कृति
प्रकाशित छन्‌ । उनको कथा द कल अफ्‌ लाइफले जीवन, प्रेम र यौन चाहनाको सफल चित्रण गरेको छ।  

कोपेनहेगनको भित्री बन्दरगाह नजिकै तल एउटा भेस्टर भोल्ड नाम गरेको सडक छ । सापेक्षित रूपमा भर्खरै बनेको त्यो नयाँ सडक उराठलाग्दो र सुनसान छ। सडकको दुवै किनारमा रुखहरू रोपिएका छन्‌ । सडकका दायाँबायाँ फाट्टफुट्ट घर, ग्याँसबत्ती देखिन्छ भने लगभग कोही मान्छे देखिँदैन भन्दा हुन्छ । यति बेला गर्मीयाममा पनि त्यहाँ डुलिहिँड्ने मान्छे कमै देखिन्छन्‌ । तर जे होस्‌, हिजो बेलुका मैले एउटा आश्चर्यलाग्दो घटनाको साक्षी हुनुपर्यो ।

फुटपाथमा ओहोरदोहोर गर्दै गर्दा मैले एउटी महिला विपरीत दिशाबाट आफूतिर आउँदै गरेको देखेँ । त्यहाँ वरिपरि कोही मान्छे थिएनन्‌ । ग्याँस बत्ती बलिराखेको भए पनि यति अँध्यारो थियो कि मैले ती महिलाको अनुहार राम्रोसित खुट्टयाउनै सकिनँ । प्राय: राति हिँड्ने कोही मान्छे होला यस्तो सोच्दै अगाडि बढेँ । जब उनीसित मेरो तेस्रो चोटि भेट भो अभिवादन व्यक्त गर्न आफ्नो ह्याट फुकालेँ अनि भनेँ- “गुड इभिनिङ कसलाई पर्खिनुभएको हो कुन्नि !” उनी झसङ्ग भइन्‌, “हैन” यसको मतलब हो भन्ने बुझ्नपस्यो । उनी कसैको प्रतीक्षामा थिइन्‌ पक्कै । उनले प्रतीक्षा गरेको मान्छे नआउन्जेल मेरो साथ उनलाई मन नपरेको त हैन कतै ?

अहँ, त्यसो कदापि हैन उनले त मलाई उल्टै धन्यवाद पो दिइन्‌ त्यसका लागि । उनले भनिन्‌ “कसैलाई पर्खिराखेकी हैन । यसो हावा खान निस्केकी, कस्तो सुनसान छ यहाँ ।”

हामी सँगसँगै टहल्दै हिड्यौ । थुप्रै विषयमा कुराकानी भो तर खासै ठोस परिणाम निस्केन । मैले उनलाई हात समाउन दिएँ ।

“भैगो, पर्दैन” यति भन्दै उनले मुन्टो हल्लाइन्‌ । यस्तो पाराले डुलिहिँड्दा खासै रमाइलो भैराखेको थिएन । अँध्यारोमा उनलाई राम्रोसित देख्न पाएको पनि थिइन मैले । कति बजेछ भनेर सलाई कोरेर हेरेँ । त्यही मौकामा उनलाई पनि हेर्न भ्याएँ ।

“साँडे नौ भएछ” मैले भनेँ ।

उनी जाडोले कामेजस्तो लुगलुग काम्न थालिन्‌ ।

मैले मौका छोपेँ।

“जाडो भो तपाईंलाई ?” मैले सोधेँ- “यसो कतै बसेर केही पिउने कि ? टिभोलीमा ? नेसनलमा ?”

“देख्नुभएन तपाईंले ? म अब कतै जान सक्दिन” उनले जबाफ फर्काइन्‌ ।

बल्ल देखेँ मैले, उनले त कालो घुम्टो पो ओढिराखेकी रहिछिन्‌ ।  उनीसित माफी मागेँ अनि अँध्यारोमा गल्ती भएको कुरा स्वीकारेँ। उनको
क्षमाशील व्यवहारबाट म के कुरामा ढुक्क भएँ भने उनी अरूजस्तो राति राति डुलिहिँड्ने मान्छे होइन रहिछिन्‌ ।

“मेरो हात समात्नुहुन्न, तपाईं ?” मैले पुनः आग्रह गरेँ “अलिकति भए पनि न्यानो हुन्छ नि तपाईलाई ।” उनले मेरो हात समातिन्‌ ।

हामी अलि बेर यताउता हिँड्यौं, उनले फेरि मलाई घडी हेर्न आग्रह गरिन् ।

“दश बज्यो, कहाँ बस्नुहुन्छ तपाईं ?” मैले सोधेँ ।
“ग्याम्ले कोन्गेभीमा”
मैले उनलाई रोकेँ ।
“तपाईंलाई घरसम्म पुच्याइदिउँ !” मैले सोधेँ
“भैगो, पर्दैन” उनले भनिन्‌ “नाइँ तपाईंलाई म त्यहाँ जान दिन्नँ…”
“तपाईं त्यही ब्रेडगेडमा बस्ने मान्छे होइन र ! कि कसो ?”
कसरी थाहा भो तपाईंलाई ? चकित हुँदै मैले सोधेँ ।
“ओहो ! म तपाईलाई राम्ररी चिन्दछु ।” उनले जबाफ दिइन्‌ ।

एकछिन मौनता छायो- एकअर्काको हात समाउँदै हामी तल उज्यालो सडकतिर लाग्यौँ । छिटो छिटो हिँड्दै गर्दा उनको लामो घुम्टो पछिल्तिर
लत्रिरहेको थियो। “अलि छिटै जाँदा राम्रो होला” उनले भनिन्‌ । ग्याम्ले कोन्केभीस्थित उनको घरको ढोकामा पुगेपछि उनी मतिर फर्किन्‌, यस्तो
लाग्थ्यो, मानौँ घरसम्म सुरक्षित रूपमा ल्याइदिएकामा मलाई उनी धन्यवाद दिन चाहन्थिन्‌ । मैले ढोका खोलिदिएँ, उनी बिस्तारै भित्र पसिन्‌ । बिस्तारै कुमले ढोका ठेलेँ र म पनि उनको पछि पछि लागेँ । उनले भित्र पस्नेबित्तिकै मेरो हात च्याप्प समातिन्‌, हामी दुवै बोलेनौँ ।

दुई तला उक्लिसकेपछि हामी तेस्रो तलामा पुगेर रोकियौँ । उनी आफैँले ढोका खोलिन्‌ । त्यसपछि अर्को ढोका पनि खोलिन्‌ अनि हात समातेर भित्र लगिन्‌ । सम्भवत: त्यो बैठक कोठा थियो । भित्तामा घडीको टिकटिक गरेको आवाज सुनेँ । भित्र पसेपछि उनी अलि बेर रोकिइन्‌ । अकस्मात्‌ मतिर हात बढाइन्‌ अनि थरथर काम्दै मलाई चुम्बन गरिन्‌ प्रेमपूर्वक दाहिने गालामा ।

“बस्ने हैन ?” उनले आग्रह गरिन्‌ । सोफामा बस्दै गर्नुस्‌, त्यतिन्जेलसम्म म बत्ती बाल्छु।” अनि उनले बत्ती झुल्क्याइन्‌ । मैले आफैँलाई अचम्भित हुँदै, म अझै जिज्ञासु थिएँ । म त एकदम फराकिलो र सजिसजाउ बैठक कोठामा पो उभिन पुगेको रहेछु । आधामात्र खुलेको ढोकाबाट अरू थुप्रै कोठामा पस्त सकिन्थ्यो । जिन्दगीमा कस्तो म मान्छेसित भेट भएछ, मैले केही बुझ्नै सकिन ।

“कति राम्रो कोठा” म एक्कासि कराएँ- “तपाईं यहीँ बस्नुहुन्छ ?” मेरो घर यही हो” उनले जबाफ दिइन्‌।

तपाईंको घर यही हो ? उसो भए तपाईं बाबुआमासितै बस्नुहुन्छ होला हैन ?

“हैन हैन” उनी हाँसिन्‌ “देखिहाल्नुभो म त बुढी आइमाई पो हुँ त ।” त्यसपछि उनले आफ्नो घुम्टो र अरू कपडा पनि खोलिन्‌ । “देखिहाल्नु
भो नि मैले भनेकी थिएँ कि थिइनँ ?” यति भन्दै उनले अकस्मात मलाई अँगालोमा बेस्सरी कसिन्‌ । अनियन्त्रित कामवासनाले बसिभुत भएकी
थिइन्‌ उनी ।

उनी लगभग त्यस्तै बाइस तेइस वर्षकी थिइन्‌ होला । दाहिने हातमा औँठी लगाएकी हुनाले विवाहित भएको पुष्टि गर्थ्यो, सुन्दर भन्न सकिन्थ्यो
उनलाई ।

छ्याकाटे अनुहार, आँखीभौँ खुइलिएको, उनी मस्त जवानीमा हिँडिराखेकी थिइन्‌ । उनको मुखचाहिँ औधी राम्रो थियो ।

उनी को थिइन्‌ अनि उनको लोग्ने कहाँ छन्‌ । घरमा अरू पनि कोही छन्‌ कि यो घर कसको हो ? यस्ता थुप्रै प्रश्न सोध्न चाहन्थेँ म उनलाई । तर
जतिचोटि म सोध्न खोज्थेँ उति चोटि उनी मसित टाँसिन खोज्थिन्‌ र सकेसम्म प्रश्न सोध्नै दिन्नथिन्‌ ।

“मेरो नाम एलेन हो” उनले भनिन्‌ “केही पिउने हो ? मैले घन्टी बजाउँदा कसैलाई बाधा पर्दैन बेडरुममा गएर बस्दै गरे हुन्छ ।”

म बेडरुममा पसेँ । बैठक कोठाबाट छिरेको उज्यालोले आंशिक रूपमा बेडरुम झलमल्ल भएको थियो ।

“मेरो नाम एलेन हो” उनले भनिन्‌ “केही पिउने हो ? मैले घन्टी बजाउँदा कसैलाई बाधा पर्दैन बेडरुममा गएर बस्दै गरे हुन्छ ।”

म बेडरुममा पसेँ । बैठक कोठाबाट छिरेको उज्यालोले आंशिक रूपमा बेडरुम झलमल्ल भएको थियो ।

दुईवटा बेड थिए त्यहाँ एलेनले घन्टी बजाइन्‌ अनि रक्सी मगाइन्‌ । एउटी केटीले रक्सी लिएर आएको र बाहिर निस्केको थाहा पाएँ । एक छिनपछि एलेन बेडरुममा पसिन्‌ तर अलि बेर ढोकैमा अडिइन्‌ । म उनी भएतिरै लागेँ ! उनी सुँक्कसुँक्क गर्दै मेरो नजिक आइन्‌ ।

यो अघिल्लो साँझको कुरो थियो ।

त्यसपछि के भो होला ? धैर्य गर्नुस्‌ म बताउँछु, धेरै कुरा छन्‌ । म बिउँझिँदा झिसमिसे उज्यालो भैसकेको थियो । झ्यालको पर्दाबाट कोठाभित्र उज्यालो छिरिसकेको थियो । एलेन पनि बिउँझिइसकेकी थिइन्‌, अनि मतिर फर्केर मुसुक्क हाँसिन्‌ ।

उनका हातहरू सेता र मखमलजस्तै नरम थिए भने छाती अस्वाभाविक रूपमा पुक्क उठेको थियो । मैले कानेखुसी गर्न खोज्दा उनले मुख थूनिन्‌, हामी दुबै मौन थियौँ, दिन छिप्पिदै गयो उज्यालो बढ्दै गयो ।

दुई घन्टा पछि म उभिएँ । एलेन पनि उभिइन्‌ । लुगा लगाउनमा व्यस्त थिइन् । जुत्ता पनि लगाइन् उनले । त्यति बेला मैले अनुभव गरेको कुरो अहिले आएर मलाई घिनलाग्दो सपना जस्तो लाग्छ ।

म धारानिर उभिएको थिएँ । एलेन अर्को कोठामा काममा व्यस्त थिइन्‌ । उनले ढोका खोल्दै गर्दा म फरक्क फर्कें अनि भित्र चियाएर हेरेँ । कोठाभित्र झ्यालबाट छिरेको सिरेटोले मलाई हान्थ्यो । यसैबिच मैले कोठाको माझमा टेबुलमा एउटा लास देखेँ । कफीनभित्र राखिएको उक्त लास सेता कात्रोले छोपिएको थियो भने झस्स परेको दाहीबाटै थाहा हुन्थ्यो कि त्यो लास लोग्ने मान्छेको हो । घुँडाको हाड गिड्रिङङ बाहिर निस्केको थियो भने ओछ्यानबाट तल झोल्लिएको मुठी र उसको फुस्रो अनुहार देख्दै डरलाग्दो थियो । त्यो दृश्य मैले मध्यदिउँसो देखेको थिएँ ।

म एक शब्द नबोली अर्कोतिर फर्कें ।
एलेन फर्किँदा त म लुगा लगाएर बाहिर निस्किन ठिक परिसकेको थिएँ। उनले मलाई ग्वाम्लाङ्ग अँगालोमा बेर्दा मैले प्रतिक्रिया जनाउन सकिनँ ।
उनले अरू थप लुगा लगाइन्‌ । उनी मलाई तल सडकसम्म पुग्याउन चाहन्थिन्‌, मैले उनलाई नआउनु भन्न सकिन । हामी दुवै चुप थियौँ । ढोकामा आइपुग्नासाथ उनी कसैले नदेखोस्‌ भनेर भित्तामा लपक्क टाँसिइन्‌ ।

“गुड बाइ !” उनले मसिनो स्वरमा भनिन्‌ ।
“भोलिसम्मका लागि कि ?” उनको मन चोर्नका लागि मैले सोधेँ ।
“हैन, भोलिसम्मका लागि हैन ।”
“भोलि किन होइन त ?”

धेरै प्रश्न नसोध न प्रिय भोलि त म कसैको दाहसंस्कारका लागि मलामी जानु छ । मेरो नजिकको मान्छे बितेका छन्‌ । अब त बुभ्यौ होला नि !”

“अनि पर्सि त भेट्न सकिन्छ होला नि कि कसो !?”

हुन्छ, पर्सि म तिमीलाइ मेरै घरमा भेट्ने छु, गुड बाइ !”
म आफ्नो बाटो लागेँ।
उनी को थिइन्‌ ? अनि त्यो लास ?
मुठ्ठी बटारेको अनि मुख बाङ्गिएको त्यो लास कसको थियो ! कस्ती अचम्मको ! कति भयानक ! पर्सि त उनी मलाई पर्खेर बस्लिन्‌ भेटौँ किं नभेटौ होला । त्यसपछि म सिधै तल बर्निया रेस्टुरेन्टतिर लागेँ अनि डाइरेक्ट्री मगाएर हेर्न थालेँ । हेर्दै जाँदा नाम र नम्बर फेला पर्यो ठाउँको नाम ग्याम्ले कोन्गेभी । बिहानको पत्रिका ननिस्किउन्जेल पर्खिबसेँ । कसैको निधन भएको समाचारतिर आँखा लगाएँ । ठुला ठुला अक्षरमा सुरुमै लेखिएको रहेछ- त्रिपन्न वर्षका मेरा श्रीमान्‌ लामो बिमारीपछि आज बित्नुभो । सूचनाको मिति अघिल्लो दिनको थियो ।

निकै बेर घोरिएँ म ।
एउटा मान्छे बिहे गर्छ, जसकी श्रीमती आफूभन्दा तिस वर्ष कान्छी हुन्छे । लामो बिमारीले ऊ थला पर्छ । एक दिन ऊ मर्छ अनि उसकी विधुवा तरुनी स्वास्नी सन्तोष र मुक्तिको लामो सास फेर्छै।