अन द नेचर अफ रियालिटी’को बहस

भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोरले सन् १९१३ मा गीताञ्जली गीतिकाव्यमार्फत नोबेल साहित्य पुरस्कार पाएका थिए । उनी सो पुरस्कार प्राप्त गर्ने प्रथम भारतीय लेखक बन्न पुगे । त्यसपछि युरोपमा उनको लोकप्रियता ह्वात्तै बढ्यो । धेरै युरोपेलीहरू उनीसँग भेट्न चाहन्थे, संवाद गर्न चाहन्थे ।

उता अल्बर्ट आइन्स्टाइन पनि सामान्य सापेक्षताको सिद्धान्त र सापेक्षताको सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिकका रूपमा त्यो बेला निकै चर्चित थिए । उनले फोटोइलेक्ट्रिक इफेक्टको सिद्धान्त प्रतिपादन गरेको भन्दै सन् १९२१ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए।

त्यस बेलाका नाेबेल पुरस्कार प्राप्त गर्ने अति चर्चित यी दुई हस्तीको भेट हुन पुग्यो । सन् १९३० को जुलाई १४ मा टैगोरले आइन्स्टाइनको निमन्त्रणामा उनको घर क्यापुथ (जर्मनी) मा भ्रमण गरेका थिए । त्यहीँ यी दुई महान् व्यक्तिबीच भएको संवाद त्यस बेला कसैले रेकर्ड गरेर राखेको थियो, जसलाई सन् १९३१ को जनवरीमा मोडर्न रिभ्यु पत्रिकामा प्रकाशन गरिएको थियो। सोही सम्वाद ती महान् दुई हस्तीको सम्झनामाः

 

टैगोर: हजुर गणितको दुई प्राचीन अस्तित्व: समय र असीमित ठाउँ (टाइम एण्ड स्पेस)मा लीन भइरहनु भयो जबकि म चाहिँ यो देशमा मानिसको अनन्त संसार, ब्रह्माण्डको सत्यको बारेमा प्रवचन गरिरहेको छु।
आइन्स्टाइन: के तपाईं संसारभन्दा पृथक् पवित्रतामा विश्वास गर्नु हुन्छ?
टैगोर: पृथकतामा होइन। मानिसको असीमित व्यक्तित्वले ब्रह्माण्डको बयान गर्दछ। मानव व्यक्तित्वको बदलामा संसारमा केही कुरा पनि हुन सक्दैन र यसले यो प्रमाणित गर्दछ कि मानव सत्यता नै ब्रह्माण्डको सत्य हो।
आइन्स्टाइन: ब्रह्मण्डको रचनाको बरेमा दुई फरक अवधारणाहरु विद्यमान छन्—मानवतामा निर्भर संसारको एक स्वरुप र मानव तत्त्वबाट स्वतन्त्र संसारको वास्तविकता।
टैगोर: हामीलाई थाहा छ, यो हाम्रो संसारको मानिस—अनन्त—सँगको मेल नै सत्य हो। हामीले यसको सुन्दरता तब मात्र महसुस गर्न सक्छौँ।
आइन्स्टाइन: त्यो ब्रह्माण्डको बारेमा शुद्ध मानव अवधारणा मात्रै हो।
टैगोर: यो संसार मानवको संसार हो—संसारको वैज्ञानिक धारणा पनि मानवकै धारणा हो। त्यसैले हामी भन्दा बाहेकको संसारको अस्तित्व छैन; यो संसार सापेक्ष छ। यसको सत्य मानिसको चैतन्यमा निर्भर छ। तर्क र प्रसन्नताले केही हदसम्म सत्य दर्शाउँछ। अनन्त मानव जातिको अनुभवको स्तर हाम्रो अनुभवहरुले सम्भव छ।
आइन्स्टाइन: संसारको सत्यमा मानव अस्तित्वको पनि अवस्था बुझिन्छ।
टैगोर: हो, मानव एक अनन्त अस्तित्व हो। हामीले यसलाई हाम्रो भावना र क्रियाकलापमार्फत बुझ्न पर्दछ। हामीले हाम्रो कमी कमजोरीबाट परमात्मा जसको कुनै वैयक्तिक कमीकमजोरी छैन, उसलाई बुझ्नु पर्दछ। विज्ञानले व्यक्तिभन्दा बाहिर सम्बन्ध राख्दछ। यो अवैयक्तिक मानव संसारको सत्य हो। धर्मले यिनै सत्यहरुको स्थिति बुझाउने चेष्टा गर्दछ र त्यसलाई हाम्रो परम आवश्यकतासँग जोड्दछ। हाम्रो वैयक्तिक सत्यको चेतनाले सर्वमान्य महत्त्व प्राप्त गर्दछ। धर्मले सत्यलाई महत्त्व दिन्छ। संसारसँगको मेलले हामीलाई थाहा छ कि सत्य सुन्दर छ।
आइन्स्टाइन: के त्यसो हो भने सत्य अथवा सौन्दर्य मानिसबाट स्वतन्त्र छैन त?
टैगोर: हैन, मैले त्यसो भन्न खोजेको होइन।
आइन्स्टाइन: संसारमा मानिसहरु हुदैनन् थिए भने के एपोलो बेलभेडर सुन्दर हुने थिएन?
टैगोर: अहँ।
आइन्स्टाइन: म यो सौन्दर्यको अवधारणासँग सहमत छु तर सत्यको अवधारणासँग छैन।
टैगोर: किन हुनुहुन्न? मानिसहरुमार्फत नै त सत्य बुझिन्छ।
आइन्स्टाइन: म मेरो अवधारणालाई सही साबित गर्न सक्दिनँ तर मेरो त्यही अवधारणा नै मेरो धर्म हो।
टैगोर: सौन्दर्य नै मानिस र संसारको पूर्ण मेलको नमुना हो, जुन सर्वमान्य छ।सत्य सर्वमान्य बुद्धिको पूर्ण बोध हो। हामी व्यक्तिहरु यसलाई आफ्नो गल्ती र महाभुलद्वारा बुझ्दछौ। हाम्रो समग्र अनुभव, भ्रामिक चेतनाद्वारा बुझ्दछौ। नत्र कुन अरु तरिकाबाट हामीले सत्य बुझ्न सक्छौ र?
आइन्स्टाइन: म मेरो कुराहरु प्रमाणित गर्न सक्दिनँ तर म पाइथागोरियन तर्कमा विश्वास राख्दछु जसले यो भन्दछ: सत्य मानवजातीसँग अनिर्भर छ। यो समस्या अविरल तर्कशास्त्रको हो।
टैगोर: सर्वमान्य अस्तित्वको एउटै सत्य आवश्यक रुपमा मानिस हुन पर्छ। नत्र हो भने जेसुकै पनि हामी व्यक्तिहरु विश्वास गर्छौ त्यसलाई कदापि सत्य भन्न मिल्दैन। कम्तीमा, सत्य जुन वैज्ञानिक भनी वर्णन गरिन्छ, जसलाई तर्कशास्त्रको विचार विज्ञान (अर्को शब्दमा, जसलाई विचारको अङ्ग जुन मानिस हो) ले भेट्टाउन सक्छ। भारतीय दर्शन अनुसार ब्रह्म मात्र एउटा पूर्ण सत्य हो, जसलाई एउटा मात्र पृथक् बुद्धिले मनन गर्न सक्दैन वा शब्दमा बयान गर्न सकिदैन तर असंख्य व्यक्तिहरुको बुद्धि गाभेर वास्तविकता पहिचान गर्न सकिन्छ। तर त्यस्तो सत्यले विज्ञानसँग सम्बन्ध राख्दैन।जुन सत्यको हामी बहस गरिरहेको छौँ, त्यो एउटा ज्ञात हो। भन्नुपर्दा त्यो सत्य हाम्रो मानव बुद्धिमा ज्ञात छ, त्यसैले त्यो मानविय हो र त्यसलाई माया अथवा भ्रम पनि भनिन्छ।
आइन्स्टाइन: यो भ्रम केवल एउटा व्यक्तिको नभएर पुरा प्रजातिको हो।
टैगोर: त्यो सत्य पनि एकता वा मानवतामै पर्दछ। त्यसकारण सम्पूर्ण मानव बुद्धिले मात्र सत्य पहिचान गर्छ। भारतीय र यूरोपेली बुद्धि एउटै वास्तविकतामा मेल खान्छ।
आइन्स्टाइन: प्रजाति शब्द जर्मन भाषामा पुरै मानव जातिलाई दर्शाउन प्रयोग गरिन्छ। वास्तवमा यसले ढेडु, बाँदर र भ्यागुतोको प्रजातिलाई पनि दर्शाउँछ। सत्य हाम्रो चेतनासँग अनिर्भर वा स्वतन्त्र छ कि छैन भन्ने एउटा समस्या हो।
टैगोर: जे कुरालाई हामी सत्य भनिरहेका छौँ, त्यो वास्तविताको आत्मपरक वा विषयगत र वस्तुगत पक्षको बुद्धि विवेकको मेल हो जुन परमवयैक्तिक मानिसको हुन्छ।
आइन्स्टाइन: हामीले हाम्रो बुद्धिले दैनिक जीवनमा थुप्रै कार्यहरु गर्छौ, जसको लागि हामी जिम्मेवार हुँदैनौ। हाम्रो बुद्धिले यो भन्दा बाहिरको र यसबाट स्वतन्त्र वास्तविकताको पहिचान गर्दछ। एउटा उदाहरण, यस घरमा कोही पनि नहुँदा पनि त्यो टेबल जहाँ छ, त्यहीँ रहन्छ।
टैगोर: हो, यो वयैक्तिक बुद्धिको बाहिर रहन्छ तर सर्वमान्य बुद्धिको बाहिर होइन। त्‍यो टेबल हामीसँग भएको कुनै प्रकारको चेतनाको ज्ञात हो।
आइन्स्टाइन: यदि त्यहाँ कोही पनि थिएनन् भने पनि त्यो टेबल त्यहीँ रहन्थ्यो तर त्यो कुरा तपाईंको विचारमा पहिले नै अनुचित छ किनभने हामी यसलाई यो के हो भनेर बयान नै गर्न सक्दैनौँ। हामीबाट स्वतन्त्र र अनिर्भर त्यो टेबल त्यही नै छ। सत्यको अस्तित्वमा हाम्रो प्रकृतिक नजरविन्दु मानवताबाट टाढा छ र यो बयान वा प्रमाणित गर्न सकिँदैन तर यो एउटा विश्वास कोही कसैमा पनि कमी छैन। यो विश्वास हाम्रो पूर्खाहरुमा पनि कमी थिएन। हामी सत्यलाई परमानवीय वस्तुगतको श्रेय दिन्छौँ। सत्य के हो भनेर हामीले बयान गर्न नसके पनि यो हाम्रो अस्तित्व, अनुभव, र बुद्धिसँग अनिर्भर वा स्वतन्त्र छ र यो हामीलाई नभई नहुने तत्त्व हो।
टैगोर: कुनै अवस्थामा पनि यदि त्यहाँ कुनै मानवतासँग असम्बन्धित पूर्ण सत्य छ भने पनि त्यो हाम्रो लागि पूर्ण अस्तित्वविहीन छ।
आइन्स्टाइन: त्यसो हो भने म तपाईंभन्दा धेरै धार्मिक छु।
टैगोर: मेरो धर्म परमवयैक्तिक मानिस, सर्वमान्य आत्मा, लाई मेरो आफ्नो वयैक्तिक अस्तित्वसँग पुनर्मिलन गर्नु हो।