अध्याय तीन
सूर्य पनि अब त जङ्गलमाथि चम्किरहेको र त्यसको प्रकाश चहुरको घाँस र नदीको मोडसम्म फैलिन लागेको थियो । शीत सुक्दैगइरहेको थियो । कतै कतै जमेर थोपाको रुप लिदैथियो । कतै कतै धाप र जङ्गलमाथि फैलिरहेको बिहानको तुवालो पनि अब हलुका धुँवा झैँ फाट्दैगइरहेको थियो। आकाशमा बादल मडारिदैआइरहेको थियो, परन्तु बतास भने पटक्कै चलिरहेको थिएन । नदीपारि खेतहरूमा उवाका सा-साना, हरिया र झूसिला बोटहरू लहराइरहेका थिए । चारैतिर झारपात र फूलहरूको मगमग बास्ना आइरहेको थियो । बनमा कोयलीको तिक्खर स्वर सुनिदैथियो । उत्तानो परेर पल्टिरहेको नेस्तेर कोयलीको कु-कु गन्दै आफ्नो बाँकी आयुको हिसाब लगाइरहेको थियो । चरन र खेतहरूमाथि भद्राइ चरीहरू उडिरहेका थिए । घोडाहरूको बीचमा कतै एउटा खरायो अलमलिएको थियो । खतराको संकेत पाउनासाथ त्यो बेतोडसित भाग्यो र कुनै एउटा झ्याङमुनि बसेर सतर्क हुँदै आवाज सुन्न लाग्यो । भास्का घाँसमा पल्टेर उँघिरहेको थियो र उसको चारैतिर घाँस चरिहेका घोडाहरू निकै पर खोल्सासम्म पुगिसकेका थिए । बूढी घोडीहरू यस्तो ठाउँमा उभिएका थिए जहाँ कसैले पनि उनीहरूलाई बाधा पुर्याउँदैनथ्यो र उनीहरूको हिंडाइबाट शीतले भिजेको रसिलो घाँसमा डोब परेको देखिन्थ्यो । उनीहरू चरिहेका थिएनन् , बरु यदाकदा रसिलो घाँस चुँडेर चाखिरहेका थिए । बिस्तार-बिस्तार पूरै बथान एउटै दिशातर्फ अगाडि सर्दैंगैरहेको थियो । फेरि पनि त्यही बूढी झुल्दीबा सबैभन्दा अगाडि लागेर बाँकी सबैलाई बाटो देखाउँदैथिई । कालो रङ्गकी भर्खरकी मुश्का पुच्छर उचाल्दै र गिजा देखाउँदै आफ्नो पहिलो बेतको बछेडोलाई हेरेर हिनहिनाइरहेकी थिई । बैजनी रंगको सानो बछेडो चाहिं काम्दै र लड्खडाउँदै उसैको बगलमा उभिएको थियो । कैली रङ्गकी एक्ली घोडी लास्तोच्का खेल्दाखेल्दै घाँस चुँडाल्थी, अनि टाउको उचालेर माथि फाल्थी र जब घाँसका टुक्राहरू तल भुइँमा खस्न लाग्थे त्यतिखेर शीतले भिजेको रौंको झुप्पा भएको टाँगले तिनलाई ठक्कर दिन्थी । उसका रौं रेशम झैँ कोमल र मिहीन थिए । जब ऊ टाउको तल झुकाउँथी त्यस बेला उसको रेशम जस्तो मुलायम र कालो यालले उसको निधार र आँखा छोपिन्थ्यो । एउटा ठूलो बछेडा आफ्नो सानो घुँगुरिएको पुच्छर उचाल्दै आफ्नी माउको अगल-बगलमा दगुरिरहेको थियो र यसरी उसले छब्बीसपल्ट चक्कर काटिसकेको थियो । शायद उ कुनै खेलको अभिनय गरिरहेको हुँदो हो । उसकी आमा चाहिं आफ्नो छोरोको बानीबेहोराबाट राम्रै परिचित भैसकेकी थिई र चूपचाप घाँस चर्दैथिई । हो, कहिलेकाहि मात्र ऊ आफ्ना ठूल्ठूला काला आँखा तर्काएर हेर्नेगर्थी । एउटा सानो-सानो कालो बछेडो ज्यादै अचम्म परेको देखिन्थ्यो । त्यसको टाउको चाहिं निकै ठूलो थियो र कानहरूको बीचमा उम्रिरहेका रौं पनि ठाड्ठाडा थिए । त्यसको पुच्छर त्यसै गरेर एकापट्टि मोडिएको जस्तो थियो जस्तो आमाको पाठेघरमा छँदा रहेको होस् ! त्यो बछेडो अकमक्क परेर अर्को चाहिं बछेडो उफ्रेको र दौडेको एक टकले हेर्दैथियो । उसका बिलखबन्द आँखामा ईर्ष्याको भाव झल्कन्थ्यो कि भन्ने कुरा त बताउनु गार्है थियो । कैयन् स-साना बछेडाहरू बडो आतुरका साथ आफ्नो थुतुनो आमाको भुँडीमा जोतेर थुन खोजिरहेका थिए । अनि कैयौं अरु बछ्नेडाहरू चाहि आमाहरूले बारम्बार हिनहिनाएर बोलाउँदा समेत अनौठो चालले कुदेर एकदम उल्टो दिशातिर साझै हानिइरहेका थिए, मानौं कुनै कुराको खोजखबर लिइरहेका होउन् ! त्यसपछि उनीहरू किन हो कुन्नि फेरि एकाएक कुनै एक ठाउँमा उभिएर तिक्खर स्वरले हिनेहिनाउन थाल्थे । केही बछेडाहरु घाँसमा पल्टिरहेका थिए भने केही चाहिँ घाँस चर्न सिक्दैथिए । अनि कोही कोही त आफ्नो पछिल्लो खुट्टाले कानको पछिल्तिर कन्याउँदै पनि थिए । दुइवटा गर्भवती घोडीहरू अरु घोडाहरूबाट केही अलग्गिएर बिस्तारै पाइला सार्दै सँगसँगै चरिरहेका थिए । शायद उनीहरू दुवैप्रति सबैको आदरभाव उनको नजीक पुगेर उनीहरूलाई झिज्याउनेगर्दैनथ्यो । कंकदाचित् कूनै अल्लारे बछ्लेडा उनीहरूको नजिक नजिक पुगिहाल्यो भने पनि कान या पुच्छरको एक हलुका झट्काद्वारा नै उसको कामकुरो त अवश्य पनि ठीक होइन भनेर उनीहरू सम्झाइहाल्थे ।
एक वर्षका जवान घोडा र घोडीहरू चाहिँ उमेरदार झैँ देखिने जमर्को गर्दैथिए । उनीहरू बहुतै कम उफन्थे र कुद्थे या सा-साना बछेडाहरूसँग खेल्थे । उनीहरू बडो रवाफिलो ढाँचाले घाँस खान्थे र आफ्ना सुरिला गर्दनहरू निहुराएर हामीसँग पनि पुच्छर छ है भने झै गरेर आफ्ना ठूटे पुच्छरहरू हल्लाउने कोशिश गर्थे । उमेरदार झैं उनीहरू पनि कहिलेकाहीं भुइँमा पल्टिन्थे, गुडुल्किन्थे वा एक दोस्रोको पीठमा कन्याउँथे । दुई या तीन सालका घोडीहरू वा अझैं एक बेत पनि नब्याएका घोडीहरू चाहिँ सबभन्दा बढी खुशी थिए । हँसिला कन्याकेटीहरूको जमात जस्तै तिनको पनि आफ्नै अलग बथान थियो । उनीहरू जहिलेसुकै उफ्रिरहन्थे, खुट्टा बजार्थे, जोडले कराउँथे र हिनहिनाउँथे । उनीहरू नजिकै उभिएर एक दोस्रोको काँधमा आफ्नो टाउको राखिदिन्थे र एक अर्कालाई सुँच्नेगर्थे । उनीहरू हलुका तवरले हिनहिनाउँदै पुच्छर हल्लाउँदै एक अर्कोको अगिल्तिर कहिले कदम चाल त कहिले दुलकी चाल चाल्दै नाक फुलाएर नखरा समेत पारेर दगुर्न थाल्थे । यी सबै मगनमस्त र अल्लारे घोडीहरूमध्ये कैली चाहिँ घोडी नै एक नम्बरकी राम्री, चुलबुले र निहुँखोजुवा थिई । अरु सबै घोडीहरू उसको हरेक चालको नक्कल गर्ने गर्थे । ऊ जता जता जान्थी त्यतैतिर सबै तरुनी घोडीहरू हुल बाँधेर उसको पछि पछि लाग्थे । आज त “त्यो चुलबुले घोडी पहिलेभन्दा बढ्ता मगनमस्त थिई । उसको मनमा पनि त्यस्तै उत्साह जाग्यो जस्तो मानिसहरूको मानमा जाग्नेगर्छ । नदी किनारामा पानी खाने ठाउँमा बूढो टाटेपाङरे घोडासँग जिस्किसकेपछि त्यो किनारैकिनारा दगुर्न लागी । सके कुनै कुराको उसलाई डर लागेको छ भन्ने नै ऊ देखाउन चाहन्थी होली ! अनि बिस्तारै फुकार गर्दै ऊ बेतोडले दौडी र चहरमा निकै पर पर भाग्न लागी । उसैको देखासिकी गर्दै उसका संगिनीहरू पनि उसको पछि पछि भाग्न थाले । उनीहरूलाई रोक्न भनेर भास्काले उसको पीछा गर्दै आफ्नो घोडा दगुराउनुपर्यो । एक ठाउँमा पुगेर कैली घोडी टक्क रोकिई र घाँस चर्न लागी । त्यसको केही समय पछि उ भुइँमा लडिबुडी खेल्न थाली । अनि ऊ बूढी घोडीहरूलाई जिस्क्याउन उनीहरूको सामुन्ने दगुर्न लागी । त्यसपछि आफ्नी आमाको बगलनेरै उभिएको एउटा बछेडोलाई धकेलेर पर धपाइदिई र यसरी त्यसको पीछा गर्न लागी, मानौं उसलाई रोक्न खोजेको होस् ! आमा चाहिँ भयभीत भैहाली र उसले घाँस चर्न समेत छोडीदिई । बछेडो दया उठ्ने स्वर झिकेर चित्कार गर्न लाग्यो । परन्तु त्यस चुलबुलले कैली घोडीले उसलाई छुनसम्म पनि छोएकी थिइन । ऊ त मा मात्र आफ्नी सगिंनीहरूको मन बहलनउन उसलाई तर्साउँदै थिई । संगिनीहरू टाढै उभिएर तमाशा हेर्दै थिए । नदीपारि निकै टाढा उवाको खेतमा खैरो रंगको एक घोडा हलोमा जोतिएको थियो । त्यसलाई मुर्ख तुल्याउने नै त्यस कैली घोडीले मनसाय लिई । ऊ टक्क अडिएर उभिई , गर्वपूर्वक उसले शिर हिनहिनार्इ । उसको त्यस हिनहिनाहटमा मादकता थियो, भावुकता पनि थियो र किंचित् खिन्नताको भाव समेत थियो, प्रेमको आश्वासन थियो र त्यसको लागि दिक्दारीको भावना समेत थियो ।
ऊ, नरकटको झ्याङमा एउटा सारौं उफ्रीउफ्री बडो कामातुर स्वरमा आफ्नी संगिनीलाई बोलाइरहेको छ । कोयली र बट्टाई चरी प्रेमको गीत गाउँदैछन् । फूलहरू पनि आफ्नो सुगन्धी पराग बतासको झोक्काको साथमा एक अर्कोलाई पठाइरहेका छन् ।
“म पनि तरुनी छु, सुन्दरी छु, बलियी छु ।”-चकचके घोडी हिनह्रिनाई ।-‘तर अझै पनि मैले प्रेमको अनुभव पाएकी छैन । यति मात्रै कहाँ र ? कुनै पनि प्रेमीले मतर्फ आँखा झिम्क्याएकै छैन !”
जवानीको उमङ्ग र उदासताको अर्थ भरिएको त्यो हिनहिनाहट भिरालोमा र त्यसपछि खेतहरूमा फैलिँदै निकै टाढा उभिइरहेको एउटा खैरो घोडाको कानसम्म पुग्यो । उसले कान ठाडो ठाडो पार्यो र निश्चल भएर ठिङ्ग उभियो । नालुको जुत्ता लगाइराख्ने एक किसानले उसलाई एक लात चखायो । परन्तु त्यो घोडा त टाढाबाट आएको हिनहिनाहटको मनमोहक आवाजमा कतिसम्म मुग्ध भैसकेको थियो भने ऊ टसको मस पनि नभएर हिनहिनाउन लाग्यो । किसान उधुमसित रिसायो । उसले लगाम तान्यो र घोडाको पेटमा अर्को एक लात जमायो । त्यो प्रहार कति जोडदार थियो भने घोडाले तुरुन्त हिनहिनाउन रोकिहाल्यो र लुरुलुरु हलो तान्न थाल्यो । किन्तु मधुर उदासीनताले गर्दा त्यस खैरो घोडाको मन भरङ्ग भयो । उसको प्रेमालाप र किसानको क्रुद्ध स्वर उवाको खेतलाई समेत पार गरेर निकै टाढा रहेको घोडाको बथानसम्म पुग्यो ।
खैरो घोडा त चुलबुले घोडीको आवाज सुनेर नै कतिसम्म मन्त्रमुग्ध भैसकेको थियो भने उसले आफ्नो कामकुरो नै भुसुक्क बिर्सिहाल्यो । यदि त्यसले त्यो चुलबुले सुन्दरीलाई आफ्नो आँखाले देख्न पाउँदो हो त उसको कस्तो हालत हुँदो हो ? त्यो घोडा कान ठाडो पारेर, हावा सुँघेको जस्तै गरेर नाकका पोरा फुलाएर गर्दन केही झुकाएर उभिइरहेको थियो । उसको सुडौल र सुन्दर शरीर नै सिरिङ्ग सिरिङ्ग गर्दै थियो ।
परन्तु चुलबुले घोडीले धेरै बेरसम्म आफूलाई भावुकतामा बग्न दिइन । जब निकै टाढाबाट खैरो घोडाको आवाज आउन छाड्यो, त्यतिखेर ऊ एकपल्ट मात्र फेरि हिनहिनाई, अनि तँ टाउको झुकाएर खुरले माटो खोर्सन लागिहाली । त्यसपछि ऊ टाटेपाङरे घोडालाई ब्युँझाउन र जिस्क्याउन हिँडी । त्यो बुढो घोडा यी मनमौजी तन्नेरीहरूको खिसीट्यूरीको पात्र रहिआएको थियो । उसले मान्छेहरूबाट त्यति सास्ती खानुपर्दैनथ्यो जति ती जवान घोडाहरूको ठट्टा र हँसीदिल्लगीबाट सकस भोग्नुपर्थ्यो । के मान्छे र के घोडा उसले चाहिं ती दुवैलाई कुनै प्रकारको नोक्सान पुर्याएको थिएन । मान्छेलाई त अझैँ पनि उसको आवश्यकता थियो । तर ती जवान घोडाहरू उसलाई किन सताउँदा होलान् ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ फाल्गुन २०८२, शनिबार 









