“यी सबै कुराहरुका लागि मैले जवाफ दिनुपर्छ ।” – उसले उत्ताउलो स्वरमा भन्यो ।
आमाले यताउता हेरिन् र झट्ट पाभेलको हातमा त्यो चीट राखिदिइन् । त्यसपछि मात्र सन्तोषको सास फेरिन् ।
“थाहा छैन, के कुरा गर्ने हो … ?” – आमाले भनिन् ।
“मलाई पनि थाहा छैन, के कुरा गर्ने हो … ?” – पाभेलले हाँस्दै भन्यो ।
“त्यसो भए किन बेकारमा भेट गर्न आउनुहुन्छ !” – सहायक जेलरले झर्किदै भन्यो – “के कुरा गर्ने हो थाहा छैन भने किन बेकारमा यहाँ आएर मान्छेहरुलाई दुःख मात्र दिनुहुन्छ … ।”
एकछिन चुप लागिसकेपछि आमाले सोधिन् –
“मुद्दा कहिले सुरु गर्छन् नि ?”
“केही दिनअगाडि सरकारी वकिल आएका थिए । भन्दै थिए छिटै सुरु हुनोछ … र,”
उनीहरुले यस्तै दुईचार सानातिना कुराहरु गरे । आमाले देखिन्, पाभेल बडो प्रेमपूर्वक उनलाई हेर्दैछ । ऊ सधैंजस्तोा शान्त, गम्भीर देखिन्थ्यो । अलिकति पनि बदलिएको थिएन । खालि उसको हात बढी फिका देखिन्थ्यो र दाह्री झन् लामो भएको थियो, जसले गर्दा ऊ अहिले निकै पाको देखिन्थयो । आमा उसलाई कुनै खुसीको खबर सुनाउन चाहन्थिन् । उनी उसलाई निकोलाइबारे बताउन चाहन्थिन्, त्यसैले उनले त्यहीँ कोमलतासाथ, जुन स्वरमा अहिलेसम्म उनीहरु सानातिना कुराहरु गर्दै थिए, भनिन् –
“तिम्रो धर्मपुत्रसँग भेट भएको थियो … ।”
पाभेल चुपचाप प्रश्नसूचक ंदृष्टिले उनको आँखामा हेर्दै थियो । आमाले उसलाई भेसोभसिकोभको छ्याकटे अनुहार याद दिलाउन आफ्नो गालामा औंलाको सङ्केतले देखाइन् ।
“केटो एकदम ठीक छ, छिट्टै काम पाउनेछ ।”
पाभेलले आमाको सङ्केत बुझ्यो र टाउको हल्लायो । उसका आँखामा एक उल्लासपूर्ण मुस्कुराहट चम्कँदै थियो ।
“राम्रै भएछ !” – उसले जवाफ दियो ।
“लौ त !” – आमाले दङ्ग पर्दै भनिन् । छोरो रमाएको देखेर उनी खुसी थिइन् ।
आमासँग बिदा हुँदै पाभेलले बडो जोडले आमाको हात समायो र भन्यो –
“धेरैधेरै धन्यवाद, आमा !”
उनी छोराको हृदयप्रति एक उल्लासमय निकटाता अनुभव गर्दै थिइन् र यो भावना आमाको दिमागमा कुनै कडा रक्सीको नशाजस्तै फैलिँदै थियो । उसलाई जवाफ दिने शब्द उनीसँग थिएन, त्यसैले उनी चुपचाप उसको हात समातेर उभिइरहिन् ।
घर पुग्दा सासा उनलाई पर्खेर बसिरहेकी थिइन् । सासा अक्सर त्यस दिन आमालाई भेट्न आउने गर्थिन्, जुन दिन आमा पाभेललाई जेलमा भेट्न गएकी हुन्थिन् । उनी कहिल्यै पाभेलबारे केही कुरा सोध्दैनथिन् र यदि आमाले आफैं उसबारे चर्चा गरिनन् भने आमाका आँखा एकटकले हेरिरहन्थिन् र यस प्रकारले आफ्नो चित्त बुझाउने कोसिस गर्थिन् । तर यसपल्ट उनले बडो उत्सुकतासाथ सोधिन् –
“कस्तो छ उसलाई !”
“ठीक छ !”
“त्यो चोट दिनुभो ?”
“हो, दिएँ ! बडो छट्टु तरिकाले उसको हातमा घुसारिदिएँ … !”
“पढ्यो त ?”
“त्यहाँ ? कसरी पढ्न सक्थ्यो उसले त्यहाँ ?”
“हो त नि, मैले त बिर्सिहालेकी !” – सासाले बिस्तारै भनिन् – “अब एक हप्ता पर्खनु छ, पूरा एक हप्ता ! तपाईलाई कस्तो लाग्छ, मान्ला ऊ ?”
सासा आँखीभौं खुम्च्याएर बडो उत्सुकतापूर्वक आमालाई हेर्दै थिइन् ।
“खोइ, थाहा छैन !” – आमाले केही सोच्दै भनिन् – “यदि कुनै खतरा छैन भने किन नमान्नु र ?”
सासाले टाउको झट्कारिन् र रुखो स्वरमा सोधिन् –
“तपाईलाई थाहा छ, बिरामीलाई के खान दिने हो ? ऊ भोक लाग्यो भन्दैछ ।”
“जे दिए पनि हुन्छ पर्खनोस्, म अहिले आउँछु … ।”
आमा भान्साकोठातिर लागिन्, सासा बिस्तारै उनको पछिापछि लागिन् ।
“तपाईलाई मद्दत गर्ने हो कि ?”
“पर्दैन, के कुरा गरेकी त्यस्तो !”
आमा झुकिन् र चुल्होबाट एउटा भाँडो झिकिन् ।
“मलाई एउटा कुरा भन्न थियो ।” केटीले बिस्तारै भनिन् ।
उनको अनुहार मलिन भयो, आँखा वेदनाले फाटिएलाजस्ता देखिन्थे र ओठ काँप्दै थिए । उनले सानो स्वरले भनिन् –
“म तपाईलाई भन्न चाहन्थेँ र मलाई विश्वास छ – ऊ मान्ने छैन । तपाई उसलाई मनाउन सक्नुहुन्न ? तपाई भन्नोस् उसको यहाँ खाँचो छ, भन्नोस् यहाँ कामका लागि उसको आवश्यकता छ । मलाई डर लाग्छ, कहीँ ऊ बिरामी त पर्ने होइन । तपाईलाई थाहा नै छ, मुद्दा सुरु हुन अझ धेरै समय लाग्नेछ … ।”
स्पष्ट थियो, केटीलाई बोल्न धेरै गाह्रो परिरहेको छ । उनको आवाज लड्खडाउँदै थियो । उनी यताउता हेर्दै तन्किएर उभिइन् । एकछिनपछि एकदम थाकेजस्तो उनले आँखा बन्द गरिन् र ओठ टोक्न थालिन् । आमा सुन्दै थिइन्, कसरी बन्द मुठीभित्र उनका औंला बज्दै थिए ।
सासाको यस आकस्मिक भावोद्वेगले आमालाई अलमल्याइदियो । तर सासाको हृदयको भावना बुझेर आमाले उनलाई अङ्कमाल गर्दै भनिन् –
“काठै छोरी !” – आमाले खिन्न स्वरमा भनिन् – “ऊ सधैं आफैंले चाहेजस्तो गर्छ । कसैका कुरा सुन्दैन, कसैका !”
दुवैजना एक–दोस्रालाई अङ्कमाल गरेर चुपचाप उभिइरहे । एकछिनपछि सासाले आफूलाई बन्धनबाट छुटाउँदै काँपेको स्वरमा भनिन् –
“तपाईले ठीकै भन्नुभयो । यो सबै बेवकुफी हो । पछिल्लो समय निकै थाकेजस्तो लाग्छ … ।”
फेरि एक्कासि गम्भीर हुँदै भनिन् –
“आउनोस्, बिरामीलाई खाना दिऔं … ।”
इभानको बिछ्यौनाको छेउमा बसेर उनी बडो मायालु स्वरमा सोध्दै थिइन् –
“धेरै दुख्दै छ कपाल ?”
“त्यस्तरी त होइन, तर सबै कुरा धमिलो लाग्छ ! एकदमै कमजोरी अनुभव गर्दैछु ।” – उसले जवाफ दियो र अलि लाज मान्दै चिउँडोसम्म सिरक तान्यो र यस किसिमले आँखा खुम्च्याउँदै हेर्न थाल्यो, मानौं बत्तीको प्रकाशले उसका आँखा तिरमिराउँदै छन् । सासाले बुझिन्, ऊ धेरै लजालु छ र उनका अगाडि खाने छैन, त्यसैले कोठाबाट बाहिर निस्किन् ।
इभान बिछ्यौनामा बस्यो र बाहिर निस्कन थालेकी सासालाई हेरिरह्यो ।
“कति राम्री !” – आँखा झिम्क्याउँदै भन्यो ।
इभानका नीला आँखा उललासले भरिएका थिए, दाँत सानासाना र चिटिक्क परेका थिए, स्वर अझ पनि बदलिएको थिएन ।
“कति वर्षको भयो ?” – आमाले केही सोच्दै सोधन् ।
“सत्र … !”
“आमाब्बा कहाँ बस्नुहुन्छ नि ?”
“गाउँमा । म दश वर्षदेखि यहीँ छु । स्कुल सिध्याएर सिधा यतै आएँ । कमरेड, तपाईको नाम के हो नि ?”
“मेरो नाम थाहा पाएर के गर्छौ ?” – आमाले मुस्कुराउँदै भनिन् । कसैले ‘कमरेड’ भनेर सम्बोधन गर्दा आमालाई अनौठो अनुभूति हुन्थ्यो ।
एकछिनसम्म लज्जित भएर चुप लागिसकेपछि त्यस युवकले भन्यो –
“कुरा के हो भने हाम्रो अध्ययनमण्डलीमा एक जना विद्यार्थीले हामीलाई पढाउने गथ्र्यो । उसले पाभेल भ्लासोभ नाम गरेको एक मजदुरकी आमाबारे हामीलाई बताएको थियो । तपाईलाई मे दिवसको जुलुस याद छ ?”
उनले टाउको हललाइन् र एक्कासि सतर्क भइन् ।
“ऊ पहिो व्यक्ति थियो, जसले हाम्रो पार्टीको झण्डा बोकेर सडकमा निस्कने आँट गरेको ाथियो !” – उसले गर्वपूर्वक भन्यो र उसको यस गर्वको भावना आमाको हृदयमा प्रतिध्वनित भयो ।
“म त्यसबेला त्यहाँ थिइनँ । हामी त्यसबेला आफ्नै जुलुस निकाल्ने तर्खरमा थियौं, तर सफल हुन सकेनौं ! त्यसबेला हाम्रो सङ्ख्या थोरै थियो । अर्को साल हेर्नुहोला, हामी जुलुस निकालिछाड्नेछौं !”
भविष्यको उत्साहले उसलाई सास फेर्नसमेत मुश्किल पर्दै थियो ।
“म त्यही भ्लासोभकी आमाको कुरा गर्दै थिएँ ।” – उसले आफ्नो चम्चा हल्लाउँदै भन्यो – “यस घटानापछि उनी पनि पार्टीमा भर्ना भइन् । मान्छेहरु भन्छन्, उनी साँच्चै गजबकी आइमाई छिन् !”
आमा मुस्कुराइन् । केटाको मुखबाट यस्तो प्रशंसा सुन्दा आमालाई धेरै खुसी लाग्यो । तर साथसाथै उनलाई अलि असजिलो पनि लाग्दै थियो । उनले भन्न चाहिन् – “म नै हुँ भ्लासोभकी आमा ।” तर कोमल व्यङ्ग्यसहित आफूलाई रोक्दै खिन्नतापूर्वक मनमनै भनिन् – “धत्तेरिका, कस्ती मूर्ख बूढी तँ … ।”
“लौ, अरु अलिकति खाऊ ! छिटो निको हुनुपर्छ । आफ्नो लक्ष्यप्राप्तिका लागि हामीले अझ धेरै काम गर्नु छ !” – आमा एक्कासि उत्तेजित भइन् र केटातिर झुक्दै भनिन् ।
सडकतिरको ढोका खुलयो र शरद ऋतुको चिसो बतासको एक झोक्काभित्र पस्यो । आमाले टाउको उठाएर हेरिन् – सोफिया ढोकामा उभिएकी थिइन् । उनी मुस्कुराउँदै थिइन् र निकै प्रसन् देखिन्थिन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।