इगम खालिङ

राज्यद्वारा मान्यताप्राप्त देवताहरूलाई अस्वीकार गरी नयाँ देवताहरूको परिचय दिएको अनि एथेन्सका युवाहरूलाई भ्रष्ट बनाएको आरोपमा सोक्रिटिसलाई ईस्वीपूर्व ३९९ मा मृत्युदण्ड दिइएको थियो।

न्यायालयले मृत्युदण्डको निर्णय सुनाउँदा पनि सोक्रिटिसको अनुहारमा मृत्युको भय अलिकति पनि थिएन। उनका प्रिय शिष्य प्लेटो (दार्शनिक) अनि घनिष्ठ मित्र क्रिटोले उनलाई जेलबाट भगाउने सब बन्दोबस्त गरिसकेका थिए। उनीहरूले कति सम्झाए तर पनि सोक्रिटिस भाग्न मानेनन्।

इगम खालिङ

सोक्रिटिस भाग्नै सक्दैन थिए किनकि उनी एथेन्सका सबभन्दा ज्ञानीव्यक्ति थिए। उनको मृत्युको समय उनका परिवार, शाखासन्तान, छिमेकी, साथीभाइ, शत्रु, शिष्य, अनुयायी अनि मृत्युदण्ड दिलाउनेदेखि लिएर दिनेसमेत दुखी थिए। उनले मृत्युदण्डलाई स्वीकारेर मृत्युलाई महिमामय बनाइदिए। जेलमा बसेर मृत्यु पर्खिरहेको वेला नै उनले आत्मा अमरत्वको पुष्टिका निम्ति तर्कहरू दिएका थिए। मान्छेको शरीर नश्वर भए तापनि आत्मा कहिल्यै नमर्ने भएकाले उनलाई आफ्नो शरीरको कुनै लोभ नभएको अनि मृत्युको कुनै भय नभएको कुरा बताएका थिए। यसरी उनले व्याख्यान दिएरभन्दा आफ्नो संवाद र आचारणद्वारा दर्शन सिकाउने कोसिस गरेका पाइन्छ।

सोक्रिटिसको मृत्युपछि मात्र उनको दर्शनको सही मुल्याङ्कन सुरु भएको थियो। उनले दिएका ज्ञान आविष्कार गर्ने दार्शनिक विधि र व्यवहारिक आचारण संसारका मानिसहरूले बुझ्न थालेका थिए। त्यसैले उनको मृत्यु उनको जीवनको अन्त्य नभएर पुन: सुरुजस्तो लाग्थ्यो।

सोक्रिटिस यति शान्त स्वभावका व्याक्ति थिए कि उनले मृत्युदण्डमा दिइएको विष पनि शान्तिसित पिएका थिए। त्यही शान्त स्वभावको कारणले गर्दा उनले सबैका मन जितेका थिए। उनले ज्ञानलाई सत्य आविष्कार गर्ने एउटा तर्कशैलीका रूपमा मान्दथे। उनी ज्ञान, सत्य र ईमानदारिताका निम्ति बाँचे अनि तिनीहरूका निम्ति नै मरे।

सोक्रिटिसले आफ्नो लुगाफाटा, पहिरन, खानपान, व्यक्तिगत अनि पारिवारिक सुखसुविधाका निम्ति कहिल्यै ध्यान दिएनन्, फलस्वरूप उनले सधैँ आफ्नो श्रीमतीबाट किचकिच सुनिरहनुपर्थ्यो। एक दिन उनी घरमा ढिलोमाथि बजारबाट ल्याउनुपर्ने जरूरी सामान नलिइकन आएका देखेर श्रीमतीले कराउनसम्म कराइन्। कति कराउँदा पनि उनमा कुनै असर नपरेको देखेर श्रीमतीले रिसाएर भान्साघरमा भएका भाँडाकुँडाहरू फाक्दै तोडफोड गर्न थालिन्। स्रोक्रिटिस अलिक पर गएर केही नबोली बसिरहे। त्यत्रो गर्दा पनि आफ्नो श्रीमानलाई अलिकति पनि पीडा नभएको देखेर उनी आफैँसित विचलित भइन् अनि एक गाग्री पानी शीरबाट खनाइदिइन्। त्यो दृश्य उनको एक जना छिमेकीले अलिक टाढाबाट हेरिरहेका थिए। उनले आश्चर्यचकित भएर सोधे, “महाशय! तपाईँलाई तपाईँकी श्रीमतीले नाना प्रकारको गाली दिइन्, भान्साघरका चीजबीजहरू तोडफोड गरिन्, अनि अन्त्यमा आएर शीरबाट पूरै एक गाग्री पानी खनाइदिइन् तरपनि तपाईँले एक शब्द भन्नुभएन, किन? उनले मुस्कुराउँदै भने, “त्यो त हुनु नै थियो किनकि त्यो प्राकृतिक हो: पहिले सेता बादलहरू उडेर आकासतिर जान्छन् अनि काला बादलहरूमा परिणत हुन्छन्, त्यसपछि गड्याङग़ुडुङ गर्छन् अनि बर्षा हुन्छ। पानी परिसकेपछि शान्ति हुन्छ। मैले पनि गड्याङगुडुङ गरेको भए अहिले यो शान्ति हुनेथिएन।” सोक्रिटिसका कुरा सुनेर श्रीमतीलाई ठूलो असर पर्छ। त्यस दिन मात्र उनले बुझिन् कि उनका श्रीमान कति ज्ञानी र सुन्दर आचरणका व्यक्ति रहेछन् भन्ने। सोक्रिटिसले व्यङ्ग्य गर्दै भनेका छन्: “By all means, marry. If you get a good wife, you will become happy; If you get a bad one, you will become a philosopher.”

जेलभित्र एक जना कैदीले वाद्म (म्युजिकल इन्स्ट्रुमेन्ट) बजाइरहेको देखेर सोक्रिटिसले उसलाई त्यो बाजा बजाउन सिकाइदिने निवेदन गरे। कैदीले छक्क परेर सोक्रिटिसलाई सोध्यो, “केही समयपछि तपाईँलाई मृत्युदण्ड दिनेछ, यो बाजा बजाउन सिकेर के गर्नुहुन्छ?” उनले मुस्कुराएर भने, “म मर्नअघि केही अलिकति भए तापनि सिकेर मर्न चाहन्छु।” यसरी सोक्रिटिसले ज्ञान र संस्कारले आत्मा सुसंस्कृत हुन्छ, अनि आत्मासित जानेपनि त्यही संस्कार मात्र हो भन्ने कुरा जिउँदो उदाहरणबाट बुझाउने कोसिस गरेका बुझिन्छ।

कसैको तरिकाले बोलेर बाँच्नुभन्दा बरु आफ्नै तरिकाले बोलेर मर्न चाहन्छु भन्ने सोक्रिटिस मृत्युले मानिसलाई मारे तापनि आत्मालाई मार्न नसक्ने कुरा बुझाउँदै एउटा दार्शनिक मृत्यु मरे। सत्य, ज्ञान र ईमानदारिताले मात्र आफूलाई आविष्कार गर्न सकिन्छ भन्ने उदाहरण बाँचेर मरे। ईस्वीपूर्व ४६९ मा जन्मेका सोक्रिटिस ईस्वीपूर्व ३९९ मा मृत्युलाई चिनेर मरे।

दार्जीलिङ