जेके रोलिङ

ह्यारी पोटरको पहिलो भाग लेखिसिध्याएपछि दोस्रो उपन्यासका रूपमा लेखिसिध्याएकी जेके रोलिङले त्यसलाई प्रकाशन गर्ने अवसर नै पाएकी थिइनन् । उनले सो उपन्यासलाई भने अब इन्टरनेटमा सित्तैमा उपलब्ध गराउने भएकी छन् । ‘द इकाबग’ नामक सो उपन्यासलाई उनले वेबसाइटमार्फत् सित्तैमा उपलब्ध गराउने भएकी हुन् ।

यो उपन्यासले कोरोना कहरका बीचमा बालबालिकाहरूलाई मनोरञ्जन दिलाउन भरपूर सफल हुने अपेक्षा उनले लिएकी छन् ।

उनको यो उपन्यास धेरै पहिले प्रकाशन गर्ने तयारी गरिरहेको भए पनि ह्यारी पोटरको सफलताले उनलाई यसतर्फ काम गर्न दिक्क लागेको थियो । बाल उपन्यास नै निकाल्दा उनलाई बालबालिकाकी लेखिकाका रूपमा ठप्पा लाग्ने हो कि भन्ने चिन्ताका कारण उनले ह्यारी पोटरपछि दुई वटा जासुसी उपन्यास लेखेकी थिइन् । ती उपन्यासपछि भने उनले थप नयाँ कुनै कृति निकालेकी छैनन् ।

यस्तो अवस्थामा उनले बाल उपन्यासलाई इन्टरनेटमार्फत सार्वजनिक गर्ने निधो गरेकी हुन् । यसबारेमा उनले ट्विटरमार्फत घोषणा गरेकी हुन् ।

द इकाबग उपन्यासका बारेमा उनका दुई सन्तानलाई भने धेरै पहिलेदेखि नै थाहा छ किनभने उनले यो उपन्यास लेखिसिध्याएपछि पहिलो पाठकका रूपमा उनीहरू थिए ।

द इकाबग उपन्यासको आवरण

केही साताअघि उनले यो उपन्यासको पाण्डुलिपिलाई घोरिएर हेरेपछि यसलाई बजारमा ल्याउने उपयुक्त समय यही भएको निर्क्योलमा पुगेकी थिइन् । त्यसपछि यसलाई थोरबहुत सम्पादन गरेर प्रकाशनको तयारी गरेकी हुन् ।

हरेक सोमबार दुई वा तीन अध्यायलाई उनले रिलिज गर्ने भएकी छन् । यसको चित्र बनाउनका लागि केही चित्रकारसँग सल्लाह गरेको भए पनि चित्त बुझ्दो नपाएपछि उनले आफ्ना पाठकहरूलाई नै यसको चित्र कल्पना गर्न आग्रह गरेकी छन् । कल्पनामा जत्तिको सशक्त चित्रकला सायदै कतै तयार हुन्छ भन्दै उनले यसको चित्राङ्कनका लागि ठाउँ छाडिदिएकी बताएकी हुन् ।

त्यसो त यो उपन्यासको पुस्तक आकार नआउने भने होइन । आउँदो नोभेम्बर महिनामा यसलाई चित्राङ्कनसहित बजारमा ल्याउने तयारी भने भइरहेको छ । यस पुस्तकको बिक्रीबाट आउने आम्दानीलाई उनले कोरोनाभाइरसमा काम गरिरहेका सामाजि संस्था र प्रोजेक्टहरूलाई दिने घोषणासमेत गरेकी छन् । त्यतिञ्जेल कुर्न नसक्नेहरूका लागि नयाँ वेबसाइट बनाएर त्यसमार्फत पढ्न सहज बनाउने उनले बताएकी छन् ।