सन् २०१२ ताकाको कुरा हो । एडिसन केन जापानी सिन्तो धर्म अध्ययन गरिरहँदा अचानक ब्याटम्यान शृंखलाअन्तर्गत अश्लील साहित्य लेख्न थालिन् । खासमा त्यहाँ फुर्सदिला दिनमा जापानमा रहेका महँगा अंग्रेजी किताब पढ्नु भन्दा इन्टरनेटमा सित्तैमा पाइने फ्यान फिक्सन उनले पढ्न थालिन् । यसपछि उनलाई लाग्यो, यत्तिको फ्यानफिक्सन त उनी पनि लेख्न सक्छिन् ।
आधुनिक पप कल्चरले दिएका कयौँ कमिक चरित्रमाथि मनपर्दी ढंगले नयाँ नयाँ प्लट थप्दै कथा, उपन्यासहरू गढ्न पाइने हुनाले पाठकहरूमा यसप्रति निकै रूचि छ । यसबीच एडिसन केनले क्रिस्टोफर नोलनको डार्क नाइट फिल्ममा आधारित फ्यान फिक्सन लेख्न थालिन् र इन्टरनेटमा हाल्न थालिन् ।
उनको लेखनीका कारण बिस्तारै प्रशंसक आकर्षित हुन थाले । उपउप विधामा उनी एक किसिमले स्टार नै भइन् ।
यसको केही वर्षपछि अमेरिका फर्किएर उनले रेस्टुराँमा काम गर्दै रहँदा आफ्नो लेखनीलाई व्यवसायिक मोड दिन चाहिन् तर कुनै पनि प्रकाशकले उनको प्रतिभालाई ठाउँ दिएनन् ।
फ्यानफिक्सन नै लेख्ने अर्का एक लेखकले उनलाई ब्लसिङ बुक्स नामक एउटा सानो प्रकाशन संस्था जान सुझाए ।
सन् २०१६ मा उनको ‘बर्न टु बि बोउन्ड’ नामक फ्यान फिक निस्कियो ।
रोचक के भइदियो भने अमेजनमा यसले राम्रै रिभ्यु मात्र पाएन, उपन्यासले ३ लाख ७० हजार आम्दानी पनि गर्यो । यसपछिका दुई वर्ष उनले यही उपन्यासको अन्य शृंखला लेख्न थालिन् ।
‘मलाई नाम कमाउनुसँग मतलब छैन,’ उनले एउटा रेडियो कार्यक्रममा भनेकी छन्, ‘त्यो वर्गका पाठकलाई खुसी बनाउनु छ र मलाई घर खर्च धान्नु छ । र, त्यो काम राम्रैसँग भइरहेको छ ।’
काम ठिकठाक भइरहेका बेला केनले उनकै कथासँग मिल्दोजुल्दो उपन्यासले तहल्का मच्चाइरहेको थाहा पाइन् । जोइ एलिस नामक लेखकले बजारमा ल्याएको मिथ अफ ओमेगाको शृंखला पहिलो पुस्तक क्रेभ टु कन्क्वेरमा त उनको उपन्याससँग सबै कुरा मिल्दोजुल्दो पाइन् । उसरी नै अल्फा मेनले ओमेगा हिरोइनलाई बन्धक बनाउँछ । अश्लीलता पनि उसरी नै घुसेको छ, घुसाइएको छ ।
यसपछि केनले प्रकाशकलाई यी नयाँ लेखिकामाथि कार्बाही गर्न पत्र काटिन् । नभन्दै प्रकाशकको पत्रपछि बर्न्स एन्ड नोबल, आइट्युन्स, एप्पलल र गुगल प्ले स्टोरबाट उपन्यास हट्यो । केनका फ्यानले त जोइ एलिसलाई तथानाम गालीसमेत गरे ।
अमेरिकामा सन् १९९८ मा बनेको डिजिटल मिलेनियम कपिराइट एक्टका कारण प्लट मिल्नेबित्तिकै कयौँ उपन्यासले आफ्नो अस्तित्व गुमाएका छन् र जोइको उपन्यासले पनि सोही अवस्था भोग्यो । फ्यान फिक उद्योगमा प्रायः यस्तो भइरहन्छ ।
रमाइलो त के छ भने फ्यानफिकको एउटा बेग्लै संसार छ । जहाँ ह्यारी पोटर होगर्ट स्कुल जाँदैन, ऊ त एउटा सामान्य स्कुल जान्छ र एउटा सामान्य विद्यार्थीजस्तो सामान्य समस्यासँग जुझ्छ। ह्यारी पोटरको अश्लील उपन्यास शृंखलामा उसले कसरी आफ्नौ यौन जिज्ञासासँग जुझ्दै अघि बढ्छ भन्ने कथा र उपन्यास पनि बजारमा देखापरेका छन् । त्यसैले पनि यसका प्रशंसकहरू यसलाई फ्यानफिक युनिभर्स भन्ने गर्छन् । यसको संसारै अलग छ ।
फ्यानफिकका लेखकलाई पारम्परिक लेखकहरूले परजीवी भन्छन् । उनीहरूले सिर्जना गरेर हिट बनाएका पात्र र उपन्यासलाई फ्यानफिक लेखकले चरम दोहन गरिरहेको आरोप लगाउँछन् । यस्ता कुरामा प्रतिलिपि अधिकार पनि लाग्दैन, जबसम्म मूल लेखकले आपत्ति जनाउँदैनन् । खासगरी फ्यानफिक सित्तैमा पढ्न पाइने हुनाले र त्यसबाट आर्थिक उपार्जन नहुने हुनाले पनि त्यस्ता लेखकमाथि कार्बाही नहुने गरेको केहीको धारणा छ ।
जब फ्यानफिकबाट कसैले नाम कमाउँछ, उसले नयाँ सिर्जना गर्ने अवसर पाउँछ । त्यसपछि उसको भाग्य बलियो छ भने इएल जेम्सको फिफ्टी सेड्स अफ ग्रे शृंखलाले जस्तै नाम र दाम मात्र कमाउँदैन, एकै झमटमा करोडपति हुने अवसर पनि पाउँछ । इएल जेम्स मात्र होइन, फ्यानफिकबाट जम्प मार्नेमा क्रिस्टिना लरेन र तारा सु मे पनि उत्तिकै चर्चित छन् ।
त्यही लोभमा लेखनमा रहर हुनेहरूले सित्तैमा लेखन अभ्यासका लागि फ्यानफिकमा काम गरिरहेका हुन्छन् तर जब फ्यानफिकको व्यवसायिक लेखन शुरू हुन्छ, त्यहाँ विवाद, मुद्दा र अनेकन् झन्झट पनि शुरू हुन्छ ।
फ्यानफिकको लोकप्रियता कति छ भन्ने कुरा इएल जेम्सहरूको उत्थान मात्र होइन, त्यो विधा अन्तर्गतको उपविधा, जसलाई ओमेगाभर्स (अर्थात्, ओमेगा युनिभर्स)मा मात्र विगत एक दशक यता लेखिएका कथाको संख्या ७० हजार भन्दा बढी भएबाट पुष्टि हुन्छ । (यो भेम्पायर, वेयरवुल्फ र खासगरी स्टेफनी मेयरको लोकप्रिय उपन्यास न्यु मून हिट भएपछि बनेको उपविधा हो ।)
जोइ एलिस लन्डनबासी हुन् । उनले भर्खरै टिन एज पार गरिन् । उनको अमेजन बुक्स पेजमा २००६ देखि लेखन यात्रा शुरू गरेको देखिन्छ । न्युयोर्क टाइम्सले उनीसँग गरेको कुराकानीअनुसार, शुरूमा उनी ह्यारी पोटर शृंखलामा आधारित फ्यानफिक पढेपछि प्रभावित भइन् र उनले पनि फ्यानफिक लेख्न थालिन् ।
पछि बिबिसीले बनाएको सरलक्स होम्स शृंखला हेरेपछि भने उनले त्यसमा आधारित फ्यानफिक लेख्न थालिन् । यही उपन्यासले उनलाई ओमेगाभर्समा आकर्षित गरेको थियो । २०१७ मा उनले मिथ अफ ओमेगा शृंखला शुरू गरिन् । उनको पहिलो उपन्यास क्रेभ टु कन्क्वेयर निकालिन् । यो ठीकठीकै चलेपछि दोस्रो पुस्तक क्रेभ टु क्याप्चर प्रकाशित गरिन् । उनको यो उपन्यासलाई किताबका रूपमा लन्डनस्थित कम्पनी क्विल इन्क बुक्सले २०१८ मा बजारमा ल्यायो । यसको केही महिनापछि उनका एक पाठकले बर्न्स एन्ड नोबलमा उनको उपन्यास पढ्न नपाएको गुनासो गर्दै इमेल गरेपछि मात्र उनले थाहा पाइन्, उनकी प्रतिस्पर्धी लेखिकाले उनलाई कपिराइट क्लेम अन्तर्गत मुद्दा हालेकी रहिछन् र बर्न्स एन्ड नोबलले उपन्यास आफ्नो स्टोरबाट हटाएछ ।
यसपछि भने उनले पनि कथा जुध्नु फ्यानफिकको समस्या भएको र यसैलाई आधार मानेर किताब बेच्न प्रतिबन्ध नै लगाउनु उचित नभएको भन्दै अदालतमा आफ्नो धारणा राख्ने बताएकी छन् ।
कतिपय वेबसाइटसँग त उनले आफ्ना धारणा राखेपछि पुनः बेच्न थालिएको छ । तर उनीमाथि सिर्जना चोरीको आरोप लाग्नु आफूमाथिको ठूलो धब्बा ठानेकी छन् । त्यो धब्बा मेट्न आफू जुनसुकै तहमा पुग्नुपरे पनि जाने धारणा राखेकी छन् । उनले भनिन्, ‘मैले जे काम जानेकी छु, त्यही काममा कसैले औँला ठड्यायो जबकि फ्यानफिकको यो ठूलो समस्या नै होइन ।’
आफ्नो इज्जतमा धब्बा लगाएको र गलत आरोप लगाएको भन्दै एलिसले साढे १२ लाख डलरको हर्जाना दाबी गरेकी छन् । उनको दाबी छ, ‘ओमेगाभर्स कसैको बपौती होइन । यसमा प्लट मिल्छ, कथा मिल्छ तर त्यसैका आधारमा कसैको इज्जतमाथि धावा बोल्न पाइँदैन । भर्खरै उपविधाका रूपमा उदाएको यस्तो साहित्यविधामाथि यो हमला नै हो भन्ने मेरो राय छ ।’
यो मुद्दाको किनारा कसरी लाग्ने हो भन्नेबारे थुप्रैको चासो छ ।
०००

एलिस र केनबीच विषय चोरीको आरोपप्रत्यारोप पहिलो भने होइन । सन् २०१६ को मार्चमा केनले उनको फेसबुक पोस्टमा ड्रयागन्स मेइडेन उपनामबाट लेख्ने लेखिकाले आफ्नो उपन्यास बर्न टु बि ब्रेड को १५ वटा प्लट चोरी गरेको आरोप लगाएकी थिइन् । ड्रयागन्स मेइडेनले भने यसमा कुनै सत्यता नभएको भन्दै अस्वीकार गरेकी थिइन् ।
यस अस्वीकारको बाबजुद एलिसका फ्यानले ड्रयागन्स मेइडेनलाई खेदो खनेर हैरान नै बनाए । यसको दुई वर्षपछि मिथ अफ ओेमेगा पुस्तकलाई वेबसाइटबाट हटाउन प्रकाशकलाई आग्रह गरेका थिए । यसबाट लेखिका एलिस छक्क परेकी थिइन् । प्रकाशक पनि छक्क किन थिए भने ओमेगाभर्समा जसले जसरी पनि लेख्न सक्छ र कथाकहानी लगभग सबैजसो मिल्छ । तर केन भने एलिसलाई ओमेगाभर्समाथि लेख्न नै प्रतिबन्ध लगाउनु भन्दै चिठ्ठी लेखिरहेकी थिइन् । प्रकाशकले लेखक केनलाई त्यो तिम्रो बपौती होइन भन्दै जवाफ लेखी पठाएका थिए ।
यस मामिलामा एलिस ठीक कि केन ? यसका बारेमा आउँदो जुन महिनामा अदालतले निर्क्यौल गर्ने पक्का भएको छ । तर यो विधाको लोकप्रियता कति छ भने यो वर्ष २०२० मा मात्र दुई सय वटा उपन्यास यही विधामा छापिदैछ ।