घामले भरिएको त्यो उज्यालो कोठामा उसको स्वर निर्वाध रुपमा प्रवाहित हुँदै थियो । आमाले यस्ता धेरै कथाहरु सुनिसकेकी थिइन्, तर कहिल्यै पनि बुझ्न सकेकी थिइनन् । कसरी यी मान्छेहरु त्यति शान्तिपूर्वक आफ्नो कथा सुनाउन सक्छन्, मानौं उनीहरु कुनै अनिवार्य कुराको उल्लेख गर्दैछन् ?
“आज मेरी दिदी आइपुग्नुहुन्छ !” – निकोलाइले भन्यो ।
“विवाहिता ?”
“होइन, विधवा । भिनाज्यू साइबेरिया निर्वासित हुनुभएको थियो, त्यहाँबाट भाग्नुभयो र दुई वर्षअगाडि क्षयरोगले विदेशमा उहाँको देहावसान भयो … ।”
“कति वर्ष पुग्नुभो तपाईकी दिदी ?”
“मभन्दा छ वर्ष जेठी हुनुहुन्छ । म बडो आभारी छु आफ्नी दिदीप्रति । तपाई एकपलट सुनेर मात्र त हेर्नोस् उहाँ कसरी पियानो बजाउनुहुन्छ ! यो उहाँकै पियानो हो … यहाँका धेरै चीजबीजहरु दिदीकै हुन् । किताबहरु मात्र मेरा हुन् … ।”
“कहाँ बस्नुहुन्छ नि दिदी ?”
“जहाँ पायो त्यहीँ !” – उसले मुस्कुराउँदै जवाफ दियो – “जहाँ साहसी मान्छेको जरुरत पर्छ, त्यहीँ पुगनुहुन्छ ।”
“उहाँ पनि यही काम गर्नुहुन्छ ?” – आमाले सोधिन् ।
“अनि त !” – उसले भन्यो ।
ऊ छिटै काममा गयो र आमा त्यस कामबारे र ती मानिसहरुबारे सोच्न थालिन्, जो रातदिन निरन्तर त्यसमा लागेका हुन्छन् । उनीहरुका अगाडि उनलाई आफू धेरै तुच्छ लाग्यो, जस्तो रातको समय पहाडअगाडि उभिएको मान्छे आफूलाई तुच्छ सम्झन्छ ।
दिउँसोतिर अग्लो, सुडौल जीउ भएकी मेमसाहेब आइपुगिन् । उनले कालो स्कर्ट लगाएकी थिइन् । आमाले ढोका खोलिन् । आगन्तुकले भित्र पस्नासाथ आफ्नो सानो पहेँलो सुटकेस भुइँमा पाmलिन् र अगाडि बढेर आमाको हात सामाइन् ।
“तपाई पाभेल मिखाइलोभिचकी आमा होइन ?” – उनले सोधिन् ।
“हो !” – त्यस आइमाईको राम्रो लुगा देखेर अलमल्ल पर्दै आमाले जवाफ दिइन् ।
“तपाई मैले ठानेकीजस्तै हुनुहुँदो रहेछ । भाइले लेखेको थियो, तपाई यहाँ बस्न आउँदै हुनुहुन्छ !” – आइमाईले ऐनाअगाडि उभिएर आफ्नो टोप फुकाल्दै भनिन् – “पाभेल मिखाइलोभिच मेरो पुरानो साथी हो । उसले मलाई तपार्यबारे बताएको थियो ।”
उनको आवाज अलि धोत्रे थियो र बिस्तारै बोल्ने गर्थिन्, तर हेर्दा निकै फूर्तिली र तगडा देखिन्थिन् । उनका खैरा आँखामा जवानीको चमक थियो, तर कन्चटमा चाउरी देखा पर्न थालिसकेको थियो र कानमाथि सेता रौंहरु चम्कँदै थिए ।
“भोक लाग्न थाल्यो !” – आइमाईले भनिन् – “एक कप कफी पिउन पाए हुन्थ्यो … ।”
“म तुरुन्त बनाइदिन्छु ।” – आमाले भनिन् । दराजबाट कफीका भाँडाहरु निकाल्दै आमाले सोधिन् – “तपाई भन्दै हुनुहुन्थ्यो, पाभेलले मेरो विषयमा कुरा गरेको थियो ?”
“धेरैपल्ट … ।” – त्यस आइमाईले सानो छालाको ब्यागबाट चुरोट निकालेर सल्काउँदै जवाफ दिइन् र कोठामा ओहोरदोहोर गर्न थालिन् ।
“तपाईलाई असाध्यै पीर लागेको छ उसको ?” – उनले सोधिन् ।
आमा कफीको भाँडामुनि स्टोभबाट निस्किरहेका सानासाना नीला लपेटाहरुतिर हेर्दै मुस्कुराइन् । त्यस आइमाईलार्य देखेर सुरुमा आमालाई असजिलो लागेको थियो तर अहिले खुसीको प्रवाहमा उनको यो असजिलोपना गायब भयो ।
“त्यसो भए उसले मेरो विषयमा करा गरेको रहेछ, मेरो प्यारो छोरा !” – आमाले मनमनै सोचिन् । फेरि बिस्तारै भन्न थालिन् – “हो, किन पीर नलाग्नु र ! यी सबै कुराको बानी पर्न गाह्रै पर्दो रहेछ, तर अझ गाह्रो पथ्र्यो होला । अब त ऊ एक्लो छैन भन्ने कुरा मलाई थाहा भैसकेको छ … ।”
आमाले त्यस आइमाईतिर हेर्दै सोधिन् –
“तपाईको नाम ?”
“सोफिया !” – उनले जवाफ दिइन् ।
आमाले उनलाई बडो ध्यानपूर्वक हेरिन् । त्यस आइमाईमा एउटा अनौठो व्यापकता थियो – एक अपार साहस र चञ्चलता ।
छिटोछिटो कफी पिउँदै उनले दृढतापूर्वक भनिन् –
“सबैभन्दा मुख्य कुरा हो उनीहरु सबै सकेसम्म छिटो जेलबाट छुट्न, जति छिटो मुद्दा सकियो त्यति राम्रो ! उनीहरुलाई निर्वासनमा पठाउनासाथ हामी पाभेल मिखाइलोभिचका लागि भागने प्रबन्ध मिलाउन थाल्नेछौं । यहाँ उसको जरुरत छ ।”
आमाले अविश्वासपूर्वक सोफियातिर हेरिन् । सोफिया चुरोटको ठूटो फाल्ने ठाउँ खोज्दै थिइन् । अरु कुनै ठाउँ नभेट्टाएर उनले रगमलाको माटामा चुरोटको ठूटो निभाइन् ।
“यसरी त फूल बिग्रन्छ !” – आमाको मुखबाट अनायास निस्क्यो ।
“माफ गर्नोस् ।” – सोफियाले भनिन् – “निकोलाइ पनि मलाई सधैं यही भन्ने गर्छ ।” – उनले गमलाबाट ठुटो निकालिन् र झ्यालबाट बाहिर फालिदिइन् ।
आमाले असजिलो मान्दै सोफियाको मुखमा हेरिन् र लज्जित हुँदै भनिन् –
“होइन, तपाई मलाई माफ गर्नोस् ! सोचविचारै नगरी बोलिदिन्छु । म कसरी तपाईलाई सिकाउन सक्छु र – के गर्नुहुन्छ र के गर्नुहुँदैन ?”
अचानक आमाको काँध समाएर आफूतिर तान्दै सोफियाले तिनको आँखामा हेरिन् ।
“के तपाई साँच्चै लाज मान्दै हुनुहुन्छ !” – सोफियाले सोधिन् ।
आमाले मुस्कुराउँदै जवाफ दियन् ।
“भर्खरै मात्र मैले तपाईलाई ठुटोको कुरामा गाली गरेँ, तपाईचाहिँ भन्नुहुन्छ म लाज मान्छु !”
आफ्नो आश्चर्य लुकाउने कुनै प्रयास नगर्दै उनले भनिन् – “हिजो मात्र म तपाईहरुकहाँ बस्न आएँ, मलाई चाहिँ यही मेरो घर हो जस्तो लाग्न थालिसकेको छ । मलाई कुनै कुराको डर लाग्दैन, मनमा जे लाग्यो त्यही कुरा भनिदिन्छु … ।”
“यस्तै त हुनुपर्छ !” – सोफियाले खुसी हुँदै भनिन् ।
अब त मेरो टाउको पनि रिङ्गिन थालिसक्यो, आफैंले आफूलाई चिन्न छोडिसकेकी छु ।” – आमा भन्दै थिइन् – “पहिले जबसम्म कुनै मान्छेसँग राम्ररी हेलमेल हुँदैनथ्यो, मनको केृही कुरा खोल्न सक्दिनथेँ । तर अबचाहिँ सधैं हृदय खुल्ला रहन्छ र एकैचोटि त्यस्तो कुरा गरिदिन्छु, जुन पहिले म सोच्नसम्म पनि सक्दिनथेँ … ।”
सोफियाले फेरि चुरोट सलकाइन् र आफ्ना ाचम्किला खैरा आँखाले बडो कोमलतापूर्वक आमातिर हेर्न थालिन् ।
“तपाई भन्दै हुनुहुन्थ्यो पाभेलको भाग्ने बन्दोबस्त मिलाउन सकिन्छ ? तर यसरी भागेर ऊ बस्छ नै कहाँ ?” – आमाले सोधिन् । यस प्रश्नले उनलाई अघिदेखि नै सताइरहेको थियो ।
“यो कुनै गाह्रो काम होइन !” – सोफियाले अर्को एक कप कफी खन्याउँदै जवाफ दिइन् – “यसरी अरु दर्जनौं भागेर आएका मानिसहर लुकेर बस्छन् … । अहिले भर्खरै मात्र त्यस्तै एक जना मान्छेलाई भेटेर उसको बस्ने बन्दोबस्त मिलाएर आएको छु । निकै काम लागने मान्छे छ । पाँच वर्षको सजाय पाएको थियो तर साढे तीन महिनाभन्दा बढी उसले निर्वासनमा बिताएन … ।”
आमाले एकछिनसम्म सोफियालाई हेरिरहिन् र मुस्कुराउँदै, फेरि टाउको हल्लाउँदै बिस्तारै भनिन् – “मे दिवसले मलाई कुनै जादु गरिदिएजस्तो लाग्न थालेको छ । होसहवास ठीक छैन – एकैछोटि दुई बाटामा हिँडिरहेजस्तो लाग्छ मलाई । कहिले लाग्छ, म सबै कुरा बुझ्छु, तर अकस्मात् सबै कुरा धमिलिन थाल्छ । अहिले नै हेर्नोस् न तपाई घरानियाँ परिवारकी छोरीबेटी, यस्तो काम गरेर हिँड्नुभएको छ … । तपाई मेरो पाभेललार्य चिन्नुहुन्छ र उसको कदर गर्नुहुन्छ, यसका लागि तपाईलाई धेरैधेरै धन्यवाद … ।”
“होइन, धन्यवाद त मैले पो दिनुपर्छ !” – सोफियाले हाँस्दै भनिन् ।
“मैले के गरेकी छु र ?” – आमाले लामो सास फेर्दै भनिन् ।
सोफियाले प्लेटमा चुरोटको ठुटो निभाउँदै यसरी आफ्नो टाउको हल्लाइन्, मानौं उनका कपालका सुनौला लटहरु फुस्केर कमरसम्म आइपुगे ।
“जब गएर म आफ्नो यो सबै चहकमहक फुकालेर आउँछु ।” – कोठाबाट निस्कँदै उनले भनिन् ।

साँझतिर निकोलाइ घर फक्र्यो । बेलुकीको खाना खाँदै सोफियाले उनीहरुलाई हाँस्दै बताइन् – कसरी उनले निर्वासनबाट भागेर आएको मान्छेलाई लुक्न मद्दत गरेकी थिइन्, कसरी उनलाई जासुसी पुलिसको डरले सताएको थियो र हरेक मान्छेलाई शङ्काको दृष्टिले हेर्न थालेकी थिइन्, त्यो भागेर आएको मान्छे कस्तो हास्यास्पद व्यवहार गर्दै थियो … । आमाले सोफियाको आवाजमा त्यही गर्वको झलक पाइन् जुन कुनै कठिन काम सकाइसकेपछि त्यस कामबारे बताइरहेको मजदुरको आवाजमा भेट्टाइन्छ ।
अहिले सोफियाले इस्पाती रङको हलुका, चौडा फ्रक लगाएकी थिइन् । यस पहिरनले गर्दा उनी अझ अग्ली देखिन्थिन् र उनका आँखा पनि अझ काला लाग्थे । उनको चालमा पनि बढी गम्भीरता देखिन्थ्यो ।
“सोफिया, तिम्रा लागि एउटा अर्को काम छ ।” – खाना खाइसकेपछि निकोलाइले भन्यो – “हामी किसानहरुका लागि एउटा अखबार निकाल्ने तरखरमा छौं भन्ने कुरा मैले तिमीलाई बताएको थिएँ । तर यता धेरै मान्छेहरु गिरफ्तार भएकाले त्यस व्यक्तिसँग सम्बन्ध राख्न सकिएको छैन, जसले यी अखबारहरु बाँड्ने काम जिम्मा लिनुपथ्र्यो । त्यस व्यक्तिलाई पत्ता लाउन पेलागेया निलोभ्नाले मद्दत गर्नुहुनेछ । तिमीले उहाँसँग गाउँ गएर सकेसम्म छिटो त्यो मान्छे पत्ता लगाउनुप¥यो ।”
“ठीक छ ।” – सोफियाले चुरोट पिउँदै भनिन् – “जाने होइन त पेलागेया निलोभ्ना ?”
“हो, किन नजानु र … ।”
“टाढा छ ?”
“लगभग पचास माइलजति होला … ।”
“ठीक छ … । लौ त अब म एकछिन पियानो बजाउँछु । पेलागेया निलोभ्ना, तपाई एकछिन मेरो सङ्गीत सहन सक्नुहुन्छ ?”