(डब्लु. लिविंग्स्टन लारनेडद्वारा लिखित “फादर फर्गेट्स” लेखको नेपाली अनुवाद ।)

अनुवाद: सञ्जीवन प्रधान

 

सन्जीवन प्रधान

सुन, छोरा ! म यी शब्दहरू तिमी मस्त निद्राका बेला भनिरहेको छु ।

तिम्रो सानो छाति तलमाथि गरिरहेको छ । त्यहाँ एक सुन्दर ध्वनिप्रवाह भइरहेको छ।

तिम्रा कोमल हात गालामुनि दबिएको छ र पसिनाले लतपत सुन्दर घुम्रिएका केशराशि निधारमा छरिएका छन् ।

आज म चोरझैँ सुटुक्क तिम्रो कोठामा छिरेको छु।

भर्खरै केही समयअघि जब म मेरो अध्ययन कक्षमा पत्रिका पढिरहेको थिएँ, ठीक त्यही समय मलाई अथाह पश्चातापको ज्वालाले एक्कासि पोल्यो । तसर्थ, अपराधबोधले लज्जित, म तिम्रो ओछ्यान छेउ आएँ ।

छोरा, मलाई आज केही कुराले सोचमग्न पारेको छ, पोलेको छ । आज म अनायासै तिमीसँग क्रोधित भएँ।

जब तिमी स्कुलको लागि तयार हुँदैथियौ, मैले तिमीलाई बेस्सरी गाली गरेँ । कारण, तिम्रो अनुहार सफा थिएन । त्यो कुरालाई बेवास्ता गर्दै, तिमीले फगत एकपल्ट मात्र रुमालले आफ्नो अनुहार पुछेजस्तो गर्यौ। त्यो कुरा मैले पट्क्कै सहन सकिनँ। अनि जब मैले तिम्रा ती फोहोर जुत्ता देखेँ, मेरो पारो झन् तात्तियो । यत्रतत्र छरिएका तिम्रा सामानहरूले झन् आगोमा घिउ थप्ने काम गर्यो।

यी कुराहरूले बिहानको नास्ता खाने सुन्दर वातावरणलाई नराम्रै गरी बिथोलिदियो ।

बिहानको नास्ता पनि मैले शान्तिसँग खान दिइनँ ।

सामानहरू छर्ने तिम्रो बानी छ । खाना हतारहतार खाने बानी छ। तिम्रो खाना अरू नै कसैले खोसेर खाइदेला जस्तो गर्छौ ।

खाँदै गर्दा टेबलमा कुहिनो राख्ने अलच्छिनी बानी छ। पाउरोटीमा चाहिनेभन्दा बढी नै बटर दलिदिन्छौ । मैले केही भन्न बाँकी राखिनँ ।

मानवले गल्ती गर्छ त्यो स्वभाविक कुरो हो । गल्तीहरू अरुले बेलाबेलामा भेट्ने गर्छन्। त्यो कुरा पनि स्वाभाविक नै हो तर मैले तिम्रो गल्ती सधैं खोजिरहेँ । खोज्नु र भेट्नु बीचको अन्तर मैले ठम्याउन सकिनँ।

जब तिमीले खेल्न सुरु गर्यौ र म ट्रेनतर्फ लाग्दै थिएँ, तिमीले एक्कासि मतर्फ फर्कंदै भन्यौ, “गुड्बाइ ड्याडी।” त्यो कुरा पनि मलाई हजम भएन । मैले उल्टो तिमीलाई हकारेँ ।

साँझपख फेरि तिनै कुराहरूको पुनरावृत्ति भयो ।

जब म काम सकेर घर आउँदै थिएँ, मैले तिमीलाई सुटुक्क हेरेँ । तिमी घुँडा मारेर गुच्चा खेलिरहेका थियौ ।

तिम्रा कपडा फाटेका थिए । त्यो देखेर मैले तिम्रो बेइज्जत हुनेगरी तिम्रा साथीहरूका सामु तिमीलाई हकारेँ अनि अघि लगाएर घर लिएर आएँ ।

“तिमीले लगाएका कपडा महङ्गा थिए । यदि तिमी आफैँले ती कपडा किन्नु परेको भए सायद तिमी अलि सजग हुने थियौ,” मैले साह्रै चर्को स्वरमा तिमीलाई हकारेको थिएँ। छोरा, तिमी सोच त एकपल्ट, के बुवाले त्यसरी कराउनु उचित थियो ?

तिमीलाई याद छ, पछि जब म मेरो अध्ययन कक्षमा पढिरहेको थिएँ, तिमी कसरी डराइडराइ, पीडाले रसाएको आँखा लिएर त्यहाँ प्रवेश गरेका थियौ ?

तिम्रो त्यो हस्तक्षेपप्रति अधीर हुँदै जब मैले तिमीलाई कर्के आँखाले हेरेँ, तिमी ढोकामा टक्क अडियौ। अपराधबोधले तिम्रो कोमल हृदय अचानक नमीठो गरी चर्कियो होला।

“अब फेरि तँलाई के चाहियो ?” मैले फेरि झम्टिएँ ।

तिमीले केही भनेनौ तर दगुर्दै मेरो सामु आयौ । तिम्रो सानो कोमल अँगालोले मलाई बाँध्यौ र एक प्यारो चुम्बनले मलाई क्षतबिक्षत बनाइदियौ ।

तिम्रो क्रियाकलापलाई मैले चाहेर पनि बेवास्ता गर्न सकिनँ । म मौन अनि अकमक्क परेँ।

त्यसपछि तिमी हतारहतार माथिल्लो कोठातर्फ गयौ।

ठीक त्यही समय म झल्यास्स भएँ । मेरो हातबाट मैले पढिरेहेको पत्रिका एक्कासि भुइँमा खस्यो र एक किसिमको भयानक, बिरामी नै बनाइदिने खाले, डरले मेरो हृदय कम्पन भयो ।

मेरो बानीले मलाई कस्तोसम्म बनाइदिएछ !

गल्ती मात्र खोजिरहनु र झर्किरहनु ! मैले तिमीलाई सधैं यही उपहार दिइरहेको थिएँ ।

यसको मतलब मैले तिमीलाई माया नै नगरेको हैन ।

मैले तिमीबाट धेरै कुराको अपेक्षा गरेँ ।

मैले तिमीलाई आफूजस्तै ठानेँ, ठूलो भइसकेजस्तो । मेरा अपुरा सपना अनि महत्त्वाकांक्षाको भारी बोकिदिने एक भरिया भन्ठानेँ ।

मैले यसरी सोचिरहँदा, तिमीमा भएका धेरै सुन्दर कुराहरू अनायासै ओझेलमा परेछन्।

तिमीमा अथाह सुन्दर र सत्य कुराहरू पनि थिए ।

छोरा, मलाई आज अरू कुनै कुराको परवाह छैन। अरु सबै कुराहरू ओझेल परिसके ।

पूर्णरूपमा लज्जित, एउटा रणमा हारेको सिपाहीजस्तै घुँडा धसेर,अँध्यारोको सहारा लिँदै म अहिले तिम्रो ओछ्यानछेउ आएको छु ।

यो एक प्रायश्चित हो । मलाई थाहा छ, मैले यी कुराहरू तिमी जागेको बेला भनेको भए अर्थहीन हुनेथिए। तिमीले यी कुराहरु बुझ्ने थिएनौ तर भोलिदेखि म एक आदर्श पिता बन्ने छु ।

तिम्रो खुशीमा खुशी हुनेछु अनि तिम्रो पीडामा रोइदिनेछु।

तिम्रो लागि कुनै किसिमको नराम्रा शब्दहरू मेरो मुखबाट निस्कने छैन। यो कुरा मन्त्र उच्चारण गरेजस्तै म सधैँ जपिरहने छु: मेरो छोरा सानै छ । उसको हृदय निश्चल र कोमल छ ।

म क्षमाप्रार्थी छु, छोरा । मैले तिमीलाई ठूलोमान्छेको रूपमा कल्पना गरेँ । यद्यपि अहिले तिमीलाई त्यो तिम्रो सानो खाटमा लुटुपुटु परेर सुतेको देख्दा बल्ल थाहा पाएँ, तिमी सानै रहेछौ।

हिजो तिमी तिम्री आमाको अँगालोमा बाँधिएर तिनको काँधमा आफ्नो सानो टाउको अड्याएर सुतिरहेका थियौ । मैले तिमीबाट कति धेरै अपेक्षा गर्न पुगेछु !

छोरा, मलाई माफ गरिदेऊ ।

(यो डब्लु. लिभिङस्टोन लरनेडद्वारा लिखित निबन्धात्मक शैलीको कविताको स्वतन्त्र अनुवाद हो ।)