एकताका बेलायतभरि ठाउँठाउँमा टेलिफोन सुविधाका लागि फोन बक्स हुन्थे । रातो रङको सानो आकारको त्यो बाकसलाई फोन बक्स भनिन्थ्यो ।

जुनबेलादेखि मोबाइलको प्रचलन व्यापक हुन थाल्यो, संसारभरि प्रख्यात भएको यो रातो फोन बक्स काम नलाग्ने बाकसमा परिणत भएको थियो । फेरि यो एउटा दुइटा भएको भए, केही थिएन । हजारौँको संख्यामा देशभरि र शहरभरि छरिएको यो बाकसलाई के गर्ने भनेर कसैले पनि सोच्न सकेको थिएन ।

खासमा यसमा मानिसहरूको स्मृति जोडेको थियो, संवादको स्मृति । त्यसैले हरकोही यो टेलिफोन बुथलाई प्रेम गर्थ्यो । यो नफ्याँकियोस् भन्ने चाहना थियो ।

यसअघि बेलायतभरि रोयल मेलको भाँडोको हालत नहोस् भन्ने सर्वसाधारणको चाहना थियो । रोयल मेल त्यहाँको हुलाक प्रणाली हो । ठाउँठाउँमा चिठ्ठी हाल्न र झिक्न मिल्ने सो रातो भाँडो पछिल्लो समय प्रयोगविहीन हुन थालेपछि स्याहार पनि हुन छाडेको थियो । अहिले बेलायतको पहिचान बनेको सो हुलाकको चिठ्ठी खसाल्ने भाँडो पनि इमेलका कारण प्रयोगविहीनताको अवस्थामा पुगेको थियो तर त्यस्ता भाँडाहरू बेलायतमा पनि घट्दै जान थालेका छन् ।

यस्तोमा हुलाकको भाँडोजस्तो यो टेलिफोन बुथको अवस्था नहोस् भन्ने उद्देश्यले अहिले लघुपुस्तकालयमा परिणत गर्न थालिएको छ । यो पुस्तकालयमा जसलाई मन लाग्छ, उसले पुस्तक लैजान र पढिसकेपछि राख्न सक्छ । कसैले पनि लग्यो भनेर गुनासो वा जरिवाना तिराउँदैन ।

त्यसो त यसैको देखासिकीमा नेपालमा पनि यस्ता कामहरू भएका छन् तर त्यहाँ किताब नथपिने र राखिएका किताबको सुरक्षा पनि नहुने हुनाले ती रहरेको प्रयोगमा परिणत भएको छ ।

बेलायतमा भने रातो बाकसमा पानी, हिउँ या हावाहुरी आए पनि पुस्तकलाई कुनै क्षति नपुग्ने गरी बनाइएको छ ।

यस्ता पुराना तर आइकनिक चिजलाई सदुपयोग गर्न सरकारले स्थानीय काउन्सिललाई सञ्चालनको जिम्मा दिएको छ । काउन्सिलले पनि यस्ता बुथमा हराए वा पुस्तक घटेका खण्डमा नियमित रूपमा पुस्तक थप्ने काम गर्ने गर्छ ।

बेलायतमा पछिल्लो समय स्थानीय पुस्तकालय जाने संख्या ह्वात्तै घट्न थालेको छ । पाठकको हातहातमा पढ्ने र हेर्ने चिजबिज आउन थालेपछि पुस्तकालयसम्म पुग्ने दुःख को गर्ने ? तर पठन संस्कृतिप्रति चिन्ता गर्नेहरूले पनि पाठकको समुदायसम्म पुग्ने प्रयासका लागि यो रातो बुथ प्रयोग गर्न सकिने सम्भावना रहेको भन्दै यसलाई मर्मतसम्भारपछि यसरी उपयोग गरेका हुन् ।

यस्तो लघुपुस्तकालय पहिलो पटक २००९ मा स्थापना भएकत्र थियो । फ्याँक्न लागेको यो रातो बाकसलाई बेलयातको समरसेटस्थित वेस्टबरी काउन्सिलले एक पाउन्डमा किनेको थियो । स्थानीयहरूले आफ्नो घरमा भएका किताबहरू काउन्सिललाई उपहार दिए । केही किताब काउन्सिलले किन्यो र बाकसमा हालेर सञ्चालनमा ल्याउन थाल्यो ।

सबैभन्दा रोचक चाहिँ, यो चौबीसै घण्टा खुला हुन्छ ।

यस्ता बाकसमा बालबालिकाका सुन्दर साहित्य, महिलाहरूका लागि कुकबुक तथा युवाहरूलाई रूच्ने चल्तीमा रहेका ब्लकबस्टर पुस्तकहरू राखिन्छन् । काउन्सिल भन्छ, पाठकका रूचिका किताब राखिएन भने पुस्तकालयमा को छिर्छ ?

फोन बुथलाई लघुपुस्तकालयमा परिणत गरेको यो कथा यति लोकप्रिय भयो कि यसलाई नक्कल गर्नेहरूको लर्को लाग्यो । यसको नक्कलमा पुस्तकालय बनाइदिने धनीमानी पनि देखिए ।

केही दिनअघि बेलायती राजकुमार चार्ल्सकी पत्नी जसलाई सम्मानका साथ डचेज अफ कर्नवाल पनि भनिन्छ, क्यामिलाले आफूसँग दरबारमा भएका निजी सङ्कलनका एक अँगाला पुस्तकहरू स्कटल्यान्डको एबरगेल्डीको फोनबुथलाई दान गरेकी छन् । अचेल यसलाई फोन बुथ भनिदैन, रिडिङ रूम भन्न थालिएको छ ।