उल्लेखित शीर्षकमा मन्टोका दुई कथाहरू ‘मूत्री’ र ‘गुसलखाना’ उर्दूबाट अनुवाद गरिएको छ ।
क.
हाम्रो पाँच ज्ञानेन्द्रियलाई लिएर इतालो कल्विनोको पाँचवटा कथा लेख्ने योजना हुन्छ, तर तीनवटा इति भएको छ । आफ्नो ‘नाम, नाक’मा कल्विनो के पढाउँछन् भने, नाक भनेको एउटा समाज हो । एउटा युगमा मानिसहरू झुन्डमा बस्दथे । उनीहरूको झुन्डको एउटा ‘अद्वितीय’ गन्ध हुन्थ्यो । शत्रुको झुन्डबाट कोही प्रवेश गरेको उनीहरू नाकले पहिचान गर्न सक्दथे । उनीहरूको झुन्डको एउटा ‘अद्वितीय’ गन्ध भएजस्तो झुन्डका प्रत्येक लोग्नेमान्छे-सुवासिनीमान्छेको ‘निजी’ गन्ध पनि हुने गर्थ्यो, जुन उनीहरूका सखी-प्रियतमहरूका नाकले मात्रै चाल पाउन सक्षम हुन्थे ।
‘मूत्रालय’का भित्तामा लेखिएका अश्लील गालीहरूमा ‘राष्ट्रवाद’ कसरी अभिव्यक्त हुन्छ, त्यसको सुन्दर प्रस्तुति ‘मूत्री’ हो । अर्थात, हिन्दुस्तान र पाकिस्तान ‘नाम, नाक’नक्सा गरेका दुई राष्ट्रहरूको गन्धले ‘मूत्रालय’ व्याप्त छ । ‘लकीरे… है तो रेहने दो,’ कथाको पटाक्षेप ‘क्या दिल्ली क्या लाहौर’को गुलजारको स्वरमा गर्नु मिल्छ ?
ख.
‘गुसलखाना’ भनेको स्नानकोठा हो, जसमा चर्पी पनि हुन्छ । कथाको पात्रलाई के विश्वास छ भने, अल्लाहले उसको पुकार कहीं पनि सुनेनन् तर गुसलखानामा सुने । यहाँ लेखनाथ पौड्यालको कथन महत्त्वपूर्ण छ: ‘सुरमुनिदेखि भुसुनासम्म, प्रभु नै सबका घटमा टम्म ।’ केवल मन्दिर, मस्जिद, गिर्जाघरमा ईश्वर बस्ने, तर चर्पी, स्नानघरमा उनी नपस्ने भन्ने हुन्छ ? मन्टो गुसलखानामा चिच्याउँछन् र अल्लाहलाई मस्जिदबाट निकालेर चर्पीमा ‘हाजिर’ गराउँछन् ।
आफ्नो ‘एन आउटलाइन अफ इन्टेलेक्चुअल रबिश’मा बर्ट्रान्ड रसेल भन्छन्, ‘आफूलाई ‘पवित्र’ सोच्ने मनुष्यहरूको ‘ईश्वरनिन्दा’ देखेर म कहिलेकाहीँ हैरान हुन्छु – उदाहरणका निमित्त, ‘नन’हरू स्नानवस्त्रविना कहिल्यै स्नान गर्दैनन् । त्यहाँ देख्ने कोही लोग्नेमानिस हुँदैन, ‘लाज किन, बाबा !’ भनेर जब सोधिन्छ, मुखभरिको जवाफ खाइन्छ, ‘तर सर्वव्यापी, सर्वज्ञाता, सर्वशक्तिमान, असल भगवानलाई हजुर किन भुल्नुहुन्छ ?’ अहो ! देवता गुसलखानाको मजबुत भित्ता फोडेर देख्न सक्षम छन् तर स्नानवस्त्रभित्र देख्न असमर्थ छन् ?’ एउटा चुट्किलामा, राति चोर आएर गृहस्वामीलाई स्वर गर्छ, ‘हल्ला मच्चाइस् भने साला ! गोलीले खोल्छ तेरो छातीको ताला ।’ तर, गृहस्वामीमा आत्मविश्वास छ, ‘तेरो बाउ, म झुलभित्र छु, लामखुट्टे त पस्न सक्दैन ।’
१. मूत्रालय
काँग्रेस सदन र जिन्ना सभाभवनको कस्तुरी दूरीमा एउटा मूत्रालय पर्दछ, जसलाई बम्बैले ‘मूत्री’ नामले सम्बोधन गर्दछ । मूत्रालयको आसपासका इलाकाहरूका दुःख यो ‘रजनीगन्धा’ कोठाबाहिर फोहोरको थुप्रो बनेर झर्दछ । कस्तो हरक छ भने, रुमाल राखेर यहाँबाट नगुज्रिएको अवस्थामा नाकै हर्दछ ।
यही बेलामा उसलाई त्यही मूत्रालय जानुपरेको छ … पिसाब फेर्न, नाकमा रुमाल च्यापेर, श्वास जतिसक्दो नफ्याँकेर, ऊ दुर्गन्धको बगैंचामा प्रवेश गरेको छ, भुइँमा जगबाट मलमूत्रको बुलबुल सुनिन्छ … भित्तामा ‘टुँडाल’को चित्र छ … अंगारको सहायताले कसैले ‘शीर्षक’ दिएको छ:
‘मुसलमानों की बहन का पाकिस्तान मारा ।’
उल्लेखित परिच्छेदले दुर्गन्धलाई अझ गहन तुल्याउँछ । ऊ छिटोछिटो बाहिरको बाटो घटाउँछ ।
रावण मरेर लंका खाली हुँदैन । दुवै जिन्ना सभाभवन तथा काँग्रेस सदन ‘सरकार’को बन्धनमा छन् । तर छोटकरी दूरीमा अवस्थित मूत्री स्वतन्त्र छ, टाढाटाढासम्म दुर्गन्धको खेती गर्न, स्थानीय समुदायको फोहोरमैलाको पहाडलाई आफ्नो अँजुलीमा भर्न ।
एकपटक पुनः उसलाई झट्ट मुत्रालयको दर्शन गर्नुपर्ने हुन्छ । पिसाब गर्न नै हो, कुनै सन्देह छैन । नाकमा रुमाल च्यापेर, श्वास रोकिराखेर ऊ दुर्गन्धको गृहमा भित्रिन्छ … ‘भुइँ’रूखमा मलमूत्र ‘सुनाखरी’ जस्तो फक्रेको छ । भित्तामा शिशु-सृष्टिका अङ्गहरूको ‘चित्रमेला’ छ …
‘मुसलमानों की बहन का पाकिस्तान मारा’ [मुसलमानहरूकी बहिनीलाई पाकिस्तानले भ्यायो] को तल कसैले मोटो सिसाकलमले अश्लील गाली कुँदेको छ:
‘हिंदूओं की माँ का अखंड हिंदुस्तान मारा ।’
यो अभिव्यक्तिले पिसाबको गन्धमा अम्लीय गन्ध भरिदिन्छ, तेजाबको कैफियत पैदा गरिदिन्छ … ऊ हतारहतार बाहिरिन्छ ।
‘महात्मा गान्धी’लाई सुरक्षित रूपमा रिहा गरिएको छ । जिन्नाले पञ्जाबमा पराजय व्यहोर्नुपरेको छ । जिन्ना सभाभवन र काँग्रेस सदनमा पराजयको धुन सुनिन्छ, न मुक्तिको गीत गुञ्जिन्छ । तिनमा ‘सरकार’को कडा कब्जा छँदैछ र तिनीहरूको कस्तुरी दूरीको मुत्रालयमा दुर्गन्धको सत्ता छँदैछ ।
तेस्रोपटक पुनः उसलाई मूत्रालयको बाटो नाप्नुपर्ने हुन्छ … पिसाब गर्न होइन … नाकमा रुमाल च्यापेर, आफ्नो श्वास रोकिराखेर, ऊ फोहोरको कोठामा प्रवेश गर्छ … भुइँमा कीराहरूको गोडाचाल छ । त्यहाँ भित्ताहरूमा मानिसका गोप्य अङ्गहरूको ‘कला-प्रदर्शनी’को लागि अब कुनै ठाउँ खाली छैन, स्थान बाँकी छैन ।
‘मुसलमानों की बहन का पाकिस्तान मारा,’ र ‘हिंदूओं की माँ का अखंड हिंदुस्तान मारा’ [हिन्दूहरूकी आमालाई अखण्ड हिन्दुस्तानले बितायो] को ‘नारा’का अक्षरहरू अस्पष्ट हुँदै गइरहेको छ । तर तिनीहरूको ठीक तल सेतो चकले यी अक्षरहरू कोरिएका छन्:
‘दोनों की माँ का हिन्दुस्तान मारा ।’
[दुवैका आमालाई हिन्दुस्तानले सिद्ध्यायो]
यी शब्दहरूले पिसाबको गन्धलाई एक पलको निम्ति भएपनि टाढा भगाइदिन्छन्, नाकेडाँडा कटाइदिन्छन् … जब शनै:शनै: ऊ बाहिरिन्छ, अब उसलाई महसुस हुन्छ, दुर्गन्धको यो घर एउटा बेनाम मनमोहक सुगन्धले भरिएको छ । केवल एक पलको निम्ति ।
२. गुसलखाना
मूलद्वारभित्र प्रवेश गर्नेबित्तिकै सिंढीको नजिक एउटा सानो कोठा छ, जसमा एकताका गुइँठा र कोइला राखिन्थ्यो । तर अब यौटा जलनल लगाएर एउटा पुरुष गुसलखानामा त्यसलाई रूपान्तरण गरिएको छ । घरको जग जलमग्न नहोस् भनेर भुइँ मजबुत बनाइएको छ । त्यसको एउटा मात्र खियाले खाएको फलामे डण्डीवाल झ्याल गल्लीको दिशामा दाँत ङिच्याउँछ ।
म पञ्चम कक्षामा पढ्छु, जब यो गुसलखाना मेरो जीवनमा ‘प्रवेश’ गर्छ । हजुरहरूलाई अचम्म लाग्ला, गुसलखाना मान्छेको जीवनमा कसरी ‘भित्रिन’ सक्छ ! गुसलखाना पो त्यस्तो चीज हो, जसमा मनुष्य ‘प्रवेश’ गर्दछ र लामो समयसम्म रहन्छ । तर हजुरहरू जब मेरो कथा सुन्नुहोला, हजुरहरूलाई पत्यार हुनेछ, गुसलखाना मेरो जीवनमा साँच्चै ‘भित्रिएको’ हो ।
गुइँठा इत्यादि राख्ने बेलादेखि नै गुसलखानालाई मैले ‘मनपेट’ सुम्पेको हुँ; मेरी बिरालीले भिजेको मुसाको अनुहार परेको चारवटा बच्चा गुसलखानामा नै पाएकी हो । तिनीहरूको आँखा दसबाह्र दिनसम्म उघ्रेको हुँदैन । सोही समयमा मेरो सानो भाइले आफ्नो प्रथम रोदन सुनाउँछ । उसको आँखा खुला देखेर मुवाहजुरलाई आश्चर्य प्रकट गर्छु, ‘अम्मी जान ! मेरी बिराली टेडीले बच्चा जन्माएकी थिई, तिनीहरूको आँखा खुलेको थिएन, भाइजानको भने किन खुला छ !’ अर्थात, बाल्यकालदेखि नै गुसलखानासँग मेरो राम्रो चिनापर्ची छ ।
एकदिन मैले पाठशालाबाट घरको बाटोमा पर्ने सरदार वदहावा सिंहको फलफूल पसलको एउटा काबुली अनारमा ‘हात हालेको’ छु । म र मेरो कक्षाका दुई साथीहरू उनको पसलबाट केही न केही उठाउँछौं । आफ्नो पगडी एकछेउमा बिसाएर फलका टोकरीहरूको घेरामा सरदार सारा दिन अफीमको नशामा उँघिरहेका हुन्छन् । हामीले ठूलो कुरामा भने कहिल्यै हात लगाउँदैनौं । कहिले अङ्गुरको दाना जुटाउने हो, कहिले लोकाटको गुच्छा उडाउने हो । ‘हरामका आगे भूत जागे’ जस्तो सरदारले मलाई कसरी रंगेहात समात्छन् भने, मलाई विश्वास लाग्दैन । आइत मङ्गलको भेट, आउला ज्वरो नभए दुख्ला पेट । मलाई चोरी खेलजस्तो लाग्दथ्यो । जब अस्वस्थ दाह्रीवाल सरदार आफ्नो सूजन भएको हातले मेरो घाँटी नाप्छन्, मलाई महसुस हुन्छ, म चोर हुँ ।
मलाई सानैदेखि मानिसहरूको अगाडि लज्जित हुनु नपरोस् लाग्छ । जब बीच बजारमा आफ्नो अपमान भइरहेको देख्छु, तुरुन्तै सरदारसँग क्षमाको भिक्षा माग्छु । उनको मन निर्मल छ । उनी अनार मेरो हातबाट खोस्छन् । उनको विचारमा अनारदानामा लागेको दाग आफ्नो कुर्ताले पुछ्छन् र मलाई थुर्छन्, ‘घोडालाई हो दाना, चोरलाई हो ठाना । वकिल साहेब आए भने म बताउँला, हजुरको कुलदीपक ‘प्रकाश सपूत’ले अब चोर्नु थालेको छ ।’
मेरो प्राणपखेरू उड्ला जस्तो हुन्छ । मलाई त लागेको हो, सजिलै छुट्छु । वकिल साहेब अर्थात मेरो बुवाहजुर सरदार वदहावा सिंह होइन । न उहाँलाई अफीमको नशा छ, न उहाँको ‘मनदेवी’ फलफूलमा हुरुक्क हुने दशा छ । मेरो चोरीको मुद्दा बुवाहजुरको अदालतमा पुग्छ भने, त्यसको सुनुवाइ मुवाहजुरको सामुन्ने हुनेछ, ‘रानीसाहेब ! हजुरको लाडप्यार सफल हुन लागेको छ, राजकुमारलाई चोर हुने इच्छा जागेको छ । सरदारले दुखेसो पोख्नुभएको छ, ‘वकिल साहेब ! हजुरको छोरो अनार लिएर भागेको छ, मेरो लज्जाको आगोले पानी मागेको छ ।’ महारानी ! आजसम्म मैले आफ्नो नाकमा झिंगा बस्न दिएको थिएन, तर हजुरको राजकुमारले आज मेरो नाक कटाएको छ, मेरो इज्जत माटोमा मिलाएको छ ।’
बुवाहजुर हाम्रो गालामा दुईतीन थप्पड डाम्नुहुन्छ, हाम्रो पक्षधर हुनाले मुवाहजुर आफ्नो गाला छाम्नुहुन्छ । जब हामी छ भाइबाट तुच्छ त्रुटि नै किन नहोस्, बुवाहजुर आफूलाई आँगनमा उतार्नुहुन्छ र आफ्नो टाउकोको पसिना पुछ्दै मुवाहजुरलाई पुकार्नुहुन्छ ।
भट्टेसराप हालेर पनि बुवाहजुरलाई पुग्दैन, झनै थलिनुहुन्छ । त्यो दिन उहाँ ‘खाद्य’विभागमा हाजिरी लगाउन आउनुहुन्न र चुपचाप आँगनमा सिमेन्टी गरेको भुइँमा घरी यहाँ घरी उहाँ टहलिनुहुन्छ ।
जब सरदार वकिल साहेबको नाम निकाल्छन्, मेरो आँखाको सामुन्ने तालुखुइले बुवाहजुर नाच्नुहुन्छ । रिसले राँकिएको बेलामा उहाँको तालुमा पसिनाको सानासाना बुँद टल्किनु थाल्छन् ।
मैले छातीमा च्यापेका किताब पहाडजस्तो गह्रौं हुन्छ । उठेको जाँगरले बाटो तताउनु, ऐया पनि भन्न नपाउनु । चोरी पक्राउ परेको बेला उत्पन्न हुने लज्जाको खाली ठाउँ अज्ञात भयले ओगट्छ । बाउको तालुखुइले टाउको । त्यसमा पसिनाको सानासाना थोपाको हीराबिजुली । आँगनको सिमेन्टी गरिएको भुइँ । उनको बाघचाल । क्रोधको कालो बादल, जुन अन्तरालमा मुवाहजुरमाथि वर्षा हुन्छ ।
म उद्वेगपूर्ण स्थितिमा घर फर्कन्छु । ‘म अरू सबै बाँड्न तयार, तर त्यसमा तिमी पर्दैनौ नि, माया !’ बुवाहजुर अर्थोक माफ गर्न सक्नुहुन्छ कसोरीकसोरी, तर त्यसमा तिमी पर्दैनौ नि, चोरी ! हाम्रो पुरानो नोकर बन्नूले एकपटक मुवाहजुरको पानदानबाट दस रुपैयाँको एउटा नोट निकालेको छ … अम्मी जानले त भैगो भनेर माफी दिएकै हो तर बुवाहजुरको कृपादृष्टि पुगिहाल्छ, घोक्रेठ्याक लगाएर घोषणा गर्नुहुन्छ, ‘म मेरो घरमा चोर राख्न सक्दिनँ ।’
माथिल्लो तलामा जान एक पाइला बढाएको मात्रै के हुन्छु, उहाँको डाँको सुनिन्छ । खोइ, मलाई थाहा छैन, सकलेन दाजुसँग उहाँ किन उम्लिँदै हुनुहुन्छ ! उहाँले बन्नूलाई घरबाट बाहिर फ्याँक्दै चिच्याएको स्वरले मेरो कान पुनः पाक्छ, ‘म मेरो घरमा चोर राख्न सक्दिनँ ।’
म अत्तालिन्छु र माथि उक्लनु सट्टा तल ओर्लन्छु । मेरो मस्तिष्कले के सुझाएको छ, अल्लाहलाई थाहा छ । म गुसलखानामा गएर हृदयदेखि प्रार्थनाको पङ्खा हम्कन्छु । ‘शीतल’ हुन्छ र माथिल्लो तला उक्लन्छु ।
अल्लाहले मेरो गुहार सुन्नुभएको छ । यद्यपि वदहावा सिंह र उनको पसल आजसम्म कतै गएका छैनन्, बीसको उन्नाइस भएका छैनन् । तर बुवाहजुरको कानलाई अनारकाण्ड श्रवण गर्ने मौका जुरेको छैन … गुसलखाना यहीँबाट मेरो जिन्दगीमा ‘प्रवेश’ गर्छ ।
अर्कोपटक पनि त्यस्तै हुण्डरी चलेको छ । मैले पहिलोपटक खुला बजारमा चुरोट फुकुवा गरिरहेको हुन्छु, बुवाहजुरको सङातीसँग मुडभेट हुन्छ । उनी मेरो हातबाट चुरोट खोसेर रिसको झोंकमा एकातिर मिल्काउँछन् र सावधान गराउँछन्, ‘तिमी धेरै आवारा हुँदै छौ । तिम्रो आँखामा ठूलाको लाजइज्जत देखिँदैन । ख्वाजा साहेबलाई भनेर आज तिम्रो कान निमोठ्नु लगाउँछु ।’
अनारकाण्डमा भन्दा धुवाँकाण्डमा किन जोखिम छ भने, विना चालले कुकुर भुक्दैन, मुलाको ड्याङमा हात्ती लुक्दैन । ख्वाजा साहेब अर्थात बुवाहजुर स्वयं चुरोट फुक्नुहुन्छ, तर आफ्नो सन्ततिले ‘सम्धीको निहुँले, मलाई पनि घिउ ले’ गर्न भने मनाही छ । उहाँलाई मेरो जेठो दाइको खल्तीमा मिल्छ चुरोटको एउटा डिब्बाको छनक, जनकलाई सनक चढेपछि दिने हो दनक, त्यसपछि चेतावनी, ‘सकलेन ! मैले फेरि खल्तीमा चुरोटको बट्टा देख्नुपर्छ, घरबाट बाहिर फ्याँकिदिन्छु ।’
सकलेन जे बुझ्छ, त्यसले मलाई पनि पुग्छ । अब ऊ हरेक दिन केवल एउटा चुरोट चर्पीमा गएर फुक्छ ।
म सकलेन भन्दा तीन बर्ष कान्छो छु । सकलेनलाई त धम्की आएको हो, मलाई भने उहाँले पक्का घरबाट बाहिर निकाल्नुहुनेछ ।
गृहप्रवेश गर्नुपूर्व म गुसलखाना जान्छु र हृदयदेखि ‘रोदन’ गर्छु । प्रार्थना शेष गरेपछि चङ्गा हुन्छु र माथिल्लो तलामा पुग्छु ।
अब हजुरहरूलाई जिज्ञासा लाग्ला, म प्रार्थना गर्न गुसलखाना नै किन पुग्छु ? प्रार्थना जहाँ पनि गर्न सकिन्छ । समस्या के छ भने, अन्यत्र मेरो पुकार हृदयदेखि निस्कँदैन, केके फत्तुर हाँक्न थालिहाल्छु, क्रमभङ्ग भइहाल्छ । घर फर्कने बाटोमा कोसिस गरेको छु:
‘अल्लाह ! … मैले एउटा चुरोट तानेको … चुरोटको एउटा सिंगो डिब्बा मेरो खल्तीमा छ … कसैले देखे के होला ! … कहीं सकलेनले नै लिएर कुलेलम नठोक्ला … म केही सोच्न सकिरहेको छैन … अब्बाले षष्ठी कक्षामा नै पिउन सुरु गरेको … अल्लाह ! … चुरोटेको साढे तेह्र आनाले मेरो खल्तीको मुख ताकेको छ … पाठशालामा मिठाइवालालाई पनि छ आना चढाउनु छ । … मिठाइ उसको खान लायक छैन तर म किन खान्छु ? पैसा न कौडी बजारबजार दौडी … अल्लाह मियाँ ! मलाई क्षमा गरिदिनुहोस् … जुन चुरोट अब्बा फुक्छन् त्यसको आनन्द छुट्टै किसिमको हुन्छ … पान खाएर चुरोट पिउनुको आनन्द दुईगुना हुन्छ … अल्लाह मियाँ … नवमी श्रेणीमा गएपछि चुरोटको बट्टा नै खरिद गर्ने हो … कतिञ्जेल चुरोटे ‘भोलि नगद आज उधारो’ मान्ला … अम्मी जानको थैली … अल्लाह मियाँ ! मलाई माफ गरिदिनुहोस् ।’
म गुसलखानाको ढोका बन्द गरेर, श्वास मन्द गरेर शनै:शनै: अल्लाहलाई गुनासो पोख्नु थाल्छु । उल्लेखनीय के छ भने, अपवित्र गुसलखानामा मैले गरेका प्रत्येक प्रार्थनाले फल दिएका छन् । बुवाहजुरलाई अनारकाण्ड सुइँको छैन । मैले चुरोट उडाएको पत्तो पाउने उहाँको साथीलाई त्यही साँझ कलकत्ता निस्कनुपर्छ, जहाँबाट उनी अब कहिल्यै फर्कनुपर्दैन र बुवाहजुरलाई मेरो धुवाँकाण्ड बताउने कष्ट गर्नुपर्दैन ।
मलाई गुसलखानाको श्रद्धामा अब एकरत्ति सन्देह छैन । जब म दशमी श्रेणीको परीक्षाको समयमा प्रार्थना गर्छु, त्यो पनि खेर जाँदैन । ज्यामितिको प्रश्नपत्र छ । म गुसलखाना जान्छु, साध्यको सिंगो पुस्तक च्यात्छु र आफ्नो साथमा राख्छु र अल्लाह भाक्छु, ‘परीक्षकको आँखा पर्नुहुँदैन ।’ जे सोचेको त्यही हुन्छ । च्यातेका पाना बेन्चमुनि राखेर आनन्दले नक्कल गर्न थाल्छु ।
एकपटक होइन, पच्चीसौं पटकसम्म जोखिमपूर्ण परिस्थितिमा गुसलखानाको प्रार्थनाले मलाई जोगाएको छ । सकलेनलाई ज्ञात छ, तर ऊ यो सब मेरो अन्धविश्वास मात्रै हो भन्छ । मेरो अनुभवले बताएको छ, गुसलखानाको निष्ठा खेर गएको छैन र त्यसबाट मिल्ने फल कहिल्यै अबेर भएको छैन । अन्यत्र ठाउँमा गरेका प्रार्थना भने जहिले निष्फल भएका छन् … किन ? … जसको जवाफ म दिन सक्दैन, न सक्छ मेरो दाजु सकलेन … आशा गर्छु, हजुरहरूमध्ये एकजना महोदय सक्नुहुन्छ ।
म हजुरहरूलाई केही वर्ष पहिलेको एउटा रोचक घटना सुनाउँछु । मेरो काकाको विवाह हुन्छ । उनको र हाम्रो घर आसपासमा हुनाले जति रौनक उनको घरमा छ, त्यति नै हाम्रो घरमा, अझ ज्यादा नै, किनभने केटी खलक हाम्रो घरमा बसेको छ । उनीहरूसँग ‘जुहारी’ खेल्नु निकै रमाइलो प्रतीत हुन्छ । हाम्रो एकजना नातेदारको सुपुत्री, जो हाम्रो घरमा तीन, हुनसक्छ चार, पटक आएकी छिन्, लाई देखेर मेरो मन हुरुक्क किन हुन्छ भने, ऊ टक्क रोकिएको एउटा सुन्दर हाँसो हो … होइन । आफ्नो भावनालाई अभिव्यक्त गर्न उचित शब्दको अभाव देख्छु । अलिकति मात्र उसलाई जिस्काइदिने हो भने, उसको सम्पूर्ण देह, मानौं केवल स्पर्शले, मा हाँसोको फोहोरा फुट्नेछ … उसको ओठको कम्पनमा र उसको आँखाको कुनामा । उसको डण्डीफोरको धड्कनमा । उसको मस्तकको कृत्रिम रेखामा । उसको कानको लोतीमा सदा मुस्कानको कोपिला लागेको हुन्छ, फक्रिने समय बाँकी राखेको हुन्छ … म उसलाई जिस्काउने संकल्प गर्छु ।
अल्लाहको कृपा, सिंढीहरूको बत्ती खराब हुन्छ । बत्तीको फ्यूज उड्यो वा अर्थोक भयो, अन्ततः जे भो राम्रो भो, किनभने ऊ पटकपटक कतै तल आउँछे र कहिले माथि उक्लिन्छे । म अन्धकारमा गुसलखानाको छेउमा उभिन्छु . . . ऊ माथि जाओस् अथवा तल आओस् मसँग उसको मुडभेट जरुर हुन्छ र म उसको बाटो हेर्छु ।
कोही तल ओर्लंदै गरेको पदचाप गुञ्जन्छ . . . टक . . . टक . . . टक . . . म सचेत हुन्छु . . . अब्बा हुनुहुन्थ्यो । उहाँको मुखारविन्दबाट आयो आँप गयो झटारो, ‘को हँ ? . . . ‘ म डरको बर्को ओढ्छु, ‘हजुर, अब्बास ।’ . . . अन्धकारमा उहाँको एक हातको ताली मेरो अनुहारमा बज्रप्रहार हुन्छ, ‘तँलाई लाज लाग्दैन । यहाँ लुकीछिपी केटी जिस्काउँछ । सुरैया अघि भर्खर आफ्नी एक सखीलाई तेरो वीरताको गाथा सुनाउँदै थिई । यदि आफ्नी आमाको कान भरिदिई भने तँलाई थाहा छ के हुन्छ ? . . . कहीं नभएको बेइज्जती ! आफ्नो इज्जतको मतलब नभएपनि आफूभन्दा ठूलाबडाको इज्जतको ख्याल त राख्नुपर्छ . . . अनि सुरैयाकी आमाले सुरैयाको लागि आजै तँलाई मागेकी छ . . . तेरो शिरमा आकाश खसोस्, तेरो पाउमा गोमनले डसोस् ।’
टक टक टक . . . कसैको तल आगमन हुँदै गरेको पदध्वनि कानमा ठोक्किनु आइपुग्छ । अब्बाले आठौं आश्चर्यलाग्दो मेरो अनुहारमा आफ्नो अर्को एक हस्तलिखित अखबार छपाउनुहुन्छ र भुनभुनाउँदै रमाना हुनुहुन्छ ।
टक टक टक . . . सुरैया हुन्छे . . . मेरो समीपैबाट गुज्रिएर एक मुस्कानको लागि एकक्षण रोकिएर क्रोधले राँकिएर सचेत गराउँदै जान्छे, ‘सावधान ! अबदेखि मलाई जिस्काएमा । अम्मीलाई पोल लाइदिन्छु ।’
म झनै सचेत हुन्छु । मस्तिष्क-मन्थन गर्छु तर अमृतको अत्तोपत्तो छैन । त्यसै बेला गुसलखानाको द्वार तुतुरीता, ‘जापानी’मा ‘कुखुरी काँ’ र सकलेन बाहिर प्रकट हुन्छ ।
मैले उसलाई सवालको आँखीझ्यालबाट चियाएको हुन्छु, ‘तिमी यहाँ के उपति गर्दै छौ ?’
उसले आफ्नो अधरका एकजोडी जवाफी पर्दा खोल्छ, ‘म प्रार्थना गरिरहेको थिएँ ।’
म आश्चर्यचकित हुन्छु, ‘केको लागि ?’
मुस्कुराउँदै रहस्यको झाडु लगाउँछ, ‘मैले सुरैयालाई जिस्काएको हो ।’
भगवान कसम ! जवानीमै दाँत झरिजानु, हजुरहरूलाई झुठो बोलेको भए मरिजानु, यो गुसलखानामा मागेको हरेक कुरा पूरा हुन्छ ।
(ग्राफिक स्टोरी: ‘ब्लु ज्याकल’ (नीलस्याल) को ‘ओसीटीए’बाट उद्धृत, ग्राफिक फिक्सन डिजाइनर: अक्षय सेठी)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।