बाल साहित्यमा निकै सफल पात्र विन्नी द पूका बारेमा तपाईंलाई कत्तिको थाहा छ ? एए मिल्नेको यो सानो उपन्यासले बालबालिकालाई मात्र मुग्ध बनाएन, फिल्म निर्मातालाई पनि उत्तिकै लोभ्यायो । त्यसैले त हलिउडको डिज्ने कम्पनीले बनाएको फिल्मले अहिलेसम्म ८० बिलियन डलर कमाएर दिएको छ ।

अहिले यो भालुको कथा प्रकाशन भएको ९९ वर्ष पूरा भएका कारण आजबाट हरकोहीले यसको मूलकथामा उपकथा जोड्नेदेखि लिएर नयाँ नयाँ प्रयोग गर्न पाउने भएको छ ।

प्रतिलिपि अधिकारले दिएको प्रकाशन भएको ९९ वर्षसम्म लेखक वा तिनको परिवारले पाउने अधिकार समाप्त भएकाले आजबाट हरकोहीले यसलाई प्रकाशन गर्ने तथा मूलकथामा छेडछाड गर्न सकिने भएको छ । अब कसैले पनि लेखकको कम्पनी वा लेखकका प्राधिकारसँग अनुमति लिइरहनु पर्ने छैन ।

अमेरिकी प्रतिलिपि अधिकारको नियमले नै यो अधिकार खुला गरेको छ ।

यो सूचीमा १९२३ मा प्रकाशन भएको अस्ट्रियाका लेखक फेलिक्स साल्टेनको बाम्बी, अ लाइफ इन द उड्स पनि परेको छ ।

ए ए मिल्नेको यो पुस्तकमा विनी नामक भालु मह भनेपछि हुरूक्क हुन्छ र मह खान अनेक तिगडम लगाइरहन्छ। यस अवधिमा उसले बेहोर्ने सजिला अप्ठेराले बालबालिकालाई मनोरञ्जन दिलाइरहन्छ ।

१९२६ मा यो उपन्यास इएच सेफर्डको चित्रकारितासहित अब यो पब्लिक डोमेनमा उपलब्ध रहेको ड्युक विश्वविद्यालयस्थित सेन्टर फर द स्टडी अफ द पब्लिक डोमेनकी जेनिफर जेनकिनले बताएकी छन् । उनले अब जसले पनि यो उपन्यासमाथि म्युजिकल बनाउने, फिल्म वा यो उपन्यासको प्रिक्वेल वा सिक्वेल लेख्न सक्ने र त्यसका लागि कसैसँग अनुमति लिनु नपर्ने जनाएकी छन् ।

तर यसको अर्थ तुरून्तै तपाईंले यो उपन्यासका पात्रमाथि छेडछाड गर्न सक्नु हुन्छ नै भन्ने पनि छैन । बेलायती कपिराइट भने अझै पाँच वर्षसम्म कायम रहने छ । बेलायतमा १९२८ मा यो पहिलो पटक प्रकाशित भएको थियो । सन् २००१ मा हलिउडको डिज्ने कम्पनीले यो भालुमाथि कपिराइट दाबी गरेको थियो अझै २५ वर्षसम्म यसमाथि अरूले आँखा लगाउन पाउने छैन, चाहे त्यो टेलिभिजनका लागि उत्पादन गरिने कुनै शृंखला होस् या फिल्म । त्यसमाथि उसले विनी द पुको ट्रेडमार्क नै हासिल गरेको छ ।

यसै आधारमा डिज्नेले यो भालुबाट अहिलेसम्म ८० बिलियन डलर कमाइसकेको छ । जापानको पोकेमोन र हेल्लो किटीपछि सबैभन्दा बढी कमाउने पात्र यही भालु बन्न पुगेको छ ।

डिज्ने कम्पनीले आफ्नो भएभरको बल प्रयोग गरेर पब्लिक डोमेनमा जान लागेको मिक्की माउसलाई त निजी नै बनाइसक्यो । सन् १९२८ मा बनाइएको एनिमेटेड छोटो फिल्ममा मिक्की माउस पहिलो पटक देखिएको थियो । यस हिसाबले २०२८ पछि यो मुसोमाथि जसले जे पनि बनाउन वा लेख्न पाउँछ तर जसै यसको मिति गुज्रन लागेको थियो, डिज्ने कम्पनीले अमेरिकी कानुन निर्माताहरूलाई प्रभावमा पारेर दुई पटकसम्म यसको म्याद बढाएका छन् ।

एक पटक म्याद गुज्रिसकेपछि यसलाई पुनः कायम गर्न अदालतले अस्वीकार गर्छ । प्रख्यात जासुसी उपन्यासकार अर्थर कानन डोयलको पात्र सर्लक होम्सका पुस्तकहरू सन् २०१६ मा पब्लिक डोमेनमा पुगेपछि डोयलको सम्पत्तिको हेरचाह गर्ने कम्पनीले दुई पटक ती उपन्यासको अधिकार आफूमातहत आउनुपर्ने दाबी गर्दै मुद्दा हालेको थियो तर बेलायती अदालतले दुवै पटक हराएको थियो ।

खासगरी प्रमुख उपन्यासकारका मूल अधिकारी कोही पनि नरहेको अवस्थामा कम्पनीले निजी फाइदाका लागि सर्वसाधारणको फाइदा बिर्सिएको भन्दै मुद्दामा हराइदिएको थियो ।

यसैगरी टार्जन तथा जोरोजस्ता पात्रहरू पनि पब्लिक डोमेनमा प्रवेश गरेपछि तिनलाई पुनः आफ्नो अधिकारमा लिन धेरै प्रयास गरिएका थिए तर अदालतले अस्वीकार गरेको थियो ।

पुनः अधिकारका लागि लडाईं नचलोस् पनि किन ? विनी द पुको अधिकारका लागि मिल्नेको सम्पत्ति रेखदेख गरिरहेको कम्पनीले हरेक वर्ष डिज्नेबाट ३० लाख डलर रोयल्टी लिने गर्छ । सन् २००१ मा गरिएको एउटा सम्झौताले त लामो अवधिका लागि भन्दै ३५ करोड डलर तिरेको थियो ।

मिल्नेका छोरा क्रिस्टोफर रबिन मिल्ने पाँच वर्षअघि बिते । अहिले उनकी पत्नी लिज्लीले आफ्ना ससुराको सो सम्पत्तिको अधिकार पाउनुपर्ने दाबी गरिरहेकी छन् । डिज्ने र मिल्ने इस्टेट दुई वटाको सम्झौताबाट मिल्नेकी बुहारीले सुको नपाएपछि यो झगडा अझ बढ्ने देखिन्छ ।

क्रिस्टोफर बित्नुअघि उनले मिल्ने प्रोपर्टिजको आधा हिस्सा रोयल लिटररी फन्डलाई बेचेका थिए । यो फन्डले आपतमा परेका लेखक कलाकारको समूहलाई सहयोग गर्ने गर्छ । बाँकीको आधा हिस्सा भने द क्लेयर मिल्ने ट्रस्टलाई दिएका छन् । क्रिस्टोफरकी छोरी क्लेयरलाई सेरेब्रल पाल्सी नामक निको नहुने रोग लागेको थियो र उनको २०१२ मा निधन भइसकेको छ । यस्तो अवस्थामा जे जति व्यापार हुन्छ, लेखकका परिवारले केही पनि फाइदा नपाउने तर उनीहरूको नाउँमा चलाइएका पसल सञ्चालकले भने कुस्त फाइदा लिने भएकाले कपिराइट उद्योग बन्न पुगेको छ ।

कपिराइट मुक्त भएका उपन्यास तथा सिर्जनाको हालत के भएको छ त ?
प्रख्यात उपन्यासहरूको कपिराइटमुक्तिका तीन उदाहरण देखिएका छन् । जेन अस्टिनको १८१३ मा निस्किएको उपन्यासले दर्जनौँ रिमेक उपन्यास सिर्जना गरेका छन् । सन् २००९ मा एउटा प्यारोडी उपन्यास प्राइड एन्ड प्रेजुडिस एन्ड जोम्बिज् निस्केको थियो । त्यो उपन्यास क्लासिक उपन्यासको रिमेकको अनुपम उदाहरण बन्न पुग्यो । अहिले यही कुरा अनेकन् उपन्यासको सन्दर्भमा लागू भइरहेको छ ।

यसैगरी ब्राम स्टकरको १८९७ मा निस्किएको उपन्यास १९६२ मा कपिराइटमुक्त हुँदा त्यसका अनेकन् सिक्वल र प्रिक्वेलहरू बजारमा आएका छन् र ती निकै सफल पनि देखिएका छन् ।