परिच्छेद- ४

राजकुमारी मेरी तल झर्दा राजकुमार भासिली र उसको छोरो बैठक कोठामा आइसकेका थिए र, सानी राजकुमारी र कुमारी बुर्येनसँग बात मार्दै थिए । जब मेरी गह्रौँ पाइला उठाएर कुर्कुच्चाले टेक्दै भित्र पसी उसको स्वागतमा दुवै भद्र पुरुष र कुमारी बुर्येन खडा भए । सानी राजकुमारीले उनीतिर सङ्केत गर्दै उनीहरूलाई भनी, “लौ मेरी आइन्‌ ।” राजकुमारी मेरीले पनि तिनीहरू सबैलाई ध्यानपूर्वक हेरी । उसले राजकुमार भासिलीको अनुहार उसलाई देख्नासाथ गम्भीर भएको देखी, तर एकैछिन्‌ । अनि तुरुन्तै मुस्कान छरियो त्यहाँ । सानी राजकुमारी पनि खूब उत्सुकतासँग मेरीको उपस्थितिले आगन्तुकहरूमा पारेको प्रभाव याद गरिरहेकी थिई । उसले मेरी कोठाभित्र पस्दा कुमारी बुर्येनको रिवनसहितको सुन्दर मुहार र अनातोलमाथि केन्द्रित प्रफुल्ल नजर देखी । तर मेरीले भने अनातोललाई देखिन, सिवाय ऊतिरै बढिरहेको कुनै सुन्दर चम्किलो विशाल चीज । पहिले राजकुमार भासिली अगि बढेको थियो । उसले उसका हातमाथि निहुरिएको उसको उन्नत निधारमा चुम्बन गरिदिई । उसले उसका प्रश्नको उत्तर दिनुको सट्टा उसलाई राम्ररी सम्झिई । त्यसपछि अनातोल उसको सामुन्ने आयो । उसले उसलाई पनि देख्न सकिन । उसलाई आफ्नो हात बलियोसँग समाउँदै गरेको अर्को नरम हातको अनुभव मात्रै भयो । अनि उसले सिरानमा सुगन्धी तेल मगमगाइरहेको हल्का खैरो केस भएको गोरो निधारमा आफ्ना ओठले स्पर्श गरी । त्यसपछि, जब उसले अनातोललाई देखी, उसको सुनदरता देखेर चकित भई । पीठ अलिकति भित्र पस्ने गरी चौडा छाती तानेर एउटा खुट्टा अलिअलि नचाउँदै दाहिने हातको बुढी औँलो पोसाकको एउटा बटनसम्म पुर्याएर उसको सामुन्ने उभिएको अनातोलले शिर अलिकति निहुराएर हँसिलो नजरले उसलाई हेच्यो, केही नबोली र स्पष्टतः उसका बारेमा केही सोच्तै नसोचे जस्तै गरेर । त्यसो त अनातोल त्यस्तो शीधमति भएको मान्छै थिएन । न ऊ बातचितमा त्यस्तो स्फूर्त र बोलक्कडै थियो (तर उसको एउटा त्यस्तो विशेषता थियो, खास गरी समाजमा मूल्यवान्‌ मानिने विशेषता । त्यो थियो मौनता- आफूलाई पूर्ण नियन्त्रणमा राखेर कत्ति पनि बिचलित वा असजिलो भएको नदेखाई सामान्य रहन सक्ने मौनता । वस्तुतः यदि कुनै आत्मविश्वास नभएको मान्छे प्रथम परिचयमा पनि मौन रहन सक्छ भने, त्यस्तो मौनताका कारण झल्किन पुग्ने अमर्यादाप्रतिको चेतनालाई पनि वास्ता गर्दैन र उसलाई कुनै उपयुक्त संवाद व्यक्त गर्न पाए हुन्थ्यो भन्ने चिन्ता पनि हुँदैन भने निश्चय नै त्यसको प्रभाव नराम्रै हुन्छ । तर अनातोल केही बोलेन । बरु एउटा खुट्टो हल्लाइ रह्यो र राजकुमारीका केशको निरीक्षण गर्यो । यसबाट स्पष्ट हुन्थ्यो- ऊ यसरी मौन रहेर धेरै लामो समयसम्म पनि बस्न सक्थ्यो । यस्तो लाग्थ्यो- ऊ मनमनमा ‘यदि कसैलाई यस्तो मौनता असहज लाग्छ भने उही बोलोस्‌; मलाई कुनै खाँचो छैन’ भनिरहेको थियो । त्यसबाहेक महिलाहरूप्रतिको व्यवहारमा अनातोलको यस्तो तरिका थियो, जसले उनीहरूमा खास गरी उत्सुकता, आश्चर्य र प्रेमसम्म पैदा गराउन अभिप्रेरित गर्थ्यो- स्वयम्‌लाई के के न उत्कृष्ट भएको देखाउने अभिमानपूर्ण सर्तकता । उसको हेराइबाट उसले उनीहरूलाई “म तपाईंलाई चिन्छु, चिन्छु तर तपाईंलाई किन दु:ख दिइरहनु ? तपाईं कति खुसी हुनुहुन्छ !” भनेजस्तै आभास हुन्थ्यो । तर यथार्थमा महिलाहरूसँग भेट हुँदा ऊ कुनै कुरा सोच्तैनथ्यो । ऊ सायद, सामान्यतया: त्यस्तो सोच्ने चिन्तनशील मान्छे नै थिएन, मात्रै उसको हेराइ र व्यवहारले त्यस्तो प्रभाव पार्थ्यो । राजकुमारीलाई भने यसको प्रष्टै अनुभव भयो । त्यसैले उसको प्रति चाख उब्जाउने अपेक्षासम्म नभएको देखाउने मनसाय प्रदर्शित गर्दै ऊ पनि उसका बाबुतर्फ फर्किई । कैँराको विषय त साधारण नै थियो तर खास गरी राजकुमारी लिजाका कोमल ओठमुनिका सुकिला दन्तहार तथा मीठो स्वरका कारण बातचित जीवन्त भयो । उसले पनि राजकुमार भासिलीलाई त्यस्तै ख्याल-ठट्टाको भावमा ग्रहण गरी, जस्तो कि प्राय: रौसे र फर्स्याइला मान्छेहरू गर्ने गर्छन्‌, जसमा त्यसरी सम्बोधित व्यक्ति र आफू स्वयम्बीच लामो समयदेखि रहिआएको निजी खालको हँसिलो-रसिलो सम्झना साँचिएको भएजस्तै, यद्यपि यहाँ भने त्यस्तो खासै केही थिएन । राजकुमार भासिलीले पनि उस्तै भाव देखायो । सानी राजकुमारीले अनातोललाई पनि त्यतै आकर्षित गराई संस्मरणका ती रमाइला कुराहरूतर्फ, जुन वस्तुतः कहिल्यै भएका थिएनन्‌ यद्यपि उसलाई उसले त्यति राम्ररी चिनेकी थिइन । कुमारी बुर्येनले पनि त्यसमा भाग लिई र राजकुमारी मेरीले पनि विगतका ती रमाइला संस्मरणमा आफूले पनि आनन्दपूर्वक हिस्सा लिने अवसर पाएको महसुस गरी ।

सानी राजकुमारीले राजकुमार भासिलीलाई भनी, बल्ल हामी सबैलाई कम्तीमा तपाईंका सान्निध्यको फाइदा प्राप्त हुने भयो । तर यो अन्नेतीकहाँ गरिने स्वागतजस्तो पनि छैन, जहाँबाट तपाईं हिँडिहाल्नु हुन्थ्यो: याद छ तपाईंलाई ?

“ओहो ! तर तपाईं भने अन्नेतिले झैँ राजनीतिका कुरा नगर्नु होला !”

“अनि हाम्रो सानो टि टेवलको ?”

“हवस्‌ ।”

“तपाईं किन होला, कहिल्यै अन्नेतीकहाँ नजानु भएक्रो ?” सुग्गी राजकुमारीले अनातोललाई सोधी ।

“मलाई थाहा छ !” उसले धूर्त नजर लगाउँदै भनी,” तपाईंको दाइ हिप्पोलाइतले मलाई तपाईंको हालखबर बताउनु भएको थियो” अनि उसले ऊतिर औँलो ठड्याएर भनी, “मैले तपाईंले पेरिसमा गरेका काम कुरा पनि सुनेकी छु ।”

“अनि के हिप्पोलाइतले तिमीलाई भनेन ?” राजकुमार भासीलीले आफ्नो छोरातिर फर्केएर सोध्यो । उसै बेला उसले -सुग्गी राजकुमारीका पाखुरामा समात्यो, मानौँ उसलाई बलैले भेट्टाएको होस्‌ र ऊ त्यहाँबाट भागी,हाल्ने स्थितिमा रहेकि होस्‌ । के उसले तिमीलाई ऊ स्वयम्‌ प्रिय राजकुमारीलाई सम्झेर हुरुक्कै भैरहेको थियौ । बताएन ? उसले उसलाई कसरी निकालेर पठाई भन्ने, बताएन ? अहो, राजकुमारी मेरी त आइमाईहरूमध्येमा हीरा नै हुन्‌ !” राजकुमारी सरीलर फर्किएर उसले थप्यो ।

जब पेरिसको प्रसङ्ग आयो, कुमारी बुर्येनले पनि आफ्ना तर्फबाट विगतका सम्झनाहरूको त्यस स्वाभाविक प्रवाहमा मिसिने अवसर छोपी । उसले त्यस अवसरमा अनातोलले पेरिस छोडेको धेरै भयो र उसलाई पेरिस सहर कस्तो लाग्यो भन्ने प्रश्न सोधी । उसले पनि उत्तिकै उत्साहसँग, उसलाई हेरेर मुस्कानसहित उसको जन्मभूमिबारे कुरा गर्न थाल्यो । भर्खरकी सुन्दरी बुर्येनलाई देखेपछि अनातोलले बाल्ड हिल पनि उसका लागि दिक्कलाग्दो ठाउँ हुन नसक्ने निष्कर्षमा पुग्यो, ‘नराम्री हुँदै होइन’ उसले उसलाई निरीक्षण गर्दै सोच्यो । नराम्री हुदै होइन उसको सङ्गिनी ! हाम्रो विवाह भएपछि भएपछि पनि मेरीले उसलाई आफूसँगै ल्याए हुन्थ्यो । सुग्गी बुर्येन कति राम्री !”

उता बुढाराजकुमारले भने आफ्नो अध्ययन कक्षमा निधार औफूले के गर्नु भन्ने सोच्तै लामो समय लगाएर लुगा लगाए । यी पाहुनाको आगमनले बुढालार्इ रिस उठीरहेको थियो । राजकुमार भासिली र उसको छोरो के हुन्‌ र मेरा लागि ? भासिली एउटा खोक्रो टपर्टुइयाँ हो भने उसको छोरो निस्सन्देह त्यसैको दुरुस्त नमुना,’ उनी आफैँसँग भुत्भुताए । उनीहरूको आगमनले खास गरी उनलाई रिस उठनुको कारण के थियो भने त्यसले उसका मनमा लामो समयदेखि अनिर्णित रूपमा एउटा प्रश्न उब्जाइदिएको थियो । त्यो प्रश्न उनी सधैँ टुङ्गो लगाउन चाहन्थे तर फेरि सधैँ आफैँलाई ठागिरहन्थे । प्रश्न थियो- ‘ऊ आफ्नी छोरीसँग छुट्टिन र विवाह गरिदिएर उसलाई उनका पतिसँग सुम्पिन तयार छ कि छैन ?” बुढा राजकुमार यो प्रश्न कहिल्यै सोझै आफूलाई सोध्दैनथे किनभने अगिबाटै उनलाई थाहा थियो, त्यसको उत्तर निष्पक्ष भएर दिनु पर्ने हुन्थ्यो र त्यसो गर्दा न्याय र उनको भ्रावना मात्र होइन जीवनको अस्तित्वको बीचमा द्वन्द्व पर्दथ्यो । राजकुमारी मेरीविना उनको जीवन, यद्यपि उनी उसलाई त्यति महत्त्व नदिएजस्तो गर्थे, कल्पनाबाहिरको कुरा थियो । किन गर्नु पर्छ उसले विवाह ?’ उनले सोचे, “निश्चित रूपले दु:ख पाउन ।” जस्तो राजकुमारी लिजाकै अवस्था हेरौँ न, उसको विवाह आन्द्रेइसँग भयो । त्यत्तिको
पति पाउन आजकल गाह्रै पर्छ । तर के क सन्तुष्ट छ आफ्नो अवस्थासँग ? अर्को कुरा मेरीलाई त प्रेमिकाका रूपमा कसले पो विवाह गर्ला र ? एकदमै साधारण, अझ एकलकाटे ! उसलाई त केवल उसको सम्पत्ति र सम्बन्धको लागि मात्र लिएर जाने छन्‌ । के यो संसारमा अविवाहित बसेका महिलाईहरू कुनै पनि सुखी छैनन्‌ ?’

राजकुमार बोल्कोन्स्कीले लुगा लगाउन्जेल यस्तै सोचिरहे । तैपनि यसरी सधैँ टारिरहेको यस प्रश्नले अबिलम्व निर्णयको माग गरिरहेको थियौ, राजकुमारी भासिलीले यही प्रयोजनका निमित्त छोरो लिएर आएको थियो र आज होस्‌ वा भोलि, उसले यसको जवाफ पक्कै माग्नेछ । उसको कुल-घरान र सामाजिक हैसियतमा कुनै खोट छैन । “हो, उसलाई इन्कार गर्नु ‘पर्ने त्यस्तो आधार कें नै छ र ?’ उतले आफूले आफैँसँग भने । ‘तर उ मेरीको लायक भने हुनै पर्छ र हामी यही कुरा हेर्ने छौँ,” उनले सुन्ने गरेरै भने ।

“हामी यही कुरा हेर्ने छौँ,” उनले चिच्याउँदै थपे ।

त्यसपछि उनी बैठक कोठामा प्रवेश गरे, सधैँ जस्तै सतर्क पाइलामा बसेका मान्छेहरूलाई वल्लोदेखि पल्लो छेउसम्म मिलिक-मिलिक हेर्दै उनले सुग्गी राजकुमारीको बस्त्रमा भएको परिवर्तन थाहा पाए, कुमारी बुर्येतको रिबन, राजकुमारी मेरीको असुहाउँदो केसविन्यास, कुमारी बुर्येन र अनातोलको मुस्कान र त्यस स्वाभाविक भलाकुसारीका बीच आफ्नी छोरीको एकान्तप्रियता सबै देखे । “आफूलाई मूर्खजस्तै पारिराखेकी छ” झर्किएको अनुहारले छोरीतिर हेर्दै उनले सोचे । “मेरी छोरी कति निर्लज्ज छ र अनातोलले कस्तो बेवास्ता गरिरहेको छ !”

उनी सोझै राजकुमार भासिली भएका ठाउँमा गए ।

“के छ ? के छ हालखबर ? तपाईंलाई भेट्न पाउँदा खुसी लाग्यो !”

“दूरतामै मित्रता फुल्छ” भासिलीले आत्मविश्वासपूर्ण, छिटो बोली र परिचित स्वरमा भन्यो । “यो मेरो माइलो छोरो हो । कृपया उसलाई आफ्नो स्नेह प्रदान गरेर आफ्नो मित्र बनाउनु होस्‌ ।”

राजकुमार बोल्कोन्स्कीले अनातोलको परीक्षण गरे ।

“सुन्दर तन्नेरी ! सुन्दर तन्नेरी !” उनले भने र आफ्नो गाला अगि सार्दै थापे,” ल मलाई चुम्बन देऊ !”

अनातोलले बुढो मान्छेलाई म्वाइँ खायो र शान्त भएर हेरिरह्यो, बुढाबाट कुनै सनक प्रदर्शन हुने बाटौ हेर्दै उसका बाबुले भनेझैँ ।

राजकुमार बोल्कोन्स्की आफ्नो साविक ठाउँ- सोफाको कुनामा बसे र भासिलीका निमित्त आफ्नै छेउमा एउटा कुर्सी तानेर त्यहाँ बस्ने सङ्केत गरे । त्यसपछि राजनीतिक गतिविधिबारे र अन्य समाचारबारे प्रश्न सोध्न थाले । देख्दा त उनी भासिलीका कुरा ध्यानपूर्वक सुनिरहेका जस्तै देखिन्थे तर उनले राजकुमारी मेरीलाई नै मिलिक-मिलिक हेरिरहेका थिए ।

” ए, त्यसो भए उनीहरू पोटस्ड्यामबाट लेखिरहेकै छन्‌ ?” उनि अचानक उठे र भासिलीकै अन्तिम शब्दहरू दोहोर्याउँदै भने । र, उनी छोरी भएको ठाउँमा गए ।

“के यही हो तिमीले पाहुनाका निमित्त गरेको ?” उनले भने । “राम्रो, एकदमै राम्रो ! तिमीले यस्तो लेग पाहुनाकै लागि भनेर बनाएको होला । म पनि पाहुनाकै अगाडि भन्छु, मेरो अनुमतिविना भविष्यमा यस्तो केश सजावट कहिल्यै बदल्न पाउँदिनौँ ।”

“त्यो त मेरो: गल्ती हो, बुबा हजूर,” सुग्गी राजकुमारीले गाला राताराता पार्दै आफ्नो बचाउको लागि भनी ।

“तिमीलाई जस्तो मन लाग्छ, त्यस्तै गर,” राजकुमार बोल्कोन्स्कीले बुहारीलाई झुकेर अभिवादन गर्दै भने,” तर उसले आफूलाई यस्तो मूर्ख तुल्याउन मिल्दैन । त्यसै पनि
उ पहिलेदेखि नै सिधासादा छे !”

उनी छोरीतिर हेर्दै नहेरी फेरि बसे, जब कि मेरी भने रुन लागिसकेकी थिई ।

“तर त्यसका ठीक विपरीत त्यो केशविन्यास राजकुमारीलाई मजाले सुहाएको छ,” राजकुमार भासिलीले भन्यो ।

“अँ, तन्नेरी राजकुमार, के हो तिम्रो नाम ?” बोल्कोन्स्कीले अनातोलतिर फर्किँदै भने,” यता आङ यता, हामी बात मारौँ र परिचय गरौँ ।”

“अब भने तमासा सुरु हुने भो, उही मुस्कानसाथ बुढा बोल्कोन्स्कीका छेउमा बस्तै अनातोलले सोच्यो ।

“अँ त, प्रिय तन्नेरी, मैले सुनेको- तिम्रो शिक्षा आर्जन विदेशबाट भएको रे, तिम्रो बुबा र मैले जस्तो डेकोनबाट पढ्न लेख्न सिकेको होइन रे । ल मलाई भन त, तिमी घोडसेनामा छौ ?” बुढाले अनातोललाई प्रयोजनपूर्वक राम्ररी निरीक्षण गर्दै भने ।

“होइन, अहिले मेरो सरुवा केन्द्रमै भएको छ,” अनातोलले मुस्किलले हाँसो रोक्दै भन्यो ।

“छ, राम्रो ! त्यसो त तिमी जार र आफ्नो देशको सेवा गर्न चाहन्छौ ? यतिखेर लडाइँको समय हो । यस्तो तगडा जवानले सेवा गर्नै पर्छ । के तिमी मोर्चामा जानेवाला छौँ?”

“होइन, राजकुमार ! हाम्रो पल्टन मोर्चामै छ तर म भने अड्किएँ । म किन अड्किएको रे बुबा ?” अनातोलले हाँस्दै आफ्नो बाबुतिर फर्किएर भन्यो ।

“क्या काइदाको सैनिक ! म्या काइदाको !” “म केमा अड्केको रे बुबा ? भन्दो रहेछ । हा ! हा ! हा !” राजकुमार बोल्कोन्स्की मज्जाले हाँसे र अनातोल झन्‌ जोडले हाँस्यो । बीचैमा अचानक आँखीभौँ खुम्च्याएर बोल्कोन्स्कीले भने, “तिमी यहाँबाट जान सक्छौ !”

हाँस्तै-हाँस्तै अनातोल महिलाहरू भएकै तिर फर्कियो ।

“त्यसो भए तपाईंले छोरालाई विदेश पठाएर शिक्षा दिलाउनु भयो, होइन त भासिली ?” बुढा राजकुमारले भासिलीलाई भने ।

“हो, मैले, उसका निमित्त हुनेसम्म गरेको छु र म तपाईंलाई विश्वास दिलाउन चाहन्छु कि उनीहरूकहाँ हाम्रोभन्दा धेरै राम्रो शिक्षा पद्धति छ ।”

“झैँ आजकल प्रत्येक कुरा भिन्न छन्‌, प्रत्येक कुरा बदलिएका छन्‌ । यो युवक काइदाको रहेछ, काइदाको ! अँ, आउनोस्‌ हामी उता जाऔँ,” उनले राजकुमार भासिलीलाई पाखुरामा समातेर आफ्नो अध्ययनकक्षमा लगे । उनीहरू जसै दुई जना मात्र भए राजकुमार भासिलीले बुढा राजकुमारसामु आफ्नो आशा र इच्छा दुवै उद्घोष गर्यो ।

“के तपाईं मलाई यस विषयमा बाधक हुने छु भन्ने ठान्नु हुन्छ ? के तपाईं म राजकुमारीसँग छुट्टिन सक्तिनँ भन्ठान्नु हुन्छ ?,” बुढो राजकुमार रिसाएर कराए । “कस्तो सोच होला ! म यसका निमित्त तयार छु, भोलि नै भने पनि ! मात्रै तपाईंलाई के बताउँ भने म आफ्नो हुने वाला ज्वाइँलाई राम्ररी चिन्न चाहन्छु । तपाईंलाई मेरो सिद्धान्त थाह छ नि- सबथोक खुल्ला, सबथोक स्पष्ट ! म भोलि नै उसलाई सोध्नेछु तपाईंकै सामुन्ने ! यदि मेरी छोरी तयार हुन्छे भने अनातोल यहीँ बस्न सक्ने छ । ऊ यहाँ रहन सक्ने छ र म विचार गर्नेछु,” बुढा राजकुमारले नाक बजाए । “मेरीले विवाह गरोस्‌, मलाई केही फरक पर्दैन !” बुढा त्यस्तै जोड्ले चिच्याए, जस्तो जोडसँग आफ्नो छोरासँग छुट्दा चिच्याएका थिए ।

“म तपार्इँलार्इ स्पष्टसँग भन्छु,” राजकुमार भासिलीले एउटा चालबाज मान्छेले एउटा तीक्ष्ण-नजर भएको साथीसँग धुर्त्याइँ गर्नुको व्यर्थता थाहा पाएर कुरा गरेजस्तै स्वरमा भन्यो । “तपाईंलाई थाहै छ । तपाईं मान्छेलाई देख्नासाथ चिन्नु हुन्छ । अनातोल त्यस्तो प्रतिभाशाली छैन तर ऊ एउटा इमानदार र असल हृदय भएको केटो हो, एउटा साह्रै असल पुत्र र आफन्त ।”

“ठीक छ ! ठीक छ ! हामी विचार गर्ने छौँ !”

जस्तो कि सधैँ हुने गर्छ, यदि महिलाहरूले पुरुष समाजको अनुपस्थितिमा आफूले मात्र केही निश्चित समयसम्म जीवन चलाउनु पर्यो भने उनीहरू जीवनलाई निरर्थक अनुभूति गर्न थाल्छन्‌, त्यही भयो अनातोलको उपस्थितिका कारण राजकुमार बोल्कोन्स्की परिवारका तीनै महिलाका भावनामा । अनातोललाई देखेपछि अचानक उनीहरूका तर्क, अनुभूति र अवलोकन क्षमतामा दशौँ गुणा वृद्धि भयो, अँध्यारोमा गइरहेका बेला अचानक बत्ती बल्दा नयाँ प्रकाश र नयाँ मूल्य थाहा पाएजस्तै ।

राजकुमारी मेरी आफ्नो अनुहार तथा केशविन्यासबाट बेखबर भई । त्यो मान्छेको सुन्दर र निष्कपट मुहार देखेपछि, सम्भवत: उसको हुने वाला पतिकै सम्झनाले उस्‌को सारा ध्यान केन्द्रित गर्यो । उसका नजरमा ऊ दयालु, साहसी, दृढ प्रतिज्ञ र महान्‌ पुरुषको रूपमा देखियो । ऊ यस कुरामा पूर्णत: विश्वस्त थिई । उसका कल्पनामा भविष्यका हजारौँ पारिवारिक सपनाहरू लगातार उदाउन थाले । उसले तिनीहरूलाई पन्छाउने र लुकाइ राख्ने प्रयास गरी ।

“तर म प्रति कहीँ बढी नै उदासीन त देखिइनँ ?” राजकुमारीले सोची । “म अव्यक्तै रहन चाहन्छु किनभने हृदयको गहिराइमा ऊसँग ज्यादै निकट भइसकेकी छु तर मैले ऊप्रति कातो भाग राख्छु भन्ने त थाहा हुँदैन त्यसकारण मैले उसलाई मन पराउँदिन भन्ने ठान्न पनि सक्छ ।”

राजकुमारी मेरीले त्यसपछि आफ्नो त्यो नयाँ अतिथिसँग आत्मीय हुने प्रयास गरी, तर सफल हुन सकिन । “विचरी केटी, राक्षसनीजस्तै कुरूप रहिछ !” अनातोल यस्तो सोच्थ्यो ।

अर्कातिर कुमारी बुर्येन पनि अनातोलको आगमनले ठुलो उत्साहको वातावरण ल्याएको महसुस गर्दै थिई । हुन त ऊ फक्रिँदो उमेरकी सुन्दरी थिई तर उसको त कुनै “जमिनदारी थियो न त्यस्तो कुनै गतिलो नाता । त्यसैले उसको कुनै हैसियत थिएन तर ऊ मेरीसँग टाँस्सिएर राजकुमार बोल्कोन्स्कीका लागि किताब/अखबार पढिदिने सेवक मात्रै भएर जीवन बिताउने पक्षमा पनि थिइन । त्यसैले फ्रान्सेली सुन्दरी कुमारी बुर्येन धेरै दिनदेखि कुनै रसियाली राजकुमार आउला, जसले लुगासम्म लाउन नजान्ने कुनै विशेषता नभएकी सिधा-सादा राजकुमारी मेरीका छेउमा उसको श्रेष्ठता थाहा पाउला र उसलाई लैजाला भन्ने प्रतीक्षा गरिरहेकी थिई र अपेक्षा गरेजस्तै अन्तत: एउटा सुन्दर रसियाली राजकुमार आइपुगेको पनि थियो । कुमारी बुर्येनले आफ्नी एउटी अन्टीबाट एउटा कथा सुनेकी थिई तर त्यसको अन्त्य आफैले बनाएकी थिई, जसलाई ऊ चाखपूर्वक आफैँ एक्लै दोहोर्याइरन्थी । कथा एउटी केटीका बारेमा थियो, जसलाई ललाइफकाई एउटा मान्छेले आफ्नो वासनापूर्तिको लागि प्रयोग गर्छ । यो थाहा पाएर दु:खी भएकी आमाले उसलाई विवाहै नभई त्यसरी आफ्नो इज्जत सुम्पिदिएकोमा गाली गर्छे । कुमारी बुर्येन आफ्नै कल्पनामा यो कथा त्यस कामी पुरुषलाई सुनाउँथी, जसले उसैलाई त्यसो गरेको हुन्छ । अनि ऊ स्वयम्‌ दु:खी भएर रुन्थी । तर यहाँ साँच्चैको रसियाली राजकुमार आएको थियो र ऊ उसले आफूलाई लैजाओस्‌ र त्यतिबेलै उसकी दु:खी आमा आओस्‌ र उसको त्यसैसँग विवाह भैदेओस्‌ भन्ने कामना गरिरहेकी थिई । यसरी अनातोलसँग पेरिसका बारेमा कुरा गर्दाखेरि नै कुमारी बुर्येनका मनमा उसको भविष्यले स्वयम्‌ आकार लिइसकेको थियो । वास्तवमा यो कुनै परिस्थितिको आँकलन थिएन, जसले उसको भावनालाई यसरी निर्देशित गरिरहेको होस्‌ (ऊ त्यसो त एकै क्षण पनि आफूले के गर्नु पर्ला भनेर विचार गर्ने गर्दिनथी), तर यो सबै उसका भावनामा पहिल्यैदेखि सुपरिचित थियो र आज अचानक अनातोल आइपुग्दा सबै कुरा आपसमा जोडिन पुगेका थिए । त्यसैले ऊ अनातोललाई प्रस्न पार्न इच्छुक भई र सकेसम्म त्यसो गर्न प्रयासरत पनि रही ।

उता सुग्गी राजकुमारी पनि जसरी लडाइँको बुढो घोडा बिगुल बजेको सुन्दा सतर्क हुन्छ, त्यसै गरी आफ्नो वास्तविकतालाई बिर्सिएर अचेत रूपमै हाउभाउ र कटाक्षको सुपरिचित अवस्थामा उत्रिई यद्यपि त्यसमा उसको परिस्थितिजत्य रमाइलोको स्वाभाविक रहरसिवाय कुनै खास आशय थिएन ।

यद्यपि अनातोल प्राय: महिलामण्डलीमा आफूलाई महिलाहरूको आकर्षणले दिक्क पारिएको मान्छेजस्तै भान पार्ने गर्थ्यो, तर यी तीन महिलामाथि आफ्नो व्यक्तित्वको प्रभाव देखेर भने उसको आडम्बर चुलियो । त्यसबाहेक ऊ कुमारी बुर्येनको सुँदरता र उत्तेजक हाउभाउका कारण यस्तो पशुवत्‌ आकर्षण महसुस गरिरहेको थियो कि त्यसले उसलाई ठूलो आकस्मिकता तथा सक्रियतासाथ मुठ्ठीमा पारेर कुनै ज्यादै अशिष्ट र अभद्र कार्य गरायो भने अस्वाभाविक हुने थिएन ।

चिया खाइसकेपछि सबै जना बैठक कोठामा प्रवेश गरे र राजकुमारी मेरीलाई पियानो बजाउने अनुरोध भयो । अनातोल त्यसैबेला आफूलाई महान्‌ ठातेर मुस्कुराउँदै राजकुमारी मेरी र कुमारी बुर्येनका छेउमा आएर पियानोमा कूहिनो टेकायो र मेरीलाई एकटकले हेर्न थाल्यो । राजकुमारी मेरीलाई उसको दृष्टि कष्टकर तर आनन्ददायक महसुस भयो । उसको प्रिय सङ्गीतले उसलाई अत्यन्त घनिष्ठ काव्य जगतमा पुर्यायो र आफ्ना मुहारमा अनुभूत त्यो एकटक नजरले त्यो जगत्लाई झन्‌ बढी काव्यमय तुल्यायो तर विशेष गरेर अनातोलको अभिव्यक्ति, यद्यपि उसका आँखा मेरीमाथि टाँसिएका थिए तर कुमारी बुर्येनका चपल खुट्टाहरूतर्फ सङ्केत गरिरहेका थिए, जसलाई उसका आफ्नै हातले पियानोमुनि छोइरहेका थिए । कुमारी बुर्येन पनि राजकुमारी मेरीलाई नै हेरिरहेकी थिई त्यसैले उसले देखी कि ती आँखामा पनि डरलाग्दो आनन्द र आशा छचल्किरहेका थिए । त्यो पनि उसका निमित्त नौ थियो । “मलाई धेरै माया गर्छे यो बुर्येत !” राजकुमारी मेरीले सोची, “म कस्तो सुखी छु आज अनि म कति सुखी हुने थिएँ यस्तो साथीसँग र यस्तो, श्रीमानसँग ! “श्रीमान्‌”, के यो सम्भव होला ?” उसले सोची । तर उसका नजरमा हेर्ने आँट गरिन यद्यपि उसका नजरले आफूलाई हेरिरहेको महसुस गरिरही ।

बेलुका, खाना खाएपछि, जब सबै आराम गर्न जाने तरखरमा थिए, अनातोलले राजकुमारी मेरीका हात चुम्बन गरिदियो । मेरीले अनातोलमा यस्तो साहस कसरी आयो बुझ्न सकिन तर उसले अनातोलका सुन्दर अनुहारमा सोझै हेरिरही । मेरीसँगबाट फर्किएर अनातोल कुमारी बुर्येन भएका ठाउँमा गयो र उसका हात पनि चुम्बन गर्यो । (त्यसो त त्यो चलनमा नभएको कुरा थियो तर उसले त्यो ज्यादै स्वाभाविक पाराले गर्यो र ज्यादै सहजसँग !) कुमारी बुर्येनको मुहार लाजले रातो भयो र उसले काँतर नजरले राजकुमारीलाई, हेरी ! – –

“कस्तो विनयशीलता !” राजकुमारी मेरीले सोची । “के अमेली (कुमारी बुर्येत) ले म ईर्ष्यालु हुन्छु र उसको मप्रतिको पवित्र स्नेह, लगाव, सद्भावना र भक्तिको कुनै महत्त्व सम्झिन्तँ भन्ने सोच्न सम्भव छ र ? ऊ पनि बुर्येन भएको ठाउँमा गई र उसले पनि उसलाई गहिरो चुम्बन गरी । अनालोलले सुग्गी राजकुमारीको हात पनि चुम्बन गर्न गयो ।”

“अहँ ! अहँ !” जब तपाईंका पिताले तपाईंको चालचलन राम्रो हुन थाल्यो भनेर मलाई पत्रमा लेख्नु होला तब मात्र मेरो हात चुम्न पाउनु हुनेछ । त्यतिञ्जेलसम्म हुँदैन !” उसले भनी ! अनि मुसुमुसु हाँस्दै र औँला ठड्याउँदै ऊ बाहिर निस्किई ।