आजबाट हामी शृङ्खलाबद्ध रूपमा बहुचर्चित पुस्तक द ट्राभल्स अफ मार्को पोलो प्रस्तुत गर्दैछौँ । यसलाइ युवा साहित्य सर्जक चिन्तन नेपालले अनुवाद गर्नु भएको हो । यो अनुवाद कस्तो लाग्यो, प्रतिक्रिया दिनु भए, हाम्रा अनुवादक मित्रलाइ अझ बढी हौसला हुने थियो ।

यो यात्रा वृत्तान्त संसारका उम्दा नियात्राका रूपमा गनिन्छ । यसमा जीवनका उतारचढावसँगै अद्भुत अनुभवहरूको दृश्यात्मक वर्णन छ, जसले पाठकलाइ बाँधिरहन्छ ।

‘द ट्राभल्स् अफ मार्को पोलो’को भूमिका
खण्ड: १

छब्बिस बर्षको लामो अन्तरालपछि मार्को पोलो, उनका बुवा निकोलो र काका माफियो कुब्लाइ खाँको भव्य दरबारबाट आफ्नो पुर्ख्यौली सहर भेनिस फर्के । उनीहरूको पहिरन भद्दा र थोत्रो देखिन्थ्यो । अनुहारले अटुट संघर्ष, लामो सहनशीलता र पीडाको प्रमाण प्रस्तुत गरिरहेको थियो । लगभग उनीहरूले आफ्नो भाषाको लवज बिर्सिसकेका थिए । उनीहरूको दृष्टिकोण पनि विदेशीको जस्तो लाग्थ्यो । साथै उनीहरूको सम्पूर्ण आचरण नै Tartars (मंगोलियन)को जस्तो देखिन्थ्यो ।

त्यो छब्बिस वर्षको अवधिमा भेनिस पनि धेरै परिवर्तन भैसकेको थियो । यसैले मार्को पोलो, निकोलो र माफियोलाई आफ्नो पुरानो घर भेट्टाउन निक्कै कठिनाइ झेल्नुपर्‍यो । आखिर उनीहरू यत्रो समयपछि पर्सियाको मरुभूमि, पामिरको भयानक उकालो, रहस्यमय तिब्बत, कुब्लाइ खाँको आलोकित दरबार, चीन, मंगोलिया, बर्मा, सियाम, सुमात्रा, जाभा, एडम्सको पैतालाको भूमि सिलोन, मिथक र सिङ्गमरमरको भूमि भारत लगायत अनेक ठाउँ पार गरी आफ्नो घर फर्केका थिए ।

घरबाट निस्केको छब्बिस वर्षसम्म पनि घर नफर्केपछि यतिञ्जेल उनीहरू जिउँदै छन् भनेर कसैले सोचेको थिएन । यसैले पनि ती तीन जना शंकास्पद यात्रीहरूलाई उनीहरूका नातेदारहरूले सुरुमा घरमा पस्न अनुमति दिएनन् । धेरैबेरको सोधपुछपश्चात् उनीहरूले आफ्नो सामानसहित घरमा पस्न अनुमति पाए । भेनिसको थुप्रै ठाउँबाट उनीहरूका इष्टमित्र जम्मा भएर लामो छलफल गरिसकेपछि ती तीन यात्री, जो आजसम्म मरेकाहरूको सङ्ख्यामा गनिएका थिए, उनीहरू ठग नभई उही पोलो बन्धु थिए भन्ने कुरा विश्वास दिलाउन सफल भए । यो खबर द्रुततर सबैतिर फैलियो । र केही दिनपछि महान् खुसियालीको आयोजना गरियो । यो समय सन् 1295 को थियो ।

मार्को पोलो, उनका बाबु र काकाको यो कथा सर्वप्रथम John Baptist (जोन बप्टिस्ट) ले सम्पादन गरेका थिए, जो उनीहरूको समुद्रयात्रा र पैदलयात्राको वृत्तान्त संकलन गर्दैगर्दा पटकपटक भन्थे- यो कथा मैले सानै उमेरदेखि महान् दूत Hasparo Malpiero (हस्पारो मालपिएरो) बाट सुन्दै आएको थिएँ, जसको घर सेन्ट मेरिनामा थियो । र ऊ यो कथा आफ्नै बुवा र हजुरबुवा एवं छिमेकका अन्य बुढापाकाबाट सुनेको बताउँथ्यो ।

मार्को पोलो कसरी चीन पुगे ?

चिन्तन नेपाल

मार्को पोलो 1254 मा भेनिसमा जन्मेका थिए । उनका पिता निकोलो र काका माफियो त्यस समय भेनिसका सम्भ्रान्त मध्येका थिए । मार्को पोलोका अर्का काका पनि थिए, जो कन्स्ट्यान्टिनोपल (तत्कालीन रोमन साम्राज्यको राजधानी, अर्थात् हालको इस्तानबुल) र क्रिमियामा व्यापार गर्दथे । निकोलो र माफियोको पूर्वतिरको पहिलो यात्रा 1260 मा सुरु भएको थियो । निकोलो र माफियो सर्वप्रथम कन्स्ट्यान्टिनोपल पुगे र त्यहाँबाट क्रिमियातिरको व्यापारिक यात्रा तय गरे । यहाँबाट पनि उनीहरू नाफा कमाउने ध्याउन्नमा सुदूर उत्तर भोल्गा (रसियामा पर्ने एक नदी) र पूर्व बोखारासम्म पुगे । अब भने उनीहरू कुब्ला खाँको क्षेत्रभित्र पसिसकेका थिए । कुब्ला खाँ महान् मंगोल सम्राट थिए । कुब्ला खाँको प्रान्तमा प्रवेश गरेपछि खाँको राजदूतसँग उनीहरूको भेट भयो र राजदूतले आप्रवासी अतिथिहरूसँग भेट गर्न भनी राजालाई रवाना पठाए ।

आफ्नो पुस्तक ‘अ डिस्क्रिप्सन अफ वर्ल्ड’ को भूमिकामा मार्को पोलोले आफ्नो बुवा र काकाको आगमनमा कुब्ला खाँ असाध्यै प्रशन्न भएको कुरा उल्लेख गरेका छन् ।

कुब्ला खाँले युरोपबाट आएका ती अतिथिहरूले आफ्नो जन्मभूमि र क्रिश्चियानिटीका बारेमा सुनाएका सन्देशहरू ग्रहण गरे र छिट्टै उनीहरूलाई आफ्नो राजदूत बनाई शान्तिको सन्देशसहित पोपसँग पठाउने निर्णय गरे (पोप : क्याथोलिक चर्चका प्रमुख) । साथै सय जना प्रशिक्षित धार्मिक प्रचारकलाई रोमबाट चीनमा आएर क्रिश्चियानिटी प्रचार गर्न अनुरोधसमेत पठाए । यसको पछाडि केवल धार्मिक उद्देश्य मात्र थिएन; बरु यसको पृष्ठभूमिमा कुब्ला खाँको अर्कै रणनीति मौजुद थियो । जुन हामी कुब्ला खाँको कथामा पस्यौँ भने छिट्टै बुझ्नेछौँ ।

1269 मा जब पोलो दाजुभाइ राजदूतको रूपमा पोपकहाँ भेट्न भनी भेनिस पुगे, तत्कालीन पोप Clement IV (क्लिमेन्ट चतुर्थ) जो अंग्रेज दार्शनिक Roger Bacon (रोजर बेकन) का पिँढी (उत्तराधिकारी) को रूपमा चिनिन्थे, उनी एक वर्षअघि नै दिवंगत भइसकेका थिए । अर्को कुनै पोप चयन भइसकेका थिएनन् । निकोलोकी श्रीमती पनि निकोलोको अनुपस्थितिमा मरिसकेको थिइन् । तर निकोलोका पुत्र मार्को पोलो भने त्यसबेला 15 वर्षका ठिटो थिए ।

निकोलो र उनका भाइ माफियो भेनिसमा दुई वर्ष बसे । पोपका लागि कुब्ला खाँको नयाँ राजदूत नियुक्त नभइसकेकाले उनीहरू पुन: कुब्ला खाँकै देशमा जाने र उनीहरूको असफलताको कारण बताउने निधो गरे । वास्तवमा उनीहरू पुनः कुब्ला खाँकै दरबारमा जाने निर्णय गर्नुमा नि:सन्देह उनीहरूको व्यापारिक स्वार्थ पनि जोडिएको थियो । र उनीहरूले यो यात्रामा आफ्नो पुत्र मार्को पोलोलाई पनि साथमै लिएर गएका थिए ।

एक्कर (इजरायलको उत्तरपश्चिमी भाग) पुगिसकेपछि उनीहरूले एकजना पादरी, जो इङ्गल्याण्डका एडवार्डसँगै एउटा धर्मयुद्धको मिसनमा संलग्न थिए, बाट एउटा चिट्ठी प्राप्त गरे । जसमा उनीहरूको मिसनको असफलताको कारण उल्लेख गरिएको थियो । त्यही चिट्ठी बोकेर मार्को, निकोलो र माफियो पूर्वतर्फको लामो सफरमा अगाडि बढे । यद्यपि उनीहरू धेरै टाढा नपुग्दै उही पादरीका दूतहरूले उनीहरूलाई पछ्याउँदै आए, र ती पादरी अब पोपको रूपमा चयन भएकाले उनीहरूलाई एक्करमै फिर्ता आउन अनुरोध गरे ।

कुब्ला खाँको मिसन पूरा गर्न उनीहरू एकर (Acre) फर्के । तर नवनियुक्त पोप जर्ज दशम (George X) ले दुईजना मात्र डोमिनिकन फ्रायर (धर्म प्रचारक भिक्षु) कुब्ला खाँलाई पठाउन सक्षम भए । पोल्याण्डको सिमानादेखि यल्लो सि सम्म, साइबेरियन स्टेप्सदेखि भारतसम्म दुईजना भिक्षुहरूले धार्मिक जीवन समर्पित गरे । सम्पूर्ण मंगोलिया, चीन, तिब्बत, साइबेरिया, तुर्किस्तान, पर्सिया र टर्कीका लागि केवल दुईजना साधुहरू खटाइए । तर उनीहरू आफ्नो मिसनमा त्यति उत्साहित देखिँदैनथे । न त उनीहरू लामो यात्राको कठिनाइसँग नै परिचित थिए । यसर्थ चाँडै नै उनीहरूले आफ्नो साहस गुमाए र आफ्नो यात्राको पहिलो चरणमै बिरामी भएको बहाना गरे । यसरी उनीहरूले भेनिसका बासिन्दाहरूसँग क्षमा मागे र आफ्नो घर फर्के ।

अब भने मार्को, निकोलो र माफियो तीनजना मात्र पर्सियाको डरलाग्दो मरूभूमि हुँदै अगाडि बढे । यो त्यही ठाउँ थियो, जहाँ मार्को पोलो एउटा खतरनाक ज्वरोबाट ग्रस्त भए । यद्यपि उनीहरूले आफ्नो यात्राको आनन्द लिँदै चिसो र सुगन्धित हावापानीको क्षेत्र बाल्ख (हालको उत्तरी अफगानिस्तान) पुगे । यहाँ उनीहरूले पर्सियामा सङ्क्रमण भएको बिमारबाट निको हुन र त्यहाँका आदिवासी भाषाहरूको अध्ययन गर्न एक वर्ष व्यतीत गरे ।

त्यो बिन्दू, जहाँबाट उनीहरूले पामिरको पठारमा उक्लन सुरु गरेका थिए, उक्त पठार संसारकै उच्च पठार मानिन्छ । उक्त पठार पछि युरोपभरि चिनियो र यसको नाम ‘पामिर’ पनि मार्कोले वर्णन नगरूञ्जेल कतै परिचित थिएन । साथै पूर्वका दुई ठाउँ ‘केसगर’ र ‘यर्कान्ड’ सयौँ वर्षसम्म पनि हाम्रो ज्ञानबाट अछुतो रहे । र, यसका केही भागहरूको अहिले पनि नक्साङ्कन भइसकेको छैन । गोबि मरूभूमि उबेलाको रोम साम्राज्य र कुब्लाई खाँको साम्राज्यको बीचमा अवस्थित छ ।

अनौठो कुरा चाहिँ, मार्को पोलोले व्याख्या गरेको कठिनाइ र आतंक एवम् कुब्लाइ खाँको साम्राज्यको सिमानामा बस्ने सम्प्रदायहरूका अनौठा अन्धविश्वासहरूको बारेमा स्वतन्त्र रूपमा एक चिनियाँ तीर्थयात्रीले मार्को पोलोले भन्दा छ सय वर्ष अगाडि व्याख्या गरेका थिए रे !

अँ, हामी मार्को पोलो ज्वरोबाट ग्रस्त भएपछि बाल्खमा एक वर्ष बिताएको घटनासम्म पुगेका थियौँ । जब उनीहरू कुब्लाई खाँको राजधानीनजिक पुगे, कुब्लाई खाँलाई त्यसको जानकारी पठाइयो । चालिस दिनसम्म कुब्लाई खाँको अदालतमा सोधपुछ र अनुसन्धानको लागि राखिएपछि उनीहरूलाई आरामको लागि आरामदायी कक्षमा पठाइयो ।

यसरी भेनिसबाट चीनसम्म पुगुञ्जेल साढे तीन वर्षसम्म यात्रा गरी ती राजदूतहरू कुब्लाई खाँको अदालतमा उपस्थित भए र सम्राटको सामुन्ने विनम्रतापूर्वक झुके । सयजना प्रशिक्षित मान्छेहरूको सट्टामा उनीहरूको साथमा नयाँ पोपले पठाएका केही चिठीपत्रहरू, पवित्र भूमिबाट ल्याइएको अलिकति पवित्र तेल र मार्को पोलो मात्र थिए । त्यस समय मार्को पोलो एक्काइस वर्षका थिए; र त्यो समय थियो 1275 को ।

एसियाका सम्राट : कुब्लाई खाँ

कुब्लाई खाँ 1216 मा जन्मेका थिए । यसकारण मार्को पोलो उनको दरबारमा पुग्दा कुब्लाई खाँ 59 वर्षका थिए । कुब्लाईको यौवनावस्था युद्धमै बितेको थियो; जीवनको मध्यकाल विजयको महत्वाकांक्षी योजनामै समर्पित गरे; र दाजुको मृत्यु भएपछि चीन विस्तारको क्रममा आफैँलाई सम्राट घोषित गरे । उनी त्यसबेला 44 वर्षका थिए । त्यसपछि आफ्नो आर्मीको पुनर्संगठनपछि चीन विस्तारको क्रम यथावत् राखे । त्यही समयमा उनले आफ्नो अदालत स्थापना र भविष्यको राजधानीको लागि एक स्थान चयन गरे, जुन अहिले पेकिङको नामले चिनिन्छ । यो मार्को पोलो कुब्लाई खाँको दरबारमा आउनुभन्दा 10 /11 वर्षअघि थियो ।

कुब्लाई खाँ

कुब्लाई खाँको साम्राज्यको शान र जगमगाहट यसै पनि उच्च थियो । पतनशील Sung वंशको पराजयसँगै, 50 वर्षको युद्धपछि मंगोलहरू पूर्वी दुनियाँका भगवान् भए । त्यो निर्णायक युद्ध मार्को पोलो चीन आएको एक वर्षपछि भएको थियो । तथापि कुब्लाई खाँले विजय गर्नु अगाडि र मंगोल वंश स्थापना गर्नु अगाडि नै सोङ वंशको पतनका लक्षणहरू स्पष्टै थिए । अशान्ति र विद्रोह फैलिरहेको थियो । सामाजिक बिखण्डन र असजिलोपन सबैतिर स्पष्ट थिए । त्यो खालको अधोगमन उचाइको उत्कर्ष बिन्दूबाट सुरु भएको थियो । युरोपको पश्चिमको समुद्र र भारत, बर्मा, सियामको दक्षिणको आर्कटिक भूमि विस्तारै अलग हुँदै थियो ।

तर कसरी कुब्लाई यति विशाल भूमिका भगवान् भए? हामी एक क्षण विगतमा फर्कौँ र मंगोल साम्राज्यको उदयको अध्ययन गरौँ, जसले एकपटक सिङ्गो संसारलाई दखल दिएको थियो ।

मंगोल वंश कुब्लाईका हजुरबुवा जेंगिज खाँबाट सुरु भएको थियो, जो 1162 मा जन्मेका थिए । जेंगिज त्यसबेला एउटा मामुली मंगोल सम्प्रदायका अगुवाका छोरा थिए । जेँगिज नै वास्तविक विजेता थिए, न कि कुब्लाई खाँ । आफ्नो कार्यकाल समाप्त हुनुभन्दा अघि जेँगिज खाँ निपर नदी (Dnieper) किनारसम्म उनको आर्मीको विजय देख्न चाहान्थे । तर उनको युरोपसम्मको विस्तार भने अप्रत्याशित उपलब्धि थियो, जो केवल एउटा सानो षड्यन्त्रको परिणाम थियो ।

तेह्र वर्षको उमेरदेखि नै जेँगिज खाँले युद्ध लड्न सुरु गरेका थिए । उनको बाबुको निधनपछि उनी मंगोल सम्प्रदायका प्रमुख बनाइए । एक समय टार्टारहरूले मंगोलसँग सम्बन्ध त्याग गर्ने मनसाय बनाएका थिए, जो मंगोलप्रति गहिरो निष्ठा राख्दथे ।

तर त्यो नाबालक अगुवा (जेँगिज)ले आफ्नी आमाको सहयोगमा आफ्ना वरपरका सबै छिमेकी सम्प्रदाय (शत्रुहरू) लाई वशमा गर्न सफल भयो । ऊ 44 वर्षको थियो, जतिबेला ऊ आफूलाई पर्याप्त शक्तिशाली र अरूलाई कमजोर महसुस गर्न एवं आफूलाई त्यस महान साम्राज्यको शासक घोषित गर्न सफल भयो । आफ्ना सबै शत्रुहरूलाई मंगोलको स्टेप्समा परास्त गरिसकेपछि उसले आफ्नो ध्यान टर्टार (मंगोल) वंशलाई उत्तरी चीनमा फैलाउनतिर केन्द्रित गर्‍यो ।

स-साना युद्धहरू हुँदै गए । अब भने जेँगिज चीनको ग्रेटवाल भित्र प्रवेश गरिसकेका थिए । उनले आफ्नो सम्पूर्ण सेनालाई तीन ठूला आर्मीहरूमा विभाजित गरिदिए । पहिलो आर्मी, जो जेँगिजका तीन छोराहरूले कमाण्ड गरेका थिए, दक्षिणतिर बढे । दोस्रो आर्मी, जो जेँगिजका चार भाइहरूले कमाण्ड गरेका थिए, पूर्वतर्फ बढ्यो । र तेस्रो आर्मी, जो जेँगिज र उनको कान्छो छोरा Tule ले कमाण्ड गरिरहेका थिए, दक्षिणपूर्वी दिशातर्फ बढे । उनीहरू पूरै सफल भए र एउटा विशाल क्षेत्र उनीहरूको साम्राज्यमा गाभियो ।

जेँगिज खाँ अब सन्तुष्ट भए र उनलाई अब साम्राज्य विस्तारको कुनै जरुरत थिएन । यसैले जेँगिजले Mohammed the Shah लाई एक प्रस्तावना पठाए- “तँलाई मेरो अभिवादन ! मैले तेरो सम्पूर्ण शक्ति र साम्राज्य बुझिसकेँ । म तँलाई मेरो पुत्र सम्झन्छु । तँलाई पक्कै थाहा होला, मैले चीन र यसको उत्तरका सबै तुर्किस राज्यहरू जितेँ । तँलाई यो पनि थाहा होला कि मेरो देश लडाकुहरूको खजाना हो । चाँदीको खानी हो । यसैले म अरू कुनै भूमिको लोभ गर्दिनँ । बरू मलाई लाग्छ कि तँ र हाम्रो बिचमा व्यापारको विस्तार गरौँ ।”

उक्त प्रस्ताव स्विकृत भयो तर यसले एक दुर्भाग्य निम्त्याउनेवाला थियो । पहिलो व्यापार मिसनमा गएका जेँगिजका व्यापारीहरूलाई च्युत गरियो र सबै व्यापारीहरूलाई एक मुर्ख शासकद्वारा मारियो । तब जेँगिजले केही दूतहरू पठाए, जसले ती अपराधी शासकलाई आत्मसमर्पण गर्न सन्देश लिएर गए । तर यसको प्रत्युत्तरस्वरूप मुख्य राजदूतको टाउको मुडियो र अन्यलाई दाह्रीविहिन बनाएर जेँगिजतिरै फर्काइदिए । यही अपमानले पुनः युद्ध निम्त्यायो ।

फेरि पनि जेँगिजले आफ्नो सेना तीन ठूला आर्मीमा विभाजित गरिदिए । जहाँ जेँगिज पुन: आफ्नो कान्छो छोरा Tule (कुब्लाई खाँका पिता) सँगैको कमाण्डमा अगाडि बढे । उक्त महान सेना पूरै महादेशभरि फैलियो र तिब्बतका कठिन पर्वतहरू हुँदै अगाडि बढ्यो ।

तास्केन्त र बोखरा आत्मसमर्पण गर्न बाध्य भयो । यसपछि जेङ्गिजले मोहम्मदलाई सबैतिरबाट घेर्ने योजना बनाए । मान्छेहरू कत्लेआम हुँदै गए । सहरहरू जल्न थाले र हिंसाले उग्र रूप देखाउन थाल्यो । यसप्रकार जेँगिजले विश्वको इतिहासमै यस्तो अद्‌भूत किसिमले आर्मी संयन्त्र परिचालन गरे ।

हेरात सहरले 80,000 लडाकुको एक फौँजको 6 महिनासम्म निरन्तर सामना गर्‍यो । अन्ततः उक्त सहर पनि जेँगिजको कब्जामा आयो र त्यहाँको पूरै जनसङ्ख्या अर्थात् पन्ध्र लाख भन्दा बढी मान्छेको हत्या गरियो । अब भने जेँगिजको प्रतिशोध पूर्ण भयो र उनी सन्तुष्ट भएर मंगोलिया फर्किन तयार भए ।

1222 को वसन्तमा मंगोलहरू जर्जिया प्रवेश गरे। र त्यस समय रुसीहरूले पनि मंगोल क्याम्पबाट गएका दूतहरूको हत्या गरेर सोही गल्ती दोहोर्‍याए । तब मंगोलहरूले जवाफ दिए- “हामीले तिमीहरूको कुनै हानी पुर्‍याएका थिएनौँ । तर तिमीहरूबाटै युद्धको चाहाना छ भने हामी तयार छौँ ।”

यसरी पुन: एकपटक ती साम्राज्यवादीहरूले त्यस देश (Great Bulgaria) माथि आतंक मच्चाए । जेँगिज खाँले यसप्रकार पोल्याण्डको सिमानासम्म आफ्नो साम्राज्य विस्तार गरे ।

अब युरोपमाथिको दोस्रो आक्रमण दश वर्ष पछि फेरि भयो । तर त्यतिबेला जेँगिज खाँ मरिसकेका थिए र उनको छोरा सम्राट बनेका थिए । Pope Innocent IV ले त्यस असाधारण शत्रु गिरोहको विरुद्धमा सम्पूर्ण युरोपेली राज्यहरू जुर्मुराएर क्रिश्चियनहरूको सर्वनाश हुनबाट बचाउनको लागि सबैलाई उक्साए ।

अस्ट्रेलिया र क्यारिन्थियाका राजकुमार एवं बोहेमियाका राजासमेत आफ्नो शक्ति एकीकृत गरी मंगोलको विरुद्ध खनिए । यसरी मंगोल सम्राट (जेँगिजका पुत्र) परास्त भए र युरोप बच्न सफल भयो ।

ती Pope Innocent IV ले उक्त विजय आफ्नै भएकोले केही साधुहरूलाई दूतको रूपमा क्रिश्चियन विश्वासलाई अंगाल्नू भन्ने सन्देशसहित मंगोलहरूकहाँ पठाए । ती अनुरोधको जवाफस्वरूप जेँगिजको एक नातिले जवाफ दिए- “तपाईंहरूको पत्रले हामीलाई क्रिश्चियन बन्नुपर्ने सल्लाह बोकेका छन् । तर हामीले त्यसो गर्नुपर्ने कारण खासै म देख्दिनँ । सायद तपाईं पश्चिमका बासिन्दाहरूले आफूलाई मात्र क्रिश्चियन भन्ठान्नुहुन्छ । र अरूलाई तुच्छ ठान्नुहुन्छ । तर इश्वरले कसमाथि कृपा राख्नुहुन्छ भन्ने कुरा तपाईं कसरी जान्नुहुन्छ? हामी भगवान्‌‌को पूजा गर्छौँ र उनको शक्तिमा संसार पूर्वदेखि पश्चिमसम्म हायलकायल हुन्छ । तर हामी भगवान्‌को त्यस शक्तिको सहाराबिना के गर्न सक्छौँ?”

फेरि, त्यसको केही वर्षपछि तीनजना साधुहरू, जो आफू पोपका राजदूत भएको बताउँथे, मंगोल क्षेत्रमा प्रवेश गरे र ती राजकुमारहरूमध्ये एकलाई आफ्ना कुरा सुनिदिन अनुरोध गरे । उनीहरू मंगोलहरूलाई विगतको बदमासीको पश्चाताप गर्न अनुरोध गर्न पर्याप्त थिए । खासगरी, क्रिश्चियन मानिसहरूलाई मारेको गल्तीको लागि ।

फेरि एकपटक 1253 मा, William de Rubroquis पोपको राजदूतको रूपमा पूर्वतिर प्रस्थान गरे । उनले Mangu Khan (जेँगिज खाँको नाति एवं कुब्लाई खाँको दाजु) बाट एक जवाफ भेटे- “मूर्खहरू एकमात्र इश्वर छन् भन्दछन् । तर बुद्धिमान धेरै भगवान् छन् भन्ने मान्दछन् ।”

त्यसबेला उक्त देश Mangu Khan द्वारा शासित थियो । Mangu को 1259 मा निधन भयो र यसपछि उनैका भाई, कुब्लाई खाँले सिँहासन सम्भाले । कुब्लाई खाँ नै मंगोल वंशका संस्थापक मानिन्छन् किनकि कुब्लाईले नै सोङ (Song dynasty) वंशलाई विधिवत् रूपमा पराजित गरेका थिए ।

अब हामी पुन: 1275 मै फर्कौँ जतिबेला मार्को, निकोलो र माफियो कुब्लाई खाँको दरबारमा उपस्थित भएर
सयजना प्रशिक्षित धर्म प्रचारकहरू ल्याउनुपर्ने सट्टामा Pope द्वारा पठाइएका केही चिठीपत्रहरू, पवित्र भूमिबाट ल्याइएको अलिकति पवित्र तेलसहित उपस्थित थिए । उनीहरूलाई देखेर कुब्लाई प्रभावित भए । र क्रिश्चियानिटि अबलम्बन गर्ने निहुँमा पोपलाई सयजना प्रशिक्षित धर्मप्रचारक पठाउन भनी अनुरोध गरे । नि:सन्देह उनको दिमागमा अर्कै योजना मौजुद थियो । यसको बाबजुद पोपले सयजना प्रचारकको सट्टा हजार प्रशिक्षक पठाउन सकेको भए यो स्वागतयोग्य अवसर हुन्थ्यो । एउटा बुद्धिमानी अवसर । पोपले हजारौँ धर्मप्रचारक पठाउन सक्थे भने ती प्रचारकले उक्त क्षेत्रमा गहन प्रभाव छोड्न सक्ने थिए । एउटा नयाँ धर्मले चीन छपक्कै छोपिन्थ्यो । जसरी आज चीन बौद्ध राष्ट्रमा गनिन्छ, यो क्रिश्चियन राष्ट्रमा गनिने थियो ।

मार्को पोलो चीन पुग्दा चीनको सभ्यता के थियो? के अर्थमा चीन युरोपभन्दा उन्नत थियो? यी प्रश्नहरूमाथिको पहिलो विवेचना Rubroquis बाट पाउन सकिन्छ, जो मार्को पोलोको यात्रा भन्दा पहिले नै पोपको राजदूतको रूपमा काम गर्थे । उनले आफ्ना अनुभवहरूको अभिलेख राख्ने क्रममा लेखेका छन्- “अर्को अपत्यारिलो कुरा चाहिँ उनीहरूको नम्रता, शिष्टाचार र आदरपूर्ण चिनजान थियो, जो उनीहरूको सामाजिक अन्तरक्रिया अनुरूप भिन्न थियो । सर्वत्र इमान्दारिता व्याप्त थियो । उनीहरूका धन सम्पत्तिहरू बिना कुनै तालाचाबि सुरक्षित रहन्थे । कसैका पशुचौपायाले बिराउँदा पनि तुरुन्त मेलमिलाप भैसक्थ्यो । कसैमा खाद्यन्नको कमी भएमा त्यहाँका उदार धनाड्यहरूले सहजै पूर्ति गरिदिन्थे ।”

मान्छेहरूमा सहनशिलता यति हदसम्म थियो कि मार्को पोलोले आफ्नो पुस्तकको एकेक पानामा यसबारे उल्लेख गरेका छन् । यहुदी र इसाईहरूबिचमा पूर्णतया धार्मिक स्वतन्त्रता थियो एवं मन्दिर र चर्चहरू करको भारबाट मुक्त थिए ।

वास्तुकलाका दुई महान उदाहरण मार्को पोलो चीन पुग्नु पहिले नै निर्मित थिए । तीमध्ये एक चीनको ग्रेट वाल थियो भने अर्को ग्राण्ड क्यानल थियो, जसको अन्तिम 600 माइल कुब्लाई खाँबाटै निर्माण गरिएको थियो । ग्राण्ड क्यानल पेकिङबाट क्यान्टन (हालको गन्जाओ)सम्म फैलिएको थियो । र यो नै त्यस समयको मानवनिर्मित सबैभन्दा लामो जलमार्ग थियो ।

कलाको हिसाबले चीन निकै परिपक्व थियो । चित्रकला, टङ्कण, ताम्रकला, मूर्तिकला, माटोको भाँडा बनाउने कला एवम् वास्तुकला लगायतका कलाकर्म विकसित अवस्थामा थिए । साहित्य समेत निक्कै सम्पन्न भैसकेको थियो । कागजको आविस्कार नै सन् 105 भन्दा पहिले नै भैसकेको थियो । किताबहरू काठका फ्ल्याकहरूमा मुद्रित हुन्थे । त्यसको केही समयपश्चात् चिनियाँ सम्राटको सुपरिवेक्षणमा एक हजार विभिन्न सेक्सनहरू समेटिएको एउटा ठूलो इन्साइक्लोपेडिया प्रकाशित गर्न आदेश दिइयो । कागजको मुद्रा त्यस साम्राज्यको विभिन्न सेक्सनहरूमा प्रचलित थियो । जसबारे मार्को पोलोले बताएका छन् ।

यान्त्रिक उपकरणहरूको कुनै कमी थिएन । पुलहरूमा वाटर क्लक (पानीको प्रवाहको आधारमा समय नाप्ने प्राचीन उपकरण वा पानी घडी) जडित हुन्थे । खगोलविद्यासम्बन्धी सामाग्रीहरू बराबर प्रयोग भइरहन्थे । धातु र कोइला उत्खनन गरिन्थ्यो, साथै सागरहरूबाट नुन निकालिन्थ्यो । यो त्यस्तो आश्चार्यहरूको संसार थियो, जुन मार्को पोलोले आफ्नो यौवनावस्थामा देखेका थिए ।

कुब्लाई खाँले ती नवजवानलाई प्रेमपूर्वक व्यवहार गरे । मार्कोले त्यस देशको भाषामा लेख्न र बोल्न चाँडै सिकेकोले उनको तीक्ष्णताबाट प्रभावित भई कुब्लाई खाँले उनलाई पब्लिक मिसनहरूमा काम दिने निर्णय गरे । चिनियाँ अभिलेखहरूमा भेटिए अनुसार मार्को पोलो 1277 मा कुब्लाईको दरबारमा शाही कमिशनरको रूपमा नोमिनेटेड थिए ।