यो संसारको सबैभन्दा पुचुङ्ग्रो (सानो) किताब कुन हो ? संसारमा सबैभन्दा बढी पढिएको किताबका रूपमा कसको कीर्तिमान छ ? थाहा छ ? छैन ?
अचेल किताब पढ्ने भन्नेबित्तिकै स्क्रिनमा पढिने होला भन्ने लाग्न थाल्छ । कागजी किताबतिर धेरैको ध्यान जान छाडेको छ । कागजी किताब त सोखको विषय बन्ने अवस्था आउन थालिसक्यो । तर सताब्दिऔँदेखि कागजी किताबले संवादको काम गरे, तिनले मान्छेको स्तर वा औकात बढाउने काम गरे, तिनले कलाको काम गरे अनि ती आफैँमा सङ्कलनयोग्य वस्तुका रूपमा ठाउँ बनाए ।
संयुक्त राष्ट्रसंघले हरेक वर्ष अप्रिल २३ लाई विश्व पुस्तक दिवसका रूपमा मनाइरहेको हुन्छ । यो सन् १९९५ बाट शुरू भएको हो । खासमा स्पेनमा हरेक वर्ष अप्रिल २३ का दिन गुलाब र पुस्तकहरू उपहारका रूपमा दिने चलन निकै पुरानो हो । यसलाई जर्ज नामक क्रिस्चियन सन्तले निकै लोकप्रिय बनाएका थिए ।
उता बेलायतका प्रख्यात साहित्यकार विलियम सेक्सपियरले ईहलीला त्यागेको दिन पनि अप्रिल २३ नै हो । त्यसैले कतिपयले यस दिनलाई संसारकै सबैभन्दा बढी पढिएका सेक्सपियरको सम्झना दिवसका रूपमा पनि मान्छन् ।
तर आज त कुनै पुस्तक दिवस होइन र पनि पुस्तकप्रेमीहरूका लागि हरेक दिन पुस्तक दिवस नै हो । यहाँ हामी आज संसारभरिका पुस्तकबारे अनौठा कुराहरूबारे जानकारी लिनेछौँः
सबैभन्दा महँगो पुस्तक
लियोनार्दो दा भिन्सीले लेखेको कोडेक्स लेसिस्टर नामक पुस्तकलाई १९९४ मा न्युयोर्कमा भएको एउटा डाक बढाबढमा तीन करोड डलरभन्दा बढी तिरिएको थियो । यो पुस्तकलाई बिल गेट्सले किनेर घरमा सजाएका छन् ।
संसारको सबैभन्दा पुरानो छापा पुस्तक
जर्मनीमा जब गटेनबर्ग छापाखाना चल्न थाल्यो, छापा पुस्तक यत्रतत्र पाइन थाल्यो । त्यो भन्दा पहिले छापा पुस्तकको प्रचलन ईशापूर्व ८६३ मा चीनमा भएको हो । भगवान् गौतम बुद्धका विचार, जसलाई डायमन्ड सूत्र भनी चिनिन्छ, ती सूत्रलाई पुस्तकमा छपाई वितरणसमेत गरिएको थियो । चिनियाँ भाषाको सोही पुस्तक अहिलेसम्म प्रामाणिक रूपमा पहिलो छापा पुस्तक मानिनन्छ । यसमा गौतम बुद्ध र उनका एक चेलाबीचको संवाद छ । यो पुस्तक एउटा काठको पातलो पत्रमा छापिएको थियो भने रङसमेत चढाएर कागजमा सारिएको थियो ।
संसारकै सबैभन्दा सानो पुस्तक
यो हातमा तपाईंको आँखाले नभ्याउने पुस्तक छ । जुन सामान्य आँखाले देख्न सक्दैन । हेर्नका लागि माइक्रोस्कोप नै चाहिन्छ । फ्लावर्स अफ सिजन्स नामक पुस्तकलाई २२ पृष्ठमा समेटेर बनाइएको यो पुस्तकमा ०.०१ मिलिमिटरको फन्ट छ । टोपान प्रिन्टिङ नामक जापानी संस्थाले यसको प्रकाशन गरेको हो ।
संसारमा सबैभन्दा बढी पढिएको पुस्तक
यो कीर्तिमान बाइबललाई जान्छ । संसारभरि यसको अहिलेसम्म धेरै प्रति, धेरै ठाउँबाट प्रकाशन हुने मानिन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले अहिलेसम्म कति बाइबल छापियो होला भन्ने अनुमान गरेको छ । उसको अनुमानअनुसार २.५ देखि ५ बिलियन प्रति छापिसकिएको छ । वर्ल्ड बाइबल सोसाइटीका अनुसार हरेक वर्ष २ करोड प्रति बाइबल छापिने गर्छ । संसारका २ हजार ५ सयभन्दा बढी भाषामा बाइबल अनुवाद भइसकेका कारण बढी भाषामा अनुदित हुने पुस्तकका रूपमा समेत यसलाई लिइन्छ ।
संसारमा बढी पढिएको उपन्यास
मिगेल डि कारभेन्टसद्वारा लिखित उपन्यास द हिस्ट्री अफ द भेलरस एन्ड विटी नाइट इरन्ट डन क्विग्जट अफ मन्चा उपन्यास ५०० मिलियन पटक छापिइसकेको छ । ह्यारी पोटरका सबै शृङ्खला जोड्दा पनि यो भन्दा एक सय मिलियन प्रति कम हुन जान्छ ।
संसारको सबैभन्दा ठूलो पुस्तक
अगाथा क्रिस्टीको जासुसी उपन्यास मिस मार्पलका कथाहरूको सबै संकलन जोड्दा ३२ सेमी मोटो पुस्तक बन्न पुगेको छ । यो पुस्तक आठ किलोग्राम वजनको छ । यसअघि यत्रो ठूलो पुस्तक बेचविखनमा आएको पाइँदैन तर यो पुस्तकलाई भने हार्पर कोलिन्सले सीमित विशेष छापा संस्करणका रूपमा केही वर्षअघि प्रकाशन गरेको थियो । यसको संसारभर ५०० प्रति मात्र बेचिएको थियो ।
सबैभन्दा धेरै पुस्तकका लेखक
साइन्टोलजी नामक एक किसिमको धर्म संस्थापना गर्ने एल रन हब्बार्ड संसारकै सबैभन्दा बढी शीर्षकका पुस्तक लेख्ने लेखकका रूपमा दरिन्छन् । उनका पुस्तकको संख्या १०८४ छन् । उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले सबैभन्दा धेरै अडियो बुक बनाउने लेखकका रूपमा समेत कीर्तिमान दिएको छ । अमेरिकी यी लेखकले चौवन्नी उपन्यासकारदेखि लिएर गैरआख्यानकार तथा ज्यादै विवादित संस्था साइन्टोलजी संस्थापकका रूपमा चिनिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।