साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ४०

Chovar Blues Mobile Size

भाग २, शृङ्खला ४०

तेस्रो दिन दुवै आइमाई आइपुगे । आमाले खेतमा काम गरिरहेको एक जना किसानसँग टारकोल कारखानाको ठेगाना सोधिन् र छिटै उनीहरू जङ्गलको एउटा भिरालो पाखोबाट ओर्लदै थिए, जहाँ रुखका जराहरू कसरी जमिनबाट बाहिर निस्केका थिए भने साँच्चीको भ-याङजस्तो देखिन्थ्यो । एक छिनपछि उनीहरू एउटा खुला मैदानमा आइपुगे, जहाँ चारैतिर कोइला र काठका छेस्काहरू छरिएका थिए, जताततै टारकोल पोखिएको थियो ।

“लौ, आइपुगियो !” – आमाले चिन्तित दृष्टिले चारैतिर हेर्दै भनिन् । रुखका हाँगाहरूले बनेको सानो छाप्रोअगाडि मुढाहरूको टेकोमा तीनवटा खस्रा फल्याकहरू बिछ्याएर टेबुल बनाइएको थियो । टारकोलको दागले एकदम कालो देखिने रिबिन, एफिम र अरु दुई युवकहरू टेबुलवरिपरि बसेर खाँदै थिए । रिबिनले आफ्नो कमिजको टाँक खोलेको थियो । सबैभन्दा पहिले रिबिनले नै ती आइमाईहरूलाई देख्यो । उसले केही नभनी हत्केलाले घाम छेक्दै उनीहरूलाई पर्खेरु बस्यो ।
“नमस्कार, मिखाइल भाइ !” – आमाले टाढैबाट ठूलो स्वरले कराउँदै भनिन् ।

रिबिन उठ्यो र बिस्तारै उनीहरूतिर बढ्यो । आमालाई चिनेपछि ऊ थामियो र आफ्नो कालो हातले दाह्री सुम्सुम्याउँदै मुस्कुराउन थाल्यो ।

sagarmani mobile size

“हामी तीर्थयात्रा गर्न निस्केका !” आमाले उसको नजिक पुगेर भनिन् – “सोचेँ, बाटै पर्छ, आफ्नो भाइको हालखबर पनि बुझेर जाऊँ । यी मेरी मितिनी हो, आन्ना … ।”

आफ्नो यस चलाकीप्रति गर्व गर्दै उनले कठोर र गम्भीर अनुहार लगाएर उभिएकी सोफियालाई आँखा सन्काएर इसारा गरिन् ।

रिबिनले आमासँग हात मिलायो र सोफियातिर झुकेर अभिवादन ग-यो, अनि खिन्नतापूर्वक मुस्कुराउँदै भन्यो – “के हालखबर छ, बताऊ ? यहाँ झुटो नबोले पनि हुन्छ यो सहर होइन, यहाँ झूट बोल्ने जरुरत छैन । सबै आफ्नै मान्छे हुन् … ।”

एफिमले टेबुलअगाडि बस्याबस्यै यात्रीहईतिर हे-यो र साथीहईको कानमा केही कुरा भन्यो । आइमाईहरू टेबुलनजिक आइपुगेपछि ऊ उभियो र झुकेर अभिवादन ग-यो । उसका अरु दुई जना साथीहरू चाहिँ अतिथिहरूलाई देख्यानदेख्यै गरेर बसिरहे ।

“हामी यहाँ सन्यासी जीवन बिताउँदै छौं !” – रिबिनले बिस्तारै पेलागेया निलोभ्नाको काँध थपथपाउँदै भन्यो – “यहाँ कोही पनि हामीलाई भेट्न आउँदैनन् । फेरि मालिक पनि गाउँमा छैनन्, स्वास्नीलाई अस्पताल लगेर राखेको छ । एक किसिमले म नै अहिले यहाँको सर्वेसर्वा छु । आउनोस् ! बस्नोस् ! चिया पिउनुहुन्छ, केही खाना पनि खानुहुन्छ कि ? एफिम, खोइ अलिकति दूध लिएर आऊ न !”

एफिम बिस्तारै छाप्रातिर लाग्यो । यात्रीहरूले आफ्ना झोलाहरू उतारेर जमिनमा राखे । अग्लो पातलो युवक उठ्यो र उनीहरूलाई मद्दत गर्न थाल्यो । गठिलो शरीर र छिरलिएका केश भएको अर्को युवक चाहिँ कुहिनो टेबुलमा अड्याएर विचारमग्न हुँदै उनीहरूलाई हेरिरहेको थियो । ऊ बीचबीचमा टाउको कन्याउँदै कुनै धुन गुनगुनाउँथ्यो ।

टारकोल र सडेको झारपातको दुर्गन्धले दुवै आइमाईको टाउको घुमाउन थाल्यो ।

“यो याकोभ हो ।” – अग्लो केटातिर देखाउँदै रिबिनले भन्यो – “ऊ त्यो चाहिँ इग्नात हो । अँ, तिम्रो छोराको हालखबर के छ नि ?”

“जेलमा छ !” – आमाले सुस्केरा हाल्दै भनिन् ।

“फेरि ?” – रिबिनले झस्किँदै सोध्यो – “उसलाई जेलको हावा मन परेजस्तो छ … ।”

इग्नातले गाना बन्द ग¥यो, याकोभले आमाको हातबाट लठ्ठी लियो र भन्यो – “बस्नोस् !”

“तपाई किन उभिनुभएको नि ? बस्नोस् न !” – रिबिनले सोफियालाई भन्यो । सोफिया चुपचाप एउटा रुखको ठुटोमा बसिन् र ध्यानपूर्वक रिबिनतिर हेर्न थालिन् ।

“कहिले समातेर लगे ?” – आमानेर बस्दै रिबिनले सोध्यो – “निलोभ्ना, तिम्रो भाग्य नै खराब रहेछ ।” – उसले टाउको हल्लाउँदै भन्यो ।

“केही छैन !” – आमाले भनिन् ।

“बानी पर्न थालोछ कि क्या हो ?”

“होइन, बानी त के पर्थ्यो र, तर बुझ्छु अर्को उपाय पनि त केही छैन !”

“हुँ, हुँ ! – रिबिनले भन्यो – “लौ, भन त के भएको थियो … ।”

एफिम एउटा भाँडोमा दूध लिएर आइपुग्यो । उसले टेबुलबाट कप उठाएर पखाल्यो र त्यस कपमा दूध खन्याएर सोफियालाई दियो । रिबिन बडो ध्यानपूर्वक आमाको कुरा सुन्दै थियो । एफिम सबै काम बडो सावधानीसाथ, आवाज ननिकाली गर्दै थियो । आमाले आफ्नो कुरा सुनाइसकेपछि उनीहरू एकछिनसम्म एक–दोस्राको मुख हेरेर चुपचाप बसिरहे । इग्नात नङले कोतर्दै टेबुलमा केही चित्रहरू बनाइरहेको थियो । एफिम रिबिनको काँधमा हात राखेर उसको पछाडि उभिएको थियो । याकोभ चाहिँ रुखमा अडेस लाएर उभिएको थियो, उसले दुवै हात छातीमा राखेको थियो र टाउको झुकाएको थियो । सोफिया चुपचाप बडो ध्यानपूर्वक यी किसानहरूलाई हेर्दै थिइन् … ।

“हँ, हँ !” – रिबिनले बिस्तारै बडो निरस भावले भन्यो – “ए, त्यसो भए खुल्लमखुला मैदानमा उत्रन थालेछन् … ।”

“हामीले यहाँ गाउँमा त्यस्तो जुलुस निकालेको भए यहाँका मानिसहरूले हाम्रो कस्तो मारपीट गर्थे होलान् भने ज्यानै लिएर मात्र छोड्थे !” – एफिमले अँध्यारो मुख लाएर मुस्कुराउँदै भन्यो ।

“हो मारेरै छोड्ने थिए ।” – इग्नातले टाउको हल्लाउँदै आफ्नो सहमति जनायो – “म त गएर कुनै कारखानामा काम गर्न थाल्नेछु, त्यही बेस् … ।”

“त्यसो भए पाभेलमाथि मुद्दा चलाउँदैछन्, होइन ?” – रिबिनले सोध्यो – “कस्तो सजाय देलान्, केही थाहा छ ?”

“कालापानी पठाउलान् कि सधैँका लागि साइबेरिया पठाउलान् … ।” – आमाले बिस्तारै भनिन् ।

तीनै युवकहरूले एकैचोटि आमालाई हेरे ।

“जुलुस निकाल्दा उसलाई थाहा थियो – कस्तो सजाय हुन सक्छ ?” – रिबिनले टाउको झुकाउँदै बिस्तारै सोध्यो ।
“किन थाहा नहुनु र !” – सोफियाले चर्को स्वरमा भनिन् ।

सबै चुपचाप बसेका थिए, मानौं यस भयङ्कर विचारसम्मले पनि उनीहरूको रगत जमाउँदै थियो ।

“ए …” रिबिनले बडो गम्भीर र अर्थपूर्ण तरिकाले भन्यो – “मलाई पनि त्यस्तै लाग्छ, उसलाई अवश्य थाहा थियो । ऊ आँखा बन्द गरेर अँध्यारोमा हाम फाल्ने मान्छे होइन, बडो गम्भीर स्वभावको छ । सुन्यौ केटा हो ? उसलाई थाहा थियो, या त गोलीले भुटिनेछ, या त कालापानीको बास हुनेछ, तर अलिकति पनि हिचकिछाएन । यदि आफ्नै आमा बीच बाटोमा आएर उभिदिएकी भए पनि वास्तै नगरी अगाडि बढ्थ्यो होला । होइन त निलोभ्ना ?”

“हो जान्थ्यो होला !” – आमाले झस्किँदै भनिन्, अनि लामो सुस्केरा हालिन् र चारैतिर हेरिन् । सोफियाले चुपचाप उनको हात थपथपाइन् र आँखीभौं खुम्च्याउँदै रिबिनतिर हेरिन् ।

“यस्तो पो हुनुपर्छ मान्छे !” – रिबिनले गम्भीर दृष्टिले सबैतिर हेर्दै भन्यो । फेरि सबै चुप लागे । सूर्यको पातलो किरण कुनै सुनौलो झल्लरजस्तो वायुमण्डलमा लहराउँदै थियो । कतै कागको का..का.. आवाज सुनिँदै थियो । मे दिवसको सम्झनाले आमाको हृदय दुःखित भयो । पाभेल र आन्द्रेइका सम्झनाले उनलाई पिरोल्दै थियो ।

त्यो सानो मैदानमा जताततै टारकोलका खाली ढुवाङहरू परिरहेका थिए । रुखका ठुटाहरू चारैतिर फ्याँकिएका थिए । मैदानवरिपरिबाट अर्खौला र भोजवृक्षका बाक्ला झाङहरूले घेरिएको थियो र ती निश्चल रुखहरूका काला छायाँहरू जमीनमा पर्दै थिए ।

याकोभ अकस्मात् रुखबाट हट्यो र एकातिर लाग्यो ।

“मलाई र एफिमलाई फौजमा लिएर के यस्तै मान्छेहरूको विरुद्ध त लड्न पठाउने होइन ?” – उसले टाउको पछाडितिर झट्कार्दै चर्को स्वरमा सोध्यो – “अनि तिमीले कसका विरुद्ध लड्न पठाउँलान् भन्ने ठानेका थियौ त ?” – रिबिनले निदाउरो मुख लाउँदै सोध्यो । “उनीहरू हामीलाई आफ्नै हातले आफ्नो घाँटी अँठ्याउन बाध्य गर्छन् – यही त हो सबै चटक !”

“तर म त जे भए पनि फौजमा जान्छु ।” – एफिमले जिद्दी कस्दै भन्यो ।

“तिमीलाई कसले रोकेको छ र ?” इग्नातले चिल्लाउँदै भन्यो – “जाऊ, अहिले गोली हान्दा ठीक टाउकोमा निसाना लागनू – मलाई अपाङ्ग बनाएर नछोड्नू, एकैचोटि काम खत्तम पारिदिनू !”

“अगाडि एकपल्ट पनि तिमीले यस्तै कुरा गरिसकेका छौ !” एफिमले झर्कदै भन्यो ।

“भैहाल्यो कोटा हो, चुप लाग !” – रिबिनले हातको इसाराले उनीहरूलाई शान्त पार्ने कोसिस गर्दै भन्यो र फेरि आमातिर सङ्केत गर्दै भन्न थाल्यो – “हेर यी आइमाईलाई ! हुन सक्छ यिनले सधैंका लागि आफ्नो छोरालाई गुमाइसकेकी छिन् … ।”

“किन तिमी यस्तो कुरा गर्छौ ?” – आमाले उदास स्वरमा बिस्तारै भनिन् ।

“नभनेर हुँदैन !” – रिबिनले गम्भीरतापूर्वक जवाफ दियो – “यसनिमित्त भन्नुपर्छ – तिम्रो फुलेको कपालको महत्व थाहा पाउन । तर के तिमीहरू ठान्छौ, उनीहरू यस आइमाईको आत्मा दबाउन सफल भए ? निलोभ्ना, किताब ल्याएकी छौ ?”
आमाले रिबिनलाई हेरिन् र एकछिन चुप लागिसकेपछि जवाफ दिइन् – “हो, ल्याएकी छु … ।”

“देख्यौ !” – रिबिनले टेबुलमा मुड्की बजार्दै भन्यो – “मैले त अघि नै बुझिसकेको थिएँ । अरु कुन कारणले तिमी यति टाढा आउँथ्यौ र ? देख्यौ ? उनीहरूले छोरालाई सङ्घर्षको मैदानबाट हटाइदिए तर आमा छोराको ठाउँमा उभिइन् !”
उसले आफ्नो मुठी हल्लाउँदै आमाचकारी गाली ग-यो ।

आमाले तर्सदै उसतिर हेरिन् । उसको अनुहार पहिलेभन्दा दुब्लो पातलो देखिन्थ्यो, दाह्री जिङरिङ्ग परेको थियो र दाह्रीमुनि गलाको हड्डी स्पष्ट देखिन्थ्यो । उसका नीला आँखामा राताराता धर्काहरू देखिन्थे, मानौं ऊ धेरै दिनदेखि सुतेको थिएन । उसको नाक शिकारी चराको ठुँडोजस्तो तीखो र टेढो थियो । उसको कमिज कुनै बेला रातो रङको थियो होला तर अहिले टारकोलको दागले कालो भैसकेको थियो । उसको कालो मुखाकृति सधैंभन्दा बढी खिन्न र शोकपूर्ण लाग्थ्यो । उसका सुनिएका आँखामा क्रोधको ज्वाला दन्किरहेको थियो, जसले गर्दा उसको उदास अनुहारमा पनि चम्काहट झल्किन्थ्यो ।

सोफिया टाउको झुकाएर चुपचाप बसेकी थिइन् र ती किसानहरूलाई एकटकले हेर्दै थिइन् । इग्नात आँखा खुम्चाउँदै टाउको हल्लाइरहेको थियो । याकोभचाहिँ फेरि छाप्रोअगाडि गएर उभिएको थियो र उसले काठको बोक्रा खुर्कदै थियो । एफिम आमाको पछाडितिर टेबुलनेर ओहोरदोहोर गर्दै थियो ।

“हालसालैको कुरा हो ।” – रिबिनले भन्यो – “जिल्लाको हाकिमले मलाई डाकेर सोधेको थियो – “तँ बदमास कहीँको, तैँले पादरीलाई के भनेको थिइन् ?” मैले भनेँ – “म केको बदमास र ? रगतपसिना बगाएर आफ्नो पेट पाल्छु, कसैको केही बिगार गरेको छैन ।” ऊ बडो बम्कियो र मेरो दाँतमा बडो जोडले एक घुस्सा हिर्कायो, फेरि तीन दिनसम्म जेलमा थुनेर राख्यो । ए, त्सो भए यही रहेछ गरिबहरूसँग कुरा गर्ने तेरो चाला, मैले सोचेँ । ठीक छ चण्डाल, म कुनै दिन तँलाई यसको मजा चखाउँला । मैले नभए अरु कसैले, तँ फुत्किस् भने पनि यस अपमानको बदला तेरा सन्तानहरूले चुकाउनेछन् – याद राख् ! तिमीहरू आफ्ना फलामको पञ्जाले जनताको छाती कोतर्दैछौ र उनीहरूको हृदयमा घृणाको बीउ रोप्दैछौ भने चण्डालहरू, दयामायाको तिमीहरूले आशै नराखे हुन्छ ! लौ, यही हो !”

उसको हृदय रिसले उम्लादै थियो र मुख रातोपीरो भैसकेको थियो, उसको आवाज कति चर्को थियो भने आमा तर्सिन् ।
“मैले पादरीलाई त्यस्तो भनेको के थिएँ र ?” – उसले अलि शान्त भैसकेपछि भन्यो – “एकपल्ट गाउँको सभा सकिएपछि ऊ केही किसानहरूसँग कुराकानी गर्दै थियो र भन्दै थियो – “साधारण मान्छेहरू भेडाको बथानजस्ता हुन्छन् । उनीहरूलाई तह लगाउन सधैं गोठालो जरुरत पर्छ ।” “ए, त्यस्तो रहेछ !” – मैले पनि ठट्टैठट्टामा भनिदिएँ – “यदि फ्याउरोलार्य चराहरूको रखवारी गर्न दिने हो भने पखेटाहरू त थुप्रै भेट्टाइएलान् तर चराहरू चाहिँ बेपत्तै हुन्छन् !” उसले मतिर फर्केर हे-यो र फेरि किसानहरूलाइ सम्झाउन थाल्यो – “मान्छेले धैर्य गर्न सिक्नुपर्छ र सहनशक्ति दिन ईश्वरसँग प्रार्थना गर्नुपर्छ ।” मैले भनेँ – मान्छेहरू प्रार्थना त निकै गर्छन्, खालि ईश्वरलाइ मात्र उनीहरूको प्रार्थना सुन्ने फुर्सद नभएजस्तो छ अनि त के र मेरो कुरा सुनेर उसले सोध्यो – “तँ प्रार्थना गर्ने गर्छस् ?”

मैले भनेँ – “जिन्दगीभर एउटै प्रार्थना गर्दै आइरहेको छु, जुन प्रार्थना सबै गरिबहरुले गर्दै आइरहेका छन् – हे भगवान् ! मलाई कुनै त्यस्तो तरिका सिकाइदेऊ जसको सहायताले यी ठूलाबडाहरुका लागि ढुङ्गा चपाएर मुढो ओकल्न सकूँ ।” तर उसले मलाई आफ्नो कुरै पूरा गर्न दिएन । अकस्मात् सोफियातिर हेर्दै रिबिनले सोध्यो – “मेमसाहेब, तपाई पनि त कुनै घरानिया परवारबाट आउनुभएको होला नि ?”

“किन म मेमसाहेब ?” – उसको आकस्मिक प्रश्नले झस्किँदै सोफियाले झट्ट सोधिहालिन् ।

“किन रे ?” – रिबिनले हाँस्दै भन्यो – “गेरुवस्त्र लगाउँदैमा जोगी भइँदैन । के तपाईले सुतीको रुमाल टाउको बेर्दैमा मान्छेहरूबाट घरानियाँ परिवारको पाप लुकाउन सकिन्छ भन्ने ठान्नुभएको छ र ? गधा मलेर गाई हुँदैन भन्छन्, । ऊ क्या, तपाई भर्खरै मात्र टेबुलमा के पोखिएको थियो, त्यहाँ तपाईको कुहिनो पर्दा कस्तरी तर्सेर, मुख बिगार्नुभएको थियो । अनि फेरि तपाईको पिठ्यूँ पनि त यति सोझो छ, काम गर्न आइमाईको यस्तो पिठ्यूँ हुनै सक्दैन … ।”

रिबिनको यस क्रूर परिहासले सोफिया रिसाउने त होइन भन्ने डरले आमाले बीचैमा उसको करा काट्दै गम्भीरतापूर्वक भनिन् –
“मिखाइल इभानोभिच, यिनी मेरी मितिनी हुन् र यिनी ज्यादै असल आइमाई छिन् । हाम्रै लागि काम गर्दा कम उमेरमा पनि यिनको कपाल फुल्न थालिसक्यो, तिमी अलि होसियार भएर कुरा गर है … ।”

रिबिनले लामो सुस्केरा हाल्दै भन्यो – “किन र, के मैले कुनै अपमानजनक कुरा गरेँ र ?”

“मलाई लाग्छ, तपाई केही कुरा भन्न चाहनुहुन्छ ।” – सोफियाले उसतिर हेर्दै रुखो स्वरमा सोधिन् ।

“मैले रे ? हो, म भन्दै थिएँ, केही दिनअगाडि एक जना नयाँ मान्छे हामीकहाँ आएको छ, ऊ याकोभको भाइ पर्छ । बिचरोलाई क्षयरोगले सताएको छ । डाक्ने हो कि उसलाई ?”

“किन नडाक्नु र, अवश्य डाक्नोस् !” – सोफियाले भनिन् ।

उसले एकछिन आँखा खुम्चाएर सोफियालाई हेरिरह्यो, अनि स्वर अलि सानो पारेर भन्यो – “एफिम जाऊ ! गएर भन उसलाई, साँझसम्ममा यहाँ आइपुगोस् ।”

एफिमले टोापी लगायो र कतै नहेरी कसैलाई एक शब्द पनि नभनी जङ्गलतिर लाग्यो । ऊ गएपछि रिबिनले टाउको हल्लाउँदै भन्यो – “बिचरो बडो पीर मान्दै छ । केही दिनपछि फौजमा लिँदैछन् – याकोभ र ऊ दुवै जनालार्य । याकोभ त सिधा भन्छ – “जान्नँ !” हुन त एफिम पनि सक्दैन, तर ऊ जान चाहन्छ । ऊ ठान्छ सिपाहीहरूमा जागृति ल्याउन सकिन्छ । म त भन्छु, टाउकाले हिर्काएर भित्ता फोड्न सकिन्न … मान्छेको हातमा बन्दुक मात्र दिनुपर्छ अनि हेर्नु, ऊ कसरी मार्च गर्न थाल्छ । तर बिचरो, असाध्यै पीर गर्दैछ ! यो इग्नात चाहिँ बेकारमा बिचरोलाई सताउँदैछ !”

“किन बेकारमा !” – इग्नातले रिबिनतिर नहेरिकनै खिन्न स्वरमा भन्यो – “केही दिनमै मारपीट गरेर उसलाई यस्तरी ठीक पारिदिन्छन् कि उसले पनि अरुले जस्तै उनीहरूको इसारामा मान्छेहरूमाथि गोली चलाउन थाल्नेछ … ।”

“मलाई त्यस्तै लाग्दैन !” – रिबिनले केही सोच्दै भन्यो – “अवश्य, सबैभन्दा राम्रो त्यहाँ जाँदै नजानु हो । रसिया विशाल छ, कहाँ खोजन जाऊन् ?नक्कली पासपोर्ट बनाएर एक गाउँबाट अर्को गाउँमा हिँड्दै गरे भैहाल्यो … ।”

“म त यस्तै गर्छु !” – इग्नातले एउटा छेस्काले आफ्नो खुट्टामा हिर्काउँदै भन्यो – “एकपल्ट उनीहरूको विरुद्ध लड्ने निर्णय गरिसकेपछि सिधा हिँड्याहिँड्यै गर्नुपर्छ ।”

कुराकानीको सिलसिला टुट्यो । हावामा माहुरी र झिँगाहरूको भनभनाहट सुनिँदै थियो । चराहरू ची–ची–चूँ–चूँ गर्दै थिए र खेतपारिबाट कसैले गाएको आवाज सुनिँदै थियो ।

“काम सुरु गर्ने बेला भयो … ।” – रिबिनले एकछिनपछि भन्यो – “तपाईहरू एकछिन आराम गर्नोस् । छाप्रामा केही तख्ताहरू छन् । याकोभ गएर केही सुकेका पातहरू बटुलेर ल्याऊ र बिछ्याइदेउ … लौ आमा, ती किताबहरू चाहिँ हामीलाई देऊ … ।”

आमा र सोफियाले आ–आफ्ना पोकाहरू खोल्न थाले ।

“ओहो, कति धेरै ल्याउनुभएछ !” – रिबिनले झुक्दै पोकाहरूमा हेरेर खुसीले चिल्लायो । “लाग्छ, धेरै समयदेखि यस काममा लाग्नुभएको छ । के नाम हो र तपाईको ?” – उसले सोफियालाई सोध्यो ।

“अन्ना इभानोभ्ना !” – सोफियाले जवाफ दिइन् – “बाह्र वर्षदेखि लागेकी छु … किन सोध्नुभएको ?”

“केही होइन, त्यसै । जेलमा पनि परिसक्नुभएको छ ?”

“हो !”

“देख्यौ ?” – आमाले रिबिनलाई भनिन् – “तिमीचाहिँ चाहिँदो नचाहिँदो कुरा गर्दै थियौ … ।”

ऊ एकछिन चुप लाग्यो र एक बन्डल किताब हातमा लिएर असजिलो मान्दै भन्यो – “तपाई मेरो कुरामा नरिसाउनुहोला । घरानियाँ मान्छेहरू र किसानहरू टारकोल र पानीजस्तै हुन्छन्, आपसमा घुलमिल गर्न सक्दैनन् !”

“तर म त घरानियाँ सरानियाँ केही होइन, मान्छे हुँ, बस् !” – सोफियाले मुस्कुराउँदै भनिन् ।

“हुन सक्छ !” – रिबिनले जवाफ दियो – “भन्छन्, सुरुमा कुकुर पनि ब्वाँसो नै थियो । लौ म यी चीजबीजहरू लुकाएर आउँछु ।”

इग्नात र याकोभ हात फैलाउँदै उसकहाँ आइपुगे ।

“ल्याऊ, हेरौं कस्तो रहेछ !” – इग्नातले भन्यो ।

सब एकैनासका हुन कि ?” – रीबिनले सोफियालाई सोध्यो ।

“होइन फरकफरक छन् । केही अखबारहरू पनि छन् … ।”

“साँच्ची ?”

तीनै जना छिटोछिटो छाप्रातिर लागे ।

“किसान तात्तिन थालेको छ ।” – उनीहरूलाई बडो ध्यानपूर्वक हेर्दै आमाले बिस्तारै भनिन् ।

“हो ।” – सोफियाले आफ्नो सहमति जनाइन् – “मैले उसको जस्तो अनुहार जिन्दगीमा आजसम्म कहिल्यै देखेकी थिइनँ । बिलकुल कुनै साधुजस्तो देखिन्छ । आऊ, हामी पनि त्यतै लागौं, म उनीहरूलाई अझ राम्ररी हेर्न चाहन्छु … ।”

“उसको करामा दुःख नमान्नुहोला … ।” – आमाले अनुरोधपूर्ण स्वरमा भनिन् । सोफिया हाँसिन् ।

“निलोभ्ना कस्ती जाती मान्छे तपाई, हँ … ।”

जब उनीहरू ढोकाअगाडि आएर उभिए, इग्नातले उनीहरूतिर हे-यो र फेरि आफ्नो घुँगुरिएको केशमा औंला घुसार्दै निहुरेर घुँडामा राखिएको अखबार पढ्न थाल्यो । रिबिन छानाको एउटा प्वालबाट आइरहेको सूर्यको किरणअगाडि अखबार राखेर पढ्दै थियो र पढ्दा उसका ओठ हल्लँदै थिए । याकोभ एउटा तख्तामा अखबार फैलाएर अखबारअगाडि घुँडा टेकेर बसेको थियो ।

आमा छाप्राको एउटा कुनामा बसिन् । सोफियाचाहिँ उनको काँधमा हात राखेर पछिल्तिर उभिइन् र चुपचाप ती तीनै व्यक्तिहरूतिर हेर्न थालिन् ।

“मिखाइल काका खुब गाली गर्दैछन् हामी किसानहरूलाई !” – याकोभले नफर्किकनै शान्त स्वरमा भन्यो । रिबिनले उसतिर हेरेर हाँस्दै जवाफ दियो – “यो त माया गरेर पो गाली गरेका हुन् !”

इग्नातले लामो सुस्केरा हाल्दै टाउको उठायो र आँखा बन्द गर्दै भन्यो – “लेख्छन्ः “किसानहरू त अब मान्छेजस्तो देखिन छाडे, हो त नि साँच्ची मान्छेजस्तो देखिन छाडिसके !”

उसको सिधासादा निष्कपट अनुहार अँध्यारो भयो । उसलाई यो कुरा मन नपरेजस्तो देखिन्थ्यो । “अचानोको पीर अचानैले थाहा पाउँछ ! बडो सिकाउने भएका !”

“म त एकछिन पल्टन्छु अब !” – आमाले सोफियालाई भनिन् – “असाध्यै थाकेँ । फेरि यो दुर्गन्धले पनि मेरो ाटाउको रिङ्गाउन थालेको छ ! तपाई पनि एकछिन आराम गर्नोस् न !”

“मलाई मन छैन ।”

आमा तख्तामा पल्टिन् र तुरुन्तै उँग्न थालिन् । सोफिया आमासँगै बसेर ती किसानहरूलाई हेर्दै थिइन् । कुनै माहुरी अथवा बारुलो उड्दै आएर नजिकै भुनभुनाउन थाल्यो । उनी बिस्तारै धपाउँथिन् । आमाका आँखा अझ पूरा बन्द भैसकेका थिएनन् र उनी देख्थिन् कसरी सोफिया बारुलो धपाउँदैछिन् । सोफियाले आफ्नो यस्तो वास्ता गरेकी देखेर आमाको हृदय पग्लियो ।
रिबिन उनीहरूको नजिक आयोर स्वर सानो पार्दै सोध्यो – “निदाइन् ?”

“हो !”

ऊ एकछिन चुपचाप उभिएर आमाको मुखमा हेरिरह्यो र त्यसपछि एक लामो सुस्केरा हाल्दै भन्यो – “मलाई लाग्छ यी पहिली आइमाई हुन्, जसले यस्तो बाटामा आफ्नो छोराको साथ दिएकी छिन् ।”

“सुत्न दिऔं उनलाई, आउनोस् हामी बाहिर जाऔं !” – सोफियाले भनिन् ।

“हामीलाई त अब काम गर्नुछ । तपाईसँग गफ गर्ने इच्छा थियो, तर अहिले होइन साँझ गर्नुपर्ला ! लौ कोटा हो हिँड … ।”

तीनै जना सोफियालाई छाप्रामा छोडेर बाहिर निस्के ।

“ठीकै भो, चित्त बुझेछन् एक–दोस्रालाई … ।” – आमाले मनमनै सोचिन् ।

उनी रुखहरू र टारकोलको गन्धले भरिएको त्यस छाप्रामा निदाइन् ।

लेखक परिचय

म्याक्सिम गोर्की रूसका प्रख्यात साहित्यकार हुन् । उनको आमा उपन्यास संसार प्रख्यात मानिन्छ । यसबाहेक उनका छोटा कथाहरू पनि उत्तिकै प्रख्यात छन् ।

प्रतिक्रिया
Loading...