अलेक्सान्द्रा अल्टर

गएको वर्ष अब्दुल रजाक गुर्नाहले उनको १० औँ पुस्तक ‘आफ्टरलाइभ्स’ प्रकाशित गर्दा पुस्तकका सम्पादक यो किताब गुर्नाहको जीवनकै सबैभन्दा सफल पुस्तक हुने दाबी गरेका थिए । साहित्य सिर्जनाका यी तीन दशकमा उनका सिर्जनालाई खुब सराहना त गरियो तर व्यापक पाठकसम्म भने पुग्न सकेका थिएनन् ।

‘मलाई सधैँ लाग्थ्यो, गुर्नाहका पाठक संसारभरि छन् तर तिनलाई हामीले पक्रन सकेका छैनौँ,’ २० वर्षदेखि गुर्नाहका पुस्तकहरु प्रकाशन गरिरहेका ब्लुम्सबरीका प्रमुख कार्यकारी प्रकाशक एलेक्जेन्ड्रा प्रिङ्गलले भने, ‘जब मेरो हातमा ‘आफ्टरलाइभ्स’ प-यो, मनभित्रबाट आवाज आयो– दिस् इज् इट् !’

जर्मनीको औपनिवेसिक पूर्वी अफ्रिकी मुलुकमा तिनका मालिक राष्ट्रले वर्षाएको कहरमाथि लेखिएको ‘आफ्टरलाइभ्स’ २०२० को सेप्टेम्बरमा बजारमा आएको थियो । समीक्षकहरुले वाहवाही गर्दै यसलाई मास्टरपिस भने । तथापि व्यापक पाठकसम्म भने यो उपन्यास पुग्न सकेन । कतिसम्म भने अमेरिकी प्रकाशकले समेत यसलाई छाप्न उति चासो देखाएनन् । पठनको यो चिस्यान देखेर प्रिङ्गललाई लाग्यो– शायद गुर्नाहको जीवनमा व्यापक पाठकको भाग्य लेखिएको छैन !

एक वर्षपछि भने गुर्नाहको भाग्य खुल्यो । उनलाई नोबेल कमिटीले साहित्यमा नोबेल पुरस्कार घोषणा ग-यो । अमेरिकी लेखिका टोनी मोरिसनले सन् १९९३ मा पाएयता काला जातिले यो पुरस्कार पाउने प्रथम व्यक्ति बने । यो समाचारले पुस्तक बिक्रेताकहाँ उनका किताबहरुको अर्डर लिएर छिर्नेको संख्या ह्वात्तै बढ्यो । संसारभरिका प्रकाशकहरु उनका उपन्यासहरुलाई रिप्रिन्ट तथा अनुवाद गर्ने प्रस्तावको भारी बोक्दै एजेन्टकहाँ दगुर्न थाले । उनका एजेन्ट पिटर स्ट्राउसको मुहार प्रशन्नताले लाल भयो । उनले भने, ‘अहिलेसम्म ३० क्षेत्रका लागि अनुवाद तथा बिक्रीको अधिकार दिइसकिएको छ र यो संख्या अझै बढ्ने सम्भावना देखिदैछ ।’

अमेरिकामा ‘आफ्टरलाइभ्स’को प्रकाशन गर्न ६ वटा प्रकाशन संस्था लागिपरेका थिए । अन्ततः पेइन्गुइन रेन्डम हाउसको सहप्रकाशन रिभरहेडले यसको अधिकार पाएको छ । अमेरिकामा अगस्त २०२२ मा यो पुस्तक बजारमा आउनेछ । यति मात्र होइन, गुर्नाहका दुई पुस्तक ‘बाई द शि’ र ‘डिसर्टन’ प्रकाशन गरेको रिभरहेडको गोदामबाट यी दुई पुस्तक रित्तिएका छन् ।
अचानक पाठक उनका किताब लिन दौडादौड गरे तर यतिबेलै पुस्तक बजारमा छैन । कतिसम्म भने इबुक र अडियो बुक पनि पाइँदैनन् ।

यत्ति साह्रो अभाव त नुहुनपर्ने ! केहीले आश्चर्यपूर्वक प्रतिक्रिया दिन थालेका छन् । तर दशकौँदेखि बेलायतमा कम पढिएका गुर्नाह र अमेरिकामा लगभग परित्यक्त यी लेखकले यसबीचमा नयाँ समस्या झेलिरहेका छन्– संसारभरि नै सप्लाई–चेन समस्या ! कागज मिलमा कागज अभाव, प्रिन्टिङ प्रेसमा पहिल्यैका कामको चाङ, सिपिङ कन्टेनर तथा वेयरहाउसका समस्याले गर्दा नयाँ छापिने किताबका लागि पहिल्यै समस्या थिए र यो नयाँ मागले त प्रेसहरुको दिमाग खराब गरिदियो ।
नोबेल पुरस्कारले पाठक तथा प्रकाशक, बिक्रेता सबैलाई सधैँ अप्ठेरोमा नै पार्दै आइरहेको छ । यसले अन्य पुरस्कारहरु बेलायतको बुकर तथा अमेरिकाको नेसनल बुक अवार्डजस्तो लामो र छोटो सूची जारी गर्दैन । नोबेल पुरस्कारले प्रायः जर्मनीका हेर्टा मुलर, अस्ट्रियाका नाटककार तथा कवि एल्फ्रेडी जेलिनेक, फ्रान्सेली उपन्यासकार प्याट्रिक मोडियानोजस्ता ‘लो प्रोफाइल’मा रही काम गरिरहेकालाई पुरस्कृत गर्ने गर्छ । कहिलेकाहीँ त अमेरिकी प्रकाशकहरुलाई तुरुन्त अनुवाद अधिकार लिन र अनुवाद गर्नै समय लाग्छ ।

अझ यसपाला त सरसामग्रीहरुको अनुपलब्धताले अझ बढी गाह्रो पारिदियो ।

अमेरिकाको एउटा पुस्तक पसलमा गुर्नाहका उपन्यासहरू हातमा लिँदै एक पाठक

वितरक संस्था बन्र्स एन्ड नोबलका प्रमुख कार्यकारी जेम्स डउन्टले भने, ‘अन्य उपन्यासको तुलनामा उनका उपन्यास हामीसँग ज्यादै थोरै छन् । अहिले हरकोही वितरक र प्रकाशक प्रिन्टिङ प्रेसको ढोकामा कुरेर बसिरहेको छ ।’
उता अमाजनको छापा संस्करणमा गुर्नाहका उपन्यासहरु ‘स्टकमा छैनन्’ भनी ठप्पा लागेको निकै भइसक्यो । कतिपयले यही अभावमा पढिसकेका उपन्यासहरु सूचीकृत गरेर बेच्दैछन् ।

सबैभन्दा अप्ठेरो भने स्वतन्त्र पुस्तक विक्रेताहरुलाई छ । उनीहरुको ठूलो सम्पर्क पनि छैन । यस्तो बेलामा झट्टै उनीहरुले गुर्नाहका जुनसुकै उपन्यास हात पार्न पनि पापड बेल्नुपर्ने अवस्था आएको छ । र, यो पक्का छ– उनीहरुको हात पर्न निकै समय लाग्ने छ ।

अमेरिकाको राजधानी वासिङ्टन डिसीमा पोलिटिक्स एन्ड प्रोज नामक पसल चलाइरहेका मार्क लाफ्रेमबोइज भन्छन्, ‘अरु बेला पनि नोबेल पुरस्कार प्राप्त सर्जकका सिर्जना हात पार्न हामीलाई दुई साता त लाग्थ्यो नै तर यसपाला चाहिँ गुर्नाहका किताब कहिले हात पर्ला भनेर दिन गिन्ती गर्नुबाहेक अरु उपाय देखिँदैन ।’

उता बेलायतमा ब्लुम्सबरीले गुर्नाहका सबै उपन्यासलाई १० हजारौँको संख्यामा पुनःप्रकाशन गर्दैछ । ती सबै किताब उसले संसारभरि पु-याउने लक्ष्य राखेको छ । केही सातामा लक्ष्य पूरा गर्ने आशा प्रिङ्गलको छ ।

ब्लुम्सबरी अमेरिकाले ६ वटा पुस्तक वितरण गरिरहेकामा ‘ग्राभेल हर्ट’, द लास्ट गिफ्ट’को संख्या बढ्ने अपेक्षा गरेको छ । छापा किताबको अभावका कारण इबुकको बिक्री ह्वात्तै बढेको प्रिङ्गलको दाबी छ तर उनले संख्या भने बताउन चाहिनन् ।
अमेरिकाको एउटा स्वतन्त्र प्रकाशन संस्था द न्यु प्रेसले सन् १९९४ मा निस्किएको गुर्नाहको उपन्यास ‘प्याराडाइज’ जम्मा ५,७६३ प्रति बिक्री भएको थियो । गोदाममा थन्किएका १२६ प्रति नोबेल पुरस्कार घोषणा हुनेबित्तिकै एकै झमटमा बिक्री भए । अहिले द न्यु प्रेसले १९ हजार प्रतिको अर्डर पाएको छ । पछिल्लो माग देखेपछि उसले यसको डिजिटल संस्करण निकाल्ने तयारी थालेको छ ।

आखिर अहिलेसम्म तपार्यं किन उपेक्षित रहनुभयो त ? वृहद् पाठककहाँ जान कसरी चुक्नुभयो ? प्रकाशक कसरी चुके ? लेखक गुर्नाहलाई न्युयोर्क टाइम्सले प्रश्न गर्दा गुर्नाहको उत्तर थियो, ‘वृहद् पाठकमाझ जान नसक्नु लेखकको गल्ती होइन, प्रकाशकको पनि यसमा कुनै गल्ती छैन । यो त साहित्य किन्न पैसा हुनेहरुको कृपाको कुरा हो । पैसा हुनेकहाँ सूचना पुग्यो भने किताब बिक्री भयो, नत्र भएन ।’

उता प्रिङ्गल चाहिँ बल्ल आफूले सोचेजस्तो गुर्नाहको समय आएको र यो निकै वर्षसम्म जारी रहने बताइन् । ‘अफ्रिकाका जीवित उम्दा लेखकमध्ये उनी एक हुन्,’ उनले भनिन्, ‘लेखनीका उनी मास्टर हुन् । उनी अब संसारभरि पढिने छन् । यो चाहिँ पक्का हो ।’

(एजेक्जेन्ड्रा अल्टर साहित्य संसारका बारेमा लेख्छिन् । उनी सन् २०१४ मा न्युयोर्क टाइम्समा पुस्तक तथा संस्कृतिमाथि लेख्नुअघि सोही विषयमा द वाल स्ट्रिट जर्नलमा लेख्थिन् । त्यसअघि उनले द मियामी हेराल्डका लागि धर्मसम्बन्धी रिपोर्टिङ गर्थिन् ।)