साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला ३७

ratna book ads

भाग २

निकोलाइ भेट्न आएको चौथो दिन उसकहाँ डेरा सर्ने उद्देश्यले आमा घरबाट निस्किन् । आफ्ना दुईवटा सन्दुक लादिएको गाडामा बसेर आमा खेतहरु भएर जाँदै थिइन् । अलिपर पुगेपछि आमाले पछाडि फर्केर हेरिन् । अकस्मात् उनले अनुभव गरिन्, मानौं उनी सधैंका लागि त्यो ठाउँ छाडेर जाँदैछिन्, जहाँ उनले आफ्ना जीवनको सबैभन्दा अन्धकारमय र कठिन समय बिताएकी थिइन्, जहाँ उनले जीवनको एक नयाँ गोरेटामा पाइला टेकेकी थिइन्, जुन जीवनमा नयाँ सुखदुःख थियो र जसले गर्दा उनको समय छिटोछिटो बित्न थालेको थियो ।

फैक्ट्रीका चिम्नीहरु आकाशतिर मुख फर्काएर उभिएका थिए र स्वयम् फैक्ट्री भने ध्वाँसाले पोतिएको कुनै रातो माकुराजस्तो कुचुक्क परेर जमिनमा बसिरहेजस्तो भान हुन्थ्यो । फैक्ट्रीको चारैतिर फैलिएको बस्तीमा मजदुरहरुका सानासाना एकतले घरहरु थिए । यी मैला, होचा घरहरु धापको एकदमै किनारैमा उभिएका थिए र आफ्ना सानासाना उदास झ्यालहरुबाट एक–दोस्रालाई दयनीय दृष्टिले हेरिरहेका थिए । यी घरहरुबीच फैक्ट्रीजस्तै मैलो रातो रङको गिर्जाघर आफ्नो टाउको ठाडो पारेर उभिएको थियो तर गिर्जाघरको मिनार भने चिम्नीहरुभन्दा होचै थियो ।

आमाले लामो सुस्केरा हाल्दै आफ्नो ब्लाउजको कलर खोलिन् । उनलाई सास फेर्न मुस्किल परिरहेको थियो । “हिँड्, हिँड् !” गाडावाल लगाम हललाउँदै भुतभुताइरहेको थियो । होचो कदको त्यस गाडावालको उमेर अन्दाज लगाउन मुस्किलै पर्थ्यो । उसका खुट्टाहरु टेढामेटा थिए, कपाल र दाह्री अस्तव्यस्त थियो । उसका नीरस आँखामा कुनै चमक थिएन । ऊ गाडासँगसँगै यसरी झुक्दै हिँडिरहेको थियो, मानौं दायाँ लाग्ने हो अथवा बायाँ, उसलाई कुनै सरोकार छैन ।

“हिँड, हिँड् !” – ऊ भावहीन स्वरमा दोह-याउँथ्यो । गह्रौं बुटमा कसिएका उसका बाङ्गाटिङ्गा खुट्टाहरुले अनौठो तरिकाले टेक्थे । उसको बुटमा लागेको हिलो जमेर सुकिसकेको थिएन । आमाले चारैतिर हेरिन् । खेत पनि उनको हृदयजस्तै शून्य थियो … ।

कडा घामले तातिएको बालुवाको बाक्लो तहमा गाडा तान्दै घोडा एकैनासले आफ्नो टाउको हल्लाउँदै गैरहेको थियो । बतासले घोडाको याल हल्लाउँदै थियो र सरसर आवाज आउँदै थियो । तेल नलगाइएको त्यो पुरानो गाडा चरमराउँदै थियो । धूलो र यो चरचर आवाज पछाडि छाड्दै गाडा अगाडि बढिरहेको थियो … ।

निकालाइ इभानोभिच सहरको छेउमा रहेको एक सुनसान सडकमा बस्थ्यो । एउटा पुरानो, जर्जर मैसकेको दुईतले घरसँगै जोडेर एउटा अर्को सानो हरियो रङको एकतले घर बनाइएको थियो । त्यही घरको एक भागमा ऊ बस्थ्यो । उसको घरअगाडि एउटा सानो बगैंचा थियो । उनीहरु बसेका तीनवटै कोठाहरुमा झ्यालहरुभित्र बकैनो र बबुरका फूलहरु, भर्खरैको चिनारको रुखका चाँदीजस्तै टल्कँदा पाताहर चियाउँदै थिए । कोठाहरु सफा र शून्य थिए । भुँइँमा रुखहरुका जालीदार छायाँहरु देखिन्थे । भित्ताहरुमा राखिएका किताबका दराजहरुमाथि गम्भीर अनुहार भएका मान्छेहरुका फोटाहरु टाँसिएका थिए ।

“यो कोठा कस्तो होला तपाईंका लागि ?” – निकोलाइले आमालाई एउटा सानो कोठाभित्र लैजाँदै सोध्यो । त्यस कोठाको एउटा झ्याल बगैंचातिर खुल्थ्यो र अर्को झ्याल चोकतिर पर्थ्यो । झ्यालअगाडि चोकमा झार उम्रिएको थियो । यस कोठामा पनि किताबहरु राखिएका थिए ।

“म त भान्साकोठामै सुतूँला !” – आमाले भनिन् – “भान्साकोठा निकै सफा र उज्यालो रहेछ … !”

आमालाई लाग्यो, उनको कुरा सुनेर निकोलाइ तर्सियो । जब उसले बडो असजिलो मान्दै, लाज मान्दै आमालाई त्यही कोठामा बस्न मनाउन थाल्यो, आमा सहमत भैहालिन् । निकोलाइ दङ्ग प¥यो ।

तीनवटै कोठामा एउटा विशेष वातावरण फैलिएको थियो, सास फेर्न सजिलो थियो र रमाइलो लागथयो तर कोठाभित्र पस्दा सानो स्वरले बोलने इच्छा हृन्थ्यो, कहीँ त भित्ताहरुबाट हेरिरहेका मानिसहरुको मनमा खलबली पर्न नजाओस् ।

“फूलहरुमा पानी हाल्नुप-यो !” – आमाले झ्यालमा राखिएका गमलाहरुको माटो हातले छाम्दै भनिन् ।

घरधनीले अपराधीले जस्तो भन्यो, “हो, हो पर्छ ! मलाई फूलको बडो सोख छ, तर हेरविचार गर्ने फुर्सदै पाउन्नँ … ।”

आमालाई लाग्यो, यस्तो सुबिस्ताको घरमा पनि निकोलाइ असजिलो मान्दै हिँड्छ । सबै कुरा उसका लागि बिरानो र अपरिचितजस्तो देखिन्छ । ऊ कोठामा राखिएका विभिन्न कुराहरुको नजिक जान्थ्यो र दाहिने हातका पातला औंलाहरुले चस्मा मिलाउँदै हेर्न थाल्यो । जुनसुकै कुराप्रति आफ्नो ध्यान आकर्षित भए पनि ऊ बडो जिज्ञासापूर्वक हेर्थ्यो । कहिलेकाहीँ ऊ कुनै कुरा टिप्थ्यो र आँखाअगाडि लगेर बडो ध्यानपूर्वक हेर्थ्यो । आमाजस्तै ऊ पनि पहिलोपल्ट यस घरभित्र पसेको छ र उसका लागि पनि यहाँका सबै कुरा नौला र अपरिचित छन् जस्तो भान हुन्थ्यो । आमा उसको पछाडिपछाडि जाँदै थिइन् र कुन कुरा कहाँ राखिएको छ भन्ने याद गर्दै उसको दिनचर्याबारे सोध्ने गर्थिन् । ऊचाहिँ अपराधीको जस्तो जवाफ दिन्थ्यो – त्यो अपराधी उसलाई थाहा छ, ऊ सबै कुरा गलत तरिकाले गर्दैछ, तर अर्को तरिका उसलाई थाहा पनि ाछैन ।

आमाले गमलाहरुमा पानी हालिन् र पियानोमा छरिएका सङ्गीतका नोटका पानाहरु बटुलेर राखिसकेपछि सामोभारतिर हेर्दै भनिन् – “सफा गर्नुपर्छ … ।”

उसले त्यो रङ उडिसकेको भाँडो औंलाले छाम्यो र औंला नाकअगाडि लगेर बडो ध्यान दिएर हेर्न थाल्यो । आमा स्नेहपूर्वक हाँसिन् ।

त्यस रात सुत्नका लागि बिछ्यौनामा पलटेपछि आमाले दिनभरि भएका घटनाहरुबारे विचार गर्न थालिन् । एकछिनपछि उनले टाउको उठाइन् र कोठाको चारैतिर हेरिन् । जिन्दगीमा पहिलोपल्ट उनी अर्काको घरमा रात बिताउँदै थिइन्, तर उनलाई अलिकति पनि सङ्कोच लागिरहेको थिएन । उनी बडो प्रेमपूर्वक निकोलाइबारे सोच्दै थिइन् । उनको हृदयमा उसलाई सुखी बनाउने, उसप्रति यस्तो स्नेह देखाउने इच्छा पैदा भयो, जसले गर्दा उसको जीवन सुखी र शान्त होस् । उसको लजाउने बानी, हास्यास्पद लाचारी, सामान्य कुराप्रति उसको विरक्ति र उसका ती विवेकशील निर्मल आँखाहरुले जसमा बालकको जस्तो निर्बोध चमक हुन्थ्यो, आमाको भित्री हृदय छोएको थियो । फेरि आफ्नो छोराबारे सोच्न थालिन् र उनका आँखा अगाडि पहिलो मेको उनै घटनााहर घुम्न थाले । अब ती घटनाहरुमा उक नयाँ गुन्जन थियो, एक नयाँ महत्व थियो । त्यस दिनजस्तै आजको पीडामा पनि कुनै विशेष कुरा थियो। यस पीडाले टाउको झुकाउन बाध्य पर्दैनथ्यो, जस्तो कुनै प्रबल आघातले झुकाउँछ । यस पीडाले बारम्बार हृदयमा घोच्थ्यो र बिस्तारै एउटा त्यस्तो रोष पैदा गर्थ्यो जसले झुकेर कम्मर पनि सिधा पार्थ्यो ।

हाम्रा बच्चाहरु सङ्घर्षको मैदानमा उत्रँदैछन् – आमा सोच्दै थिइन् । उनी बगैंचाका पाताहरुलाई छेड्दै खुला झ्यालहरुबाट भित्र पसिरहेको सहरका ती रात्रिकालीन अपरिचित आवाजहरू सुनिरहेकी थिइन् । ती थकित र क्षीण आवाजहरु कतै टाढाटाढाबाट आइरहेका थिए र कोठामा पुगेपछि बिलाउँथे ।

बिहान सबेरै आमाले सामोभार माझिन् र चियापानी बसालिन् । बिहानको खानाका लागि चुपचाप टेबुलमा खाना सजाइसकेपछि उनी निकोलाइ उठ्ने प्रतीक्षा गर्न थालिन् । केही बेरपछि निकोलाइले खोक्दै आफ्नो कोठाको ढोका खोल्यो । उसले एक हातले चस्मा र अर्को हातले कमिजको कलर समाएको थियो । उनीहरुले एक–दोस्रालार्य अभिवादन गरे र आमाले सामोभार लगेर अर्को कोठामा राखिन् । निकोलाइ हातमुख धुँदै थियो । भुइँमा जताततै पानी उछिट्टिरहेको थियो । आफ्नो साबुन र दाँत माझ्ने ब्रस पनि उसले खसाल्यो र आफ्नो यस बेवकुफीप्रति ऊ बडबडाउन थाल्यो ।,
निकोलाइले चिया पिउँदै भन्यो – “ग्रामीण बोर्डमा म एउटा साह्रै नरमाइलो काम गर्दैछु । त्यो हो ‘कसरी हाम्रा किसानहरु बर्बाद हुँदैछन्’ भन्ने विषयमा अध्ययन … ।” – ऊ अपराधीजस्तो मुस्कुराउँदै थियो – “भोकले गलेका मान्छेहरु असामयिक मृत्युको शिकार हुन्छन् र शरद् ऋतुमा झिँगा मरेजस्तो मर्छन् । हामीलाई यी सबै कुरा थाहा छ र यस दुर्भाग्यको कारण पनि थाहा छ । यस अध्ययनका लागि मैले तलब पाउँछु र यसभन्दा बढी केही काम हुँदैन … ।”

“के तपाई पढ्ने काम गर्नुहुन्छ ?” – आमाले सोधिन् ।

“होइन, म पढाउने काम गर्छु । मेरा बुबा भ्यात्का सहरको एउटा फैक्ट्रीमा मेनेजर हुनुहुन्छ, मैले चाहिँ मास्टरी पेसा रोजेँ । गाउँगाउँमा गएर किसानहरुलार्य किताब बाँड्न थालेँ र कामका लागि जेल पनि परेँ । जेलबाट निस्केपछि किताब पसलमा काम गर्न थालेँ, तर आफ्नै लापरवाहीले गर्दा फेरि जेल परेँ र त्यसपछि अर्खानगेल्स्कमा निर्वासित भएँ । त्यहाँ पनि गभर्नरसँग खाटपट भयो र त्यहाँबाट श्वेत सागरको किनारमा रहेको एउटा गाउँमा निर्वासित भएँ । त्यस गाउँमा मैले पाँच वर्ष बिताएँ ।”

घामले भरिएको त्यो उज्यालो कोठामा उसको स्वर निर्वाध रुपमा प्रवाहित हुँदै थियो । आमाले यस्ता धेरै कथाहरु सुनिसकेकी थिइन्, तर कहिल्यै पनि बुझ्न सकेकी थिइनन् । कसरी यी मान्छेहरु त्यति शान्तिपूर्वक आफ्नो कथा सुनाउन सक्छन्, मानौं उनीहरु कुनै अनिवार्य कुराको उल्लेख गर्दैछन् ?

“आज मेरी दिदी आइपुग्नुहुन्छ !” – निकोलाइले भन्यो ।

“विवाहिता ?”

“होइन, विधवा । भिनाज्यू साइबेरिया निर्वासित हुनुभएको थियो, त्यहाँबाट भाग्नुभयो र दुई वर्षअगाडि क्षयरोगले विदेशमा उहाँको देहावसान भयो … ।”

“कति वर्ष पुग्नुभो तपाईकी दिदी ?”

“मभन्दा छ वर्ष जेठी हुनुहुन्छ । म बडो आभारी छु आफ्नी दिदीप्रति । तपाई एकपलट सुनेर मात्र त हेर्नोस् उहाँ कसरी पियानो बजाउनुहुन्छ ! यो उहाँकै पियानो हो … यहाँका धेरै चीजबीजहरु दिदीकै हुन् । किताबहरु मात्र मेरा हुन् … ।”

“कहाँ बस्नुहुन्छ नि दिदी ?”

“जहाँ पायो त्यहीँ !” – उसले मुस्कुराउँदै जवाफ दियो – “जहाँ साहसी मान्छेको जरुरत पर्छ, त्यहीँ पुगनुहुन्छ ।”

“उहाँ पनि यही काम गर्नुहुन्छ ?” – आमाले सोधिन् ।

“अनि त !” – उसले भन्यो ।

ऊ छिटै काममा गयो र आमा त्यस कामबारे र ती मानिसहरुबारे सोच्न थालिन्, जो रातदिन निरन्तर त्यसमा लागेका हुन्छन् । उनीहरुका अगाडि उनलाई आफू धेरै तुच्छ लाग्यो, जस्तो रातको समय पहाडअगाडि उभिएको मान्छे आफूलाई तुच्छ सम्झन्छ ।

दिउँसोतिर अग्लो, सुडौल जीउ भएकी मेमसाहेब आइपुगिन् । उनले कालो स्कर्ट लगाएकी थिइन् । आमाले ढोका खोलिन् । आगन्तुकले भित्र पस्नासाथ आफ्नो सानो पहेँलो सुटकेस भुइँमा पाmलिन् र अगाडि बढेर आमाको हात सामाइन् ।

“तपाई पाभेल मिखाइलोभिचकी आमा होइन ?” – उनले सोधिन् ।

“हो !” – त्यस आइमाईको राम्रो लुगा देखेर अलमल्ल पर्दै आमाले जवाफ दिइन् ।

“तपाई मैले ठानेकीजस्तै हुनुहुँदो रहेछ । भाइले लेखेको थियो, तपाई यहाँ बस्न आउँदै हुनुहुन्छ !” – आइमाईले ऐनाअगाडि उभिएर आफ्नो टोप फुकाल्दै भनिन् – “पाभेल मिखाइलोभिच मेरो पुरानो साथी हो । उसले मलाई तपाईंबारे बताएको थियो ।”

उनको आवाज अलि धोत्रे थियो र बिस्तारै बोल्ने गर्थिन्, तर हेर्दा निकै फूर्तिली र तगडा देखिन्थिन् । उनका खैरा आँखामा जवानीको चमक थियो, तर कन्चटमा चाउरी देखा पर्न थालिसकेको थियो र कानमाथि सेता रौंहरु चम्कँदै थिए ।

“भोक लाग्न थाल्यो !” – आइमाईले भनिन् – “एक कप कफी पिउन पाए हुन्थ्यो … ।”

“म तुरुन्त बनाइदिन्छु ।” – आमाले भनिन् । दराजबाट कफीका भाँडाहरु निकाल्दै आमाले सोधिन् – “तपाई भन्दै हुनुहुन्थ्यो, पाभेलले मेरो विषयमा कुरा गरेको थियो ?”

“धेरैपल्ट … ।” – त्यस आइमाईले सानो छालाको ब्यागबाट चुरोट निकालेर सल्काउँदै जवाफ दिइन् र कोठामा ओहोरदोहोर गर्न थालिन् ।

“तपाईलाई असाध्यै पीर लागेको छ उसको ?” – उनले सोधिन् ।

आमा कफीको भाँडामुनि स्टोभबाट निस्किरहेका सानासाना नीला लपेटाहरुतिर हेर्दै मुस्कुराइन् । त्यस आइमाईलार्य देखेर सुरुमा आमालाई असजिलो लागेको थियो तर अहिले खुसीको प्रवाहमा उनको यो असजिलोपना गायब भयो ।

“त्यसो भए उसले मेरो विषयमा करा गरेको रहेछ, मेरो प्यारो छोरा !” – आमाले मनमनै सोचिन् । फेरि बिस्तारै भन्न थालिन् – “हो, किन पीर नलाग्नु र ! यी सबै कुराको बानी पर्न गाह्रै पर्दो रहेछ, तर अझ गाह्रो पर्थ्यो होला । अब त ऊ एक्लो छैन भन्ने कुरा मलाई थाहा भैसकेको छ … ।”

आमाले त्यस आइमाईतिर हेर्दै सोधिन् – “तपाईको नाम ?”

“सोफिया !” – उनले जवाफ दिइन् ।

आमाले उनलाई बडो ध्यानपूर्वक हेरिन् । त्यस आइमाईमा एउटा अनौठो व्यापकता थियो – एक अपार साहस र चञ्चलता ।

छिटोछिटो कफी पिउँदै उनले दृढतापूर्वक भनिन्, “सबैभन्दा मुख्य कुरा हो उनीहरु सबै सकेसम्म छिटो जेलबाट छुट्न, जति छिटो मुद्दा सकियो त्यति राम्रो ! उनीहरुलाई निर्वासनमा पठाउनासाथ हामी पाभेल मिखाइलोभिचका लागि भागने प्रबन्ध मिलाउन थाल्नेछौं । यहाँ उसको जरुरत छ ।”

आमाले अविश्वासपूर्वक सोफियातिर हेरिन् । सोफिया चुरोटको ठूटो फाल्ने ठाउँ खोज्दै थिइन् । अरु कुनै ठाउँ नभेट्टाएर उनले रगमलाको माटामा चुरोटको ठूटो निभाइन् ।

“यसरी त फूल बिग्रन्छ !” – आमाको मुखबाट अनायास निस्क्यो ।

“माफ गर्नोस् ।” – सोफियाले भनिन् – “निकोलाइ पनि मलाई सधैं यही भन्ने गर्छ ।” – उनले गमलाबाट ठुटो निकालिन् र झ्यालबाट बाहिर फालिदिइन् ।

आमाले असजिलो मान्दै सोफियाको मुखमा हेरिन् र लज्जित हुँदै भनिन् – “होइन, तपाई मलाई माफ गर्नोस् ! सोचविचारै नगरी बोलिदिन्छु । म कसरी तपाईलाई सिकाउन सक्छु र – के गर्नुहुन्छ र के गर्नुहुँदैन ?”

अचानक आमाको काँध समाएर आफूतिर तान्दै सोफियाले तिनको आँखामा हेरिन् ।

“के तपाई साँच्चै लाज मान्दै हुनुहुन्छ !” – सोफियाले सोधिन् ।

आमाले मुस्कुराउँदै जवाफ दिइन्, “भर्खरै मात्र मैले तपाईलाई ठुटोको कुरामा गाली गरेँ, तपाईचाहिँ भन्नुहुन्छ म लाज मान्छु !”

आफ्नो आश्चर्य लुकाउने कुनै प्रयास नगर्दै उनले भनिन् – “हिजो मात्र म तपाईहरुकहाँ बस्न आएँ, मलाई चाहिँ यही मेरो घर हो जस्तो लाग्न थालिसकेको छ । मलाई कुनै कुराको डर लाग्दैन, मनमा जे लाग्यो त्यही कुरा भनिदिन्छु … ।”

“यस्तै त हुनुपर्छ !” – सोफियाले खुसी हुँदै भनिन् ।

अब त मेरो टाउको पनि रिङ्गिन थालिसक्यो, आफैंले आफूलाई चिन्न छोडिसकेकी छु ।” – आमा भन्दै थिइन् – “पहिले जबसम्म कुनै मान्छेसँग राम्ररी हेलमेल हुँदैनथ्यो, मनको केृही कुरा खोल्न सक्दिनथेँ । तर अबचाहिँ सधैं हृदय खुल्ला रहन्छ र एकैचोटि त्यस्तो कुरा गरिदिन्छु, जुन पहिले म सोच्नसम्म पनि सक्दिनथेँ … ।”

सोफियाले फेरि चुरोट सलकाइन् र आफ्ना ाचम्किला खैरा आँखाले बडो कोमलतापूर्वक आमातिर हेर्न थालिन् ।

“तपाई भन्दै हुनुहुन्थ्यो पाभेलको भाग्ने बन्दोबस्त मिलाउन सकिन्छ ? तर यसरी भागेर ऊ बस्छ नै कहाँ ?” – आमाले सोधिन् । यस प्रश्नले उनलाई अघिदेखि नै सताइरहेको थियो ।

“यो कुनै गाह्रो काम होइन !” – सोफियाले अर्को एक कप कफी खन्याउँदै जवाफ दिइन् – “यसरी अरु दर्जनौं भागेर आएका मानिसहर लुकेर बस्छन् … । अहिले भर्खरै मात्र त्यस्तै एक जना मान्छेलाई भेटेर उसको बस्ने बन्दोबस्त मिलाएर आएको छु । निकै काम लागने मान्छे छ । पाँच वर्षको सजाय पाएको थियो तर साढे तीन महिनाभन्दा बढी उसले निर्वासनमा बिताएन … ।”

आमाले एकछिनसम्म सोफियालाई हेरिरहिन् र मुस्कुराउँदै, फेरि टाउको हल्लाउँदै बिस्तारै भनिन् – “मे दिवसले मलाई कुनै जादु गरिदिएजस्तो लाग्न थालेको छ । होसहवास ठीक छैन – एकैछोटि दुई बाटामा हिँडिरहेजस्तो लाग्छ मलाई । कहिले लाग्छ, म सबै कुरा बुझ्छु, तर अकस्मात् सबै कुरा धमिलिन थाल्छ । अहिले नै हेर्नोस् न तपाई घरानियाँ परिवारकी छोरीबेटी, यस्तो काम गरेर हिँड्नुभएको छ … । तपाई मेरो पाभेललाई चिन्नुहुन्छ र उसको कदर गर्नुहुन्छ, यसका लागि तपाईलाई धेरैधेरै धन्यवाद … ।”

“होइन, धन्यवाद त मैले पो दिनुपर्छ !” – सोफियाले हाँस्दै भनिन् ।

“मैले के गरेकी छु र ?” – आमाले लामो सास फेर्दै भनिन् ।

सोफियाले प्लेटमा चुरोटको ठुटो निभाउँदै यसरी आफ्नो टाउको हल्लाइन्, मानौं उनका कपालका सुनौला लटहरु फुस्केर कमरसम्म आइपुगे ।

“जब गएर म आफ्नो यो सबै चहकमहक फुकालेर आउँछु ।” – कोठाबाट निस्कँदै उनले भनिन् ।

लेखक परिचय

म्याक्सिम गोर्की रूसका प्रख्यात साहित्यकार हुन् । उनको आमा उपन्यास संसार प्रख्यात मानिन्छ । यसबाहेक उनका छोटा कथाहरू पनि उत्तिकै प्रख्यात छन् ।

प्रतिक्रिया
Loading...