क्रिसमसका लागि बेलायतमा ८ सय किताब प्रकाशित भएका छन् यसपाला । यी ८ सय किताबमध्ये केही त्यत्तिकै हराउँछन्, केही सुपरहिट हुन्छन् ।
तीमध्ये आधा हिस्सा बाल साहित्यले ओगट्ने गरेको छ ।
राम्रा बाल साहित्यलाई गम्भीर व्यापारका रूपमा लिइनुपर्छ । गम्भीर यस अर्थमा कि यो बोरिङ वा यसको स्तरोन्नति गर्नुपर्ने अर्थमा होइन । गम्भीरता लक्ष्यमा हो, यसको सुन्दरता र चमत्कारी अर्थमा हो । यसले हाम्रो मस्तिष्कलाई मात्र व्यस्त बनाउँदैन, हृदयलाई पनि उपचार गर्छ । यसले दुःख र अप्ठेरासँग जुझ्ने शक्ति दिन्छ, यसले सिल्लीपना र खुसीलाई अभिव्यक्त गर्ने बाटो दिन्छ ।
सम्पूर्णतामा बालबालिकाको संसारलाई वैध बनाउँछ, जुन अचेलको बाल संसारबाट त्यो गायब हुँदै गइरहेको देखिन्छ ।
केही पृष्ठको चित्रपुस्तक मात्र होइन, ५०० पृष्ठसम्म फैलिएको असल बाल साहित्य लेख्नु त्यति सजिलो छैन ।
बालबालिकालाई कुनै किताब मन पर्यो भने त्यसलाई उनीहरूले दर्जनौँ पटक पढ्छन् । त्यसैले यसको सिर्जनामा गम्भीरताको अपेक्षा जो कोहीले गर्छ, गर्नुपर्छ ।
मार्क हेडनले १७ वटा बाल साहित्य सिर्जना गरिसकेका छन् तर पछिल्लो द क्युरियस इन्सिडेन्ट अफ द डग इन द नाइट टाइमले भने उनको लेखनीलाई नै परिवर्तन गरिदियो ।
त्यसपछि उनले लेखेको द सी अफ ट्रयाङ्क्विलिटी लेख्न दुई वर्ष लाग्यो । उनले ५० वटा ड्राफ्ट तयार पारेका थिए । यसपछि उनले त्यही ड्राफ्टका आधारमा ५० हजार शब्दको उपन्यास तयार पार्ने सोचेका थिए तर यसलाई उनले ५०० शब्दमा झारेर एउटा चित्रकथा पुस्तक बनाए ।
उनलाई लाग्छ, राम्रो बाल साहित्यले बालबालिकालाई यति तान्छ कि उनीहरूले एउटै कथा दोहोर्याएर पचासौँ पटक पढ्छन् । तिनका अभिभावकले पनि उनीहरूका सन्तानले रूचाएका पुस्तकलाई रूचिसाथ पढेर सुनाउँछन् । त्यसैले यस्ता बाल साहित्यमा भएका ससाना गल्ती, अपूर्णता चाहिँ बालबालिकाको ढुंगे ओछ्यानमा परिणत हुन बेर लाग्दैन ।
त्यसैले त ५० हजार शब्दलाई झारेर ५०० शब्दको पुस्तक निकाल्न उनलाई झिँझ्याट लाग्दैन । एउटै किताबका लागि दुई वर्ष दिमाग खियाउन उनलाई रमाइलो लाग्छ ।
यस किसिमको मिहिनेत पछिल्लो समय अब हराउँदै जान थालेको आभास किताब उद्योगमा हुन थालेको छ । बाल साहित्य सिर्जन खेलाँचीमा परिणत हुन थालेको अनुभव फन्डलिङ म्युजियमकी निर्देशक तथा बाल साहित्यकी प्रख्यात लेखिका लरेन चाइल्डलाई लाग्न थालेको छ ।
यसलाई कम माग हुने वा कम गुनासो आउने ठाउँ ठान्दै पुस्तक सिर्जनामा कम महत्त्व दिइने, त्यस्तै देखिएका गल्तीलाई समेत लेखक र प्रकाशकले नदेखेझैँ गर्ने क्रम बढ्न थालेको अनुभूति हुन थालेको छ ।
जेके रोलिङ र फिलिप पुलम्यानजस्ता लेखकले बाल साहित्यबाट यति चाँडो ठाउँ बनाए कि यो एउटा लेखकका लागि सफलताको सिँढी चढ्ने माध्यम बन्न पुगेको लरेन चाइल्डको भनाइ छ ।
यसको अर्थ, केही लेखकले आफ्नो कामलाई इमान्दारीपूर्वक नगरेको भने होइन । लोकप्रिय, चर्चित पुस्तक निकाल्ने कि बालबालिकाको मस्तिस्क हल्लाउन, सिर्जनात्मक पुस्तक निकाल्ने कि बिक्ने पुस्तक निकाल्ने भन्ने बहस बाल साहित्यमा पनि चल्न थालेको छ ।
कतिसम्म भने सेलिब्रिटी लेखकका बाल साहित्य मात्र बजारमा किन्न पाइन्छन् । पुस्तकालय तथा अन्यत्र पनि अवस्था त्यही देखिन्छ । जसले स्तरीय बाल साहित्यको अभाव खट्कन थालेको छ । पुस्तक पसल तथा सुपर मार्केटहरूमा सेलिब्रिटी लेखकका पुस्तक ४० प्रतिशत पाइन्छन् भने अन्य लेखक त्यसपछि मात्र पाइने सूचीमा पर्छन् ।
जब स्तरीय बाल साहित्य बजारमा आउँदैन, त्यसले अन्य स्तरीय साहित्यमा असर पार्ने लरेन बताउँछिन् । ‘जब कुनै रूखको जरा दह्रो छ, पोषण पुगेको छ भने त्यो रूख लामो समयसम्म बाँच्छ,’ लरेन भन्छिन्, ‘ठीक यही कुरा बाल साहित्यमा पनि लागू हुन्छ । हामीले सेलिब्रिटी साहित्यकारका सामग्री मात्र दिने तर अन्य स्तरीय सामग्री नबेच्ने गर्न थाल्यौँ भने सिर्जनाको मूल सुक्न थाल्छ । बालबालिकाको रूचि खराब चिजमा बस्न थाल्छ । र, त्यसले समग्र साहित्य जगतलाई असर पार्न थाल्छ । यसतर्फ हामीले सोच्न ढिला भइसकेको छ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।