सत्र १२
ओशोको आत्मकथाः स्वर्णिम बालापन

राजा नाम राख्न प्रतिबन्धित ठाउँ

रातभरि काम गरिरहेँ किनभने मैले यस्तो कुरा भनेँ, जुन शायद देवराजको चित्त दुखाउने किसिमको थियो । उसले त्यसमा ध्यान नदिएको हुनसक्छ तर मैले बोलेको कुराले मलाई रातभरि भारी भइरह्यो । म निदाउन सकिनँ । मैले भनेको थिएँ, कुनै बुद्धसँग निजी दन्त चिकित्सक थिएन होला तर गौतम बुद्धसँग त निजी वैद्य थियो । त्यसैले मैले आकाशीय रेकर्ड हेर्नुपर्यो ।

कसैले ध्यान नदिने कुराहरूका लागि मैले केही थप कुरा भन्नुपर्ने हुन्छ । विशेषगरी मूर्ख इतिहासकारहरूले ध्यान नदिने कुरामा । म इतिहास हेरिरहेको थिइनँ । मैले समयलाई फर्केर हेर्नुपर्ने थियो । एचजी वेल्सले टाइम मेसिन भनेजस्तै, त्यसमा जानु पर्यो म । यो साह्रै गाह्रो काम हो । तिमीहरूलाई त थाहै छ, म ज्यादै अल्छी मानिस हुँ । अहिले पनि मेरो दम बढेजस्तो भइरहेको छ ।

गौतम बुद्धका निजी चिकित्सक थिए, जीवक । सम्राट बिम्बसारले बुद्धलाई दिएका थिए । बिम्बसार बुद्धका संन्यासी थिएनन्, उनी केवल बुद्धका हितैषी थिए, शुभचिन्तक थिए । उनले बुद्धलाई जीवक किन दिए थाहा छ ? किनभने बिम्बसार त्यो बेलाको सबैभन्दा प्रसिद्ध राजा थिए । अर्का एक राजासँग बिम्बसारको प्रतिस्पर्धा चलिरहेको थियो । उनको नाम थियो, प्रसेनजीत । प्रसेनजीतले बुद्धसँग भनेका थिए, ‘तपाईंलाई जुनसुकै बेला आवश्यक परे, मेरो वैद्य तपाईंको सेवामा आउने छन् ।’

बिम्बसारका लागि यो ठूलो कुरा थियो । प्रसेनजीतले यस्तो गर्न सक्छ भने बिम्बसारले उसलाई सबैभन्दा प्रिय निजी वैद्य उपहारमै दिनसक्छ र दिएर देखाउनेछ । त्यसैले बुद्ध जहाँजहाँ गए, जीवक उनीसँगै हिँडे । जीवक शिष्य थिएनन्, उनी हिन्दु ब्राह्मण नै रहिरहे सधैँ ।

अनौठो थियो, बुद्धका वैद्य, जो निरन्तर उनीसँगै दिनरात छायाँजस्तै थिए, उनी ब्राह्मण नै रहिरहे । तर यो तथ्यले के सिद्ध हुन्छ भने जीवकले राजाबाट तलब पाउँथे । उनी राजाको जागिरे थिए । राजाले बुद्धको सेवा गर्नु भनेकाले स्वामी आज्ञा मान्नै पर्यो । बुद्धकहाँ पनि उनी कहिलेकाहीँ मात्र जान्थे किनभने बिम्बसार बूढो भइसकेका थिए । उनलाई पनि वैद्य चाहिन्थ्यो र प्रायः जीवकले राजधानी धाइरहनु पर्थ्यो ।

देवराज ! तिमीले शायद यो कुरा सोचेका पनि थिएनौहोला तर मलाई अपसोच भयो, मैले तिमीमाथि केही बढी नै ज्यादति गरेँ कि ! मैले त्यसो भन्नु हुन्थेन । तिमी यस्तो अनौठो छौ कि जोसुकै तिमीजस्तो हुनसक्छ ! जहाँसम्म कुनै बुद्धसँग उसको निजी डाक्टर थियो कि थिएन भन्ने कुरा, डाक्टर भए पनि तिमीसँग तुलना गर्न सकिँदैन न त विगतमा न त भविष्यमा नै ! किनभने यस्तो मानिस कहीँ फेला पर्दैन, जो यति सरल र यति पागल पनि होस् र आफैँलााई जोरबा दि बुद्धा भनाओस् ।

यसले मलाई त्यो कथा सम्झना भयो, जुन मैले तिमीलाई सुनाइरहेको थिएँ । मेरो हृदयबाट ठूलो बोझ निस्कियो । मेरो श्वासबाटै तिमीले देखिरहेका छौ । मैले वास्तवमै राहत पाएको छु । त्यो त मैले यत्तिकै सर्सर्ती भनेको थिएँ तर म ज्यादै संवेदनशील छु- शायद कुनै बुद्ध पुरूषभन्दा पनि बढी । तर म के गर्न सक्छु र ? म अरूले अपेक्षा गरेजस्तो बुद्ध बन्न त सक्दिनँ नि ! म त आफूजस्तो छु, त्यस्तै मात्र हुनसक्छु ! म एउटा ठूलो बोझबाट मुक्त भएँ, जुन कुरा शायद तिमीहरूले बिल्कुलै अनुभव नगरेका हौला । अथवा शायद गहिराईमा तिमीले जान्यौ होला र त्यसलाई लुकाउनका लागि मात्र मुस्कुराएका हुँदा हौ । तिमी मसँग केही पनि लुकाउन सक्दैनौ ।

तर अनौठो कुरा चाहिँ, होश त्यो चिजबाट अझ बढी स्पष्ट हुन्छ, जुन शरीरलाई विलुप्त पार्न सहायक हुन्छ । म यो कुर्सीलाई यत्तिका लागि मात्र पक्रिरहेको छु, ताकि मलाई शरीर अझै पनि छ है भन्ने याद होस् । यो कुर्सीलाई समाइरहनका लागि मैले समाएको होइन । यत्तिका लागि कि कतै तिमीहरू पागल नहोओ । यो कोठामा चार जना पागल मानिस अटाउँदैनन्, त्यति ठाउँ छैन । अँ, आफूभित्रको पागलपनका लागि त कुनै सीमा छैन ।

अब हामी फेरि कथामा फर्कन्छौँ । यो कथा होइन, तर म यसलाई कथा भन्छु । तिमीहरूलाई जीवन पढ्न आउँछ भने, जीवनमा यस्ता धेरै घटना हुन्छन्, जुन कहानीजस्तै हुन्छन् । त्यो बेला उपन्यास पढ्ने आवश्यकता रहँदैन । तर थाहा छैन, कृष्णमूर्ति उपन्यास किन पढ्छन् ? त्यो पनि ज्यादै घटिया जासुसी उपन्यास ! उनमा केही अवश्य कमी हुँदो हो । उनी त्यसलाई देख्न सकिरहेका छैनन् । त्यति समझदार, बुझ्झकी मानिस, या शायद उनी देखिरहेका होलान् तर जासुसी उपन्यासका माध्यमबाट आफैँलाई धोका दिने प्रयास गरिरहेका होलान् ।

कृष्णमूर्ति भन्छन्, उनको सौभाग्य- उनले भगवद्गीता, कुरान या ऋग्वेद पढेनन् । तर उनी जासुसी उपन्यास त पढ्छन् न ! उनले के पनि भन्नुपर्छ भने, उनको दुर्भाग्य, उनी जासुसी उपन्यास पढ्छन् । तर उनी त्यस्तो भन्दैनन् । तर मलाई थाहा छ किनभने बम्बईमा म त्यही घरमा बास बस्थेँ, जहाँ उनी बसेका थिए । हाम्रा घरबेटी, त्यो घरकी मालिक्नीले मलाई सोधिन्, ‘एउटा कुरा सोधूँ कि नसोधूँ भयो ? तपाईंले कहिल्यै जासुसी उपन्यास पढेको मैले देखिनँ । सबै सम्बुद्ध मानिसहरू जासुसी उपन्यास पढ्छन् कि जस्तो मैले ठानेकी थिएँ ।’

मैले आश्चर्यले भनेँ, ‘तिम्रो दिमागमा यस्तो मूर्खतापूर्ण विचार कहाँबाट आयो हँ ?’

उनले भनिन्, ‘कृष्णमूर्तिबाट । उहाँ पनि यहाँ बस्नुभएको थियो । मेरा पति उहाँका अनुयायी हुनुहुन्छ । म पनि उहाँलाई ज्यादै प्रेम गर्छु । उहाँलाई मान्छु । मैले उहाँलाई घटिया जासुसी उपन्यास पढ्दै गरेको देखेकी छु । र, मैले सोचेँ कि कतै तिनमा पनि केही खास कुरा होला । ज्यादै व्यक्तिगत कुरामा चासो राखेकामा मलाई माफ गर्नुहोला । उत्सुकतावश मैले तपाईंको सुटकेस पनि खोलेर हेरेँ । शायद तपाईंसँग पनि केही जासुसी उपन्यास होला, लुकाएर कतै राख्नु भएको होला ।’

मैले त एउटा मात्र होइन, तीन वटा ठूलाठूला सुटकेस लिएर हिँड्थेँ । ती महिलाले सोचिन् होला, कतै ती ठूला सुटकेसमा मैले जासुसी उपन्यासको पुस्तकालयै त राखेको छैन ? तर उनले एउटा पनि पुस्तक फेलफा पारिनन् । उनी छक्क परिन् ।

वाराणसीमा कृष्णमूर्ति जुन साथीकहाँ बसेका थिए, उनले पनि मलाई त्यही सोधेका थिए । दिल्लीका मित्रले पनि यही सोधेका थिए । त्यसैले यो कुरा गलत हुन सक्दैन । बेग्लाबेग्लै ठाउँका बेग्लाबेग्लै मानिसले पटक पटक एउटै कुरा सोधे । धेरै मानिसले उनलाई हवाई जहाजको यात्राका बेला पनि उनले जासुसी उपन्यास पढ्दै गरेको देखेका छन् । संयोगवश हामी दुवै जना एउटै हवाई जहाजको यात्रा गरिरहेका थियौँ । सत्य त के भने बम्बईबाट दिल्लीको हवाई यात्राको बेलामा मैले पनि उनलाई जासुसी उपन्यास पढ्दै गरेको देखेको छु । संयोगवश हामी दुवै एउटै हवाई जहाजबाट यात्रा गरिरहेका थियौँ । त्यसैले म अधिकारपूर्वक भन्न सक्छु, उनी जासुसी उपन्यास पढ्छन् । मलाई कुनै साक्षी चाहिँदैन । म आफैँ साक्षी हुँ ।

म त कुनै पनि सानो घटनाका आधारमा कथा बनाउन सक्छु- बस त्यसलाई ठीक सन्दर्भ र प्रसंगमा जोड्नु मात्र पर्छ ।

आज बिहान म भोपालकी बेगमका बारेमा कुरा गरिरहेको थिएँ, जो हाम्रो गाउँ आएकी थिइन् । हाम्रो गाउँ उनको रियासत (शासन) अन्तर्गत पर्थ्यो । उनले हामीलाई वार्षिकोत्सवमा अतिथि बन्नका लागि निमन्त्रणा गरेकी थिइन् । हाम्रो गाउँमा आएका बेला हजुरआमालाई ती बेगमले सोधेकी थिइन्, ‘तपाईं यो बच्चोलाई राजा राजा भनेर किन भन्नुहुन्छ ?’

त्यो रियासतमा राजाको उपाधि त त्यसको मालिकका लागि मात्र दिइएको हुन्छ । बेगमको पतिलाई पनि राजा भनिदैन थियो । उनलाई त राजकुमार मात्र भनिन्थ्यो । बेलायतमा विचरा फिलिपलाई सम्राट नभनेर प्रिन्स फिलिप भनिएजस्तै । रमाइलो कुरा त के भने, केवल प्रिन्स फिलिप मात्र राजाजस्तो देखिन्छन् । न त बेलायतकी महारानी महारानीजस्ती देखिन्छिन् न त बिचरो प्रिन्स चार्ल्स नै सुन्दर राजकुमारजस्तो देखिन्छ । जो व्यक्ति साँच्चैको राजाजस्तै देखिन्छ, उसलाई चाहिँ उनीहरूले मात्र प्रिन्स फिलिप भन्छन् ।

उनीहरूका लागि बडो अफसोस लाग्छ किनभने त्यो परिवारमा फिलिपको रगतको नाता नभएकाले उनलाई राजा हुनबाट रोकियो । तिनको मूढ संसारमा केवल रगतको नातालाई नै महत्त्व दिइन्छ । रगतका आधारमा नै सबैथोक निश्चित गरिन्छ । तर प्रयोगशालामा त राजा या रानीको रगतमा कुनै बेग्लै विशेषता हुँदैन । रगत त रगतै हो ।

तिमीहरू दुवै जना डाक्टर हौ र एक जना नर्स । चौथो व्यक्ति डाक्टर या नर्स नभए पनि दुवै हो, बिना कुनै प्रमाणपत्रको । रगतका आधारमा केही निश्चित गर्न सकिदैन । रानी एलिजाबेथको रगत सही छ भनेर वैज्ञानिकहरूले भन्दैनन्, मूढहरूले मात्र भन्छन् । चार्ल्स उनका छोरा हुन्, कम्तीमा पचास प्रतिशत । त्यसो भए ऊ उत्तराधिकारी हुन् । किनभने उनी त्यस वंशका हुन् । फिलिप त विदेशी हुन् । उनलाई फुल्याउनका लागि मात्र राजकुमार भन्छन् ।

यसरी त्यो बेला सानो रियासतकी मालिक्नी त्यो स्त्री थिई र त्यसैले उसलाई रानी या बेगम भनिन्थ्यो । तर त्यहाँ कोही राजा थिएन । उसको पतिलाई केवल राजकुमार भनिन्थ्यो । त्यसैले स्वभावतः उसले मेरी हजुरआमासँग सोधिन्, तपाईंले यो छोरोलाई किन राजा भन्नुभएको ? तिमीहरूलाई आश्चर्य होला कि त्यस रियासतमा कसैको नाम राजा राख्नु गैरकानुनी थियो । मेरी हजुरआमाले हाँसेर भन्नुभयो, ‘यो मेरो हृदयको राजा हो । जहाँसम्म कानुनको कुरा छ, हामी चाँडै नै यो रियासत छाड्दैछौँ । तर म यसको नाम परिवर्तन गर्न सक्दिनँ ।’

हामी चाँडै नै यो रियासत छाड्दैछौँ भन्ने सुनेर छक्क परेँ । मेरो नाम बचाउनका लागि ? मेरो त जस्तोसुकै नाम भए पनि चल्थ्यो । हामी यहाँबाट बास उठा हुनुपर्ने कुनै कारण र आवश्यकै थिएन । मैले त्यो रात हजुरआमालाई भने, ‘हजुरआमा, केवल नाम बचाउनका लागि यो ठाउँ छाड्ने ? तपाईं पागल त हुनु भएन ? जस्तोसुकै नामले काम चलाउन सकिन्छ । कतै जानु छैन हामीलाई । निजी रूपमा तपाईंले मलाई राजा भन्नुहोला । सारा संसारका अगाडि बेग्लै नाम राख्नुहोला ।’

हजुरआमाले भन्नुभयो, ‘हामीले चाँडै नै यो रियासत छाड्नुपर्छ भन्ने मलाई भित्र महसुस भइरहेको छ । त्यसैले मैले यो खतरा मोलेकी हुँ ।’

र, त्यही भयो । यो घटनाका बेला म आठ वर्षको थिएँ । र, ठीक एक वर्षपछि हामीले त्यो रियासत सधैँका लागि छाडिदियौँ । तर उहाँले मलाई राजा भन्न कहिल्यै छाड्नुभएन । पछि मैले आफ्नो नाम परिवर्तन गरेँ, यत्तिका लागि कि मलाई राजा नाम ज्यादै वाहियात लाग्थ्यो । मेरो नामका कारण स्कुलमा मलाई ठट्टाको पात्र नबनाइयोस् भन्ने चाहन्थँ । त्योभन्दा बढी मैले कहिल्यै पनि कसैले पनि हजुरआमाबाहेक राजाका नामले नचिनोस् वा नबोलाओस् भन्ने चाहेँ । यो हामी हजुरआमा नातीको निजी कुरा थियो ।

तर बेगमलाई त्यो नाम मन परेन, उनले राम्रो मानिनन् । यी विचरा राजा, रानी, राष्ट्रपति, प्रधानमन्त्री कति गरिब छन् ! कति खोक्रो छन् ! र पनि ती शक्तिशाली छन् ! तिनको मूढताको कुनै अन्त्य छैन । साथै तिनको शक्तिको पनि कुनै अन्त्य छैन । बडो अनौठो संसार छ यो !

मैले हजुरआमालाई भनेँ, ‘मेरो नामले मात्र बेगम रिसाएकी होइनन्, तपाईंप्रति उनको ज्यादै ईर्ष्या पनि छ भन्ने मलाई लाग्छ । म त्यो यति स्पष्टसँग देख्न सक्छु कि त्यसमा मलाई रत्तिभर सन्देह छैन । कतै म गलत त छैन भनेर मैले सोधिरहेको छैन ।’

मेरो यही कुराले नै मेरो समस्त जीवनको शैलीलाई निश्चित गरिदियो । मैले कसैसँग पनि सोधिनँ, म गलत छु कि सही । गलत होस् या सही, म केही गर्न चाहन्छु भने चाहन्छु नै र त्यसलाई म सही गरिदिन्छु । त्यो गलत नै हो भने पनि सही गरिदिन्छु तर मैले कहिल्यै पनि कसैलाई आफ्नो काममा दखल दिने अधिकार दिइनँ । आज मसँग जे छ, त्यही कारण छ । म यो संसारको धनसम्पत्ति होइन, तर जुन कुरा वास्तवमै मूल्यवान छ, ती सबै मसँग छन् — सौन्दर्य, प्रेम, सत्य र शाश्वतको रसास्वाद । संक्षिप्तमा भन्दा स्व को आस्वाद, आनन्द ।

देवगीत कति बज्यो ?

आठ बज्न तीन मिनेट बाँकी छ ओशो !

ज्यादै राम्रो ! आज बिहान म तिमीसँग अलि कडा रूपमा प्रस्तुत भएँ । यसका बारेमा म केही भन्दिनँ । यत्ति मात्र भन्छु, जब म कसैसँग प्रेम गर्छु भने औपचारिकता बिर्सन्छु । त्यो बेला यस्तो व्यवहार गर्छु, यस्तो कुरा भनिदिन्छु, म एक्लै भएको भए त्यो ठीक हुन्थ्यो । र, यही मेरो प्रेमको विशेषता हो- कसैसँग यसरी हुनु, जस्तो एक्लो हुनुमा हुन्छ । र, यही प्रेमको विशेषता हो । तर कहिलेकाहीँ यो अरूका लागि निकै भारी हुने गर्छ ।

म सधैँ क्षमा माग्न सक्छु तर त्यो ज्यादै औपचारिक कुरो बन्न जान्छ । जब म कुट्छु र म प्रायः कुट्छु त यति प्रेमपूर्वक कुट्छु कि औपचारिक शब्द, ‘दुःख लागेको छ’ ले काम गर्दैन ।तर तिमी मेरो आँशुलाई देख्न सक्छौ, जसले मभन्दा बढी मेरो भावलाई अभिव्यक्त गर्छन् । म तिमीलाई भन्छु, भविष्यमा पनि म तिमीलाई अझ बढी रूखो व्यवहार गर्नेछु– यही मेरो प्रेम गर्ने तरिका हो । तिमीले पक्कै बुझ्नेछौ भन्ने आशा गर्छु । आज यो कुरा बुझेनौ भने भोलि या पर्सि त तिमीले पक्कै बुझ्नेछौ । यसभन्दा बढी म भन्न सक्दिनँ किनभने कम्तीमा दुई दिन त म यहाँ आउनै पर्छ । दुई दिनका लागि मेरो बुकिङ भइसक्यो ।

अँ, म भन्दै थिएँ कि एक वर्षपछि हामीले त्यो गाउँ र त्यो रियासत छाडिदियौँ । यो मैले तिमीहरूलाई पहिले नै भनिसकेको छु । बाटामा नै मेरो हजुरबुवाको मृत्यु भयो । मृत्युसँग त्यो मेरो पहिलो साक्षात्कार थियो । त्यो अवस्था ज्यादै सुन्दर थियो । त्यो कुनै पनि प्रकारले कुरूप थिएन । सानो वा ठूलो जस्तो होस्, संसारका हरेक बालबालिकाका लागि यस्तो मृत्युको सामना निकै डरलाग्दो हुन्छ । मेरा हजुरबुवाको मृत्यु बिस्तारै बिस्तारै भयो र सौभाग्यले म त्यो समय उहाँसँग घण्टौँसम्म दिएँ । मृत्यु बिस्तारै बिस्तारै घटिरहेको छ र म मृत्युको महामौनलाई प्रत्यक्ष देख्न सकेँ ।

यो पनि मेरो सौभाग्य नै हो, त्यो बेला मेरी हजुरआमा छेउमा नै हुनुहुन्थ्यो । शायद उहाँको उपस्थितिबिना म मृत्युको सौन्दर्यलाई देख्न सक्थिनँ होला । किनभने प्रेम र मृत्यु ज्यादै समान छ, शायद दुवै एकै हुन् । हजुरआमा मलाई ज्यादै प्रेम गर्नुहुन्थ्यो उहाँले आफ्नो प्रेम ममाथि वर्षाउनुभयो र मृत्यु बिस्तारै बिस्तारै घटिरहेको थियो । त्यो गोरूगाढा… म अहिले पनि त्यसको आवाज सुन्न सक्छु । ससाना कंकड, पत्थरमा गाढाको आवाज खडखडहट– भुराले पटक पटक गोरूमाथि रिस पोख्नु र चिच्याउनु, गोरूमाथि उसले हान्ने चाबुकको आवाज– अहिले पनि म सबै सुन्न सक्छु । यी सबै मेरो अनुभवमा यति गहिरो गरी अंकित भएका छन् कि मेरो मृत्युले पनि त्यसलाई मेटाउन सक्दैनन् । मर्दाका बखत पनि शायद म त्यो गोरूगाढाको आवाज सुन्छुहोला ।

मेरी हजुरआमाले मेरो हात पकडनु भएको थियो र म अवाकको अवस्थामा थिएँ । के भइरहेको छ भन्ने नै मैले बुझ्न सकिरहेको थिएन । म त्यस क्षणमा पूरापूर उपस्थित थिएँ । मेरा हजुरबुवाको टाउको मेरो काखमा थियो । उहाँको हात उहाँको छातीमा थियो । बिस्तारै बिस्तारै उहाँको श्वास बन्द भयो । जब अब उहाँले श्वास लिइरहनु भएको छैन भन्ने मलाई लाग्यो, मैले हजुरआमालाई भनेँ, ‘हजुरआमा, हजुरबुवाले श्वास लिइरहनु भएको छैन ।’

उहाँले भन्नुभयो, ‘ठीक छ । तिमी चिन्ता नगर । उहाँले निकै लामो जीवन बाँच्नुभयो । यो भन्दा बढी माग्ने आवश्यक छैन ।’ उहाँले मलाई भन्नुभयो, ‘सम्झनू, यो क्षण भुल्ने क्षण होइन । बढी कहिल्यै नमाग्नू । जे छ त्यो नै काफी छ ।’

यति भए पुग्यो ? उसो भए दस मिनेट मेरा लागि । म तिमीहरूलाई कुन बेला रोकिने भनेर सिकाउँछु । म तिमीभन्दा बढी हतारोमा छु । आखिर मैले तिमीलाई मनाएँ ।

अब म खुसीले भन्नसक्छु, आजलाई यत्ति नै ।