साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

प्राचीन चित्रकलामा फुटबल

चीनमा २४०० वर्षअघि सुजुई नामक खेल निकै चल्तीमा थियो । यसलाई तपाईंले फुटबलको पुर्खा भन्न सक्नुहुन्छ । यो बललाई लात्ताले मात्र हान्न सकिन्थ्यो र अर्काको पोस्टमा मात्र छिराउन पाइन्थ्यो । अहिले फुटबल जति लोकप्रिय छ, त्यो बेला सुजुई चीनमा निकै लोकप्रिय थियो ।

यो खेल पूर्वी चिङ राजवंशका बेला उत्पत्ति भएको केहीको आँकलन छ । त्यो बेला चीन ससाना राज्यमा बाँडिएको थियो । बेलाबेलामा युद्ध भइरहन्थ्यो । हान राजवंशका बेला यो खेल जन्मिएको र यसको शुरूको नाम जुजिउ (बल धकेल्नु) थियो । यस्ता बल छालामा ऊन वा जनावरका प्वाँख हालेर बनाइथ्यो । त्यो बेलाका प्रख्यात येल्लो सम्राटको शासनकालमा यो खेलका बारेमा लेखिएको पाइन्छ । यो करिब ईशापूर्व २०६-२२० ताका जन्मिएको र यसलाई त्यो बेला सेनाहरूले जन्माएको विश्वास गरिन्छ ।

कयौँ शताब्दीसम्म चीनमा यो खेल निकै लोकप्रिय खेलका रूपमा रहिरह्यो । प्रतियोगिताका रूपमा पनि यो खेललाई दरबारलाई रमाइलो गराउन खेलियो । प्रत्येक टोलीमा १२ जना रहने व्यवस्था मिलाइएको थियो । बल छिराउने ठाउँ भने अहिलेको जस्तो ठूलो नभई सानो हुने गर्थ्यो ।

रोचक त, त्यो बेला फुटबल खेल्दा एक जना खेलाडी जियाङ चुको मृत्यु भएको टिप्पणी पनि इतिहासमा अंकित भएको पाइन्छ । चुलाई हर्नियाको रोग भएको, उनलाई खेल्न प्रतिबन्ध लगाइएको भए पनि उनी अटेरी गरेर प्रतियोगितामा सामेल हुँदा उनी घाइते हुन पुगी मृत्यु भएको भनी इतिहासकारले उल्लेख गरेका छन् ।

सुजुई केटाहरूले मात्र नभई केटीहरूले पनि खेल्ने गरेको देखिन्छ । एउटा प्राचीन आलेखमा १५३ जना महिलाहरूले सुजुई खेलमा सहभागिता जनाएको लेखिएको छ र यसका लागि रेसमको लुगा खेलाडी महिलाले लगाउनु पर्ने बताइएको छ । यो खेल हेर्न दसौँ हजार दर्शक उर्लिएका थिए ।

सम्बन्धित पोस्टहरु

प्रतिभाशाली खेलाडीको प्रसिद्धि र सम्पत्ति पाउने गर्थे । राम्रा खेलाडीलाई क्लब वा धनीमानीहरूले छनोट गरी आफ्नो तर्फबाट खेलाउँथे वा लडाउँथे । हुइजोङ सम्राटको दरबारमा रहेका एक सरकारी अधिकारी गाओ क्युई प्रख्यात खेलाडीका रूपमा चिनिएका थिए । यस्तो खेल प्राचीन र मध्यकालीन चीनमा वार्षिक रूपमा नै प्रतिस्पर्धात्मक रूपमा खेलाइन्थ्यो ।

सङ राजवंशका प्रख्यात सम्राट ताइजु त फुटबलमा महारत हासिल गरेका खेलाडी नै थिए । उनले बललाई टाउका, काँध, ढाड, घुँडा तथा पेटमा समेत घुमाएर दर्शकहरूलाई छक्क पार्थे । रिभर ब्याकवाटर्स नामक प्राचीन चिनियाँ उपन्यासमा यो खेलका बारेमा वृहद्स्तरमा लेखिएको छ ।

सन् १३६८-१६४४ को मिङ राजवंशको समयावधिमा यो खेलको लोकप्रियता घट्दै जान थाल्यो । यो खेलमा सट्टेबाजी बढेको, धनीमानीले वेश्याहरूलाई समेत यो खेलमा समावेश गराएर पैसामुखी बनाएको, अनुशासनहीनता बढेको भन्दै पछि प्रतिबन्ध लाउनु पर्यो । प्रतिबन्धपछि यो खेलको लोकप्रियता बिस्तारै घट्न थाल्यो । खेलाडीहरू बेरोजगार हुन थाले । प्रतिभाशाली खेलाडीहरूले अन्य पेशा रोज्न थाले ।

पछि जापानीहरूले यही खेललाई नक्कल गर्दै केमारी खेल सिर्जना गरे । केमारी खेल चीनबाट चार सय वर्षअघि जापान पुगेको अनुमान गरिन्छ । केमारी चाहिँ सुजुईजस्तो प्रतिस्पर्धात्मक खेल थिएन । बललाई बढीभन्दा बढी हावामा कावा खेलाउन जान्ने खेलाडीप्रति ठूलो सम्मान गरिन्थ्यो ।

केमारी अठारौँदेखि बीसौँ शताब्दीसम्म जापानमा निकै लोकप्रिय रह्यो । पछि यस खेलमा थोरै बदलावका साथ बेलायतले यसलाई लोकप्रिय बनायो भने संसारका धेरै देशले राष्ट्रिय खेल बनाए । स्वयं चीनले भने राष्ट्रिय खेलका रूपमा पिङपङलाई चुन्यो । यहाँ हामी यही फुटबलको प्राचीन चित्रकला अवलोकन गर्नेछौँ ।

प्रतिक्रिया
Loading...