संसारभरि नै पाठक घटिरहेकामा चिन्ता चुलिएको छ । यसका लागि विभिन्न गैरसरकारी संस्थाहरूले विभिन्न पहलहरू गरिरहेका छन् ।

केही वर्षयता फिनल्यान्डको एक प्रख्यात संस्था मूमिन क्यारेक्टर्सले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर संसारभरि रिडिङ आवर अभियान सञ्चालन गरिरहेको छ ।

त्यसो त यो अभियान फिनल्यान्डमा निकै लोकप्रिय छ र सेप्टेम्बर ८ का दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म सार्वजनिक कार्यक्रमको आयोजना गरी वाचन कार्यक्रम सञ्चालन गर्ने गरिन्छ ।

यो अभियान फिनल्यान्डबाट अन्यत्र सर्ने र लोकप्रिय हुने क्रम पनि बढेको छ । रिडिङ आवर अभियान बेलायतमा यस वर्षबाट मनाइने भएको छ ।

पछिल्लो समय दिनमा कम्तीमा एक घण्टा पुस्तक पठनका लागि दिऔँ भन्ने सन्देश छर्न यो अभियान सफल भएको छ ।

यो अभियान तीन वर्षअघि ८ सेप्टेम्बरको अवसर पारी शुरू गरिएको थियो ।

बेलायतमा यस कार्यक्रमलाई प्रकाशक म्याकमिलन र पुस्तक बिक्री गर्ने चेन संस्था वाटरस्टोनले सहयोग गरेका छन् । कार्यक्रमलाई लोकप्रिय बनाउनका लागि प्रख्यात हास्य कलाकार जेनिफर साउन्डर्स तथा बालबालिकाका लागि लेख्ने क्रेसिन्डा कोवेल र फिलिप अर्डग पनि अभियानमा सामेल भएका छन् ।

मूमिन क्यारेक्टर्स फाउन्डेसनका प्रबन्ध निर्देशक रोलेफ क्राकस्टर्मको भनाइ छ, ‘एउटा असल पाठकका लागि यस्ता संस्थाको सञ्जाल विश्वभरि फैलँदै जानु कम्ता उत्साहवर्ध्दक कुरा होइन ।’