नर्वेको राजधानी ओस्लोमा संसारकै सबैभन्दा गोप्य पुस्तकालय बनाइँदैछ । गोप्य यस कारणले कि, त्यस पुस्तकालयका लागि अहिलेका प्रख्यात लेखकहरूले आफ्नो एउटा सिर्जना दिँदैछन् तर त्यो पढ्न चाहिँ एक शताब्दी कुर्नुपर्छ ।
फ्युचर लाइब्रेरी प्रोजेक्ट नामकरण गरिएको यो पुस्तकालय सन् २०१४ मा शुरु भएको थियो । सन् २११४ का दिन यो पुस्तकालयको समयावधि पूरा हुनेछ । त्यतिञ्जेल यो संस्थाले हरेक वर्ष एक जना लेखक छान्छ र ती लेखकबाट संकलन गरेको पाण्डुलिपिलाई प्रकाशन गर्नेछ । छापिनुअघि कसैलाई पनि पढ्न दिइने छैन ।
यस पुस्तकालयका लागि आफूले के दिएँ र त्यो सिर्जना के बारेमा हो भन्नेबारे लेखकले कतै पनि टिप्पणी गर्न पाउने छैन । यद्यपि पुस्तक वा कविता कृतिको नाम भने लेखकले पुस्तकालयलाई बुझाएपछि सार्वजनिक गर्ने गरिन्छ ।
बुकर पुरस्कार विजेतादेखि सबैभन्दा लोकप्रिय लेखकसम्म यस पुस्तकालयको छनोटमा परेका छन् । यो परियोजनाका ट्रस्टीले प्रख्यात साहित्यकारहरूलाई आफ्ना सिर्जनाका लागि आग्रह गर्छ । ती सिर्जनाले भविष्यका पाठकको कल्पनाशीलतालाई प्रभावित तुल्याउनुपर्ने आग्रह परियोजनाको छ ।
सन् २०१४ मा यो परियोजना शुरु हुँदा नै चर्चित पुरस्कृत लेखिका मार्गरेट एटवुडले आफ्नो एउटा सिर्जना पुस्तकालयलाई हस्तान्तरण गर्ने घोषणा गरेकी थिइन् । उनले यो परियोजनाका लागि भनेर लेखेको ‘स्क्रिबायर मुन’ २७ मे २०१५ मा परियोजनालाई हस्तान्तरण गरेकी थिइन् ।
त्यसयता डेभिड मिसेल, एसजोन, एलिफ सफाक, हान काङ, कार्ल ओभ नसगार्ड तथा गएको वर्ष मात्र ओसिन भुनोग यस परियोजनाका लागि चयनमा परेका छन् ।
यस पटक सन् २०२१ का लागि भने जिम्बाबेकी लेखिका सित्सी डेंगारेम्गा चयन भएकी छन् । सन् २०२० मा उनको ‘दिस मोर्नेबल बडी’ उपन्यास बुकर पुरस्कारको छोटो सूचीमा परेको थियो ।
उनको चयन आठौँ सर्जकका रुपमा फ्युचर लाइब्रेरीमा चयन भएको हो ।
फ्युचर लाइब्रेरी स्कटल्यान्डकी कलाकार केटी पिटरसनको सोच हो । उनले नर्वेको राजधानी ओस्लो नजिकको एउटा ठूलो ठाउँको जंगल किनिन् । त्यो जंगलमा उनले रुख रोप्ने र त्यो रुखबाट बन्ने कागजबाट यी सय सर्जकका पुस्तक प्रकाशन गर्नेछिन् ।
सन् १९८१ मा जन्मिएकी केटी भिजुअल आर्टिस्ट हुन् । एडिनबर्ग कलेज अफ आर्टबाट दीक्षित उनले स्लेड स्कुल अफ फाइनआर्टमा एमएफए पूरा गरेकी छन् ।
उनले पग्लिरहेका हिउँपहिरोमाथि थुप्रै काम गरेकी छन् । उनको सबैभन्दा लोकप्रिय परियोजना चाहिँ पग्लिरहेका हिउँ पहिरोका आवाज संकलन गर्नु र त्यसलाई अहिलेका युवामाझ लोकप्रिय बनाउनु हो ।
केटीको यो परियोजनालाई नर्वेको ओस्लो शहरले सहयोग गरेको छ । ओस्लोको डेसिमन पुस्तकालयको एउटा ‘साइलेन्ट रुम’मा लेखकहरूले दिएका पाण्डुलिपि संकलन गरी राखिएको छ । यो ठाउँ चाहिँ उनको नयाँ गाेप्य पुस्तकालय नबनुञ्जेलका लागि मात्र हो । नयाँ पुस्तकालय बनेपछि भने यी सबै गाेप्य पुस्तकहरू त्यहाँ स्थानान्तरण गरिनेछ ।
यी पुस्तकलाई सय वर्षपछि छापिने हुनाले अहिलेदेखि नै एउटा जंगल भाडामा लिएर ती पुस्तक प्रकाशनका लागि चाहिने कागज बनाउन रुख रोपिदैछ । यस कार्यका लागि कम्तीमा एक हजार वटा रुख आवश्यक पर्ने केटीको आँकलन छ ।
यसका लागि उनले हरेक वर्ष लेखकलाई जंगलमा निमन्त्रणा गर्ने र वृक्षारोपण गराउने गरेकी छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।