ब्राड स्टलबर्ग
सारा संसारका सुविधा थपिएका छन् । आफूले चाहेजस्तो किताब चाहेका बेला पाइने अवस्था छ । यस्तो बेलामा हाम्रो पढ्ने बानी भने घटिरहेको छ । किताब पढ्न मन भएर पनि चाह र चासो क्रमशः घट्दै गइरहेको छ । कतिले भने पढ्न मन भए पनि र पढिरहेकै भए पनि गहिरो अध्ययन हुन नपाएको भन्दै गुनासो गरिरहेका हुन्छन् ।
उसो भए गहन अध्ययन बढाउन के गर्ने ब्राड स्टलबर्गले सात उपाय सिकाएका छन् । बेस्टसेलिङ पुस्तक ‘द प्राक्टिस अफ ग्राउन्डेडनेस’ पुस्तकका लेखक तथा द ग्रोथ इक्वेसन नामक संस्थाका सहसंस्थापक ब्राडले यस्तै कुरा ठूला कम्पनीका सञ्चालक, कार्यकारीहरुलाई सिकाउने गर्छन् ।
मिडियमडटकममा उनले सात उपायबारे लेखेका छन् । आज हामी उनैका कुरालाई यहाँ मनन गर्नेछौँ ।
कुनै पनि पुस्तकमा गहिरो गरी भिजेर पढ्नुको मज्जा नै बेग्लै हुन्छ । यसले हाम्रो शरीर र मस्तिष्कमा नै सकारात्मक ऊर्जा प्रवाह गर्छ । अहिलेको ज्ञानमा आधारित अर्थतन्त्रमा निरन्तर पढ्नु, पढेका कुरा कार्यान्वयनमा ल्याउनुले तपार्इंलाई निकै फाइदा पुर्याउँछ । तर पछिल्लो समय पढाइमा ध्यान केन्द्रित गर्न मुस्किलमाथि गाह्रो थपिँदै जान थालेको गुनासो हरकोहीले गरिरहेको छ । पढाकूभन्दा पनि पढाकूमा यो समस्या देखिएको छ ।
किताब पढ्नु युट्युब हेर्नुभन्दा पनि फाइदाजनक छ । कुनै छोटो लेखमा आफूले चाहेको सूचना छ भने हामी त्यतै लम्किन्छौँ । तर तिनमा किताबको जति गहनता पक्कै हुँदैन । कुनै पनि विधामा किताबले जति गहिरो ज्ञान युट्युब भिडियो र किताबका सारांशले दिन सक्तैनन् । राम्रा किताबले ज्ञानसँगै सिर्जनशील सोचाइलाई पनि बढाउँछन् ।
निकोलस कारले हालै द स्वालोज्ः ह्वाट द इन्टरनेट इज डुइङ आवर ब्रेन्स पुस्तकमा सजिलो भन्दा सजिलो तरिकाले कुनै पनि कुरा पाइने कुराले कसरी हाम्रो मस्तिष्कमा असर पारिरहेको छ भनी अनुसन्धानात्मक पुस्तक लेखेका छन् । उनको यो पुस्तक विरलै मानिसले पढ्छन् किनभने यो गहन भए पनि पढ्न अप्ठेरो छ, बुझ्न गाह्रो छ । तर यी कुरा नबुझी नहुने कुरा हुन् । इन्टरनेटले दिने गरेका सतही ज्ञान, बोक्रे कुराले हामीलाई त्यस्तै कुरामा बानी परिरहेकोतर्फ उनले औँल्याएका छन् ।
उसो भए हामीले गहन कुरा पढ्न, ध्यान केन्द्रितकृत गर्न के गर्ने त ?
त्यसका लागि यी सात वटा कुरा गर्दा हामीलाई फाइदा हुने ब्राड स्टलबर्ग बताउँछन् ।
१. पढ्दा किताबै प्रयोग गर्नुहोस्
भौतिक पुस्तक पढ्दा हामीले धेरै फाइदा पाउँँछौँ । तीमध्ये दुई प्रखर फाइदा चाहिँ यिनले हाम्रो ध्यान केन्द्रिकृत गर्छन् । यसको आवाज, यसको पन्नाको सुगन्धजस्ता कुराले हाम्रो ध्यान किताबसँगै उडेर कताकता पुगे पनि पुनः फर्काउँछन् र किताबमै केन्द्रित हुन्छौँ । यही कुरा अडियोबुक वा इबुकको सन्दर्भमा हुँदैन । इबुक र अडियोबुक हल्काफुल्का पठनका लागि उपयुक्त हुने कुरा देखिइसकेको छ । गहन अध्ययनका लागि किताबै चाहिने विविध अध्ययनले देखाएका छन् । दोस्रो चाहिँ, भौतिक अनुभूतिले हाम्रो दिमागलाई सूचना सही तवरमा स्टोर गर्न सघाउँछ ।
२. पढ्ने कोठामा डिजिटल डिभाइस नराख्नुहोस्
तपाईंको फोन यतिबेला विविध काममा उपयोग हुने गर्छ । यसबाट तपाईं किताब सुन्ने, पढ्ने, बैठक तय गर्नेजस्ता अनेकन् डिजिटल काम गर्न सक्नुहुन्छ । फेसबुक, ट्वीटर, टिकटकजस्ता दिमाग भड्काउने चिजको त झन् कुरै नगरौँ । टिङ्को आवाजले तपाईंको गहन अध्ययनलाई भड्काउँछ । मानौँ, तपाईंले यी सबैलाई रोक्न मोबाइललाई म्युट मोडमा राख्नुभयो भने पनि छेउमै मोबाइल हुँदा बेलाबेलामा पढ्दा ठ्याक्कै नयाँ नयाँ कुरा आउँछ । ओहो, फलानोलाई इमेल लेख्नु थियो, म्यासेज पठाउनु थियो, कुरा गर्नुथियो, किनमेल गर्नुथियो, यी कुरा दिमागमा आउनेबित्तिकै नजिकै मोबाइल छ भने उठाउनु हुन्छ र त्यसैमा लागिहाल्नु हुन्छ । तर पढ्दै गर्दा त्यसलाई टाढा कतै राख्नु भएको छ भने अति जरुरी नहुञ्जेल तपाईं उठ्नुहुन्न र किताबमै केन्द्रित हुनुहुन्छ ।
३. पेन वा हाइलाइटर बोकेर पढ्न बस्नुस्
प्रायः पठन दुई किसिमको हुन्छ । सक्रिय पठन र निष्क्रिय पठन । सक्रिय पठनमा तपार्इं किताबसँग अन्तरक्रिया गर्नुहुन्छ, नबुझेका, बुझेका, मन परेका वा चित्त नबुझेका अनेक कुराहरु टिपोट गर्नुहुन्छ । निष्क्रिय पठनमा चाहिँ सिर्फ तपाईं पढ्नुहुन्छ । गहन पठनले सक्रिय पाठक चाहन्छ । तपाईं सक्रिय पाठक बन्नुहोस् । सक्रिय पाठकले हाइलाइटरले चित्त बुझेका नबुझेका कुराहरुसँग अन्तरक्रिया गर्ने गर्छ ।
४. टिपोट गर्ने कागज नजिकै राख्नुस्
किताबमा तपाईं जत्ति रत्तिदै जाँनुहुन्छ, तपाईंलाई नोटबुक चाहिन सक्छ । मन परेका कुराहरु, नबुझेका कुराहरु लेख्नुपर्ने हुन्छ । अझ गहन रुपमा बुझ्नुपर्ने कुराहरु त्यहाँ टिपोट गर्नुपर्ने हुन्छ ।
५. ३० मिनेट
गहन पठनको बानी बसाल्न चाहनुहुन्छ भने दिनमा कम्तीमा ३० मिनेट यसका लागि छुट्याउनुपर्ने हुन्छ । अरुबेला तपाईंले डिजिटल रिडिङ गर्न सक्नुहुन्छ । तपाईंको ट्याब्लेट, नूक, अमेजन फायरमा पढ्न सक्नुहुन्छ । अडियो बुक पनि अरुबेला पढेर आफूलाई व्यस्त राख्न सक्नुहुन्छ । तर गहन पठनका लागि विशेष समय छुट्याउनु अति आवश्यक हुन्छ । खासगरी काम गर्दै अडियोबुक सुन्न अत्ति रमाइलो हुन्छ । तर गहन अध्ययनका लागि भने तपाईंले समय छुट्याउनै पर्छ । तपाईंले अन्य काम गर्दै गहन अध्ययन गरेँ भन्नु आफूलाई धोका दिनु हो ।
६. गहन अध्ययन शारीरिक अभ्यासजस्तै हो
ध्यानलाई पूरा केन्द्रित गरी पढ्नु भनेको कुनै शारीरिक अभ्यास गरेर सिक्स प्याक निकाल्नुजस्तै मिहिनेतको काम हो । शुरुमा यस्तो अभ्यास आफ्ना लागि कठिन मात्र होइन, पीडादायी नै हुन्छ । तर बानी बस्दै जाँदा हामी त्यसैमा रत्तिन थाल्छौँ । उत्तिनै यो रमाइलो काम बन्न जान्छ । त्यसैले गहन पठनमा रत्तिनु होस्, यसैमा अडिनुहोस् । बहाना नबनाउनुहोस् । यसलाई महत्त्व दिनुहोस् । तीनदेखि चार हप्ताको गहन अध्ययनपछि तपाईं त्यसैमा बानी पर्नुहुन्छ । यो कुरा विविध अध्ययनले पुष्टि पनि गरेका छन् ।
कहिलेकाहीँ किताब अप्ठेरो हुन्छ, तिनले तपाईंको ध्यान केन्द्रित गराउनुको साटो विकेन्द्रित पारिदिन्छन् । साह्रै अप्ठेरो किताबलाई तपाईं आफ्नो सारथि नबनाउनुहोस् । सजिलो र तपाईंलाई मन परेको विषयवस्तुमाथि मनपरेको लेखकले लेखेको राम्रो किताब छनोट गर्नुहोस् । यसले गहन अध्ययनलाई सहयोग गर्छन् ।
७. बढीभन्दा बढी पढ्नुहोस्
सकेसम्म बढी पढ्नुहोस् । संसारमा सबै असल पात्रहरुले राम्रो काम किन गर्न सके थाहा छ ? उनीहरु पढाइमा जोड दिन्छन् । सिकाइमा जोड दिन्छन् । चाहे राम्रा ओलम्पिक खेलाडी हुन् या राजनीतिक व्यक्तित्व, तिनले बेवकुफीका कुरा गर्ने भए पनि ती राम्रो पाठक हुन्छन् । उनीहरु बढीभन्दा बढी पढ्ने भएकैले सफल भएका हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।