Chovar Blues Mobile Size

गएको जुलाई २७ मा बुकर पुरस्कार २०२१ को लामो सूची निस्किएपछि सूचीमा परेका १३ वटा उपन्यासको बिक्री ह्वात्त बढेको द गार्डियन दैनिकले जनाएको छ ।

अनुक अरुडप्रगासमको अ प्यासेज नर्थ र नाथन ह्यारिसको प्रथम उपन्यास द स्विटनेस अफ वाटरको बिक्री ९०० प्रतिशतले बढेको छ ।

यस्तै राचेल कुस्कको सेकेन्ड प्लेस र फ्रान्सिस स्पुफोर्डको लाइट पर्पेचुअलको बिक्री ४५० प्रतिशतले बढेको पाइएको छ ।

काजुओ इसिगुरोको क्लारा एन्ड द सन पहिल्यै राम्रो बिक्री भइरहेकामा लामो सूची प्रकाशित भएपछि ७० प्रतिशतले बढी बिक्री भएको छ ।

सन् १९९८ यता नेल्सन नामक संस्थाले गणना गर्ने बेस्टसेलर किताबको सूचीमा यो पुस्तक हार्डकभरमा निस्किए यता नै बेस्टसेलर सूचीमा परेको थियो ।

सानो प्रकाशत गृहका रुपमा परिचित हल्यान्ड हाउसले निकालेको करेन जेनिङ्सको एन आइल्यान्ड लामो सूचीमा पर्नुअघि कसैले पनि चासो नदिएकामा सूचीमा परेलगत्तै पाँच हजार प्रति बिक्री हुन पुगेको छ ।

लामो सूचीमा रहेका पुस्तकहरू के के थिए त ?

अ प्यासेज नर्थः अनुक अरुदप्रागासम
यो उपन्यासले एउटा युवाको श्रीलंकाको युद्धग्रस्त उत्तरी क्षेत्र जाफ्नाको यात्रा गरेको कथा भन्छ । तमिल विद्रोहको नाममा भएको सरकार तथा विद्रोही पक्षको घमासान युद्धमा हराएका वा मृत भएका मानिसहरुको मिठो उजागर उपन्यासले गरेको छ ।

सेकेन्ड प्लेसः रचेल कस्क
महिलाको भाग्य र पुरुषको सुविधा, मानव सम्बन्धका ज्यामितीय आयामहरु तथा हाम्रो जीवनमा नैतिक प्रश्नको भूमिकामाथि उपन्यास लेखिएको छ ।

द प्रोमिसः डेमन गलगुट
दक्षिण अफ्रिकाको शहर प्रिटोरियाबाहिर एउटा गाउँमा बसोबास गर्ने श्वेत परिवारको संघर्षको कथा ।

द स्विटनेस अफ वाटरः नाथन ह्यारिस
अमेरिकाको जर्जियामा अप्ठेरो अवस्थामा खोजिने मानवता र प्रेमको कथामाथि उपन्यास बगेको छ ।

क्लारा एन्ड द सनः काजुओ इसिगुरो
प्रेमको अर्थ के हो भन्ने खोजलाई एउटा रोबोटको कोणबाट लेखिएको उपन्यास ।

द टाउन कल्ड सोलेसः मेरी लअसन
सन् १९७२ ताकाको क्यानडेली सहर उत्तरी अन्टारियोको पृष्ठभूमिमा तीन जना मानिसहरुलाई विगतको गल्तीले कसरी भाग्यले डोर्याउँदै एकै ठाउँमा भेला पार्छ भन्ने कथामा यो उपन्यास घुमेको छ ।

बिविल्डरमेन्टः रिचर्ड पावर्स
द ओभर स्टोरीजस्तो बेस्टसेलर उपन्यास लेखिसकेका र पुलित्जर पुरस्कारसमेत हात पारिसकेका लेखक रिचर्ड पावर्सको यो उपन्यासले बाबु र छोराबीचको प्रेमको कथा कहेको छ ।

चाइना रुमः सञ्जीव सहोता
आफूलाई मुक्त पार्न खोज्ने दुई अविश्वसनीय भारतीय पात्रको कथामाथि यो उपन्यास लेखिएको छ ।

ग्रेट सर्कलः म्यागी सिपस्टिड
एक जना लडाकु जहाज चालक दुस्साहसी महिला र हलिउडकी विद्रोही नायिकाको कथा यो उपन्यासमा समेटिएको छ ।

लाइट पर्पेचुअलः फ्रान्सिस स्पुफोर्ड
यो उपन्यासले मान्छेका अनुभवले जीवनको आकार कसरी बन्छ र बद्लिन्छ, स्मृतिका अनेकन् रहस्य तथा अपेक्षाका बीच जीवनको महत्त्व बुझाउन खोजेको छ ।

नो वन इज टकिङ अबाउट दिसः पेट्रिसिया लकउड
यो उपन्यास केही मामिलामा विद्रोही उपन्यास भन्दा हुन्छ । यसलाई केही विश्लेषकहरुले एक भागको ट्वीटर उपन्यास, एक भागको फिक्सन भनिरहेका छन् । नामविहीन मुख्य पात्रको यात्राका बारेमा उपन्यास अघि बढेको छ ।

एन आइल्यान्डः करेन जेनिङ्स
लाइटहाउसमा काम गर्ने स्यामुअल नामक बूढो मानिसका बारेमा लेखिएको यो उपन्यासमा बूढो मानिसले आफ्नो पैतृक थलोका बारेमा अनेकन् स्मृतिहरु पाठकलाई बताउँछ ।

द फर्चुन मेनः नादिफा महमेद
एउटा हतोभागी मानिस कसरी एउटा हत्या मामिलामा उल्झन्छ र न्यायको गर्भपतन हुन्छ भन्ने कथा यो उपन्यासमा पढ्न पाइन्छ ।

आउँदो महिना सेप्टेम्बर १४ मा यो पुरस्कारको छोटो सूची सार्वजनिक गर्ने कार्यक्रम छ भने नोभेम्बर ३ मा विजेता उपन्यास घोषित गरिनेछ ।