चित्रः कृष्ण मर्सानी
विश्वविख्यात कवि सिमस हिनी ग्रीसमा छुट्टी मनाउने क्रममा थिए । उनको साथमा उनकी पत्नी मारिया र अन्य दुई मित्र पनि थिए ।
५ अक्टोबर १९९५ को दिन बिहान सबेरै उठेर सिमसले एउटा चिठ्ठी लेखे, उनकी भूतपूर्व छात्रालाई, जो शास्त्रीय स्कलर थिइन् र उनलाई आफ्नो पहिलो कविता संग्रह समर्पित गरेकी थिइन् । त्यसपछि उनीहरुले बिहानको खाना खाए । त्यसै दिन उनीहरुको एथेन्स लगायतका स्थानहरूमा भ्रमण गर्ने कार्यक्रम थियो ।
खानापछि सिमस होटल फर्किए । लामो समय लगाएर नुहाए । त्यसपछि उनलाई लाग्यो–एकपल्ट घरमा फोन गरिहालुँ ।
उनले फोन डायल गरे । घरमा २७/२८ वर्षको छोरो क्रिस थियो । फोन उठाउनेबित्तिकै उसले एकै सासमा भन्यो– “बुबा, म साह्रै गर्वित छु यो खबर सुनाउन ?”
“कुरा के हो छोरा ?” उनले सोधे ।
क्रिसले भन्यो–“तपाईंले नोबेल पुरस्कार पाउनुभयो ।”
सिमसले भने –“यो खबर त तिमीले सबभन्दा पहिला आमालाई सुनाउनुपर्थ्यो ।”
नोबेल पुरस्कारको घोषणा हुनेबित्तिकै पत्रकारहरु, फोटोग्राफरहरू सिमसलाई धुइँपत्ताल खोजिरहेका थिए–नोबेल पुरस्कार पाएको बारेमा उनको तात्तातो प्रतिक्रिया लिन र उनको उज्यालो अनुहारको तस्बिर लिन तर उनी त यी सब खबरबाट बेखबर ग्रीसको एकान्तमा थिए ।
“नोबेल पुरस्कार प्राप्त गरेकोमा मलाई अत्यन्त गर्व लागेको छ । अब मैले आफूलाई पुरस्कार विजेता र लेखकको उत्तरदायित्वबीच समन्वय ल्याउनुछ ।”
“उनलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय हुनुमा एउटै आश्चर्य के छ भने यो कुनै आश्चर्यको कुरा नै होइन । उनका दौंतरी कविहरु जोसेफ ब्रोडस्की र डेरेक वाल्कटले विगत ८ वर्षको अन्तरमा नोबेल पुरस्कारप्राप्त गरिसकेका थिए भने सिमस ती कविहरुभन्दा कम्तीमा बराबर त अवश्य नै छन्,” नोबेल पुरस्कारको घोषणापश्चत ब्लाक मोरिसनले लेखिन् ।
सिमस हिनीको जन्म सन् १९३९ मा काउल्टी डेरीको कासलडसन नजिकै भएको थियो । सिमसले आफ्नो व्यक्तित्वको विकास शिक्षकको रुपमा गरे । उनले एक वर्ष माध्यमिक विद्यालयमा अधयापन गरे । क्विन्स कलेजमा लेक्चरर हुनुअघि उनी सेन्ट जोसेफ कलेजका अध्यापक थिए ।
सन् १९६५ मै उनको ११ वटा कविताको पम्प्लेट “एघार कविताहरु” को प्रकाशन भयो । त्यसपछि सन् १९६६ मा “एउटा प्रकृतिवादीको मृत्यु” कविता संग्रहको प्रकाशन भयो । यस संग्रहभित्रका कविताहरूमा उनको किसानी अनुभव र अनुभूतिहरू समेटिएका छन् । यस संग्रहले उनलाई राम्रो कविको दर्जामा राख्न मद्दत गर्यो । उनले १९६६ मै ‘इरिक ग्रेग्रोरी अवार्ड’ पनि प्राप्त गरे ।
त्यसपछि उनका कविता संग्रहहरु ‘अँध्यारोको ढोका’ ‘विन्टरिङ आउट’ र ‘उत्तर’ जस्ता कविता संग्रहहरूको प्रकाशन भयो, जसमध्ये ‘उत्तर’ कविता संग्रहले आयरल्याण्डका महत्त्वपूर्ण कविका रुपमा ठूलो प्रतिष्ठा दिलायो ।
सन् १९७२ मा उनले अध्यापन कार्य छाडे र तीन वर्षसम्म स्वतन्त्र लेखनमा समर्पित भए । त्यसपछि उनी अमेरिकाका विश्वविद्यालयहरूमा अतिथि प्राध्यापक भई काम गरे भने सन् १९८२ मा उनी हार्भर्ड विश्वविद्यालयको आगन्तुक प्राध्यापक भए ।
उनले कविताका अतिरिक्त कवितासम्बन्धी भाषणका पुस्तक, आलोचनासमेत लेखेका छन्, जुन उनको कविताभन्दा कम महत्त्वपूर्ण छैनन् । उनले सोफोक्लिजको किलोक्टेटसमा आधारित एक नाटक ‘द क्योर एट ट्रोय’ लेखे, जुन फिल्ड डे थियेटर कम्पनीले सन् १९९० मा मा मञ्चन गरेको थियो र पछि सन् १९९१ मा पुस्तकाकारमा प्रकाशित पनि भयो ।
रबर्ट फ्रोस्टले कतै भनेका थिए– “सही कविता एक सय पटक पढ्नुपर्छ ।”
तर सिमस हेनी आफ्नो ‘द गभर्नमेन्ट अफ द टङ्ग’ मा भन्छन्–“कवितात्मक कलाको आफ्नै प्रकारको शक्ति हुन्छ । प्रकृतिबाट र यथार्थको धरातलबाट कविले गर्ने सञ्चारसेवा र पाठकको रुचि जागृत गर्ने क्षमताले नै कविताको स्तर निर्धारण गर्छ ।”
सन् १९८२ मा एण्ड्रयू मोटोन र ब्लाक मोरिसनले ‘पेन्गुइन एन्थोलोजी अफ ब्रिटिस पोइट्री’ मा उनलाई समेत समाविष्ट गरेपछि उनले एउटा ‘खुलापत्र’ लेखे– “बुझ्नुहोस् मेरो पासपोर्ट हरियो छ । हामीले रानीसँग टोस्ट गर्न कहिल्यै गिलास उठाएनौं ।“
आयरल्याण्डको राष्ट्रिय जनजीवनमा यिटस् पछिका सिमस नै महत्त्वपूर्ण कविका रुपमा सम्मानित छन् ।
सिमस हेनीले सन् १९६२ मा मात्र २३ वर्षको उमेरमा ‘बेल्फाष्ट टेलिग्राफ’ मा ‘ट्रेक्टरहरु’ नामक कविताबाट आफ्नो काव्ययात्राको थालनी गरेका थिए र त्यसको ठीक ३३ वर्षपछि विश्वकै श्रेष्ठ साहित्यिक पुरस्कारबाट सम्मानित भए–प्रतिष्ठा र पैसा दुवैको हिसाबले ।
नोबेल पुरस्कारको घोषणा हुनुभन्दा दुई हप्ता पहिले डब्लिनको एक रेष्टुराँमा कविमित्रहरूका साथ रात्रिको खाना खाएको बिल पाँच सय डलर उनले तिरेका थिए । “मेरो लागि त्यतिबेला ५०० डलर नोबेल पुरस्कारको रकम ७,२०,००० पाउन्डभन्दा ज्यादा थियो,” सिमसले भनेका थिए ।
सिमस हिनीको मृत्यु ३० अगस्त २०१३ का दिन डव्लिनको ब्ल्याकरक क्लिनिकमा भयो । उनी यौटा रेष्टुरेण्टबाहिर लडेका थिए र अस्पताल लगिएको थियो । उनी ७४ वर्षका थिए ।
उनको अन्त्येष्टिका दिन सो को प्रत्यक्ष प्रशारण विहान ८ वजेदेखि साँझ ९ बजेर १५ सम्म रेडियो र टेलिभिजनमा प्रशारण गरिएको थियो । सो प्रशारणमा उनको संकलित कविताहरू समेत वाचन गरिएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।