अपराधकथाका चर्चित फ्रान्सेली अनुहार स्टेफन बोरगाँ जसरी सिरियल किलरबारे रोचक तथ्य निकाल्थे, उसरी नै सिरियल ढँटुवा रहेको खुलासा भएको छ । सत्यघटनामा आधारित रहेर उनले लेखेका पुस्तक लाखौँ प्रति बिक्री भएका छन् । उनले लामो समयदेखि आफ्नो विशिष्ट परिचय बनाएर ढाँटेको खुलासा हालै भएको हो ।
बोरगाँले अहिलेसम्म ४० वटा पुस्तक लेखिसकेका छन् । उनलाई हत्याराहरूको विशेषज्ञका रूपमा समेत फ्रान्समा चिनिन्छ । उनले अपराधमाथि बनेका कयौँ टेलिभिजन डकुमेन्ट्रीमा टिप्पणीसमेत गरेका छन् ।
उनले अहिलेसम्म ७० भन्दा बढी सिरियल किलरसँग अन्तरवार्ता लिएको, अमेरिकाको क्वान्टिकोस्थित एफबिआई एकेडेमीबाट तालिम लिएको, उनकी पत्नी सन् १९७६ ताका दर्जन बढी हत्यामा संलग्न एक सिरियल किलरद्वारा हत्या गरिएका लगायतका झूट बोलेको खुलासा एउटा स्वतन्त्र वेबसाइटले हालै गरेको थियो ।
गएको जनवरी महिनामा फोमी एल कर्पोरेसन नामक सामूहिक संस्थाले उनलाई आफ्नो विगतबारे झूट बोलेको भन्दै आरोप लगाएको थियो । यत्तिका समयसम्म उनी भने चूप थिए । तर हालै उनले एउटा फ्रान्सेली पत्रिकासँगको कुराकानीमा सिरियल किलरद्वारा हत्या भएको भनिएकी पत्नी कहिल्यै अस्तित्वमा नरहेको भनी स्वीकार गरेका छन् ।
यति मात्र होइन, आफूले कहिल्यै पनि अमेरिकामा एफबिआईबाट तालिम नलिएको र ७० भन्दा बढी सिरियल किलरसँग भेटेको दाबीमा पनि सत्यता नरहेको बरू केही सीमित अपराधीलाई भेटेको पनि बताएका छन् ।
‘एकताका आफू स्थापित हुन खुबै झूट बोलेँ,’ उनले पेरिस म्याच नामक पत्रिकालाई अन्तरवार्ता दिँदै भने, ‘वास्तवमा मैले आफ्नो काम इमान्दारीपूर्वक गरेको भए हुन्थ्यो । झूट बोलेर अन्ततः म आफ्नो र पाठकको नजरमा अझै गिरेँ ।’
गएको मंगलबार ला पेरिसियन पत्रिकासँग कुराकानी गर्दै आफू एक किसिमको मानसिक रोगको शिकार भएकोसमेत बताएका छन् । उनले भने, ‘म आफूलाई मिथोमेनियाक भएको छ भन्ने लाग्छ । नत्र मैले त्यसरी झूट बोल्नै सक्दिनँ ।’ उनले आफूलाई मानसिक स्वास्थ्यलाभका लागि चिकित्सकसँग सल्लाह गर्नुपर्ने अवस्था आएको समेत स्वीकारेका छन् ।
उनले भने, ‘मैले झूट बोलेँ र यत्तिका लामो समयसम्म त्यसलाई काट्न कुनै काम गरिनँ । यसमा म ज्यादै लज्जित छु । मैले फैलाएका सबै झूटहरू वास्तवमा हास्यास्पद नै हुन् । त्यसो गर्न कुनै आवश्यकता नै थिएन ।’
आफूलाई कहिल्यै पनि चाहिँदो माया नपाएको महसुस गरेकाले सारा झूट बोलेको समेत उनले बताएका छन् ।