
भूताहा कथा लेखेर बालबालिका तर्साउने लेखक आरएल स्टाइन बालबालिकामाझ निकै लोकप्रिय लेखक हुन् । उनका पुस्तक बालबालिका केन्द्रित भए पनि अभिभावकहरुबीच समेत उत्तिकै लोकप्रिय छन् ।
पछिल्लो समय उनले लेखेका पुस्तकहरुको समग्र बिक्री चार करोडको संख्या हालै नाघ्यो । सो अवसरमा द टेलिग्राफ पत्रिकाले उनको सो संख्याको उत्सव मनाउँदै सानो टिप्पणी लेखेको थियो ।
उनको ‘गुजबम्प’ शृंखलाले चार करोड प्रतिको संख्या पूरा गरेको हो । उनी लोकप्रिय छन्, त्यसै भएर उनका बारेमा अनेकन् हल्ला चलिरहन्छन् । जस्तो कि, उनको मृत्यु भइसक्यो ! (जसमा कुनै सत्यता छैन ।) उनको मृत्यु भएका कारण लेखकहरुको समूह मिलेर गुजबम्प शृंखला चलाइरहेका छन् (यसमा झनै सत्यता छैन ।) उनी एकताका सातामा एउटा पुस्तक लेख्ने गर्छन् । (यसमा पनि सत्यता छैन ।) उनी भन्छन्, ‘एक सातामा त हैन, दुई साता त लेख्न लाग्छ नै !’
७७ वर्षीय यी लेखक गुजबम्प्स, गिभ योरसेल्फ गुजबम्प्स, फियर स्ट्रिट तथा पोइन्ट हररजस्ता सुपरहिट पुस्तकका लेखक हुन् । उनको यी शृंखलाका यति धेरै किताब छन् कि कति वटा पुस्तक लेखेँ भनेर गन्नै छाडिसके ।
उनलाई जब तपाईंका किताबको बिक्रीले चार करोड पूरा गरेछ नि भनेर बिबिसीका पत्रकारले जब सोधे, उनको उत्तर थियो, ‘ओहो ! त्यत्रो संख्या कसले पो गनेर बस्दो हो !’
उनले बालबालिकाका लागि लेखेका पुस्तक नेटफ्लिक्सले सिनेमा बनाउँदा भने युवाहरुका लागि बन्न पुगेको छ । यसबाट उनी त्यति खुसी भने छैनन् ।
यसै साता उनको फियर स्ट्रिट पुस्तकमा आधारित तीन वटा फिल्म एक एक साताको अन्तरमा नेटफ्लिक्समा रिलिज गरियो । उनको भनाइ थियो, ‘ती फिल्म हेरेर म तर्सिइनँँ । म मेरा मात्र होइन, कुनै पनि हरर फिल्म हेरेर तर्सिन्नँ किनभने मेरो दिमागमा केही तन्तुको अभाव छ, जसले मलाई तर्साओस् ।’
बरु उनलाई आफ्नै पुस्तक वा अरुका फिल्मले हँसाउँछन्, चाहे ती जतिसुकै तर्साउने किन नहोऊन् ।
२०२१ मा उनको गुजबम्प शृंखला निस्कन थालेको ३० वर्ष भयो । बालबालिकाका पुस्तक भएका कारण प्रत्येक महिना उनले दुई वटा शृंखला लेख्थे र ती सबै राम्रै बिक्री हुन्थे । त्यो बेला जब गुजबम्प राम्रै चल्यो, त्यसपछि उनले फियर स्ट्रिटको शृंखला लेख्न थालेका थिए । यसपछिका कयौँ महिनासम्म उनले ती दुई पुस्तकका अनेकन् शृंखलाहरु लेखे ।
उनले लगातार यी शृंखला २० वर्षसम्म लेखिरहे तर उनलाई कसैले पनि राम्रो बाल साहित्यका सर्जकका रुपमा मानिदिएनन् । ‘त्यसको फाइदा मलाई राम्रै भयो किनभने कसैले मप्रति ध्यान नदिएका कारण मैले लेख्ने कुरामा मात्र ध्यान दिएँ,’ उनले भने ।
हाल उनका गुजबम्प र फियर स्ट्रिट शृंखलाका तीन सय पुस्तक बजारमा छन् ।
आरएल स्टाइनको पूरा नाम रोबर्ट लरेन्स स्टाइन हो । उनले बालबालिकाका लागि लेख्नुअघि जोक बुक लेख्थे । त्यो बेला उनी जोभियल बब स्टाइनका नाममा ती ठट्टा र हास्यव्यंग्यका पुस्तक लेखेका थिए । पछि जब उनलाई बालबालिकाका पुस्तक लेख्नुपर्छ भन्ने लाग्यो, उनले आफ्नो नाउँ परिवर्तन गरे ताकि नाम उच्चारण गर्दा अलि गम्भीर सुनियोस् ।
१९४३ अक्टोबर ८ मा अमेरिकाकिो ओहियो राज्यस्थित कोलम्बसमा जन्मिएका उनले विश्वविद्यालय कहिल्यै गएनन् । त्यसैले उनी आफूलाई मध्यमस्तरको विद्यार्थी ठान्छन् । उनलाई जोक लेख्न खुब मन पथ्र्यो । स्कुलमा पढ्दाताका उनले भित्ते पत्रिका निकाल्ने गर्थे ।
अझै पनि वर्षमा सात वटा बालबालिकाका पुस्तक लेख्ने स्टाइनको लेख्ने शैली के हो त ?
उनी भन्छन्, ‘म शुरुमा किताबको शीर्षक छान्छु । शीर्षक चित्त बुझेपछि त्यसैको वरिपरि रहेर म कथानक बुन्छु । कथानक बुन्दा मलाई थाहा हुन्छ, मैले पाठकहरुलाई कहाँनेर छक्याउन सक्छु, कहाँनेर आश्चर्यमा पार्न सक्छु र पाठक कहाँनेर रमाउँछन् र दुःखी हुन्छन् ।’
जब उनले लेखिसिध्याउँछन्, उनले त्यो कथा आफ्नी पत्नीलाई पढ्न दिन्छन् । उनकी पत्नी नै उनका पुस्तकहरुको सम्पादक पनि हुन् । उनकी पत्नीले कथानक चित्त बुझे नबुझेको जानकारी दिन्छिन् । र, अन्त्यमा मात्र उनको पुस्तक प्रकाशककहाँ पुग्ने गर्छन् ।
अचेल न्युयोर्कमा बस्ने गरेका उनका लागि बेग्लै अपार्टमेन्ट छ । जसलाई उनी किताब स्टुडियो भन्न रुचाउँछन् । सो स्टुडियोमा उनी दिनभरि आफ्ना लेखन कलालाई निखार्ने र तिखार्ने गर्छन् । जब उनी लेख्न बस्छन्, कथाले जस्तो अवस्था माग्छ, उनले आफूलाई त्यस्तै बनाउँछन् । उनी भन्छन्, ‘मानौँ म फियर स्ट्रिट शृंखलाको कथा लेख्दैछु भने म अनुहार ढाकिने गरी मास्क लगाउँछु । म आफूलाई तर्साउने किसिमको पात्रमा परिवर्तन हुन्छु र लेख्न बस्छु । छेउछाउमा कंकाल र हस्तीहाड (नक्कली) राख्छु । कहिलेकाहीँ साङ्लाहरु पनि वरिपरि दौडन उनले दिन्छन् । बरु तिनका गतिविधि उनका लागि लेखनमा सहयोगी बन्न पुग्छन् । जब उनी आफ्ना पुस्तक पढेर बालबालिका तर्सिन्छन् र रमाइलो मान्छन्, उनलाई त्यसले नै खुसी दिलाउँँछ ।
उनको परिवार निकै गरिब थियो । हुर्कंदै गर्दा उनका लागि लुगा पनि हुन्थेनन् । काका–बडाबाका छोराछोरीले लगाइसकेका थोत्रा लुगा उनको भागमा पथ्र्यो । यसले उनमा संकोच बढाएको बताएका छन् । ‘थोत्रा लुगा लगाएर बाहिर खेल्न जानुभन्दा मलाई घरैमा बस्न मन लाग्थ्यो,’ उनले आफ्नो वेबसाइटमा लेखेका छन्, ‘घरमा यत्तिकै बस्नुभन्दा केही लेखूँ लाग्न थाल्यो र लेख्ने बानी सानैबाट बस्न थाल्यो ।’
एक दिन उनले ९ वर्षको उमेरमा उपहारका रुपमा टाइपराइटर पाए । त्यो पाएपछि त आफूलाई मन लागेका हास्य, ठट्टा आदि संकलन गर्दै टाइप गर्दै राख्न थाले । पछि पछि उनले कथाहरु पनि त्यसैमा लेखेर हात बसाए । उनकी आमाले उनलाई बाहिर गएर खेल्न र साथी बनाउन आग्रह गर्थिन् तर उनी भने टाइपराइटरसँगै रमाउन थाले ।
सन् १९५५ ताका उनले आफ्नै कमिक बुक लेख्न थाले । उनी आफूलाई भविष्यमा कमिकबुक लेखकका रुपमा नाम कमाउने इच्छा थियो । तर उनमा चित्रकलाको खुबी भने थिएन ।
कलेज पूरा गर्न नसकेपछि आफ्नो भाग्य चम्काउन भनेर उनी न्युयोर्क शहर छिरे । सन् १९६७ मा त्यहाँ उनले तत्कालै स्कोलास्टिक प्रकाशन समूहमा जागिर पाए । त्यहाँ उनले स्कुलहरुका लागि तयार पारिने म्यागेजिनमा काम गरे । त्यहाँ पनि उनले जोकहरु लेख्थे ।
त्यसै बेला उनले हाउ टु बी फन्नी, द सिक अफ बिइङ सिक बुक र १०१ क्रिपी क्रिएचर जोक्सजस्ता पुस्तक लेखे ।
त्यसले चित्त नबुझेपछि उनले आफैँले बनानाज् नामक हास्यव्यंग्य पत्रिका निकाल्न थाले । १० वर्ष निकालेपछि उनलाई दिक्क लागेर बालबालिकाका लागि कथा संग्रह र उपन्यास लेख्नतिर लागे ।
सन् १८६९ मा उनले जेन वाल्डोर्नसँग बिहे गरे । उनी पनि पुस्तक सम्पादक तथा लेखक थिइन् । दुवै मिलेर पुस्तक लेख्ने र सम्पादन गर्न थाले । जेनसँगको विवाहपछि उनीहरुले प्यारासुट प्रेस नामक बालबालिका केन्द्रित पुस्तक प्रकाशन गृह खोले । यहीँबाट उनका सबैभन्दा लोकप्रिय पुस्तकहरु बजारमा निस्कन थाले ।
सन् १९८६ मा उनले किशोर किशोरीका लागि तर्साउने उपन्यास लेखेका थिए, ब्लाइन्ड डेट । यो तत्कालै सुपरहिट साबित भयो । यसपछि त उनले बिच हाउस, द बेबीसिटर, हिट एन्ड रनजस्ता उपन्यास लेखे । यी पुस्तकले उनीहरुलाई आर्थिक रुपमा पनि सम्पन्न बनाइदिए ।
यी पुस्तक हिट भएपछि उनले मानौँ फर्मुला नै फेला पारे । उनले त्यस दिनदेखि कसम खाए, ‘म रमाइला, ठट्टा किताब लेख्दिनँ । बालबालिकाहरु तर्सिन रुचाउँदा रहेछन्, रमाइला किताब पढ्न भन्दा पनि ।’
त्यसपछि उनले तर्साउने कथाहरु मात्र लेखेका छन् । यही सूत्रले काम गर्छ भन्ने थाहा पाएपछि उनीहरुले प्यारासुट प्रेस खोलेका थिए । सन् १९८९ भने उनीहरुका लागि अझ बढी आश्चर्य बोकेर आइपुग्यो । त्यस वर्ष उनले फियर स्ट्रिट शृंखलाको द न्यु गर्ल पुस्तक बजारमा ल्याए । यसपछि त यो शृंखलाको हरेक महिना एउटा एउटा पुस्तक बजारमा आइपुग्यो । किशोर किशोरीले यसको शृंखला निकै रुचाए । यो शृंखलाका हालसम्म एक सय पुस्तक बजारमा आइसकेका छन् ।
उनको अर्को सुपरहिट शृंखला गुजबम्प्स हो । यो सन् १९९२ मा पहिलो पटक बजारमा आएको थियो । यो निस्कनेबित्तिकै बेस्ट सेलर मात्र साबित भएन, उनलाई अन्तर्राष्ट्रिय रुपमा नै काबिल लेखकका रुपमा परिचय दिलायो । यसपछि उनको यस पुस्तकमा आधारित बालबालिकाको टिभी कार्यक्रम बन्यो । तीन वर्षसम्म लगातार यसका अनेकन् भाग टेलिभिजनमा देखाइयो ।
सन् २०१७ मा यी लेखकको गुजबम्प शृंखला शुरु भएको २५ औँ वर्ष पूरा हुँदा १३० वटा पुस्तक लेखिसकेका थिए । र, अझै पनि थप पुस्तक लेखिरहेका छन् । गुजबम्प्स शृंखलाको उनलाई सबैभन्दा बढी कुन पुस्तक मन पर्छ त ? कपाल कन्याउँदै उनी भन्छन्, ‘मलाई द हन्टेड मास्क ज्यादै मनपर्छ ।’
सन् १९९८ मा किशोर किशोरी लक्षित अर्को पुस्तक द हन्टिङ हावर शुरु गरे । उनको यो पुस्तक पनि निकै रुचाइयो । यसको पनि टिभी शृंखला चार वर्षसम्म चल्यो भने यसले मोस्ट आउटस्ट्यान्डिङ चिल्ड्रेन सो र तीन वटा एमी अवार्डसमेत हात पारेको थियो ।
सन् २०१४ मा स्टाइन र उनकी पत्नी हजुरबा हजुरआमा बनेपछि त उनीहरुलाई आफ्ना नाति डाइलन स्टाइनका लागि पिक्चर बुक निकाल्न रहर जाग्यो । यसका लागि उनीहरुले प्रख्यात चित्रकार मार्क ब्राउनसँग सम्पर्क गरे र लिटल सप फर मोन्स्टर्स निकाले । त्यसपछि मार्क र स्टाइनबीचको सहकार्य अद्यापि जारी छ ।
हाल उनले मार्वल कमिक्ससँगको सहकार्यमा केही काम गरिरहेका छन् । र, यतिबेला उनका पुस्तक बिक्रीको चार करोडको सीमा नाघ्दा आउँदा दिनमा अझै बढ्ने अपेक्षा उनले गरेका छन् ।
उनी भन्छन्, ‘जबसम्म बालबालिका तर्सिन रुचाउँछन्, मेरा किताबको बिक्री दिनप्रतिदिन बढिरहनेछ ।’
[embedyt] https://www.youtube.com/watch?v=7Cn716jv61s[/embedyt]



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

