शब्द: गोविन्द गिरी प्रेरणा
चित्र: कृष्ण मर्सानी

सन् १९९४ मा जापानको हिरोशिमामा १२ औं एशियाली खेलकूदको गौरवपूर्ण आयोजनामा डुबेको जापान र जापानीहरुमा त्यही समयमा स्वीडिस एकेडेमीले घोषणा गरेको साहित्यतर्फको नोबेल पुरस्कारले एक्कासि हलचल मच्चाइदियो । त्यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार जापानी उपन्यासकार, कथाकार एवं निबन्धकार केन्जाबुरो ओएलाई प्रदान गरिने घोषणा भएको थियो । यसरी केन्जाबुरो ओए नोबेल पुरस्कार पाउने दोस्रा जापानी साहित्यकार हुन पुगे ।

यसअघि सन् १९६८ मा यासुनारी कावावाताले सो पुरस्कार प्राप्त गरेर जापानी साहित्यको इतिहासमा गौरवशाली पानाको थालनी गरेका थिए । त्यसको ठीक २६ वर्षपछि केन्जाबुरो ओएले त्यस स्वर्णिम इतिहासमा अर्को पाना थपे ।

मुख्य जापानी भूभागको दक्षिणपूर्वी टापू शिकोकुको एहिमे प्रिफेक्चरमा सन् १९३५ मा जन्मेका ओए आफ्ना पिता-माताका सात सन्तानमध्ये तेस्रा हुन् । उनले प्रारम्भिक शिक्षाबाटै साहित्य लेखनको सुरुवात गरेका थिए । विद्यालयमा छँदा नै उनले दुई वटा नाटक लेखेर उज्ज्वल भविष्यको छनक दिएका थिए ।

सन् १९५७ मा विश्वविद्यालयको फ्रान्सेली साहित्य विभागमा प्रवेश गरे । उनी त्यस अवधिमा ज्याँ पाल सार्त्रका कृतिहरुमा डुब्न पुगे । सन् १९५७ मै एउटा विद्यार्थी अखबारमा कथा प्रकाशित गरेर उनले आफ्नो साहित्यिक यात्राप्रति जनजिज्ञासा उत्पन्न गरे पनि खास रुपमा वुन्गा कुकाई पत्रिकामा प्रकाशित उनको ‘लेवीश आर डेड’ (१९६५) बाट मात्रै औपचारिक साहित्य यात्रा थालियो । अर्थात् यसै रचनाको माध्यमबाट उनी साहित्यिक संसारमा उदाए । यसपछि त उनको कलम साहित्य रचनामा यति व्यस्त भयो कि उनले प्रशस्त कथा रचनाहरुको सिर्जना गर्न थाले । जसमध्ये ‘द क्याच’ (१९५९) प्रमुख थियो, जसले त्यस वर्षको आकुतागावा पुरस्कार जित्न सफल भयो ।

आख्यान क्षेत्रको कथामा मात्र सीमित नरही सन् १९५८ मा ओएले पूर्ण रुपको ‘मेमुशिरी कोउची’ उपन्यास रचना गरे जसले उनलाई अत्यधिक प्रशंसा दिलायो र तत्कालीन लेखकहरुको भीडमा उनी अग्रपङ्तिमा उभिन सफल भए । यसैबीच सन् १९५९ मा सार्त्रका उपन्यासहरुमाथि शोध लेखेर टोकियो विश्व विद्यालयबाट स्नातकोपाधि प्राप्त गरे ।

यसै समयमा उनी आफ्ना पुस्ताका इशिहारा सिन्तारो, काइको केन एवं इतोजुन जस्ता लेखकहरुको नेताका रुपमा देखा परिसकेका थिए । त्यसो त उनका सुरुका रचनाहरु काव्यात्मक थिए तथा तिनमा उनको अपरिपक्वता पनि झल्कन्थ्यो साथै सामाजिक एवं राजनीतिक प्रश्नहरु गाँसिएका हुन्थे र अक्सर घृणास्पद प्रसङ्गहरु पनि । त्यसपछिका वर्षहरुमा उनी र उनका समकालीनहरु बीच फाटो बढ्दै गयो । त्यस क्रममा उनको ‘बारेरा नो जिदाई’ (१९५९) ले चारैतिरबाट आक्रमण खप्नु पर्यो । तर पनि उनको सिर्जनशील कलमलाई यसले कुनै असर पार्न सकेन । उनले आफ्नो सिर्जनयात्रा जारी नै राखे । त्यसै वर्ष अर्को उपन्यास पनि प्रकाशित भयो –“योरु यो पुरुयाका नी आइम’ जसमा उनले तत्कालीन समयका युवाहरुको जीवनचर्यालाई मुख्य कथावस्तुको रुपमा लिए ।

त्यसपछि उनको राजनीतिक पूर्वाग्रहले उनमा ठूलो प्रभाव पार्यो । अमेरिका र जापानको सुरक्षा प्रश्नले उनलाई उध्द्वेलित बनायो र तरुण वामपन्थी धाराका बुद्धिजीविहरुको प्रवक्ता नै बन्न पुगे । यही हैसियतले उनले जापानी युवा लेखकको प्रतिनिधित्व गर्दै चिनको भ्रमण गरे र ‘शान्ति’ को रक्षाको लागि गरिएको अभियानमा भाग लिए ।

सन् १९६० मा उनले विवाह गरे । त्यसै वर्ष एउटा कथा संग्रह ‘कोको ना साइनेन नो क्योक’ र एउटा उपन्यास ‘सिनेन नो ओमेई’ प्रकाशित गरे । सन् १९६० मै जापानी समाजवादी पार्टीका अध्यक्ष आशानुमा इनजिरोको दक्षिणपन्थी युवाहरुले हत्या गरेपछि उनले त्यसैको परिवेशमा दुई कथासङ्ग्रहहरु लेखे । ती हुन् –‘सेवेन्टिन’ र ‘सोहजी सोनेन शिशु’ जसका प्रकाशनको कारण दक्षिणपन्थी संगठनहरुको प्रहार उनले खप्नुपर्यो । एकातिर यो आक्रमण खप्नुपर्ने क्रम जारी थियो भने अर्कोतिर उनले एशियाली लेखकहरुको टोकियो सम्मेलनमा भाग लिएर तथा पूर्वी एवं पश्चिम युरोप लगायत तत्कालीन सोभियत संघको भ्रमण गरेर दुई वटा निबन्धका पुस्तक लेखे । ती पुस्तकहरु सन् १९६३ मा प्रकाशित पनि भए ।

त्यसै वर्ष उनको उपन्यास ‘ओकेरेतु किता साहनेन’ प्रकाशित भयो जसमा उनका यौवनका अनुभवहरु प्रतिबिम्बित भएका छन् । त्यसपछि सन् १९६३ मा अर्को उपन्यास ‘साके घी गोई’ प्रकाशित भयो, जसमा नगर जीवनका दानवी प्रवृत्तिहरुमाथि काल्पनिक प्रहार गरिएको छ । यसैताका उनको अर्को कथा सङ्कलन ‘सेहतेकी निनगेत’ पनि प्रकाशित भयो । त्यसपछि सन् १९६४ मा उनको अर्को कृति ‘निचिजो साइकेचु नो वोकेन’ देखा पर्यो जसमा युध्दपछिको नयाँ पुस्ताको विशेष गरी यौनजन्य नैतिकताको परीक्षण गरिएको थियो । यी सब कृतिहरु प्रयोगमूलक रचनाका रुपमा स्थापित भए ।

सन् १९६३ मा असाधारण रुपमा अपाङ्ग जन्मेको छोरा हिराकी र अणुबम प्रहारपछिको हिरोशिमाको भ्रमण – यी दुई घटनाले ओएलाई नयाँ सोचाइको विकास गर्न मद्दत पुग्यो । फलस्वरुप उनले ‘आगुई द स्काई मोन्स्टर’ एवं ‘अ पर्सनल म्याटर’ जस्ता रचनाहरु लेखे । त्यसमध्ये ‘अ पर्सनल म्याटर’ ले त तत्कालै सिन्को साहित्यिक पुरस्कार पनि प्राप्त गर्यो । यी कृतिहरुमा जीवनका आशा, निराशा एवं हार्दिकताहरु देखा पर्छन् ।
“अ पर्सनल म्याटर’ यस्तो बाबुको विषयमा लेखिएको उपन्यास हो, जसले आफ्नो अपाङ्ग छोरोलाई मार्ने योजना बनाउँछ तर अन्त्यमा मार्नुको साटो प्रेम गर्न थाल्छ । यो उपन्यास अहिलेसम्म १० भाषामा अनुवाद भएर प्रकाशित भइसकेको छ । यो उनको त्यस्तो उपन्यास हो, जसले सर्वप्रथम अंग्रेजी भाषामा अनुवाद भएर प्रकाशित हुने सौभाग्य पायो अर्थात् ओएको अंग्रेजीमा सर्वप्रथम अनुवादित कृति यही नै थियो ।

ओएका समग्र निबन्ध र आख्यान सन् १९६५ र १९६६ मा क्रमश: देखापरे । उत्तरी अमेरिका र ओकिनावाको भ्रमणले उनलाई प्रशस्त लेखन सामग्रीहरु उपलब्ध गरायो । यी प्रतिच्छायाहरु ओएका जन्मथलोदेखि सुदूर सिकोकुसम्मको फैलावटमा घना, काव्यिक र कल्पनाशीलतासहित आरोपित गरिएको छ उनको उपन्यास ‘द साइलेन्ट क्राई’ मा । यस उपन्यासले जुनिकिरो तानीजाकी पुरस्कार समेत प्राप्त गर्यो।

त्यसपछि त उनका निबन्धहरुको दोस्रो संस्करण सन् १९६८ मा प्रकाशित भयो, त्यस्तै उनका छोटा र मध्यमखालका आख्यानहरु ‘टिच अस टू ग्रो आवर म्याड्नेस’ (१९६९) तथा ‘कोवारेमोनो टू साइट नो निन्गेन’ (१९७०) प्रकाशित भए । उनका सत्तरीको दशकमा प्रकाशित उपन्यास तथा निबन्धहरुले उनको सिर्जनशीलता र लगनशीलताको थप प्रमाण दिन्छन् । सन् १९७५ मा उनका निबन्धहरुको तेस्रो संस्करण प्रकाशित भयो ।

उनका प्रमुख औपन्यासिक कृतिहरुमध्ये ‘द साइलेन्ट क्राई’ लाई महत्त्वपूर्ण मानिन्छ । यस उपन्यासलाई द टाइम्स पत्रिकाले ‘एउटा प्रमुख साहसिलो कल्पनाशीलता’ को उपमा दियो । त्यस्तै हेनरी मिलरले भने –‘यद्यपि यो पूर्ण रुपमा जापानी हो, ओए आशा र निराशाको कडीको रुपमा यस्तरी ढाकिदिन्छन्, जसले गर्दा उनमा दोस्तोयस्स्कीको स्पर्श देखा पर्छ । विश्व विख्यात जापानी उपन्यासकार युकियो मिशिमाले यस उपन्यासलाई लिएर यस्तो भनेका थिए — ‘ओए युध्दोत्तर जापानी आख्यानका नयाँ शिखरमा पुगेका छन् । अनुवादक फ्रेडरिक रिचरले भने —‘अत्यन्तै रोचक उपन्यास जुन अनुवाद गर्न लायक छ ।’

उनलाई लेखनका माध्यमले “यस्तो काल्पनिक संसारको निर्माण गरेबापत जहाँ जीवन र पूराकथा घुलन हुन्छ जहाँ मानवको आजको चिन्ताजनक तस्वीर बन्दछ” भन्दै नोबेल पुरस्कार दिइएको हो ।

नोबेल पुरस्कार पाएपछि ओएले बाल्यकालको घटना यसरी सम्झेका छन्, “सानो बेलामा म भौतिकशास्त्री बन्न चाहन्थें। म आमालाई टोकियोमा भौतिकशास्त्र पढ्न पठाउनोस् भनेर जिद्दी गर्थें । म आमालाई भन्थेँ, म भौतिक शास्त्रमा नोवेल पुरस्कार जित्नेछु । ५० वर्षपछि मैले आमालाई भनेँ, “हेर्नुस्, मैले वचन पूरा गरेँ नि ! मैले नोबेल पुरस्कार जितेँ ।”

तर मेरी आमाले भन्नुभयो, “हैन, तिमीले भौतिक शास्त्रमा जित्छु भनेका थियौ !”

ओएले आफूलाई सक्षम अन्तर्वार्ताकार नभएको बताएका थिए, पेरिस रिभ्यूका लागि लिइएको अन्तरवार्तामा । तर उनले पेरिस जाँदा जाँ पाल सार्त्रसँग र टोकियोमा सन् १९८४ मा पेनको सम्मेलनमा भाग लिन आएका अमेरिकी साहित्यकार कुर्त भोग्नेटसँग उनले महत्त्वपूर्ण अन्तर्वार्ता लिएका थिए ।

ओए आफूलाई सिध्दान्तत: अराजकतावादी मान्ने कुरा पनि उनले पेरिस रिभ्यूलाई बताएका थिए ।

८६ वर्षीय नोबेल पुरस्कार विजेता यी महत्त्वपूर्ण जापानी उपन्यासकारका हस्तलिखित दसौँ हजार पृष्ठका पाण्डुलिपिहरु युनिभर्सिटी अफ टोकियोमा सुरक्षित रुपमा राखिएका छन् र अनुसन्धानकर्ताहरुले तिनलाई उपयोग गर्न पाउनेछन् । ती पाण्डुलिपिमा सन् १९५७ को “लेभिस आर द डेड” देखि सन् २०१३ को “इन द स्टाइल” सम्म समेटिएका छन् ।

सन् २०१९ मा उनका सम्पूर्ण कृतिहरुको १५ ठेली ग्रन्थ प्रकाशन गरिएको थियो ।