तपाईंलाई कुनै पुस्तक मन पर्यो मानौँ, त्यो पुस्तकको सिक्वलका लागि कति समयसम्म कुर्न सक्नुहुन्छ ? दुई वर्ष ? पाँच वर्ष ? एक दशक ?

ओहो ! त्यति समय तपाईंका लागि पर्याप्त नहुन सक्छ है ! हालै एक अखबारी टिप्पणीले चर्चित पुस्तकका चर्चित सिक्वलहरू आउन एक दशकभन्दा बढी नै समय लागेको देखाएको छ । खासगरी पछिल्लो समय जेनिफर इगनको हिट किताब ‘अ भिजिट फ्रम द गुन स्क्वाड’को नयाँ सिक्वल आउने क्रममा केही सिक्वलप्रेमीहरूले प्रख्यात पुस्तकका सिक्वलको समय गणना गर्दै यसबारेमा टिप्पणी गरेका हुन् ।

त्यसो त विदेशमा किताब हिट हुनु र त्यसको सिक्वल आउनु कुनै नयाँ कुरा होइन । खासगरी थ्रिलर उपन्यासका त्यस्ता अनेकन् सिक्वलहरू आउँछन् । थ्रिलर उपन्यासले विदेशतिर पनि खासै महत्त्व पाउँदैनन् । तिनको साहित्यिक मूल्य नरहेको भन्दै गम्भीर पाठकले तिनलाई गन्दैनन् । तर गम्भीर साहित्य लेख्नेहरूले जब सिक्वल बनाउन थाल्छन्, उनीहरू आलोचनाको पात्र बन्न थाल्छन् ।

पछिल्लो समय जेनिफर इगनको पुस्तक भने चर्चाको केन्द्रमा छ । यसमा खास रोचक कुरा के छ भने उनको पहिलो पुस्तक गुन स्क्वाड र यसको सिक्वलका बीचमा ११ वर्षको फरक छ ।

लेखिका इगनले भने गुन स्क्वाडको सिक्वल भने पनि प्रकाशकले भने यसलाई सिक्वल भनेर प्रचार गरेको छैन । यसलाई बरु ‘नातेदार’ पुस्तकका रुपमा मात्र मानेको छ ।

११ वर्षअघि निस्किएको गुन स्क्वाडले निस्कनेबित्तिकै पुलिट्जर पुरस्कार हात पारेको थियो । नयाँ पुस्तक भने त्यो तहको चर्चा र पुरस्कार हात नपार्ला कि भन्ने आशंका र संशयका बीच प्रकाशकले पुस्तकलाई सिक्वलका रुपमा प्रचार नगरेको हुनसक्ने केहीको धारणा छ ।

यी दुई पुस्तकबीच ११ वर्षको फरक भए पनि सिक्वलमा प्रायः यस्तो फरक त चलिरहन्छ नै ! यस्तोमा आलोचनात्मक प्रशंसा पाउने भने कमै पुस्तक हुन्छन् ।

एन्ड्री एसिम्यानको ‘कल मी बाई योर नेम’ जस्तो चर्चित उपन्यासको अर्को सिक्वल ‘फाइन्ड मी’ निकाल्न उनलाई १२ वर्ष लाग्यो । त्यस्तै मार्गरेट एटवुडलाई द ह्यान्डमेड्स टेलको अर्को सिक्वल न्यु टेस्टामेन्ट लेख्न ३४ वर्षको समय लाग्यो ।

यो त के हो र ? थ्रिलर उपन्यासका राजा स्टिफन किङले अनेकन् थ्रिलर लेखेर नाम र दाम कमाइरहेका बेला द साइनिङ उपन्यासको सिक्वल डक्टर स्लिप लेख्न ३६ वर्षको समय लगाइदिए ।

झन् तपाईंहरुलाई आश्चर्य लाग्ला, हार्पर लीको टु किल अ मोकिङबर्ड प्रकाशनमा आएको ५५ वर्षपछि त्यस उपन्यासको सिक्वल गो सेट अ वाचम्यान आएको थियो ।

त्यसैले सिक्वल लेख्न ढिला चाँडो भन्ने कुरा नहुँदो रहेछ । मात्र त्यो पुस्तक चलिदिनु पर्ने रहेछ । मान्छेले पछिसम्म त्यसको अर्को भाग आउला कि भन्ने प्रतीक्षा नगरे पनि आएको खण्डमा मारामार किन्न दौडदा भने रहेछन् है !