लङ्ग्स्टन ह्युज (Langston Hughes) का दुई अङ्ग्रेजी कविता

अनुत्तीर्ण सपना

के हुन्छ
एक सपना
अनुत्तीर्ण हुँदा ?

के अब यो सुक्छ
किसमिसझैँ
प्रचण्ड धुपमा?

वा पिलो आउँछ
उही पुरानो घाउमा
अनि फुटेर बग्छ ?

कि यो गन्हाउँछ
कुहिएको मासुजस्तै ?

कतै चास्नीमा चोपेर – सखरको
जलप लगाउन खोजिएको त होइन?
यो दुर्गन्धमाथि ?

गह्रुङ्गो बोझ उचालेर
सायद यो झुकेको छ।

के अब यसमा
विस्फोट हुन्छ?

_________________________

अफ्रिकी नदीका गाथाहरू

नदीहरूलाई मैले चिनेको छु-

मानव सभ्यताको शिरामा
रगतको प्रवाह हुनुभन्दा पनि पूर्व
प्राचीन विश्वको इतिहासदेखि नै
म जान्दछु नदीहरूलाई।

मेरो इतिहास यिनै गहिरा नदीको जन्मबाट
प्रारम्भ भएको हो ।

उषाका किरणहरू जवान हुँदा
म स्नान गर्थेँ युफेरेटमा ।

कङ्गोका किनारमा मैले झुपडी बनाएँ
र नदीको चञ्चलताले लोरी गायो
म मस्त निदाएँ ।

मैले नाइलसँग मित्रता गाँसेँ
र मिश्रका महान् पिरामिडहरूलाई
आकार दिएँ ।

ए.बी. लिङ्कनले
न्यु ओर्लियन्समा पाइला टेकेको गीत
जब मिसिसिपीले मलाई सुनायो
र मैले देखेँ उसको हिलाम्मे छातीमा
सुनौलो साँझको बिम्ब ।

यी नदीहरूलाई मैले चिनेको छु:
मानव सभ्यताका प्राचीन नदीहरू।
मेरो इतिहास यिनै गहिरा नदीको जन्मबाट
प्रारम्भ भएको हो।

अनुवाद- निर्दोष एनपी
ध.उप.म.पा १३ धनगढी, कैलाली