मूल लेखिकाबारे

बाइ सुमिन

(बाइ सुमिन चिनियाँ साहित्यिकी एक प्रवल कथाकार हुन्। उनले सेनामा चिकित्सकको रूपमा धेरै वर्ष सेवा पुर्याएकी छन् । चिकित्सकदेखि व्यावसायिक लेखक बनेकी बाय सुमिनको लेखनमा पूर्व रूसी सङ्घ अनि आधुनिक रूसी शैलीको स्पष्ट प्रभाव परेको पाइन्छ। आफ्नो कलमलाई यथार्थको मसीमा चोबेर मूलत: सामाजिक विषयमा मानवीय संवेदनालाई प्राथमिकता दिँदै कुनै स्थान विशेषको आर्थिक अवस्थाको वर्णनसहित दर्शनको उचाइसम्म छुन उनी सफल बन्छिन् ।

‘यात्रा’ कथा त्यसैको एउटा सानो उदाहरण हो। उनका अनेकानेक लघुकथा अनि उपन्यासहरू प्रकाशित भएका छन्। जुन विशेषतः फ्रान्सेली अनि अङ्ग्रेजी भाषामा रूपान्तरण गरिएका छन् ।)

अनुवादः मुन्नु गौतम

 

भाग २

उसले कथा शुरू गर्यो- ‘मेरो एउटा साथी थियो। एकदमै अनुभवी चालख। ऊ एक्लै गाड़ी हाँक्न मन पराउँथ्यो। अचानक एकदिन ऊ र उसको ट्रक हरायो। धेरै समय बित्यो, उसको केही पत्तो लागेन। ऊ मर्यो कि बाँच्यो, उसको गाड़ी कहाँ छ ? कसैलाई केही थाहा भएन । धेरै दिनपछि तल सङ्घाईमा एउटा ट्रकले एक बटुवालाई कुल्च्यो। पुलिसले जब चालकलाई पक्र्यो, अनि मात्र थाहा भयो कि उसले त अरू कसैको लाइसेन्समा गाड़ी चलाउँदै रहेछ। धेरै केरकारपछि मात्र त्यस मानिसले साँचो कुरा भन्यो। उसले चालकलाई आफू समस्यामा परेको भनी गाड़ीमा चढेको रहेछ। त्यसपछि चालकलाई मारेर उसको मृत शरीर मरुभूमिमा फ्याँकी राखेर ट्रक लिएर सङ्घाईतिर चम्पट कसेछ। यस घटनापछि हामी अपरिचितहरूलाई ट्रकमा चढाउँदैनौँ। अपवाद स्वरूप मैले तपाईंलाई चढ़ाएँ। यस कारण कि हाम्रो ठाउँका मानिसले तपाईंको विषयमा राम्रा कुरा गरेका थिए।’

आफैँ षड्यन्त्रकारीजस्तो अनुभव गर्दै म चूप लागिरहेँ । चालकले सोध्यो- ‘थाहा छ अपराध कहाँ भएको थियो?’

डराउँदै मैले भनेँ, ‘मलाई के थाहा !’

‘यही बाटोमा ! यो ठाउँ त्यो खूनी हत्याको गवाही हो ।’

उसको कुराले मेरो मुटु चिसो भयो।

‘उसोभए तिमीले किन उसलाई पछिल्तिर ठाउँ दियौ…’

‘मलाई भन्नुहुन्छ अहिले? तपाईं होइन उसलाई ट्रकमा चढ़ाउने? अझ गाड़ीभित्र हुल्न खोजेको होइन?’

‘मलाई थाहा थिएन। त्यस्तो डरलाग्दो घटना भएको रहेछ। पहिले नै किन नभनेको त्यो कुरा?’

‘मैले त रोक्न खोजेकै हो। तपाईंले नै इसारा बुझ्नु भएन। मैले तिमी हत्यारा हौ भनेर सोध्नु? उसले मलाई मार्ने थिएन ? यदि होइन रहेछ भने एक निर्दोष मानिसलाई त्यसरी लाञ्छना लगाउनु अपराध हुँदैन?’

‘अब हामी के गर्ने ?’

खुइय्य गरेर उसले भन्यो, ‘ केही गर्न सकिन्न। आपतमा शान्त बस्नु नै राम्रो।’

‘शायद ऊ राम्रै मान्छे हो कि?’

‘होला ..जेहोस् गाड़ीभित्र त छैन। उसले हामीलाई केही गर्न सक्ने होइन। आफ्नो गन्तव्य आएपछि म त्यसलाई आफ्नो बाटो लाग् भन्छु।

अब चाहिँ कोही आए पनि गाड़ीमा नचढ़ाऊ। त्यो मान्छे के गर्दैछ एकपटक त्यो पछिल्तिरको सानो प्वालबाट हेर्नुहोस् त।’

मैले त्यहाँ भएको सानो झ्यालको ऐना उठाउँन खोज्दा चालक करायो।

‘त्यसरी होइन मूर्ख! त्यो हत्यारा हो भने सतर्क भइहाल्छ । चुपचाप त्यसले थाहा नपाई हेर्नपर्छ।’

‘कसरी?’

‘पछाड़ि हेर्नु ! एउटा प्वाल छ। त्यहाँबाट त्यसलाई देख्न सकिन्छ । म गाड़ीको बत्ती मार्छु त्यसपछि त्यसले हामीलाई देख्न सक्दैन । तर त्यसलाई भने राम्रै देख्न सकिन्छ।’
मैले भनेँ, ‘तिमी हेर न बत्ती मारेपछि।’

हाच्छिउँ गरेर उसले भन्यो, ‘त्यसलाई कसले चढ़ाएको?’

भूल मेरो थियो। त्यसैले मैले मानेँ । चालकले बत्ती मार्यो। अब डायसबोर्डको बत्ती मात्र चम्कँदैछ।

मैले सानो प्वालबाट सास रोकेर हेर्न थालेँ । जूनको मधुरो प्रकाशमा त्यो मान्छे टायरहरूमाझ टुक्रुक्क बसेर दुवै हातले टाउको समातेको रहेछ। प्रत्येकपल्ट ट्रक उफ्रिँदा बास्केटबलझैं ऊ टायरहरूसित ठोकिन पुग्दोरहेछ। ढ्वाङ्ग ढ्वाङ्ग आवाजसितै।

‘उसलाई जाड़ो भएछ। अरू केही देखिनँ,’ मैले भनेँ ।

‘राम्ररी हेर्नु होस् । त्यसले पक्कै केही त गर्दैछ।’

घुच्चुकमा आँखा भएझैँ चालकले भन्यो। केही उपाय थिएन। फेरि हेरेँ । मलाई विश्वास छ, संसारमा नराम्रा भन्दा राम्रा मान्छे धेरै छन् । यहाँ जुन सड़कमा डरलाग्दो हत्या भएको थियो, यहीँ पनि राम्रा मान्छेहरू होलान् तर यसपटक भने मैले देखेँ । त्यो मान्छे टायरमाझ बिस्तारै उफ्रँदै मेरो ठूलो ब्याग- जुन मैले मेरा आमा बाबाको निम्ति घर लगिरहेकी सम्पूर्ण उपहारहरुले भरिएको थियो- त्यो सार्दै थियो।

‘अहो!! उसले मेरो चिजबीज चोर्दैछ!’

म रिसाउँदा मेरो घाँटीबाट अनौठो आवाज निस्कियो। डरले गर्दा जोड़ले कराउन पनि सकिनँ । असङ्गत शब्दहरू भित्रै चपाएर राखेँ । रगत घाँटीको नशामा आएर थुप्रियो। चालक भने शान्त थियो। उसले भन्यो, ‘मैले त भनेकै थिएँ । त्यसबाट यति चैं आशा राखौं कि हाम्रो ज्यान भने बाँचोस्।’

‘हुँदैन,’ मैले भनेँ ।

‘त्यस झोलामा मैले सेनामा पाँच वर्षसम्म कमाएका सबै चिजबीज छन्। म यहाँ केही नगरी हात बाँधेर ती सबै चोरी भएको हेर्न सक्दिनँ ।’

‘त्यसलाई तपाईंले उस्काउँनु नै हुन्थेन। भौतिक चिजबीज आवश्यक त हुन् तर सबैभन्दा बहुमूल्य हो जीवन। तपाईं सञ्च- स्वस्थ घर पुगे तपाईंकी आमालाई अरू केही चाहिने होइन। चुपचाप बसे चोरले माल मात्र लेला तर रोक्न खोजे कस्तो समस्या आइपर्ला कसलाई थाहा ?’

मैले केही भनिनँ तर धैर्यहीन भएर प्वालबाट चियाउन थालेँ । मैले देखेँ, उसले मेरो झोलाको मुख खोलिसकेछ। चालकले मेरो आतस देखेर उसले पनि चियायो अनि धिमा स्वरमा रिसाएर भन्न थाल्यो-

‘नर्कमा पर् साला! यिनै केटीले गर्दा तँलाई मैले ठाउँ दिएँ । यसरी पनि अर्काको गुण तिर्नु हो ! थुक्क चोर मोरा !’

म चालकप्रति कृतज्ञ थिएँ तर श्रापले मात्र पनि के गर्नु! केही गरिएन भने मैले त सर्वस्व गुमाउने भएँ। तर साँच्चै भन्नु हो भने चालकमा केही गर्ने आँट थिएन। उसले सान्त्वना दिँदै भन्यो, ‘जे भए पनि तपाईंका चिजबिज झोलाभित्रै छन्। त्यसले झोला खोल्न खोज्दैछ। यस्तो लाग्छ, राम्रा र दामी चिजचाहिँ लगेर अरू तपाईंलाई छोडिदिन्छ होला ।’

‘अब के होला?’ – मृत्युशैय्यामा परेको बिरामीको बारेमा जानकारी लिएझैं रूञ्चे स्वरमा मैले सोधेपछि उसले भन्यो, ‘यति दुःखी पनि नहुनु! मसँग एउटा उपाय छ। हेरौं काम गर्छ कि गर्दैन। भनिन्छ नि, नहुनु भन्दा कानो मामा निको। त्यही पारामा कोसिस गरौँ । झोला त गुमाइसक्यौँ । फिर्ता पाएको खण्डमा त्यो बोनस जति हुनेछ।’

त्यसपछि उसले काममा मन लगायो। म यति दुःखी थिएँ कि जबसम्म उसले जोड़ले एक्सिलेटर दबाएन तबसम्म उसले के भनेको हो, बुझ्नै सकिनँ । त्यसपछि चाबुक लगाएको घोड़ाझैं गाड़ी अघि बढ़्यो । बाहिरबाट हावा जोड़ले सुईंसुईं भित्र छिर्दैछ। ट्रकले सबैभन्दा अधिक गति पक्रेपछि मैले चियाएँ । ढाड़लाई धनुझैं बनाएर दुवै हातले टाउको समाती ऊ ढुङ्गाको मूर्तिझैँ जड़ भएको थियो। झोला ठीकै थियो तर अहिले अर्को ठाउँमा सारिएको थियो। मैले देखेको कुरा चालकलाई सुनाएँ । ऊ हाँस्यो ।

‘ठीकै पर्यो तपाईको झोला लिएर चम्पट कस्नु आँटेको थियो तर ट्रक कुदिरहेथ्यो जोड़ले । हामफाल्न खोजेको भए आत्महत्या गर्न खोजेझैं हुनेथ्यो । यसैले आँट गरेन।’

अन्धकारमा आशाको ज्योति देखापर्यो। ट्रकलाई तेज गतिमा बढाउँदा आफू उभिए भार केही कम्ती होला कि भनेर म उभिएँ । अगाड़ि बाटोको अवस्था झन् नराम्रो देखा पर्यो। माटाका ठूला नरम ढिस्कोले ट्रकको गतिमा बाधा दिन्थ्यो ।
यस्तो लाग्थ्यो मानौं अनेकानेक अक्टोपसहरू यसका चक्कामा बेह्रिएका छन् । यस्तो बाटो यति तेज गाड़ी हाँक्नु भनेको काल खोज्नु बराबर थियो। मैले के गर्नु केही सोच्न नसकेर प्वालबाट भित्र चियाएँ । त्यो मान्छेले गाड़ीको गति केही कम भएको जस्तो लागेर फेरि मेरो झोला पक्रियो। हतासाको कष्टले म झण्डै चिच्याएँ । ठीक यतिबेला धरमराइरहेको गाड़ीलाई चालकले तीव्र गतिमा बढ़ायो। उसले गाड़ी घुमायो । गाड़ीको पूरै भाग एकापट्टि झुक्यो। यस्तो सङ्कटमा चालकले यसलाई पछिल्तिर लगेर ठीक ठाड़ो अवस्थामा नै फेरि ल्यायो । एकैक्षणमा यो सब भयो। यस्तो लाग्यो रिसाएको कोब्रा साँपझैं गाड़ी गुडुल्किएको थियो। परालको थाकझैँ त्यो मानिस ट्रेलरमा पछारिएको थियो। कमजोर र सहायताविहीन हुँदा पनि उसले आफ्नो शिकार छोड़ेको थिएन। चोर्ने विचार उसको मनमा यसरी गाड़िएको थियो, त्यसलाई त्याग्नु कठिन रहेछ । यति मलाई पक्का थाहा भयो। चालकले गाड़ीलाई असामान्य गतिमा उफारिरह्यो अनि म चाहिँ फलामे भूइँमा खुट्टा गाड़ेर गर्धनको हाड़लाई भाँचिनबाट जोगाइरहेँ। चालकले गर्वसाथ भन्यो-

‘सकिनलाई मात्र, नत्र भने कोही पनि यस्तो उफ्रिरहेको गाड़ीबाट हाम फाल्दैन।’

‘अब के गर्ने?’ मैले सोधेँ । देखेँ अघिल्तिर बाटो चिल्लो थियो। ट्रक अब पागल जस्तो कुदिरहन सक्दैन ।

‘अब ? कसले जान्दछ के गर्नु पर्ने? भविष्यको विषयमा जान्न सकिने भए त्यसलाई ट्रकमा निम्त्याउनु हुन्थेन। अहिलेको निम्ति वर्तमानलाई ध्यान दिऊ,’ उसले व्यङ्ग कस्यो। म भने पछिल्तिर फर्केर त्यस मानिसलाई चियाउनबाहेक केही गर्न सक्दिन थिएँ । उसको निम्ति यो यात्रा यातना नै भयो होला । गरम महिनामा भूइँमा कुकुरहरु टासिएझैं उफ्राइको धक्काबाट बाँच्न उसले आफ्नो शरीरलाई टायरहरू माझ भूइँमा जतिसक्दो टँसाएको थियो। ट्रक नाच नाचिरहेथ्यो । यस्तो लाग्थ्यो यसका देब्रे र दाहिने चक्का हावाले बनिएका छन् । चालकको आदेशमा त्यो उत्तेजित हुँदै डरलाग्दो र उदेकलाग्दो विभिन्न प्रकारको चाल गर्थ्यो। चालक यति व्यस्त देखिन्थ्यो कि ट्रक एकपट्टि ढल्कँदा सम्पूर्ण दाँत देखाउँदै उसको मुख पनि कानसम्म च्यातिएर त्यतापट्टि फर्किन्थ्यो । यो त निश्चित नै थियो, यस्तो अवस्थामा त्यो मानिसले मेरो झोलालाई केही हानि पुर्याउन सक्ने होइन। झोला ठीकै देख्दा मैले आश्वस्त भएर सास लिएँ । यद्यपि यो पहिलेको ठाउँबाट भने सरेको थियो। तर बाटो भने अब छक्कै पर्दो चिल्लो भेटियो अनि तुसारोले बनाएका खाल्डो र ढिस्कोहरू पनि हराए।
‘ख्याल राख्नुहोस् !’ चालक बोल्यो।
‘केको?”
‘टाउकोको’
एकक्षण त केही बुझिनँ तर चालकका डरलाग्दा आँखाहरूले मलाई झस्काए ।

क्रमशः अर्को हप्ता