मेरो नाउँ थोमस लिड्स हो । म सन् १९८३ मा जन्मिएको हुँ । म जम्माजम्मी दुई पुस्तकको लेखक हुँ, त्यो पनि छापिएर आउन बाँकी नै छ ।

म १९ वर्षको उमेरमा नराम्रो कार दुर्घटनामा परेँ । खासमा म सडक पार गर्दै थिएँ । अचानक एउटा कारले मलाई यसरी हान्यो कि म वर्षौं कोमामा पुगेँ । मेरो ढाड भाँचिएको थियो, मेरो टाउकोमा गम्भीर चोट लागेको थियो ।

मेरो टाउकोमा अनेकन् सर्जरी गरियो । र, जुन दिन म ओछ्यानबाट उठेँ, आश्चर्य लाग्यो– मेरो वरिपरि झुम्मिएका परिवारको सदस्य हुँ भन्ने दाबी गरिरहेका कसैलाई पनि चिन्दोरहेनछु । मेरो स्मृति पूरै हराएको थियो । म मेरा आमाबुवालाई पनि चिन्दिन थिएँ ।

मलाई यसपछि छोटो स्मृतिको रोग लाग्यो, सर्ट टर्म मेमोरी लसको । मेरा दाजुभाइ, मेरा दिदीबहिनी, मेरी आमा र बुवा नजिक आउँथे र तँ यस्तो, तँ उस्तो भनेर सुनाउँथे तर मलाई ती कुरा बिल्कुलै थाहा हुन्थेन । म अचानक आकाशबाट खसेको उल्कापिण्डजस्तो भएँ । न त कुनै पुराना स्मृति, न त कुनै घाउपीडा । कहिलेकाहीँ पीडा नहुनु पनि कति दुःखदायी हुँदोरहेछ भन्ने मैले त्यतिबेलै थाहा पाएँ ।

जब म अस्पतालबाट निस्किएर घर गएँ, धेरैले मलाई पुरानो स्मृति फर्काउने प्रयास गरे तर सबै प्रयास असफल भए । त्यसपछि मैले पुराना स्मृति हराएर के भो, नयाँ बनाउँछु भनेर लागिपरेँ ।

नभन्दै मैले मेरी प्रेमिका फेला पारेँ । ऊसितका राम्रा स्मृतिहरु बनाएँ । मेरा दुई सन्तान जन्मिए तर पनि जब मलाई कसैले पुराना कुरा कोट्याउँछन्, मलाई दिक्क लागेर आउँछ । एक हिसाबले मलाई उनीहरुले चिढ्याउन त्यसो भनेका हुन् कि जस्तो लाग्छ । त्यसैले म चिढचिढो पनि भएँ ।

कहिलेकाहीँ मेरी श्रीमतीले जब पुराना कुरा सम्झेर केही बताउँछिन्, म उनीसित पनि चिढिन्छु तर फेरि सम्हालिन्छु । मेरो यस्तो अवस्थालाई उनले राम्रोसँग बुझेकी छन् । उनीप्रति म कति ऋणी छु भन्ने म बताउन सक्तिनँ ।

१९ वर्षको उमेरमा दुर्घटनामा पर्नुअघि मेरा अनेकन् तस्बिरहरु खिचिएका थिए । कुनै घरका थिए, कुनै समाजका थिए, कुनै विद्यालयका थिए । म विद्यालय पूरा गरेर कलेजको तयारीमा थिएँ । ती सबै ज्ञान मेरा लागि कुनै कामका थिएनन् यतिबेला ।

सन् २००३ देखि मैले ससाना कुराहरु भुराभुरीले जस्तै सिक्नु प¥यो । मलाई लेख्न पढ्न आउँथेन । मैले फेरि एबिसिडी पढ्न थालेँ । मलाई फलफूलका नाउँ थाहा थिएनन्, अब फेरि तिनलाई सिक्नु पर्ने भयो ।

मेरो उमेरका अन्य साथीभाइहरुसँग सुनाउनका लागि अनेकन् कुरा थिए, मेरा केही पनि थिएनन् ।

जब म ३० वर्षको पुग्न लागेँ, मलाई मेरी श्रीमतीले एउटा भव्य किसिमको जन्मदिनको तयारी गराउन लगाइन् । के गर्ने ? कस्तो तयारी गर्ने ?

खासमा मेरो विगत केही पनि थिएन, स्मृति केही पनि थिएन । म त्यो हासिल गर्न किन दुःख गरुँ ? मलाई त्यो पाएर के गर्नु छ र ? त्यसैले उनले सुझाइन्, तिमी जुन मितिमा जन्मिएका हौ, त्यो बेलाका फिल्म या संगीत या यस्तै कुराको एउटा थिम बनाऔँ । र, त्यसैमा आधारित भव्य जन्मदिन मनाऔँ ।

त्यसपछि मैले पुराना गीतहरुका एल्बम भेला पारेँ । ती गीत सुन्न थालेँ । तिनै गीतबाट म जन्मदिनको थिम बनाउन चाहन्थेँ । एकपछि अर्को गीत सुन्दै गर्दा अचानक एउटा गीतको धुनले मेरो दिमागमा झल्याकझुलुक केही दृश्य देखायो । त्यो गीत थियो, द होल इन द मून ।

अचानक म अर्कै दुनियाँमा पुगेजस्तो महसुस भयो । एकपछि अर्को ठाउँमा म पुगेँ । एउटा पार्कमा म थिएँ । म सानो थिएँ । म दौडिरहेको थिएँ । मेरी आमा मुस्कुराउँदै पर उभिनु भएको थियो र म दौडिदै उहाँलाई अँगालो मारेँ ।

मैले अहिले देख्ने बूढी आमा होइन, मैले झल्याकझुलुक देखेको मुस्कुराइरहेकी मेरी आमा जवान हुनुहुन्थ्यो । त्यसैका आधारमा म ठोकुवा गरेर भन्न सक्ने भएँ, यी बूढी आमा, जो यसअघि सधैँभरि मेरा अघिल्तिर चिन्तित अनुहारले टुलुटुलु निरीह भएर हेर्नुहुन्थ्यो, मेरो सानो प्रयास पनि सफल हुँदा जसरी मुस्कुराउनु हुन्थ्यो, मेरो स्मृतिमा झुल्किएकी त्यसैको जवान संस्करण हुनुहुन्थ्यो ।

यो स्मृति त्यति धेरै लामो थिएन । रिल काटिएको फिल्मजस्तो मात्र थियो । केही सेकेन्डमै दृश्यहरु फ्याटफ्याट परिवर्तन हुन्थे । त्यसै क्षण मलाई लाग्यो, मानिसको जीवनमा स्मृति कति महत्त्वपूर्ण हुँदोरहेछ ! यही स्मृतिका लागि म कयौँ वर्ष रिसाएँ, आक्रोशित भएँ, गुमेको स्मृति पुनर्प्राप्तिका लागि मेरो परिवार र मैले केसम्म गरिनँ !

अन्ततः त्यो मैले पाएँ । भलै त्यो केही पलको किन नहोस्, मसँग अब केही त थियो !

त्यही रातले मलाई केही लेख्न घच्घच्यायो । मैले अघिल्तिर कागज र कापी लिएर लेख्न बसेँ । घण्टौँ लेख्न बसे पनि मलाई केही पनि फुरेन । बाल्यकालबारे लेखूँ ? त्यो मलाई थाहा थिएन । मलाई त सिर्फ अस्पतालबाट फर्किएर आएपछिका दिनहरु मात्र स्मृतिमा कुँदिएका थिए ।

जसोतसो एउटा संस्मरण तयार भयो । म यसलाई छपाउन चाहन्थेँ । त्यसका लागि पहल पनि भइरहेको छ । यतिबेला मेरो लिटररी एजेन्सीका रुपमा द गुड लिटररी एजेन्सीसँग आबद्ध भएको छु । ऊसँग मैले दुई वटा किताबको काम भइरहेको छ । मलाई लाग्छ, चाँडै नै किताब बजारमा आउलान् । त्यसका लागि पहिला मैले आफ्नो नाम सर्वसाधारणमाझ चिनाउनु जरुरी छ । म के हुँ र को हुँ भन्ने नबताइकन मेरो किताबमा अरुलाई किन पो चासो जाग्थ्यो र ? त्यसैले अहिले म तपाईंहरुसामु उभिएको हुँ ।

मेरो दोस्रो पुस्तक मैले लेखिरहेको छु । यो बाल पुस्तक हुनेछ । जो मजस्तै स्मृति हराएको बालक त्यो स्मृति फिर्ता ल्याउने प्रयासमा केसम्म संघर्षमा छ ।

किताब निस्किसकेपछि तपाईंले पढ्नु होला है त !

(बिबिसी थ्रि रेडियो कार्यक्रममा गरिएको कुराकानीमा आधारित ।)