सन् १९३२ मा जन्मेर १९६३ मा आत्महत्याद्वारा आफूलाई समाप्त पार्ने कवयित्री एवं उपन्यासकार लिल्भिया प्लाथ ती सीमित लेखिका मध्येकी थिइन्, जसले थोरै समयमा विशिष्ट लेखनको माध्यमले आफूलाई सफलताको शिखरमा पुर्याउन सफल भएकी थिइन् ।
राम्रो शिक्षादीक्षा प्राप्त जर्मन मूलका पिता र अष्ट्रियाली मूलकी माताकी सुपुत्रीका रुपमा २७ अक्टोवर १९३२ मा अमेरिकाको बोस्टन म्यासाच्युसमा जन्मेकी सिल्भिया प्लाथले आठ वर्षको कलिलो उमेरमा पिताको माया प्रेम र स्नेहबाट वञ्चित हुनुपर्यो र उनकी आमाले परिवार चलाउन एउटा कलेजमा प्राध्यापनको कार्य गर्नुपर्यो ।
प्लाथले “हुने विरुवाको चिल्लो पात” झैँ बालिकावस्थामै अर्थात् आठ वर्षको उमेरमा नै आफ्नो कविता वोस्टन हेराल्डको बालप्रतिभा सेक्सनमा प्रकाशित गर्न सक्षम भएकी थिइन् ।
उनी सन् १९५० मा मासाचुसेटस् राज्यको स्मिथ कलेजमा भर्ना भइन् । त्यो समय उनी लरेन्स हाउसमा बस्ने गर्थिन् । कलेजको तेस्रो वर्षको विद्यार्थी बेलामा उनले “द स्मिथ रिभ्यू” को सम्पादन गरिन् । त्यसपछि उनी म्याडमोइसिली पत्रिकाको अतिथि सम्पादकको रुपमा छानिइन् । यसै क्रममा उनले एक महिना जति न्यूयोर्कमा बस्ने अवसर पाइन् ।
न्यूयोर्कमै छँदा आफ्नो जीवनभन्दा प्रिय लाग्ने कवि डायलन थोमससँग भेट गर्न नपाएकोमा अत्यन्त क्रोधित भइन् । उनले डायलन थोमस भेटिएलान् कि भनेर ह्वाइट हर्स टाभेर्न र चेलसी होटल छेउछाउ दुई दिनसम्म चक्कर काटिन् । डायलन थोमस वेल्स फर्किसकेका थिए । त्यसैले उनले भेट्न सकिनन् ।
त्यसको केही हप्तापछि उनले आफूले आफैँलाई ज्यान लिने साहस छ कि छैन परीक्षण गर्न आफ्नो खुट्टा धारिलो हतियारले ताछेर हेरिन् । त्यसपछि उनी डिप्रेसनमा गइन् र उनलाई इलेक्ट्रोकन्भल्सिव थेरापी गरियो । उनले २४ अगस्तमा आत्महत्याको प्रयास गरेकी थिइन् । उनलाई त्यसपछि ६ महिनासम्म मानसिक रोगको उपचार गरिएको थियो । म्याक्लिन हस्पिटलमा गरिएको यसको उपचार खर्च आफैँ मानसिक अवस्थाको उपचारले निको भएकी ओलिभ हिग्गिन्स प्राउटीले व्यहोरिदिएकी थिइन् ।
सन् १९५० मा ‘द एडमिरेबल क्रिकटन’ नाटकमा ‘लेडी अगाथा’ को चरित्रमा स्कुलको नाटक मञ्चमा उत्रेर उनले आफ्नो अभिनय प्रतिभालाई पनि प्रदर्शन गरेकी थिइन् । त्यसै साल अगस्तमा ‘सेभेन्टिन’ पत्रिकाले उनका ‘एण्ड समर विल नट कम एगेन’ र ‘बिटर स्ट्रवेरिज’ प्रकाशित गरेर उनका रचनाहरुलाई विशाल पाठकका संसारमा पुर्याउने कार्य गरिदियो ।
सन् १९५४-५५ मा सिल्भिया प्लाथले फ्योदोर दोस्तोयस्कीका उपन्यासमाथि शोध लेखेर अनर्स प्राप्त गरेकी थिइन् । यही सिलसिलामा दोस्तोयस्कीको ‘द डबल’, एडगर एलन पोको विलियम विल्सन’, स्टेभेन्सनको ‘डा. जेकाइल एण्ड मिष्टर हाइड’, ओस्कर वाइल्डको ‘द पिक्चर अफ डोरियन ग्रे’ इत्यादि विश्वका उत्तम रचनाहरुको गहिरो अध्ययन गरेकी थिइन् । यस अध्ययन अनुसन्धानले उनलाई आफ्नो रचनाको भावभूमि तयार गर्न र उनको प्रतिभालाई धारिलो बनाउन मद्दत पुर्यायो ।
पारिवारिक द्वन्द्वका कारण सन् १९५३ अगस्त २४ तारिखका दिन सिल्भिया प्लाथले स्लिपिङ पिल्स खाएर आत्महत्याको प्रयास गरेकी थिइन् तर उनलाई दौडाएर अस्पताल पुर्याइयो र बचाइएको थियो । उनले यो घटना र मनस्थितिलाई उनको एकमात्र अन्तरराष्ट्रिय ख्यातिप्राप्त उपन्यास ‘द बेल जार’ उपन्यासमा कथाको रुपमा प्रस्तुत गरेकी थिइन् ।
सन् १९६३ मा प्रकाशित ‘द वेल जार’ एउटी कलेज विद्यार्थीको मानसिक असन्तुलन, आत्महत्याका प्रसङ्गहरुको कथात्मक रचना हो । यसमा उपन्यासकी नायिकाले आत्महत्याको प्रयास गर्दछे । यो आत्मवाचक शैलीमा लेखिएको अर्धआत्मकथात्मक उपन्यास हो जसकी नायिक ‘इस्थर गितउड’ आफ्नो पारिवारिक द्वन्द्व र मनोविज्ञान तथा सामाजिक उत्पीडनसँग लडिराखेकी हुन्छे । यस उपन्यासले ‘दुनियाँ स्वयं खराब हो’ भन्नेसमेत देखाउन खोजेको थियो ।
उनको यो एक मात्र उपन्यास “द वेल जार” पहिलोपल्ट सन् १९६३ मा भिक्टोरिया लुकासको नामबाट प्रकाशित भएको थियो । सन् १९६७ मा मात्र उनको वास्तविक नाम सिल्भिया प्लाथको नाममा प्रकाशित भएको थियो । अमेरिकामा भने यो उपन्यास सन् १९७१ पछि मात्र प्रकाशित भयो र त्यसपछि एक दर्जन भाषामा अनुवाद भयो ।
यस उपन्यासमा सफल भए पनि सिल्भिया प्लाथ प्रथमतः कवयित्री नै थिइन् र उनको प्रतिभा कविताकै माध्यमद्वारा नै परिचित भएको थियो ।
प्लाथका सम्प्रेषणहरुमा अत्यधिक शक्तिशाली चाहिं गीति कविता हो । ‘एरियल’ र ‘हिउँदका रुखहरु’मा उनको उम्दा कला प्रष्फुटित भएको छ । उनका सुरुका कविताहरु ‘हुलाकी सामान’ हुन् भने पछिका कविताहरु ‘चिच्याहट’ । प्लाथका पछिका कविताहरु आवाजजत्तिकै क्रमबद्ध छन् ।
प्लाथको पहिलो कवितासंग्रह ‘द कोलोसस’ सन् १९६० मा प्रकाशित भयो । यो प्रकाशित भएपछि आलोचकहरुले त्यसको भाषाको सतह र शैलीगत वैशिष्ट्यको व्याख्या र प्रशंसा गरे । ‘द कोलोसस’ पछि लेखिएका कविताहरु ‘एरियल’मा सङ्कलित भए । पछिपछि उनले अत्यधिक वेगमा (अत्यन्त जरुरी चिठीझैं) कविता लेख्न थालिन् । त्यति बेलातिरका उनका कविताले मानवको सम्हाली नसक्नुका डर र अत्यासलाई व्यक्त गरेकी छन् ।
सिल्भिया प्लाथले कविलाई नै जीवनसाथी रोजे पनि उनको दाम्पत्य जीवन सुखमय हुन सकेन ।
बेलायती कवि टेड ह्यूग्ससँग सिल्भिया प्लाथको भेट २५ फरवरी १९५६ मा भएको थियो । त्यो पहिलो भेटले नै उनीहरुबीच प्रेमको अङ्कुर यस्तो मौलायो कि उनीहरुले बिहा नै गरे । पहिलो भेट र बिहेका बारेमा सन् १९६१ को बिबिसीको एक अन्तरवार्तामा प्लाथले बताएकी छन्, “मैले टेडका केही कविता पढेकी थिएँ । म ती कविताले प्रभावित भएको थिएँ र उनलाई भेट्न चाहन्थेँ । म पहिलो भेटलाई सेलिब्रेट गर्न चाहन्थेँ । भेटेकै ठाउँमा…..हामीले एक अर्कामा प्रशस्त सम्भावना देख्यौँ । टेड क्याम्ब्रिज फर्केर आए र हामीले छिट्टै बिहे गर्यौं ।”
उनीहरुको बिहा १६ जुन १९५६ मा भएको थियो । बिहामा प्लाथकी आमा पनि सहभागी भएकी थिइन् । प्लाथ र टेडले पेरिस र वेनिडोर्ममा हनिमून मनाए ।
सन् १९५७ को जुनमा प्लाथ र ह्यूग्स अमेरिका सरे । प्लाथले स्मिथ कलेजमा पढाउन थालिन् तर उनलाई लेख्नका लागि पर्याप्त समय जुरेन । १९५८ मा उनीहरु बोष्टन सरे । अनि प्लाथले मासाचुसेट्स जनरल हस्पिटलमा रिसेप्सनिष्टको काम थालिन् । साँझ उनी प्रख्यात कविहरु रोबर्ट लोवेल, आन सेक्सटन, जर्ज स्टारवकका सिर्जनात्मक लेखन कार्यशालामा सहभागी हुन्थिन् ।
प्लाथ र ह्यूग्सले सन् १९५९ को वर्डान्ततिर क्यानाडा मज्जाले घुमे ।
सन् १९५९ को डिसेम्बरमा उनीहरु लण्डन फर्किए । अनि १ अप्रिल १९६० मा उनीहरुलाई सन्तानलाभ भयो, पुत्रीका रूपमा फ्रिडा । तर सन् १९६१ को फरवरीमा अर्को गर्भ भने तुहियो । यो गर्भ पतनलाई लिएर उनले थोप्रै कविताहरु लेखिन् । विशेषतः “पार्लियमेण्ट हिल फिल्डस्” मा त्यो भावनाको प्रतिच्छायाँ प्रष्टसँग देख्न सकिन्छ ।
सन् १९६१ मै टेडले आइसा नामक सुन्दरीसँग परिचित भए र उनी त्यतैतिर लहसिए । यसले दाम्पत्य जीवनलाई विग्रहमा पारिदियो । सन् १९६२ मा भएको प्लाथको कार दुर्घटनालाई उनको आत्महत्याको प्रयास भन्ने विश्वास गरिन्छ । प्लाथलाई टेड आइसासँग गहिरो प्रेममा परेको विश्वास भएपछि सन् १९६२ को सेप्टम्बरमा उनीहरुले पारपाचुके गरे ।
र, प्लाथले आत्महत्याद्वारा ११ फरवरी १९६३ मा बेलायतमा नै आफूलाई समाप्त पारिन् छोरी फ्रिडा र छोरा निकोलसलाई टुहुरो पारेर ।
गजब त के भयो भने उनका पूर्वपति टेडले बिहा गरेकी आइसाले पनि २३ मार्च १९५९ मा छोरा सुराका साथमा आत्महत्या गरिन् ।
प्लाथको दाम्पत्य जीवन सुखमय थिएन भन्ने तथ्य एक घनिष्ठ साहित्यिक मित्रलाई उनले यसो भनेकीबाट पनि स्पष्ट हुन्छ । “टेड अर्की आइमाईलाई प्रेम गर्छ ।…. टेड सधैं झूठो बोल्छ । … जब तिमी कसैलाई आफ्नो सम्पूर्ण हृदय समर्पण गर्छौ र ऊ त्यो स्वीकार्दैन भने तिमी त्यो फर्काउन पनि त सक्दैनौं । त्यो त सधैंको लागि गयो ।’
भन्नलाई त उनलाई ‘आत्महत्याका कारणले चर्चित कवयित्री’ भन्नेहरु पनि प्रशस्तै भए, उनी साँच्चै आफ्नो जीवनकालमा त्यति चर्चित थिइनन् । मृत्युपश्चात् उनको लोकप्रियता बढ्दै गयो र सन् सत्तरीको दशकको प्रमुख समकालीन कवयित्रीका रुपमा देखिइन् । वास्तवमा ‘एरियल’ प्रकाशन हुनेबित्तिकै तिनी आफ्नो पुस्ताको अत्यन्त गणनीय कवयित्री भएकी थिइन् । उनका कविताहरु आधुनिक काव्य साहित्यमा आत्मस्वीकृतिका अग्रणी उदाहरण हुन् र तिनलाई ‘कहिल्यै नलेखिएको आत्महत्याको विवरण’ पनि भनिन्छ । उनका सुरुका परिपक्व कविताहरुमध्ये ‘टेल अफ द ट्यूब’ को एउटा अपरिचित यात्रीले ऐनामा हेरिरहेको मानिसको द्वन्द्व प्रस्तुत गर्दछ । त्यस्तै ‘पिता’ उनको प्रसिद्ध कविता मध्येको एक हो ।
प्लाथका पिता अट्टो प्लाथ बोस्टन विश्वविद्यालयको जीवविज्ञानका प्राध्यापक थिए र १९४८ मा उनको मृत्यु भएको थियो । ‘पिता’ कविता उनले आफ्नै पितालाई लिएर लेखेकी हुन् । उनको त्यस कवितामा अट्टो प्लाथ जीवन्त देखा पर्छन् ।
सिल्भियाले आफ्नी आमालाई १९५० देखि १९६३ सम्म लेखेका पत्रहरुको सङ्कलन ‘लेटर्स होम’ उनको मृत्युपश्चात् १९७५ मा प्रकाशित भयो । यो सङ्कलन साहित्यिक महत्त्वको हिसाबले उनलाई बुझ्न जरुरी र सहायक देखिन्छ । उनले अप्रिल, १९५६ मा आमालाई यस्तो चिठ्ठी लेखेकी थिइन्, “मैले मेरो जीवनकै सातवटा उत्कृष्ठ कविताहरु लेखेकी छु जसले मेरा अरु कविताहरुलाई केटाकेटीको गफ जस्तो फिक्का तुल्याइदिएको छ… टेड कठोर आवाजमा पढ्छ, ऊ मेरो उत्कृष्ट आलोचक हो, जस्तो उसको म हुँ !’
उनका असङ्कलित कविताहरु १९६५ मा प्रकाशित भएका थिए भने १९८१ मा उनका पति टेडको सम्पादनमा ‘द कलेक्टेड पोइम्स’ प्रकाशित भएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।