बेलायती राजकुमार ह्यारीसँग बिहे गरेकी अमेरिकी अभिनेत्री मेगन मर्केलको पुस्तक बेलायतका ठूला पुस्तक पसलहरूबाट रातारात गायब पारिएको गुनासो प्रकाशकले गरेको छ ।
खासगरी पुस्तक त प्रकाशन भयो, पेइन्गुइन रेन्डम हाउसले बजारमा पनि ल्यायो तर वितरकले यसलाई त्यति भाउ दिएन । वितरकले सबैभन्दा कम महत्त्वको पुस्तकका रूपमा ठाउँ दिएको गुनासो प्रकाशकको छ । पुस्तक बिक्रेता वाटरस्टोन्सले मर्केल लिखित पुस्तकलाई सबैभन्दा पुछारमा राखेको छ । जबकि यो पुस्तक बजारमा आउनेबित्तिकै सबैले पुस्तक पसलको मुख्य ठाउँमा राखिने अपेक्षा गरेका थिए ।
कसैले पनि नदेख्ने गरी पुछारमा राख्दा पुस्तकको बिक्रीमा ठूलो असर पर्ने गर्छ ।
वाटरस्टोन बेलायतको सबैभन्दा वृहद् किताबको खुद्रा पसले हो । बेलायत, अमेरिका तथा युरोपमा समेत यसका तीन सयभन्दा बढी पसल छन् ।
ह्यारीले राजकुमारको पदवि नत्याग्दासम्म मेगनलाई डचेज अफ ससेक्स पदवि दिइएको थियो ।
पदवि त्यागेपछि मेगनले लेखेको पुस्तक द बेन्च नामक बालबालिकाका लागि पुस्तक लेखेकी थिइन् । पुन्टे छोरो र उसको बाबुको मिठो सम्बन्धलाई आमाको कोणबाट लेखिएको यो पुस्तकका लागि पेइन्गुइन रेन्डम हाउसले ठूलो रकममा किनेको थियो ।
द बेन्च पुस्तक कसरी लेखियो त भन्ने प्रश्नमा मेगनले भनेकी छन्, ‘जब म एक महिनाको सुत्केरी थिएँ, त्यो बेला मैले ह्यारीलाई ‘फादर्ड डे’को दिन एउटा सानो कविता लेखेर उपहारस्वरूप दिएकी थिएँ । त्यो उपहार चाहिँ छोराको तर्फबाट उसको बुवालाई दिएको उपहार थियो । किनभने छोरो त भर्खरै एक महिनाको थियो, उसले केही दिन सक्दैन त उसकी आमाको नाताले म उसको भावना बुझ्छु नि ! त्यही भावना मैले कविताको स्वरूपमा ढालेकी थिएँ । पछि त्यही कवितालाई कथाको स्वरूपमा ढाल्दा यो पुस्तक तयार भएको हो ।’
पुस्तक त तयार भयो तर यसबीचमा मेगन, ह्यारी तथा बेलायती दरबारबीच यति धेरै मन मैलो भयो कि बेलायती खुद्रा व्यापारी वाटरस्टोनले पुस्तकलाई कम प्राथमिकताको पुस्तकका रूपमा राख्यो ।
त्यसका लागि आलोचकहरूको एउटा दलले किन यो पुस्तक काम नलाग्ने छ भन्ने लामै व्याख्यान पनि दिए । खासगरी बालसाहित्यमा कलम चलाएकाहरूले सेलिब्रेटीहरूले कलम चलाउँदा बाल साहित्यको धज्जी उडेको भन्दै असन्तोषसमेत व्यक्त गर्न थाले ।
बाल साहित्यकार गेरेथ पी. जोन्सले यो आरोप मात्र नभई यसमा सत्यता रहेको बताउँछन् । प्रकाशकहरू सेलेब्रिटीका पछि दौडदा बाल साहित्यमा कथाहरू मर्न थालेको उनको प्रतिक्रिया छ । र, यस्ता गुणस्तरहीन पुस्तकलाई बिक्रेताले ठाउँ नदिएकै राम्रो रहेको उनको भनाइ छ ।
यस्तै कुरालाई ध्यानमा राखेर यो पुस्तकलाई अग्रपंक्तिमा नराखी सामान्यभन्दा तलको पंक्तिमा नराखिएको हुनसक्ने केहीको धारणा छ ।
केहीले भने वाटरस्टोनको यस किसिमको निर्णयका पछाडि प्रकाशक पेइन्गुइन रेन्डम हाउस र वितरकबीचको झगडा कारक रहेको बताउँछन् । पुस्तक बिक्रीमा वाटरस्टोनले निकै कम छुट पाएका कारण उसले यस पुस्तक बिक्रीलाई प्राथमिकतामा नराखेको हुनसक्ने आन्तरिक सूत्रले जनाएको छ ।
खासगरी पेइन्गुन रेन्डम हाउसले पछिल्लो समय कमिसन निकै कम दिन थालेपछि वाटरस्टोनजस्तो वृहद् खुद्रा बिक्रेताले मेगनको पुस्तक मात्र नभई अन्य पुस्तकलाई पनि कम प्राथमिकतामा राखेको बताइन्छ ।
वाटरस्टोनको यस व्यवहारले मेगनको यो पुस्तक बिक्री निकै कम हुनसक्ने देखिएको छ ।
यता वाटरस्टोनले भने आफूहरूले मेगनको पुस्तकलाई नहटाएको, नबेच्ने मनशाय पनि नरहेको, नलुकाएको बरू थोरै प्रति मगाएका कारण तिनलाई लोभ गर्दै बिक्री गरिएको भने सत्य रहेको प्रतिक्रिया दिएको छ ।
बिक्रेताका अनुसार, जब कम पुस्तक मात्र हात पर्छ, त्यो बेला पुस्तकलाई मुख्य ठाउँमा नराखी छेउकुनामा राख्दा वास्तविक पाठकहरूले फेला पार्ने र एकमुष्ठ धेरै पुस्तक लैजानेहरूको नजरमा कम पर्ने गर्छ ।
मेगन र ह्यारीले ठीक यतिबेला गएको शुक्रबार अर्को सन्तान छोरीका रूपमा जन्माएका छन् । नयाँ शिशुको नाउँ लिलिबेट डायना राखिएको छ । लिलिबेट एलिथाबेथको घरेलु नाउँ हो भने डायना राजकुमार ह्यारीकी आमाको नाउँ हो । राजकुमार ह्यारीले आफ्नो मनको सबैभन्दा नजिकको व्यक्तिका रूपमा हजुरआमा एलिजाबेथ (बेलायतकी महारानी) र आमा डायना रहेको बताउने गरेका छन् ।
राजकुमार ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेसिटोमा बसोबास गरिरहेका छन् ।
मेगनको यस पुस्तकमा चर्चित तथा पुरस्कार विजेता कलाकार क्रिस्टियन रबिन्सनले चित्र कोरेका छन् । यसको अडियो बुकमा भने मेगन स्वयंले आवाज दिएकी छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।