Chovar Blues Mobile Size

संसारभरिबाट अङ्ग्रेजीमा अनुदित भएका तर बेलायत तथा आयरल्यान्डबाट प्रकाशित भएका उपन्यासहरूमध्येबाट दिइने इन्टरनेसनल बुकर पुरस्कार यस वर्ष फ्रान्सेली उपन्यासलाई प्रदान गरिएको छ ।

डेभिड डिओपद्वारा लिखित एट नाइट अल ब्लड इज ब्ल्याकले यस वर्ष यो पुरस्कार हात पारेको हो ।

बिबिसीका कोलिन ह्यारिसले भर्चुअल कार्यक्रममार्फत यो घोषणा गरेकी हुन् ।

यो उपन्यास बुकर पुरस्कार हात पार्ने पहिलो फ्रान्सेली उपन्यास बन्न पुगेको छ । सेनेगल जन्मभूमि भएका तर फ्रान्समा बसोबास गरिरहेका प्राध्यापक डेभिड डिओपले पहिलो विश्वयुद्धताका सेनेगलका जनताले फ्रान्सलाई जिताउन खेलेको भूमिकामाथि यो उपन्यास तयार पारेका थियो ।

उपन्यासले बरोबर युद्धग्रस्त ट्रेन्च र उपन्यासको मूल पात्र अल्फाको गाउँको यात्रा गरिरहन्छ । जहाँ उसले फ्रान्सेलीहरूबाट बेहोरेको अपमान, हेला र दुःख एकातिर छ तर युद्ध जित्नै पर्ने हुँदा तिनलाई युद्धभूमिमा देशको शान र गौरवका रूपमा प्रस्तुत गरिएको छ । फ्रान्सेलीहरूको अपमानको बदला उसले जर्मन सेनाहरूको नृशङ्श हत्या गरेर लिन्छ, जुन नृशङ्शता देखेर फ्रान्सेली अधिकारीहरू नै डर मान्छन् ।

लेखक डिओपको यो दोस्रो उपन्यास हो । यो उपन्यास फ्रान्सका सबै जसो सर्वोत्कृष्ट साहित्यिक पुरस्कारमा नामाङ्कनमा परेको थियो भने सबैभन्दा ठूलो पुरस्कार प्रिक्स गोनकर्ट डिस लाइसिन्स हात पारेको थियो । यो उपन्यास फ्रान्सेली भाषामा २०१६ मा नै बजारमा आएको थियो । उपन्यासको अङ्ग्रेजी अनुवाद एना मोस्कोवाकिसले गरेकी हुन् ।

पुरस्कार लेखक र अनुवादक दुवैलाई बराबर रकम बाँडिन्छ । यसको राशि ५० हजार पाउन्ड रहेको छ ।

फ्रान्समा लामो समयदेखि बसोबास गरिरहेका डिओप १८ औँ शताब्दीका इतिहासका प्राध्यापक हुन् ।

त्यस्तै अनुवादक एना कवि, लेखक तथा अनुवादक हुन् । जेम्स लोग्लिन, एनी अर्नक्स लगायत अन्य चर्चित उपन्यासकारका अनुवादक रहिसकेकी छन् ।

यस पुरस्कारमा छोटो सूचीको नामाङ्कनमा परेका प्रत्येक लेखक तथा अनुवादकलाई एक हजार पाउन्ड नगद पुरस्कारसमेत प्रदान गरिन्छ । प्रतियोगिताका लागि १ सय २५ वटा उपन्यासले भाग लिएका थिए ।

छोटो सूचीमा ६ वटा उपन्यास परेका थिए । जसमध्ये दुई फ्रान्सेली भाषाका, दुई वटा स्पेनी, एउटा रूसी र एउटा डेनिस भाषाबाट अनुदित उपन्यास छनोटमा परेका थिए ।

सूचीमा पर्नेहरूमा मारियाना एनरिक्जको द डेन्जर्स अफ स्मोकिङ इन बेड (अनुवादः मेगन म्याकडोवेल), बेन्जामिन लबातुतको ह्वेन सिज टु अन्डरस्ट्यान्ड द वर्ल्ड (अनुवादः एड्रियन नाथन वेस्ट), ओल्गा राभ्नको द इम्प्लोइजः अ वर्कप्लेस नोवेल अफ दि ट्वेन्टी सेकेन्ड सेन्चुरी (अनुवादः मार्टिन अट्केन), मारिया स्टेपानोभाको इन मेमोरी अफ मेमोरी (अनुवादः सासा डग्डेल) र एरिक वुलार्डको द वार अफ द पुअर (अनुवादः मार्क पोलिजोटी) थिए ।

हेर्नुहोस्, भर्चुअल पुरस्कार घोषणाको छोटोमीठो कार्यक्रमः