हामीले जीवनमा कृतज्ञ हुनुपर्ने धेरै कुराहरूलाई त्यतिञ्जेलसम्म महत्त्व दिँदैनौँ, जबसम्म त्यो हामीबाट खोसिदैन । नहुनुको बोधले मात्र हुनुको अर्थ बुझिन्छ ।
अझ अप्ठेरो ठाउँको यात्राले त मानिसलाई ‘हुनु’को तत्त्वबोध यति चाँडो गराउँछ कि जुन अरू केहीले पनि मानिसलाई गराउँदैन ।
पर्यटनमा हिजोआज नयाँ शब्द थपिएको छ- डार्क टुरिजम ! हुन त यो केही समयअघिदेखि चल्तीमा आएकै शब्द हो तर यसले अर्थबोध घनीभूत गराउन थालेको धेरै भएको छैन ।
अझ हालै १७५ वर्ष पुरानो एउटा बेलायती कुख्यात जेललाई जेम्स बसेट भन्ने मानिसले भाडामा लिएर फाइभस्टार होटलमा परिणत गरेपछि त यो शब्दलाई अझ बढी लोकप्रिय बनाइन खोजिदैछ । उनले ६ करोड पाउन्ड र १५ वर्ष खर्चेर सो कुख्यात जेललाई सुविधासम्पन्न होटल बनाई लगभग जुवा खेलेका छन् ।
‘डार्क टुरिजम’ भन्नाले कुनै यस्तो ऐतिहासिक स्थलको यात्रा गर्नु हो, जहाँ मृत्यु, भय, विछोड, आतङ्कजस्ता घटना जोडिएका हुन्छन् । चेर्नोबिलको रासायनिक विष्फोट भएको ठाउँमा यात्रा गर्न पछिल्लो समय लागेको लामले यो शब्दलाई लोकप्रिय बनाउन भूमिका खेलेको थियो । तथापि, जर्मनीका यहुदी मार्ने कन्सन्ट्रेसन क्याम्प र जापानका हिरोसिमा तथा नागासाकी मात्र होइन, कम्बोडिया पोलपोट शासनकालका पीडादायी घटना जीवन्त राखिएका सङ्ग्रहालय ‘डार्क टुरिजम’का उम्दा स्पट पहिलेदेखि नै हुँदैहुन् ।
हुन त मानिसहरू दुःखी हुन, रून-कराउन-चिच्याउन सिनेमा हल जान्छन् नै, कुख्यात जेलभित्र फाइभस्टार होटलको सुविधा लिनु पनि कम रमाइलो कुरा भने नहोला !
आउनुस्, केही कुख्यात डार्क टुरिजम स्पटका बारेमा जानकारी लिऊँः
भनिन्छ, कम्बोडियाको यो रूखमुनि कयौँ बालबालिकाको हत्या गरियो।उनीहरूको आत्माको शान्तिका लागि अचेल पर्यटकले त्यहाँ डोरो बाँधिदिने गरेका छन्।
यो हो, जर्मनीको कुख्यात असविज कन्सन्ट्रेसन क्याम्प, जहाँ कयाैँ यहुदीहरूको ज्यान गएको थियो।
यो हो, कम्बोडियाको कुख्यात किलिङफिल्ड्समा संकलन गरी राखिएका खप्परहरू ।
यो चाहिँ चेर्नोबिलका ध्वस्त भएका भवनहरूमध्ये एक ।
भियतनाममा कम्युनिष्टहरूलाई राखिएको जेल। यातनाका लागि यो जेल निकै कुख्यात थियो।
हिरोसिमाको चर्चित ठाउँ ।
इटालीको क्रुज जहाज डुबेपछिको अवस्था।यही उत्तानो पर्न लागेको जहाज हेर्न इटालीको जिग्लियो द्विपमा भ्रमण गर्नेको संख्या बर्सेनि बढ्दो छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

